जनइच्छा पूरा गर्ने ध्येय
२०४६ सालको राजनीतिक परिवर्तनपछि विशाल भट्टराईले अखिलको राजनीतिमा आफूलाई अभ्यस्त तुल्याए । हरेक आन्दोलनका बेला उनी काठमाडौंका गल्ली र क्याम्पस हाता तताउने अभियानमा आफूलाई सरिक तुल्याउँथे । तर, काठमाडौंको विद्यार्थी आन्दोलनमा सक्रिय उनी पचासको आधाआधीतिरबाट काठमाडौंमा देखिन छाडे । राजधानी छाडेर उनी गृहजिल्ला खोटाङ फर्किए र एमालेको संगठन विस्तारमा लागे ।
काठमाडौं छाडेर भूगोलको राजनीति गर्न खोटाङ फर्किएका उनलाई धेरैले ‘गुमनाम भयो’ समेत भने । तर, भूगोल फर्केर उनी जनताबीच भिजे, कार्यकर्ताको प्यारो बने र अहिले जनताको मत बोकेर पुन: राजधानी फर्किएका छन् । काठमाडौं आएपछि अहिले उनको भूमिका फेरिएको छ र उनी जनताको आवाज संविधानसभामार्फत बुलन्द पार्न लागिरहेका छन् । खोटाङ–२ बाट संविधानसभा सदस्यमा निर्वाचित भएपछि उनी जनताको समस्याप्रति सजग त छ नै, कसरी जनतालाई समयमै संविधान दिने भन्नेमा पनि उत्तिकै चिन्तित छन् ।
२०२५ साल चैत २२ गते खोटाङबजार गाविस–६, भगवतीस्थानमा जन्मिएका उनको सामान्य आर्थिक हैसियत मात्र थियो । दु:ख गर्दा खान पुग्ने उनको परिवार, कृषिमा मात्रै आश्रित थियो । तर पछि, दाजुहरूले आ–आफ्नो पेसा अँगालेकाले एसएलसीपछि उनलाई राजधानीमा उच्च शिक्षा पढ्ने आधार तय भयो । दाजुहरूको आडमा उनी काठमाडौं छिरे र रत्नराज्य लक्ष्मी क्याम्पसमा भर्ना भए । सोही क्याम्पसबाट पत्रकारितामा स्नातक सकेपछि भने उनको पढाइ अगाडि बढ्न सकेन ।
गाउँमा रहँदा भने घाँसपात, मेलापात र बिहान, बेलुकी खेतबारीमा श्रम गर्दैमा बित्यो उनको समय । तर, अध्ययनसँगै राजनीतिमा पनि उत्तिकै सचेत थिए उनी । ०३९ सालमा सात कक्षामा पढ्दाताका नै उनी स्ववियु सदस्यमा निर्वाचित भएका थिए । त्यसयता उनी कुनै कमिटीविहीन भएर बस्नुपरेको छैन । ०५५ सालसम्म निरन्तर अखिलमा काम गरेका उनले त्यसपछि खोटाङ पुगेर पार्टीको काम सम्हाले । ०५६ सालको संसदीय निर्वाचनमा उठे पनि उनी पराजित भए ।
जिल्ला कमिटीको सदस्य, उपसचिव, सचिव हुँदै अध्यक्ष भएका उनले दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएलगत्तै अध्यक्ष पदबाट राजीनामा दिए । जबकि एमालेका १२ जना जिल्ला अध्यक्ष र कांग्रेसका २५ जना जिल्ला सभापतिहरूले सोही पद संविधानसभामा निर्वाचित भए पनि अँठ्याइरहेका छन् ।
रत्नराज्यलक्ष्मी क्याम्पसमा सह प्रारम्भिक कमिटीको अध्यक्षबाट अनेरास्ववियुको राजनीतिक यात्रा सुरु गरेका उनले प्राक सदस्य, सचिव, अध्यक्ष, काठमाडौं जिल्ला सचिव, बाग्मती सचिव, मध्यमाञ्चल क्षेत्रीय प्रमुख, सचिवालय सदस्य र प्रचार विभागको जिम्मेवारीसमेत बेहोरे । उनले अखिलका अध्यक्ष योगेश भट्टराई, अरुण नेपाल र हिक्मत कार्कीसँगै रहेर काम गरे । अझ पार्टी विभाजनताका त मूलप्रवाहमा खरो रूपमा उभिएर उनले सबैको वाहवाही पाए । उनी ०५१ सालमा महेन्द्ररत्न क्याम्पस ताहाचलको स्ववियु सभापति निर्वाचित भए ।
०४६ सालको आन्दोलनको अग्रपंक्तिमा युवा, विद्यार्थीहरू नै थिए । पछि जनताको अपार समर्थन रह्यो । र, आन्दोलन सफल भयो र देशमा बहुदलीय व्यवस्था स्थापना भयो । त्यतिबेलाको एउटा घटना भने उनी जीवनभर बिर्सन सक्दैनन् । न्युरोडबाट सुन्धारातिर जाने गल्लीमा मसाल जुलुसको तयारी हुँदै थियो । प्रहरीले थाहा पाएर दुवैतिरबाट घेरा हाले । उनी भागे, तर जाने ठाउँ कतै थिएन । दौडेर एउटा ठाउँमा उक्लिएका थिए तर सेफ्टी ट्याङ्की परेछ । उनी त्यसैमा पुरिए । पूरै जिउ नालीमा डुब्यो । त्यसपछि उनलाई हिक्मत र कुमार सापकोटाले तानेर बचाए । घरबेटीसित दुई बाल्टिन पानी मागेर नुहाए र त्यहाँबाट हिँडे । त्यसअघि ०४४–४५ तिर भारतले नाकाबन्दी गरेको विरोधमा पनि उनी आन्दोलनमा सक्रिय भएर लागेका थिए ।
पत्रकारिता अध्ययन गरेका उनले दृष्टि साप्ताहिकमा केही दिन काम पनि गरे । तर, राजनीतिक आन्दोलनका अगाडि उनले पत्रकारितालाई निरन्तरता दिन सकेनन् ।
तर, खोटाङ फर्किएपछि भने उनले चुनौतीबीच काम गर्नुपर्यो । त्यतिबेला जिल्लाका ९० प्रतिशत कार्यकर्ता मालेमा लागेका थिए । खोटाङकै अशोक राई, हरि रोका र टंक राईजस्ता चिनिएका नेताहरू माले भएका थिए भने त्यो बेला संगठनलाई ब्युँताउने काम भट्टराईहरूकै काँधमा थियो । तैपनि उनी हिम्मत नहारी लागे । तत्कालीन मालेका नेता वामदेव गौतमले चुनाव प्रचारका क्रममा खोटाङ पुगेर ‘यो जिल्ला मालेको राजधानी हो’ भनेर घोषणा गरेका थिए । तर, मालेको एक सिट पनि आएन ।
०६४ सालको संविधानसभाको निर्वाचनमा उनले टिकट पाएका थिए । तर, देशव्यापी माओवादी लहर उर्लिएको हुँदा उनले जित्न सकेनन् । तर, तेस्रो पटक भने विजयी बन्न पुगे उनी । अझ राईहरूको बाहुल्यता रहेका माझकिराँतमा गैरजनजाति भए पनि उनको जितलाई केही असर गरेन । संघीय समाजवादीमा लागेका अशोक राईले नै दुई–दुई पटक जितेको क्षेत्र थियो त्यो । तर, राईको पार्टीले उठाएको उम्मेदवारले जम्मा १७ सय मत ल्याए । एमालेको जिल्ला कमिटीबाट राईको पार्टीमा कुनै पनि राईहरू विद्रोह गरेर गएनन् । अझ रोचक कुरा त के छ भने उनी अहिलेसम्म जुन–जुन पदमा बसे, त्यहाँ निर्वाचित भएर गएका होइनन् । उनी सर्वसम्मत चयन भए । यसले पनि उनको लोकप्रियताको उचाइ प्रस्ट पार्छ ।
माओवादीको तारो हुँदा पनि उनी पार्टी काममा जुटिरहे । माओवादी धम्कीका बाबजुद पनि जिल्ला छाडेनन् । त्यही भएर ०५९ मा उनलाई ४६ दिनसम्म अपहरण गरे । राजाले सत्ता हातमा लिएपछि संसदवादी दलका नेता–कार्यकर्ता कसैलाई भौतिक कारबाही नगर्नू भन्ने सर्कुलरका कारण नै उनी बाँचेका हुन् । ‘नत्र मलाई मार्न ठीक पारेका थिए’– भन्छन् उनी–‘अरूलाई राजाको प्रत्यक्ष शासन नराम्रो होला तर त्यही भएकाले मेरो ज्यान बाँच्यो ।’ तर, ०६२ मा राजाको प्रत्यक्ष शासनका बेला अधिकांश पार्टीका जिल्ला नेताहरू दौरा–सुरुवाल लगाएर कार्पेट बिछ्याउँदै स्वागत गर्न पुगेका बेला उनी भने कालो झन्डा प्रदर्शन गर्ने कामको अगुवाइमा लागेका थिए ।
एक छोरा र एक छोरीमध्ये दुवै स्कुल तहमा पढ्दैछन् भने श्रीमती गाउँकै विद्यालयमा पढाउनुहुन्छ । पछिल्लो समय पूर्णकालीन राजनीतिमा हिँडे पनि उनले गाउँमा केही व्यावसायिक फलफूल खेती सुरु गरेका छन् । अनार र स्याउको खेतीले आम्दानी दिन थालेपछि अलि राहत हुने सपना साँचेका छन् उनले ।
उनी दूरदराजबाट जितेर आएका छन् । जनताका इच्छा र आकांक्षा गनिसाध्य छैन । २४ मा १८ घन्टा त कहिल्यै खाली नहुनेगरी कार्यकर्ता र साथीभाइका गुनासा समेटिएका टेलिफोनको घन्टी बज्छ । तर, उनले अहिलेको गुरुत्तर दायित्व संविधान निर्माणलाई नै मानेका छन् । उनी अभिलेख, अध्ययन र निक्र्यौल समितिका सदस्य पनि छन् ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपालीमा
- अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
- मोफसलका ‘आँखा बा’
- भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर
- तस्वीरमा उहिलेको पोखरा
- एमालेसँग एक्लै चुनाव लडने तागत कसैसँग छैन : बिष्णु पौडेल
- एमसीसी स्वीकार्न अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ शुरु गरेको छ, प्रतिरोध गर्छौ : चीन
- देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुन्छ : प्रदीप ज्ञवाली
- एमालेले भारतलाई भन्यो-लिपुलेकमा सडक खन्ने बलमिच्याई रोक
- चुनावसम्म संसद अवरोध गरिरहन्छौं : ओली
- नयाँ ढङ्गले राजनीतिक यात्रा शुरु गर्छु : शेखर कोइराला
Leave a Reply