पहाड फोरेका पहाडी
निरन्तर घुलमिल हुने कार्यशैलीका कारण नै सभासद् गणेश पहाडी जनताबीच लोकप्रिय छन् । पार्टीलाई पुर्याउँदै आएको अथक योगदान र जनतासितको सामिप्यताले उनलाई हरेक पटक सफलता मिल्ने गरेको छ । वि.सं. २०२७ असार ९ गते सिन्धुली जिल्लाको खाङसाङ गाविस–४ मा जन्मिएका पहाडी सानैदेखि विद्रोही स्वभावका थिए । आफूले अन्याय नगर्ने र अरूले गरेको नसहने स्वभावका उनी आफू हुर्के–बढेको परिवेशमा लोकप्रिय छन् ।
०५४ सालको स्थानीय निकायको निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट उनी आफू मात्र गाविस अध्यक्षमा निर्वाचित भएनन्, पूरै ४७ वटै सिटमा एमालेका उम्मेदवारहरूले विजयी हासिल गरे । उनकै पहलकदमीमा पार्टीलाई उक्त सफलता मिलेको थियो । र, एमालेले जिल्ला पार्टीको विभिन्न नेतृत्वमा रहेर सङ्गठन गर्ने जिम्मा दिइरह्यो । र, उनले दोस्रो संविधानसभाको निर्वाचनमा सिन्धुली–१ बाट टिकट पाएर विजय हासिल गरे ।
जनताबीच लोकप्रिय भएकै कारण उनले सायदै पराजय बेहोर्नुपथ्र्यो । अझ बुबा तुलसीराम पहाडी त खाङसाङमा १७ वर्ष प्रधानपञ्च चलाएका व्यक्ति हुनुहुन्थ्यो । राजनीतिको कखरा उनले बुबाबाटै सिकेका थिए । यद्यपि, विजयी भएपछि पनि उनले आफूलाई माया, ममता र स्नेह अर्पण गर्ने जनतालाई बिर्सन चाहेका छैनन्, जनताकै बीचमा रहेर काम गर्ने शैली उनले विकास गरेका छन् । केन्द्रमा मात्र केन्द्रित हुने रोगले उनलाई सताएको छैन । बाटोघाटो, पुलपुलेसा र बिजुलीका पोल नपुगेका जस्ता समस्या लिएर उनी सम्बन्धित मन्त्रालय धाइरहेका छन् अहिले पनि । यो क्रम उनले स्थानीय निकायमा निर्वाचित भएयतादेखि नै थालेका हुन् र अहिलेसम्म जारी छ । गएको आइतबार दिउँसो उनी जनताका समस्या बोकेर स्थानीय विकासमन्त्री प्रकाशमान सिंहलाई भेट्न जाने हतारोमा थिए ।
उनले बाल्यकाल दु:खमा बिताउनुपरेन । किनकि, पहाडकै भए पनि उनको परिवार सम्पन्नशाली नै थियो । हुनेखाने परिवारमै गणना हुन्थ्यो उनको । अझ तत्कालीन प्रधानपञ्चको छोरा भएपछि त गाउँ–ठाउँमा बेग्लै रवाफ हुन्थ्यो नै । बाबुआमाको स्नेह र हाँसीखुसीमै बाल्यकाल बिताएका उनले सुखसयलका साथ आफ्नो अध्ययन पूरा गरे । उनले कक्षा ६ सम्म गाउँकै सुनकोसी उच्च माध्यमिक विद्यालयमा अध्ययन गरे भने सात कक्षा पढ्न उदयपुरको कटारीमा पुगे । कटारी गएपछि तत्कालीन विद्यार्थी नेता जगन्नाथ खतिवडाले उनलाई तत्कालीन अनेरास्ववियु (एकताको पाँचौं)मा सङ्गठित गरे । कटारीमा बस्दा विद्यालय तहमा हुने हरेक आन्दोलन र विद्यार्थीका समस्याप्रति उनी आवाज बुलन्द पार्थे । राजनीतिप्रति रुचि बढिरहेकै बेला उनी बाँकी अध्ययनका लागि उनी काठमाडौं आए । र, काठमाडौंको पद्मोदय माविमा पढ्न थाले । उनले त्यो बेला प्रारम्भिक कमिटीको अध्यक्ष भएर काम गरे । ०३९ सालमा १२ वर्षको कलिलो उमेरमै उनले अखिलको सदस्यता लिइसकेका थिए ।
एसएलसी उत्तीर्ण गरेपछि परिवारले उनलाई एउटा राम्रो इन्जिनियर बनाउन चाहेको थियो । नाम र दाम दुवै हुने पेसा इन्जिनियरिङ भए पनि उनी भने राजनीतिमै हामफाल्न पुगे । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा डिप्लोमा पास गरेपछि उनले पढाइलाई वाण्ँिज्यशास्त्रतर्फ मोडे । पुल्चोक क्याम्पस पढ्दाताका नै उनी अनेरास्ववियुको ललितपुर जिल्ला कमिटीको सदस्य भइसकेका थिए । क्याम्पस जीवनमा उनी राजनीतिमा समर्पित मात्र भएनन्, धुलो दूधविरुद्धको आन्दोलन र ०४६ सालको अधिकार प्राप्तिको आन्दोलनमा सक्रिय भएर लागे । ०४६ सालमा उनी उपत्यकास्तरीय विद्यार्थीहरूको संयुक्त संघर्ष कमिटीको सदस्य थिए ।
नेपाल कमर्स क्याम्पस, मीनभवनबाट बीकम उत्तीर्ण गरेका उनले पाटन संयुक्त क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । ०४६ सालको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरे पनि उनी त्यत्तिमै मात्र चुप लागेर बसेनन् । राजधानीमा बसेर कुनै न कुनै रूपमा सिन्धुली र काठमाडौंलाई जोड्ने काममा लागी नै रहे । ०४७ सालमा काठमाडौंमा अनेरास्ववियुको सिन्धुली–काठमाडौं सम्पर्क कमिटी गठन भयो । उनी त्यसको सचिव भए । ०४८ सालमा पार्टीले सिन्धुली–काठमाडौं सम्पर्क कमिटी गठन गर्यो । उनी त्यसको संयोजक र ०५१ पछि पहिलो अधिवेशनमार्फत सम्पर्क मञ्चको अध्यक्ष भए ।
त्यसको केही वर्षपछि नै उनी राजधानीबाट जिल्लाको राजनीतिमा केन्द्रित भए । पार्टीको निर्देशनअनुरूप नै उनी खाङसाङ गए । ०५४ को स्थानीय निकायको निर्वाचनमा गाविस अध्यक्ष भए । त्यसपछि उनी लगातार जिल्लाको पार्टी काममा केन्द्रित छन् । उनकै उपस्थितिले ०४९ मा कांग्रेसले जितेको खाङसाङ गाविस ०५४ मा एकलौटी निर्विरोध रूपमा एमालेको बन्यो । पार्टीमा फुट आएपछि उनी मालेमा लागे । तर, माले–एमालेबीच एकीकरण नहुँदै एक वर्षमा नै उनी मूलघर फर्किए । मालेको जिल्ला कमिटी सदस्य रहेका उनी एमालेमा आएपछि पनि सोही जिम्मेवारीमा रहे । सचिवालय सदस्य हुँदै ०६४ मा एमाले सिन्धुलीको चौथो जिल्ला अधिवेशनबाट सचिवमा निर्वाचित भए । एमाले अध्यक्षात्मक प्रणालीमा गएपछि पनि उनले संयोजक भएर जिल्लाको पार्टी काम सम्हाले । ०६६ सालबाट उनी एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य छन् ।
यस पटकको चुनाव धेरैका लागि असहज भएन । तर, सिन्धुली–१ मा पहाडीका लागि भने फलामको च्युरा चपाउनुसरह भयो । किनकि टिकट नपाएको झोकमा पूर्वसभासद् विषमलाल अधिकारी दनुवार चुनावको मुखैमा एमाओवादीमा प्रवेश गरे भने चार जना जिल्ला कमिटी सदस्य पनि एमाओवादी अध्यक्ष प्रचण्डको हातबाट टीका लगाएर एमाओवादी बने । त्यति मात्र होइन पैसाको खोलो बगाउने र छिमेकका पाँच जिल्लाका भाडाका गुन्डा ल्याएर एमाले कार्यकर्तालाई हतियार देखाएर तर्साउने, प्रचारमा जान नदिने र बाटो ढुकेर पिट्ने काम भयो । यी सबै हुनुमा एमाओवादीको उदण्डता त थियो नै, त्यस पार्टीका उम्मेदवार लेखनाथ दाहाल उर्फ राजनको चरित्र पनि अर्को कारण बनेको थियो । राजन तिनै पात्र थिए, जसले एमालेका केन्द्रीयदेखि जिल्ला तहका नेतासम्मलाई आक्रमणको निसाना बनाइसकेका थिए । उनलाई हराउन सक्नु पहाडै फोर्नु बराबर थियो । तैपनि पहाडीले पहाड नै फोडे बराबर काम गरे अर्थात् १९ सय ७५ मतको अन्तरमा जिते । जबकि अघिल्लो संविधानसभाको निर्वाचनमा २ सय ५२ मतान्तरले मात्र एमालेले उक्त क्षेत्रबाट जितेको थियो ।
राजनीतिमा लाग्दा उनी पहिलादेखि नै माओवादीको तारो भइरहे । जिल्लाका लोकप्रिय र जनाधार भएका नेतालाई खोजीखोजी ठीक पार्ने माओवादी रणनीतिका कारण उनले पनि माओवादीबाट दु:ख पाए । ०५६ सालको आम चुनावमा उम्मेदवार हुने चर्चा भएपछि उनलाई माओवादीले अपहरण गरे । अपहरणपछि उनलाई १५ घन्टासम्म जंगलमा राखेपछि छोडियो । त्यसपछि भने उनी माओवादी उदण्डताविरुद्ध जुधिरहे ।
एक छोरा र एक छोरीका पिता उनी जनताको कामले गर्दा घर–परिवारमा त्यति समय दिन भ्याउँदैनन् । राजनीतिमा परिवारका सदस्यहरूको पूरै समर्थन रहेको हुँदा उनी आफूलाई एक हिसाबले भाग्यमानी ठान्छन् । भन्छन्– ‘श्रीमती शोभा खड्काको सहयोग नहुँदो हो त म जीवनको हरेक भागमा अधुरो नै हुन्थें होला ।’
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपालीमा
- अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
- मोफसलका ‘आँखा बा’
- भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर
- तस्वीरमा उहिलेको पोखरा
- एमालेसँग एक्लै चुनाव लडने तागत कसैसँग छैन : बिष्णु पौडेल
- एमसीसी स्वीकार्न अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ शुरु गरेको छ, प्रतिरोध गर्छौ : चीन
- देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुन्छ : प्रदीप ज्ञवाली
- एमालेले भारतलाई भन्यो-लिपुलेकमा सडक खन्ने बलमिच्याई रोक
- चुनावसम्म संसद अवरोध गरिरहन्छौं : ओली
- नयाँ ढङ्गले राजनीतिक यात्रा शुरु गर्छु : शेखर कोइराला
Leave a Reply