झापाका कमाण्डर
स्वर्गीय बुबा टंकनाथ कोइरालाले छोरा रबिनलाई एउटा सफल र राम्रो वकिल बनाउने सपना साँचेका थिए । तर, उनले कानुनमा स्नातक त पार गरे तर बाबुआमाले साँचेको पेसा कानुनमा हात हालेनन् । बरु जनताको कुशल सेवक बने राजनीतिमा लागेर । त्यसो त राम्रो वकिल बनाउने बाबुको अभीष्ट पूरा नभए पनि रबिनलाई जनतासँग घुलमिल हुने र जनताको सेवामै लाग्ने लाइन समातेकोमा गर्व छ ।
नेकपा (एमाले) झापा जिल्ला कमिटीका अध्यक्ष तथा झापा क्षेत्र नम्बर १ बाट निर्वाचित सभासद् कोइराला एक जमानामा चर्चित विद्यार्थी नेताको समेत नाम हो । अनेरास्ववियु एकताको पाँचौंका तीन कार्यकालका केन्द्रीय सदस्य तथा मेची अञ्चल इन्चार्ज उनी केन्द्रीय अध्यक्षमा शंकर पोखरेलसँग पराजित भएपछि विद्यार्थी राजनीति छोडेर पूरै पार्टी राजनीतिमा होमिए । जिल्लामा उनले पार्टी काम थालेको २३ वर्ष पुगेको छ । ०४९ मा बाहुनडाँगी गाविस वडा नम्बर ५ बाट वडाध्यक्ष जितेर जनतासंग जोडीन थालेका उनी त्यसयता लगातार जनताको सामिप्यतामै छन् । त्यसयता जिल्ला विकास समितिको सदस्य, मेचीनगर नगरपालिकाको प्रमुख र दोस्रो संविधानसभा निर्वाचन ०७० पछि सभासद् भएका छन् ।
त्यसो त उनी पार्टी प्रमुख पनि दोस्रो पटकका लागि एक वर्षअघि सर्वसम्मत रूपमा नै चयन भएका हुन् । पूर्व कम्युनिष्ट नेता राधाकृष्ण मैनाली र देवीप्रसाद ओझाले विजय गर्दै आएको कम्युनिस्टहरूको उर्वरभूमि झापा ०६४ सालको हावाहुण्डरीमा भने एमालेको पकडबाट गुम्यो । तर, रबिनले ०७० मा आइपुग्दा पुन: गुमेको साख फिर्ता गराइदिए । कांग्रेसका चर्चित युवा नेता विश्वप्रकाश शर्मासँग रबिनको टक्कर परेको थिए । धेरैले विजयका लागि गाह्रो हुने अनुमान नगरेका होइनन् । तर, जनतासँगको लामो घुलमिल र भावनात्मक सम्बन्ध मात्र होइन, झापालीका सुख दु:खका साथी भएकाले उनले सहजै विजयको माला पहिराए । उनको मत १७ हजार २ सयभन्दा बढी आयो ।
सभासद् भएपछि उनको भूमिका अझ बढेको छ । पार्टी संगठकका हैसियतमा पार्टी काममा खटिनुपर्ने उनी सभासद्मा निर्वाचित भएसँगै संविधान निर्माण र जनप्रतिनिधिका हैसियतले विकास निर्माणमा बढी लाग्नुपर्ने भएको छ । अहिले प्रत्यक्ष र समानुपातिकमा गरी झापा जिल्लाले एमालेको तर्फबाट नौ सभासद् पाएको छ भने सबै पार्टीका गरी २० जना सभासद् झापाका पुगेका छन् । उनीहरू सबै पछिल्लो समय जिल्लाको विकासको मामलामा एक ठाउँमा आएका छन् । उनीहरूको साझा बुझाइमा झापाको विकास बीचमा आएर पछाडि परेको छ । त्यसैले उनीहरू एक भएर राजधानीमा आई मन्त्रालय र विभाग धाइरहेका छन् । हाइड्रो पावरका दुई योजनाका साथै जंगली हात्ती नियन्त्रण तथा झापालाई विशेष आर्थिक क्षेत्रका रूपमा अघि बढाउने उनीहरूको सोच छ । त्यहाँ रहेका चिया उद्योगका समस्यालाई व्यवस्थित पारेर थप रोजगारी सिर्जना गर्नुका अतिरिक्त ऐतिहासिक तथा धार्मिक महत्वको किच्चकबध, कृष्ण थुम्की जस्ता क्षेत्रलाई पर्यटकीय रूपमा विकास गर्नका लागि उनीहरू लागिपरेका छन् ।
रबिन व्वस्थापिका संसद्अन्तर्गतको विकास समिति सदस्य छन् भने संविधानसभाअन्तर्गत भने उनलाई नागरिक सम्बन्ध तथा संविधान मस्यौदा सहयोग समितिमा प्रतिनिधित्व गर्ने जिम्मेवारी प्राप्त भएको छ । त्यसो त यस पटक जसरी पनि संविधान बन्नेमा उनी विश्वस्त छन् । ‘अघिल्लो संविधानसभा असफल भए पनि अब त्यस्तो हुँदैन । अबको संविधानले जनताको परिवर्तनको आकांक्षा अवश्य सम्बोधन गर्छ’– उनले भने– ‘जाति, भाषा, धर्म, लिंग र क्षेत्रका आधारमा हुने विभेदलाई समाप्त पारी अब आर्थिक समानता र समृद्धिको लक्ष्य हासिल गर्नुपर्छ । र, अब बन्ने संविधानले राष्ट्रिय एकताको समेत नेतृत्व गर्नुपर्छ ।’
रबिनको पहाड घर पाँचथर हो भने हालको बसाइ मेचीनगर झापा । पाँचथर जिल्ला थर्पु गाविस–३ मालबासेमा २०२१ माघ १८ गते रबिनको जन्म भएको थियो । बुबाआमा साधारण कृषक परिवारका र काम गरी खाने, अरूको कुभलो नचिताउने स्वभावका थिए । उनको परिवार रबिन ११ वर्षको हँुदा झापा झर्यो । सामान्य पारिवारिक स्थिति नै भए पनि खान–लाउन कहिल्यै दु:ख परेन । तराईमा साढे चार बिघा जमिन भएकाले खान दु:ख हुँदैनथ्यो । उनले प्राथमिक शिक्षा वाणी निमावि लखनपुरबाट लिए भने माध्यमिक दमकको सरस्वती मावि इटाभट्टाबाट । मावि पूर्ण रूपमा पास गर्न अर्थात् कक्षा १० पढ्न भने उनी बलभद्र जनता मावि धाइजन पुगे । एसएलसीपछि इलाम क्याम्पसबाट आईएल सके भने बीएलका लागि नेपाल ल क्याम्पसमा भर्ना भए । भर्ना भए पनि उनी लगातार क्याम्पस जान पाएनन् । किनकि उनी मेची अञ्चललाई कार्यक्षेत्र पारेर विद्यार्थी संगठनमा काम गर्दथे ।
स्कुलेजीवनमै अनेरास्ववियुमा काम गर्न थालेका उनले ०३५ सालबाट पार्टीको सम्पर्क सूत्र भेटे । पटक–पटक गरी अढाई वर्ष जेल जीवन बिताउनुपर्यो भने पञ्चायतको अवधिमा चार वर्ष भूमिगत हुन बाध्य भए । ०३९ देखि ०४३ सम्म भूमिगत भएका उनी आफ्नै वडाबाका छोरा गोविन्द कोइरालाको प्रभावले कम्युनिस्ट भएका हुन् । भारतीय कम्युनिस्ट पार्टीको जिल्ला संगठनमा आबद्ध गोविन्द नेपाल आइरहँदा उनले दिएको जनताको मुक्तिको प्रशिक्षणले उनी नजानिँदो तरहले कम्युनिस्ट भइसकेका थिए ।
रबिनलाई पार्टी सदस्यता प्रदान गर्ने एमालेका नेता प्रदीप नेपाल हुन् । भूमिगत रूपमा सदस्यता प्रदान गरेर त्यतिबेला प्रदीपले दिएको अभिव्यक्ति रबिनले अहिलेसम्म पनि बिर्सन सकेका छैनन् । त्यसैले पनि प्रदीपलाई उनी आफ्नो राजनीतिक गुरु मान्छन् । प्रदीपले त्यतिबेला भनेका थिए रे– मान्ेछ एक पटक जन्मन्छ तर कम्युनिस्टहरू दुई पटक जन्मन्छन् । एक पटक आमाको कोखबाट अनि अर्को पटक पार्टी सदस्यताका लागि योग्य भएर पार्टीको कोखबाट । प्रदीपको यो अभिव्यक्ति उनले अझै भुल्न
सकेका छैनन् ।
त्यस्तै, उनी जेल पर्दाको ५९ दिनलाई कहिल्यै भुल्न सकेका छैनन् । ०४४ सालमा उनलाई पार्टीको दस्तावेजसहित प्रहरीले भेटेपछि जबर्जस्त हिरासतमा राख्यो । व्यवस्थाविरुद्ध हिँड्दा राज्यविरुद्धको अभियोग लगाएर जे पनि गर्न सक्थ्यो सरकारले । पक्राउ गरेपछि न पक्राउ पुर्जी छ, न बाहिर खबर छ । तत्कालीन प्रशासनले न सास न लासको स्थिति पारेपछि तत्कालीन जनपक्षीय राष्ट्रिय पञ्चायत सदस्य द्रोणप्रसाद आचार्यले उनको अवस्था सार्वजनिक गर्न माग गर्नुभयो । अन्तत: ६०औं दिनमा उनलाई जेल पठाइयो ।
आफू परिवारको सहयोगकै कारण राजनीतिमा सफल भएको उनको ठहर छ । श्रीमती तीर्थ काँकडभिट्टामै शिक्षण गर्नुहुन्छ भने उनका दुई छोरा अध्ययनकै क्रममा छन् । जेठो अशेष डिप्लोमा पढ्दै छन् भने कान्छो अनोज ५ कक्षामा । ‘छोराछोरी हुर्कंदै छन् । श्रीमतीले परिवार धानेकाले ढुक्कसँग राजनीतिमा लाग्न पाएको छु’– उनले अनामनगरस्थित डेरामा ढुक्कसँग भने ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपालीमा
- अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
- मोफसलका ‘आँखा बा’
- भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर
- तस्वीरमा उहिलेको पोखरा
- एमालेसँग एक्लै चुनाव लडने तागत कसैसँग छैन : बिष्णु पौडेल
- एमसीसी स्वीकार्न अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ शुरु गरेको छ, प्रतिरोध गर्छौ : चीन
- देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुन्छ : प्रदीप ज्ञवाली
- एमालेले भारतलाई भन्यो-लिपुलेकमा सडक खन्ने बलमिच्याई रोक
- चुनावसम्म संसद अवरोध गरिरहन्छौं : ओली
- नयाँ ढङ्गले राजनीतिक यात्रा शुरु गर्छु : शेखर कोइराला
Leave a Reply