निरन्तरताको परिणाम
अधिकांश पहाडी जिल्ला विकट र दुर्गम भएजस्तै मध्यपश्चिमको दैलेख जिल्लालाई पनि दुर्गम नै मानिन्छ । संविधानसभाको दोस्रो निर्वाचनमा दैलेख–२ बाट निर्वाचित लक्ष्मीप्रसाद पोखरेल त्यहींका एक अगुवा राजनीतिकर्मी हुन् । सामान्य परिवारमा जन्मिएका उनी सानोमा गाई गोठालो गर्दै र डन्डिबियो खेल्दै हुिर्कए र कालान्तरमा सामाजिक अभियन्ता बनेर जनताका प्रतिनिधि बने ।
वि.सं. २०१९ असार १३ गते जन्मिएका पोखरेलको राजनीतिबाहेक अर्को पेसा छैन । जान्ने–बुझ्ने भएदेखि नै कम्युनिस्ट पार्टीमा आबद्ध भएर राजनीतिक यात्रा थालेका उनी अहिलेसम्म पनि आन्दोलनमै क्रियाशील छन् । प्राथमिक शिक्षा गाउँबाटै पूरा गरेका उनले पाँच वर्षकै उमेरदेखि स्कुल टेकेका हुन् । पिता नयाराम र माता धनरूपा जति नै दु:ख पाए पनि छोरालाई राम्रो शिक्षा दिएर ठूलो मान्छे बनाउन चाहन्थे । हुन त त्यतिबेला दैलेखमा जम्मा दुई वटा मात्र माध्यमिक विद्यालय थिए । तर पनि, परिवारले जस्तोसुकै असहजताका बीच पनि उनको पढाइलाई निरन्तरता दिन चुकेन । फलत: विजया मावि दुल्लूबाट पोखरेलले माध्यमिक शिक्षा प्राप्त गरे । भूमिगत जीवन, राजनीति र पढाइ सँगसँगै लैजान निकै कठिन थियो । तर पनि, उनले मानविकीमा स्नातक अध्ययन गरे । एसएलसीपछि सुर्खेत शिक्षा क्याम्पसमा भर्ना भए पनि अध्ययनलाई नियमितता दिन सकेनन् । उनी पढ्दापढ्दै धेरै पटक पक्राउ पर्दै र छुट्दै गरे ।
तीन दाजुभाइ र दुई दिदीबहिनीमध्ये जेठा पोखरेलको बिहे सानै उमेरमा भएको हो । एसएलसीको परीक्षा दिनासाथ उनको पवित्रासँग बिहे भयो । त्यो बेला बिहे गरे पनि तत्काल घरमा ल्याइहाल्ने चलन थिएन । अहिले उनका सन्तानहरू हुर्किसकेका छन् । चार छोराका पिता उनी सबै सन्तान हुर्किएकामा खुसी छन् । अझ ८० वर्षीय बुबा र ७४ वर्षीया आमाले परिवारलाई आशीर्वाद दिइरहेका छन् । प्राय:जसो यस्तो सौभाग्य कमैलाई मिल्छ । उनका चार छोरामध्ये जेठो योगेशले बीएस्सी पूरा गरेका छन् भने माइलो महेश स्वास्थ्य सहायक पढेर लोकसेवाको तयारीमा बसेका छन्, साइँलो राजेश बीबीएस् पढ्दैछन् भने कान्छो लोकेश दश कक्षामा पढ्दैछन् ।
त्यसो त उनका सबै बहिनीहरूको बिहे भइसकेको छ भने माइलो भाइ प्राध्यापन गर्छन् । कान्छो भाइ चाहिँ गाउँमै विद्यालयका हेडमास्टर छन् । सबै पेसामा लागेको र आफ्नो व्यवस्था आफैंले गरेकाले उनलाई संयुक्त परिवारको खासै चिन्ता छैन ।
पोखरेलेको राजनीतिक यात्रा भने ०३५ सालबाटै सुरु भएको हो । नेपाल मजदुर किसान पार्टीको विद्यार्थी संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघमा आबद्ध भएपछि उनले राजनीति जीवन सुरु गरे । सुरुमा विद्यालय प्रारम्भिक कमिटीको अध्यक्ष भएका उनी पछि जिल्ला कमिटी सदस्य भएर आन्दोलनका मोर्चाहरूमा होमिन थाले । ०३६–३७ को विद्यार्थी आन्दोलनमा जनमत संग्रहमा बहुदलको पक्षमा लागेर हिँडेका उनले ०३८ सालमा पार्टी सदस्यता प्राप्त गरे । उनलाई आन्दोलनमा लाग्न प्रेरणा दिने दैलेखकै उदयजंग शाही हुन् । त्यसैले उनी शाहीलाई आफ्नो राजनीतिक गुरु मान्छन् । शाहीकै प्रेरणाले उनी राजनीतिमा लागेको बताउँछन् । त्यतिबेला पार्टी सदस्यता लिन अत्यन्तै कडा थियो । फारम भरेर केन्द्रले लिएको जाँच दिएपछि त्यो जाँच पास भइयो भने मात्र सदस्यता स्वीकृत हुन्थ्यो । पोखरेलले भक्तपुरमा नारायणमान बिजुक्छे ‘रोहित’को हातबाटै पार्टी सदस्यता लिएका थिए । उनी ०४२ सालको सत्याग्रहमा पनि सहभागी भएका थिए । उनी त्यही आन्दोलनमा पहिलोपल्ट पक्राउ परे । उनीहरूले जिल्लाव्यापी रूपमा पञ्चायतविरुद्ध पर्चा छरेका थिए । उनीसहित नौ जनालाई प्रहरीले पक्रिएर चरम यातना दियो । १४ दिनको हिरासत बसाइपछि उनीहरूलाई छाडिएको थियो ।
०४३ सालको स्थानीय चुनावमा पोखरेल प्रधानपञ्चमा उठे र जिते । ०४७ सालसम्म नेमकिपाको जिल्ला सदस्य रहेका उनी भैरहवा सम्मेलनबाट केन्द्रीय सदस्य भए । उनले ०४६ सालको आन्दोलनताका दैलेखमा बसेर आन्दोलनको तयारी गरिरहेका थिए । जिल्लास्तरीय आन्दोलन संयोजन समितिको संयोजक भएका उनी पक्राउ परेर दुई महिना जेल जीवन बिताउन बाध्य भए ।
लामो समय नेमकिमामा पसिना बगाएका पोखरेल ०५३ मा एमाले प्रवेश गरे । त्यसका लागि पार्टीका अध्यक्ष रोहितको हात रहेको उनी स्वीकार्छन् । माले र माक्र्सवादी एकीकरण भएर एमाले बन्नुअघि वामहरूको एउटै केन्द्र बन्नुपर्ने विषयमा लामो छलफल चलेको थियो । नेमकिपालगायत पाँच वाम कार्यगत एकताका आधारमा एक ठाउँमा आइपुगेका थिए । पटक–पटक निर्णायक वार्ता भए पनि अन्त्यमा रोहितले नमानेपछि पार्टी एकीकरण भएन । दैलेख, कालीकोट, सुर्खेत, जुम्लालगायत विभिन्न जिल्लाका अधिकांश नेमकिपा कार्यकर्ता पार्टी एकता हुनुपर्छ भन्ने मत राख्थे । रोहितले पोखरेलको पनि सो धारणा पाएपछि उनलाई केन्द्रीय सदस्यबाट मुक्त गरिदिए । ‘त्यसपछि म एमाले आउने बाटो फराकिलो बन्यो’–उनले सुनाए ।
०७० मा सभासद् भएपछि उनको भूमिका फेरिएको छ । जिल्लामा बसेर पार्टी संगठन गर्ने उनी अहिले केन्द्रमा आएका मध्यपश्चिमको आवाज संविधानमा मुखरित गर्न लागेका छन् । त्यति मात्र होइन, जिल्लाबासीलाई दिएको विकासका आश्वासन पनि आफ्नै कार्यकालभित्र पूरा गर्नुछ । उनले चुनावताका दैलेखका दुई नम्बर क्षेत्रका जनतासमक्ष दुल्लुलाई नगरपालिका बनाउने मुख्य प्रतिबद्धता जनाएका थिए । जुन सरकारले हालै घोषणा गरेको छ भने दुल्लु अस्पताल पनि स्थापना भइसकेको छ । यसबाहेक सडक, खानेपानी, शिक्षा र कृषिको विकासमा लाग्ने र दैलेखको पञ्चकोशी पर्यटन ज्वाला क्षेत्र घोषणा गरी यसको ऐतिहासिक तथा पुरातात्विक महत्त्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिरपरिचित गराउने उनको लक्ष्य छ । खस साम्राज्यको राजधानी र कर्णाली प्रदेशको केन्द्र दुल्लूलाई मिडियाले उतिसारो महत्त्व नदिएको उनको गुनासो छ ।
एक वर्षभित्र संविधान बनाउने प्रतिबद्धता लिएर जनतामा गएकाले एक थान संविधान जसरी पनि दिनुपर्ने उनको अडान छ । विगतमा संविधानसभाभित्र खेल्ने नियतले अनेक देशी–विदेशी तत्त्वले काम गरेकाले संविधान नबनेको उनको तर्क छ । यसपालि भने जसरी पनि संविधान बन्ने उनको दाबी छ । ‘लेखेर राख्नुस्, यो पटक संविधान बन्छ, संविधान बन्न एक त अहिलेको जनादेश उपयुक्त हो र अर्को माओवादी ठूलो दल भएकाले उसले आफ्नो पालामा लोकतान्त्रिक संविधान दिन नखोजेकै हो’–उनको तर्क छ ।
पोखरेल हाल एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यसमेत छन् भने पहिले जिल्ला उपसचिव पनि भएका थिए । उनी अहिले भने भेरी अञ्चल समन्वय कमिटी सदस्य तथा संगठन विभाग प्रमुख पनि छन् । १५ हजार ६ सय १९ मत पाएर विजयी उनी कांग्रेसका हिमबहादुर शाहीलाई २५ सय २३ मतले पछाडि पार्दै विजयी बनेका थिए ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपालीमा
- अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
- मोफसलका ‘आँखा बा’
- भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर
- तस्वीरमा उहिलेको पोखरा
- एमालेसँग एक्लै चुनाव लडने तागत कसैसँग छैन : बिष्णु पौडेल
- एमसीसी स्वीकार्न अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ शुरु गरेको छ, प्रतिरोध गर्छौ : चीन
- देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुन्छ : प्रदीप ज्ञवाली
- एमालेले भारतलाई भन्यो-लिपुलेकमा सडक खन्ने बलमिच्याई रोक
- चुनावसम्म संसद अवरोध गरिरहन्छौं : ओली
- नयाँ ढङ्गले राजनीतिक यात्रा शुरु गर्छु : शेखर कोइराला
Leave a Reply