मोडल बजेटका परिकल्पनाकार
०५९ सालको कुरा हो । देशमा तीव्र राजनीतिक उथलपुथल व्याप्त थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् विघटन गरेपछि देशमा निरंकुशतन्त्र हावी हुने परिस्थिति सिर्जना भयो । अन्तत: राजाले शासन सत्ता हत्याए पनि । राजाको प्रत्यक्ष शासनकालमा जारी हुने बजेटले सम्पूर्ण जनताको प्रतिनिधित्व गर्ने कुरा अकल्पनीय नै थियो । हो, दरबारको शासनकालको त्यही बेला नागरिकको तर्फबाट बजेट बनाइनुपर्छ भन्ने परिकल्पना डा.चन्द्रमणि अधिकारीको दिमागमा सुल्झियो । र, त्यही बेलादेखि उनले बजेट आउनुभन्दा एक महिनाअघि नै ‘मोडल बजेट’ ल्याउन थाले । अहिले उनी बाह्रौं मोडेल बजेट प्रस्तुत गर्ने तयारीमा जुटेका छन् ।
‘म नेपालको मोडल बजेटको परिकल्पनाकार हुँ ।’ यस्तो अभिव्यक्ति प्रकट गर्ने डा.अधिकारी अहिले बजेट बनाउने निकाय राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका छन् । केही दिनअघि मात्रै, एमालेको कोटाबाट आगोगमा सदस्य नियुक्त भएका डा.अधिकारी अरू सदस्यहरूभन्दा वरिष्ठ पनि हुन् । उनले नेपाली अर्थतन्त्रलाई गतिशीलता दिने कार्यमा तीन दशकभन्दा लामो अवधि गुजारिसकेका छन् । आयोग सदस्यमा नियुक्त भएपछि उनले भने– ‘यो मेरा लागि एउटा अवसर र जिम्मेवारी हो । हिजोका दिनमा बाहिर रहेर बटुलेका अनुभव र सीपलाई अब म आयोगमार्फत् कार्यान्वयन गराउने दिशातिर लाग्नेछु ।’ नभन्दै, सदस्य नियुक्त भएपछि आयोगको भूमिकालाई कसरी सशक्त बनाउने भन्नेतिर उनको ध्यान मोडिएको छ अहिले र यिनै पक्षहरूमा केन्द्रित रहेर आफ्ना विचारहरू सम्प्रेषण गर्नेतिर उनी लागिसकेका छन् । साथै, वित्तीय साधनलाई परिचालन गर्ने काममा पनि आफ्ना अनुभवहरू बाँडचुँड गर्ने उनले बताए । तथापि, उनमा एकखाले असन्तुष्टि पनि छ– ‘आयोगलाई रबरस्ट्याम्पको रूपमा प्रयोग गर्ने गरिएको छ । त्यसको अन्त्य हुनुपर्दछ ।’
वि.सं.२०१६ साल पुस २६ गते काभ्रेपलाञ्चोक जिल्लाको महांकाल गाविसमा जन्मिएका अधिकारीको परिवार उनी चार वर्षकै छँदा रौतहटको चन्द्रनिगाहपुरमा बसाइ सरे । उनका बुबाले विदेशी सेनामा रहेकै बेला दोस्रो विश्वयुद्धमा भाग लिएका थिए र सेनाको जागिरे जीवन सिध्याएर गाउँ फर्किएपछि बुबाको मन पहाडको कम उब्जनी हुने र अनकन्टार पाखा–भित्ताहरूमा भन्दा पनि अन्नको भण्डार मानिने तराईका विशाल फाँटहरूतिर सोझियो । ‘उत्पादनशील क्षेत्रमा बस्नुपर्छ भन्ने लागेर बुबाले तराई रोज्नुभएको रहेछ’– उनी भन्छन् । ०३३ सालमा रौटहटको सन्तपुरस्थित शुभलाल माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका उनले प्राथमिक शिक्षा भने चन्द्रनिगाहपुरकै नेपाल राष्ट्रिय प्राथमिक विद्यालयबाट लिएका थिए । एसएलसी दिएर बसेकै बेला उनलाई प्रहरीले खोजी गर्न थाल्यो । भन्छन्– ‘म विद्यार्थी राजनीतिमा सक्रिय थिएँ । एकदिन स्कुलमा झगडा पर्यो र मलाई तीनमहिने वारेन्ट जारी गरेको थियो । तर, म लुक्दै हिँडे त्यतिबेला ।’ अफसोस † एसएलसी उत्तीर्ण गरेको दोस्रो दिन नै उनको पिताको निधन भयो । ‘एसएलसी पास गरेपछि इन्जिनियर र डाक्टर पढ्ने इच्छा त थियो तर पूरा हुन सकेन । तर, मैले कमर्स लिएर पढ्न थालेँ ।’ वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसबाट प्रथम श्रेणीमा आईकम उत्तीर्ण गरेका उनका प्रतिस्पर्धी भने अहिलेका गृहसचिव सूर्य सिलवाल हुन् र उनका सहपाठीहरूमध्ये चाहिँ कतारका पूर्वराजदूत उदयराज पाण्डे पनि हुन् ।
आईकम उत्तीर्ण गरेपछि उनले नियमित कक्षा नलिइकनै आफ्नो अध्ययनलाई अग्रगति दिँदै गए । र, कृषि विकास बैंकमा पाँचौं तहको कर्मचारीको रूपमा जागिरे जीवन सुरुवात गरे । दुर्गम पहाडमा मात्र हुँदैन, तराईमा दुर्गम ठाउँहरू हुन्छन् । उनले पर्सा जिल्लाको दुर्गम मानिने पोखरियामा बैंकको जागिरे जीवन व्यतीत गरे । त्यही काम गर्दागर्दै उनले बीकम पूरा गरे र एमबीएमा भर्ना पनि भए । बैंकमा तीन वर्ष बिताएपछि उनको दिलचस्पी सरकारी जागिरतिर बढ्यो । तर, लोक सेवा आयोगबाट लिखितमा पास गरे पनि प्रहरी रिपोर्टका कारण उनले जागिर खान पाएनन् । प्रहरीले उनी वामपन्थी राजनीतिसित नजिक रहेको रिपोर्ट दिएपछि उनको पहिलो मौका गुम्न पुग्यो । तर, ०४० सालमा भने उनले लोकसेवा उत्तीर्ण गरेर नायब सुब्बा तहमा जागिर खाएरै छाडे ।
०४२ सालमा अधिकृत भएका उनले ०६१ मा वरिष्ठ कर अधिकृतसम्म पुगेर जागिर छाडेका हुन् । सुरुमा बैंक, त्यसपछि सरकारी सेवामा समय अर्पेका डा.अधिकारी लेखनमा पनि उत्तिकै सक्रिय छन् । पाँच कक्षा पढ्दादेखि नै लेखन थालनी गरेका उनले विकास, अर्थ, व्यवस्थापन, व्यापार आदि क्षेत्रमा कलम चलाउँदै आएका छन् । यिनै विषयहरूसित सम्बन्धित डेढ दर्जन उनका पुस्तक पनि प्रकाशित भइसकेका छन् । उनको ‘अन्तर्राष्ट्रिय कर प्रणाली : तुलनात्मक अध्ययन’ नामक पुस्तक त विश्वका २० भन्दा बढी मुलुकका पुस्तकालयहरूमा समेत रहेको छ । डेढ दर्जन पुस्तकबाहेक उनले करिब चार दर्जनजति अध्ययन/अनुसन्धान गर्न पनि भ्याइसकेका छन् । बजेट, राजस्व, उद्योग, स्थानीय विकास, शिक्षा, स्वास्थ्य, गरिबी निवारण आदि विषयमा उनले अध्ययन/अनुसन्धान गरेका छन् । साथै, कविता लेखनमा पनि उनको उत्तिकै दख्खल छ र कविताकै चार कृति निस्किसकेका छन् ।
लेखन, अध्ययन, अनुसन्धान आदि क्षेत्रमा क्रियाशील डा.अधिकारी अहिले पनि डेढ दर्जनजति संघसंस्थामा आबद्ध रहेर आफूले सिकेको ज्ञान र सिप बाँडिरहेका छन् । यसअघि, नागरिक लगानी कोषको अध्यक्ष रहिसकेका उनी अहिले राष्ट्रिय आर्थिक तथा विकास अनुसन्धान परिषद्को अध्यक्ष, आर्थिक संघको सदस्य, घरेलु उद्योग महासंघको सल्लाहकार, नेपाल व्यवस्थापन संघको सदस्य, सुशासन अध्ययन प्रतिष्ठानको सदस्य, तुलसीलाल स्मृति प्रतिष्ठानको सदस्यका साथै लखनउ युनिभर्सिटीका भिजिटिङ प्रोफेसर पनि हुन् । थुप्रै राजनीतिक, व्यवस्थापन र वित्तीय संस्थाहरूमा आबद्ध उनी जिल्लाका सामाजिक संघसंस्थाहरूमा पनि उत्तिकै क्रियाशील छन् । उनी रौटहत विकास गुठीको उपाध्यक्ष, शुभलाल माविको एल्मुनाई एसोसिएसनको संस्थापक अध्यक्ष पनि हुन् । धेरै संघसंस्थामा आबद्ध उनी समयको व्यवस्थापन चाहिँ कसरी गर्छन् त ? भन्छन्– ‘समय खेर नफालेपछि समय हुँदो रहेछ । म अरूको कुरा काटेर बस्दिनँ र चिया पिएर बस्दा पनि कामकै लागि सोच्दछु ।’ हरेक समय सिर्जनशील कार्यमै समर्पित उनले करिब तीन दशकसम्म अर्थशास्त्र र व्यवस्थापन विषयको अध्यापन पनि गरे ।
हिजो आफू जुन क्षेत्रमा क्रियाशील थिए र जुन विषयमा दक्षता हासिल गरेका थिए, अहिले त्यही थलोमा पुग्न पाएकोमा उनी खुसी त छन् नै, आफ्नो काँधमा आइपरेको जिम्मेवारीलाई सफलतापूर्वक टुंग्याउनेमा पनि उत्तिकै दत्तचित्तपूर्वक लागिपर्ने संकल्प पनि उनले लिएका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- दसैँका लागि आजदेखि नयाँ नोट सटही
- आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
- बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य
- चार जलविद्युत् आयोजनाका लागि ३६ अर्ब ३७ करोड लगानी स्वीकृत
- नेपालको बिजुली बङ्गलादेश बिक्रीका लागि सहमति, पहिलो चरणमा ४० मेगावाट जाने
- डिजेल र पेट्रोलको मूल्य बढ्यो, ग्यासको घट्यो
- मौद्रिक नीति : बैंकदर यथावत्, नीतिगत दरमा सामान्य लचकता
Leave a Reply