नवौं महाधिवेशनका महत्त्वपूर्ण मुद्दाहरू
यो पंक्ति लेखिरहँदा ज्येष्ठ २४–३१ मा काठमाडौंमा गर्ने तय भएको नेकपा (एमाले)को नवौं
महाधिवेशन असार १९–२४ मा हुने निश्चित भएको छ । पाँचौं महाधिवेशनपछिको दोस्रो महत्त्वपूर्ण महाधिवेशनका रूपमा लिइएको यो महाधिवेशनले नीति, विचार र सांगठनिक पद्धतिमा केही महत्त्वपूर्ण आयाम थप्नेछ । अबको नेपाली समाजको उन्नति र प्रगतिको अगुवाइ गर्नेछ । विचारको सन्दर्भमा नेपाली क्रान्तिको सिद्धान्त जनताको बहुदलीय जनवादको माध्यमबाट दिशाहीन बनिरहेको कम्युनिस्ट आन्दोलनले नयाँ उचाइ प्राप्त गरेको छ । जनताको बहुदलीय कार्यक्रमिक अवधारणाबाट अगाडि बढ्ने क्रममा व्यवहारबाट परिक्षित भई सिद्धान्त र मार्गदर्शक सिद्धान्तका रूपमा विकसित भएको छ । यो २० वर्षको अवधिमा जनताको बहुदलीय जनवादले धेरै आक्रमणहरूको सामना गरेको छ । अवधारणाका रूपमा आउँदा आन्तरिक संघर्षको मैदानमा विजय भएपछि बाह्य संघर्षको सामना गर्नुपर्यो, बाह्य संघर्षमा पनि अब्बल साबित भएपछि अब जनताको बहुदलीय जनवाद नेपाली समाजकै मार्गदर्शक सिद्धान्तको रूपमा स्थापित भएको छ । विरोधीहरूको आलोचनात्मक स्वर यतिबेला शक्तिहीन, प्राणहीन भएको छ । जबजको एन्टी थेसिसका रूपमा विकास गर्न खोजिएको एक्काइसौं शताब्दीको जनवाद आज त्यसका प्रवर्तकहरूबाट पनि उच्चारण भएको सुन्नसमेत पाइँदैन । प्रसिद्ध राजनीति शास्त्री गेटेले ‘सिद्धान्तको रङ खैरो हुन्छ’ भनेको सायद व्यवहारमा मात्र सही वा गलत पुष्टि हुन सक्ने भएकाले नै हो । आज जनताको बहुदलीय जनवाद नेपाली राजनीतिको अभ्यासमा सही साबित मात्र भएको छैन यो दुई दशकको राजनीतिलाई नेतृत्वसमेत गरेको छ । यदि जनताको बहुदलीय जनवादको विचार मदन भण्डारीले अगाडि नल्याउनुभएको भए आज न एमाले यो अवस्थामा हुन्थ्यो न त यो देशमा गणतन्त्र नै आउँथ्यो । कतिपय मानिसलाई यस्ता कुरा अतिरञ्जित पनि लाग्न सक्छन् तर तथ्य र प्रमाणले यही बोलिरहेका छन् । संवैधानिक राजतन्त्रलाई आफनो सिद्धान्त बनाएको नेपाली कांग्रेस र शक्ति बन्दुकको बलबाट मात्र प्राप्त हुन्छ भन्दै सशस्त्र युद्धमा गएको माओवादीलाई शान्तिपूर्ण संघर्षको बाटोमा ल्याई देशलाई गणतन्त्रमा पुर्याउने काम जनताको बहुदलीय जनवादले नै गरेको हो । जनताको बहुदलीय जनवादको शान्तिपूर्ण संघर्षको माध्यमबाट पनि महत्त्वपूर्ण परिवर्तन ल्याउन सकिने नीति सफल भएको छ । अर्थात् ०६२–६३ को आन्दोलनले सामन्तवादी सत्तालाई ढाली त्यसका ठाउँमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेको छ । मुलुकमा राजनीतिक रूपमा आमूल परिवर्तन प्राप्त भएको छ । वामपन्थी शक्ति र बुर्जुवा पुँजीवादी शक्तिको सहकार्यबाट आन्दोलन सफल भएको भए पनि वैचारिक नेतृत्व जनताको बहुदलीय जनवादले गरेको हुँदा आन्दोलनका उपलब्धि संस्थागत गर्नु जनताको बहुदलीय जनवादको अबको मुख्य कार्यभार हो । नवौं महाधिवेशनले राजनीतिक परिवर्तनलाई संस्थागत गरी आर्थिक क्रान्तिको कार्यक्रमलाई मुख्य कार्यभार बनाउनुपर्छ ।
नवौं महाधिवेशनले स्पष्ट गर्नुपर्ने केही महत्त्वपूर्ण विषयहरू छन् । जसका बारेमा पार्टीमा बहस पनि सुरु भएको छ । बहस विचारप्रधान र पूर्वाग्रहरहित भयो भने निश्चितै रूपमा त्यसले पार्टीलाई बलियो र गतिशील बलाउन मद्दत गर्छ । मुख्य विषय–
१ नेपाली समाजको चरित्र
२ २०६२/ ०६३ को आन्दोलनलाई हेर्ने दृष्टिकोण
३ प्रमुख अन्तरविरोध
४ आगामी कार्यभार
५ कार्यपद्धति र कार्यशैलीमा परिवर्तन
यी विषयहरू एकअर्कामा अन्योन्याश्रित पनि छन् । नेकपाको स्थापना हुँदा भारत पूर्ण उपनिवेशबाट भर्खर मात्र मुक्त भएको थियो भने चीनमा केही भू–भागमा उपनिवेश नै कायम थियो । त्यसकारण भारतीय र चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो देशलाई अर्धऔपनिवेशिक भन्ने त्यो युक्तिसंगत नै थियो । सन् १९२७ मा माओले चीनलाई अर्धऔपनिवेशिक राष्ट्र भनेका थिए । त्यो अर्धऔपनिवेशिकताका विरुद्ध लडी चीनलाई १९४९ मा मुक्त बनाएका थिए । हाम्रो देश संसारको पहिलो यस्तो देश हो, जहाँ कहिले कसैको उपनिवेश हुनुपरेन । १८१६ को इस्ट इन्डिया कम्पनी सरकारसँग भएको सुगौली सन्धिबाट नेपालको सार्वभौमिकता र अखण्डतामा आँच आएको हो । भारत मुक्त भएपछि नेपालले उक्त सन्धिका बारेमा तत्कालै पुनरावलोकन गर्न र हाम्रो अखण्डातालाई अक्षुण राख्नुपर्दथ्यो तर तत्कालीन शासकले त्यसो गरेनन् बरु सन् १९५० मा अर्को सन्धि गरेर हाम्रो राष्ट्रियता र सार्वभौमिकतामा थप आँच पुर्याउने काम गरे । नेकपाको स्थापनापश्चात उक्त परिवेशलाई अर्धऔपनिवेश भनियो । यो विषयमा व्यापक छलफलभन्दा चीनमा माओले भनेका हुनाले भनियो । यद्यपि यो शतप्रतिशत नै गलत थिएन । भारतीय डोमिनेन्सिएलटीको मनोविज्ञानले हाम्रा नेताहरूमा पछिसम्म पनि छलफलको विषय बनाइएन । सायद त्यो सत्य नै ठानियो । र, भारतीय विस्तारवादका रूपमा परिभाषित गरी दस्तावेजमा उल्लेख गरियो । भारतीय शासकहरूको मिचाहा प्रवृत्तिको विरोधको प्रतिविम्ब हो त्यो परिभाषा । अब पनि नेपाल अर्धऔपनिवेश नै मान्ने कि त्यसमा पुनरावलोकन गर्ने ? अहिलेको महत्त्वपूर्ण सवाल हो यो । जुन कारण देखाएर अर्धऔपनिवेश भनियो अध्यावधिक नै छन् हाम्रो सार्वभौमिकता र अखण्डतालाई अरू बलियो बनाउन ती सन्धिहरू पुनरावलोकन गरिनुपर्छ । तर, अब पनि नेपाललाई अर्धऔपनिवेश मान्ने कुरा हाम्रो गौरवपूर्ण राष्ट्रिय इतिहांस, संयुक्त राष्ट्रसंघमा हाम्रो बलियो उपस्थिति र हाम्रो संविधान प्रतिकूल हुन जान्छ । हाम्रो राष्ट्रिय स्वाभिमानलाई बलियो बनाउन राष्ट्रकै ध्यान केन्द्रित गर्नुपर्छ तर अर्धऔपनिवेशिकताको मनोविज्ञानले होइन । त्यस्तै, हाम्रो राष्ट्रिय चरित्र अब अर्धसामन्ती छ कि छैन भन्ने सवालमा ०६२/६३ को आन्दोलनको सफलतापछि सामन्तवादको नाइके राजतन्त्रात्मक सत्ता ढलेको छ । गणतन्त्र स्थापना भएको छ । राजनीतिक रूपमा सामन्तवाद समाप्त भएको छ । आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्दै आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा रहेका सामन्तवादका अवशेषहरू हटाउने कार्यक्रम ल्याउनु अबको हाम्रो मुख्य कार्यभार हुनुपर्दछ । यसरी अब देश सामन्ती चरणबाट पुँजीवादी चरणमा प्रवेश गरेको छ । ०६२/६३ को आन्दोलनलाई बुझ्ने र ग्रहण गर्ने विषयमा दुविधामा पर्नुपर्ने कुनै कारण छैन । आन्दोलनले सामन्तवादी सत्ता ढालेको छ । कम्युनिस्ट पार्टी एक्लैले यो सत्ता ढालेको होइन, त्यसकारण यसलाई बहुदलीय जनवादी क्रान्ति नै पूर्णरूपमा सम्पन्न भएको अर्थमा लिन सकिँदैन । तर, समाज अब जबजको प्रथम चरणमा प्रवेश गरेको अर्थमा बुझ्न सकिन्छ । यसले सामन्तवादी सत्ता नै ढालेको छ । यो एक्काईर्सौ शताब्दीको अपरम्परागत क्रान्ति हो ।
जननेता मदन भण्डारीको निधनपछि जबजलाई व्याख्या गर्ने, विश्लेषण गर्ने र उक्त सिद्धान्तलाई कार्यान्वयन गर्ने सन्दर्भमा केही पद्धतिगत र शैलीगत समस्याहरू देखिएका छन् । जबजले सफलता प्राप्त गर्दै गएको छ । आन्दोलनका उपलब्धिहरू अपेक्षित संस्थागत गर्नु विश्व कम्युनिस्ट आन्दोलनकै चुनौती बनिरहेको हुन्छ । त्यसकारण वर्तमान पार्टी नेतृत्वलाई नेपाली श्रमजीवी जनताको आग्रह छ, विश्वमै नदेखिएको सफलता नेपाली कम्युनिस्ट आन्दोलनले प्राप्त गरेको छ । यसको जगमा कम्युनिस्ट पार्टीको लक्ष्य प्राप्तिको दिशामा कम्युनिस्ट आदर्श, मूल्य मान्यतासहित अगाडि बढ्नुपर्छ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपालीमा
- अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
- मोफसलका ‘आँखा बा’
- भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर
- तस्वीरमा उहिलेको पोखरा
- एमालेसँग एक्लै चुनाव लडने तागत कसैसँग छैन : बिष्णु पौडेल
- एमसीसी स्वीकार्न अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ शुरु गरेको छ, प्रतिरोध गर्छौ : चीन
- देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुन्छ : प्रदीप ज्ञवाली
- एमालेले भारतलाई भन्यो-लिपुलेकमा सडक खन्ने बलमिच्याई रोक
- चुनावसम्म संसद अवरोध गरिरहन्छौं : ओली
- नयाँ ढङ्गले राजनीतिक यात्रा शुरु गर्छु : शेखर कोइराला
Leave a Reply