एमाले : किन र कसरी बनाउने ?
म गर्भे एमाले हुँ । यसो भन्दा मलाई गर्व लाग्छ, अप्ठ्यारो लाग्दैन । एमालेको आदर्श र विचारबाट प्रभावित छु म । ९ वर्षको हुँदा एमालेका नाममा भोट माग्दै आमसभामा भाषण गरेको हिजो जस्तै लाग्छ । मदन भण्डारीको क्रेज रहेको त्यसबेला ‘फुच्चे त खतरा भाषण गर्छ है’ भनेको सुनेको हिजो जस्तै लाग्छ ।
त्यही एमाले हो, मलाई स्वतन्त्रतापूर्वक बाँच्न सिकाउने अनि त्यसकै विचार हो– उचनिच र जातभात मान्नुहँुदैन भन्न लगाउने । अन्यायको तत्काल विरोध गर्नुपर्छ र श्रमको सम्मान गर्नुपर्छ भन्ने सचेतना अखिलमा संगठित भएरै प्राप्त भएको हो । संयोग भनूँ, अहिले गरिरहेको कर्म पनि यस्तै छ । शक्तिहीनहरूलाई कसरी शक्तिशाली बनाउने भन्दै देशका कुनाकन्दरा चाहर्दाचाहर्दै अफ्रिका आइपुगेको छु ।
सधैं एमालेको सक्रिय राजनीति गरिरहन सम्भव भएन । अत: वार्षिक लेबी बुझाउनुभन्दा बढी हैसियत रहेन । आसन्न नवौं महाधिवेशनको सन्दर्भमा एमालेको विचार र आदर्शबाट प्रभावित सुषुप्त अवस्थामा रहेको कार्यकर्ताको हैसियतले एमाले किन बन्नुपर्छ र कसरी बनाउने भन्ने सन्दर्भमा यहाँ आफ्ना भनाइ राखिरहेको छु ।
राजनीतिक विश्लेषकहरू भन्छन्– एमालेको संगठन अर्थात् कमिटी प्रणाली र अनुशासित कार्यकर्ता सायदै अरू पार्टीमा होलान् । हुन पनि हो, कम्तीमा एमालेको निर्वाचन क्षेत्रीय स्तरसम्मका कमिटीहरू सक्रिय छन् र नियमित बैठक, भेला आयोजना गरिरहेका छन् ।
एमाले कार्यकर्ता आधारित पार्टी हो, ती कार्यकर्ता कानुनको सम्मान गर्छन्, सामाजिक कुरीतिको विरोध गर्छन् र जसलाई एमाले भएर फाइदा लुट्नु होइन, समाज रूपान्तरणमा योगदान दिने जोस छ । हो, यस्ता कार्यकर्ताको बाहुल्य छ एमालेमा । एमालेको कार्यकर्ता भएकै नाममा बलात्कार गर्यो भने उन्मुक्ति पाउने सम्भावना छैन । एमाले भएकै नाममा श्रीमती पिट्नेहरू छाती फुलाएर हिँड्न पाउँदैनन् ।
एमालेका अधिकांश कार्यकर्ता मिहिनेतकश छन् । पार्टीले होइन, आफूले आफ्ना लागि कमाउनुपर्ने कुरामा सचेत छन् । स्वभावैले एमालेका कार्यकर्ता श्रमजीवी छन् । र, श्रमको सम्मान गर्छन् ।
आज पनि गाउँमा रहेका सचेत नागरिकको बहुमत एमालेमा आस्था राख्छ । कमसेकम एमालेका कार्यकर्ताले जनतालाई दु:ख दिँदैनन्, चाहे त्यो जबर्जस्तीका नाममा होस् वा सामन्ती स्वभावका नाममा होस् भन्ने विश्वास छ नागरिकमा । त्यही भएर त एमाले हुँ भन्दा मानिसहरू मुख बिगार्दैनन् ।
सिद्धान्तका गफ गरेर कहिल्यै नथाक्ने स्वभावबाट बाहिर आउन जरुरी छ अब । सिद्धान्त दालभात होइन, अब यसको व्यावहारिक कार्यान्वयनका दिशामा योजना, प्रक्रिया र समयतालिका चाहिएको छ एमालेलाई । आसन्न महाधिवेशनमा एमालेले सामान्य लाग्ने केही विषयमा नीतिगत परिमार्जन गर्दै आफूलाई परिष्कृत गर्यो भने त्यो समग्र देश र नेपाली नागरिकहरूकै लागि समृद्धिको महत्त्वपूर्ण ‘टर्निङ प्वाइन्ट’ हुनेछ ।
पार्टीको लोकतान्त्रीकरण भनेको नेता चुन्न निश्चित अवधिमा गरिने निर्वाचन मात्र होइन भन्ने कुराबाट सम्भवत: एमाले कार्यकर्ताले झैं नेता र कथित विचारकहरू मुक्त हुनुपर्छ । पार्टीको स्थायी कमिटीले गर्ने निर्णयलाई अक्षरश: पालना मात्र होइन, त्यो निर्णय प्रक्रियामा प्रस्टसँग सहभागी हुन पाउनु हो लोकतान्त्रीकरण । वास्तविक अर्थमा तल्ला कमिटीहरूलाई बलियो बनाउने कुरा हो लोकतान्त्रीकरण । अर्थात, पार्टीका उपल्ला स्तरका निर्णय प्रक्रियामा तल्ला कमिटीको प्रतिनिधित्व र सहभागितालाई सुनिश्चित गराउने परम्परागत कथित ‘रिपोर्टिङ’ शैलीमा अब परिवर्तन नल्याई गुन्जायस छैन । यस दिशामा महाधिवेशनले ठोस निर्णय लिनुपर्छ ।
व्यवहार र नैतिकता नै पार्टी सिद्धान्तका गहना हुन् । आफू भ्रष्ट हुनेले कहिल्यै भ्रष्टाचारका विरुद्ध आन्दोलन छेड्न सक्दैन । पार्टीका जिल्ला कमिटी तहसम्मका सबै कार्यकर्ताले आफ्नो सम्पत्तिको विवरण स्रोतसहित सार्वजनिक गरिने परिपाटीको विकास हुनुपर्छ । प्रत्येक वर्ष यसको अद्यावधिक गरिनुपर्छ ताकि नागरिकले एमालेका नेताहरूको आर्थिक हैसियतका बारेमा छर्लंग जानकारी पाऊन् । आफ्ना प्यारा नेतालाई जाँच्न पाऊन् । एमालेका कार्यकर्ताले नेपाल सरकारले लागू गरेका कानुनको पालना गर्नुलाई आफ्नो कर्तव्य सम्झनुपर्छ । एमालेका कार्यकर्ता आफैंले कमाउने छन् । र, कानुनबमोजिम कर तिर्ने छन् । यो सन्देश जनजनमा पुर्याउनुपर्नेछ ।
सम्बन्धित समाचार
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
- एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
- डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
- कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
- उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
- टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
- भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
- रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते
- आजबाट छठ पर्व सुरु
- मधेश सरकारले भूकम्पपीडितलाई ६० लाख बराबरको सहयोग गर्ने
Leave a Reply