उत्कृष्ट पाँचको दिशातिर
कुनै बेला हिमालपारिको जिल्ला मुस्ताङका जनताले सरल र सहज बैंकिङ सुविधाको रूपमा स्थापित एटीएम सेवा प्राप्त गर्नु कल्पनाभन्दा बाहिरको विषय ठहरिन्थ्यो । तर, सन् ९० को दसकमा आएको खुलापनले भने निजी क्षेत्रमा समेत बैंकहरू खुल्ने र फस्टाउने क्रम तीव्रतर रूपमा बढ्न थाल्यो र तल्लो स्तरका जनताको पहुँच बैंकसित रहन पुग्यो । ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी–अधिकृत रत्नराज बज्राचार्य बैंकिङ क्षेत्रले मारेको फड्कोलाई वित्तीय क्षेत्रको ठूलो उपजका रूपमा लिन्छन् ।
हुन पनि, कल्पनै गर्न नसकिने जोमसोमजस्तो ठाउँमा केही समय पहिले ग्लोबलले एटीएम सेवासमेत सुरुआत गरेर स्थानीय जनतालाई सहज बैंकिङ सुविधा उपलब्ध गराएको छ । र, एटीएम भनेको राजधानीलगायत ठूला सहरमा बस्नेहरूका लागि मात्रै हो भन्ने मान्यतालाई मुस्ताङको उदाहरणले खण्डन गरिदिएको छ । जोमसोममा एटीएम सेवा उपलब्ध गराएपछि हौसिएका बज्राचार्य अब चाँडै नै मध्यपश्चिमका दुई पहाडी जिल्ला रोल्पा र रुकुममा पनि एटीएम सेवा प्रारम्भ गर्ने तयारीमा जुटेका छन् । उनी भन्छन्– ‘बैंकिङ क्षेत्रमा भित्रिएको नयाँ प्रविधिको कारणले गर्दा तल्लो तहका जनता लाभान्वित हुन पुगेका छन् ।’
आठ वर्षे यात्रामा हिँडिरहेको ग्लोबलमा पूरै तीन वर्ष बिताएका बज्राचार्य भन्छन्– ‘रुकुममा एटीएम राखेबापत हामीलाई फाइदा हुँदैन । तर, हामीले एटीएम राख्दा स्थानीय जनताले सुविधा पाउँछन् र उनीहरू हामीसित आबद्ध भइरहन्छन् ।’
६२ वर्षअघि पाटनमा जन्मिएका बज्राचार्यले वित्तीय क्षेत्रमा चार दशकभन्दा बढी समयको अनुभव सँगालिसकेका छन् । ०२३ सालमा पाटन हाइस्कुलबाट एसएलसी उत्तीर्ण गरेपछि उनले आईकम र बीकम नेपाल कमर्स क्याम्पसबाट पूरा गरे । त्रिभुवन विश्वविद्यालयबाट एमकम गरेका उनले अध्ययनसँगै जागिरलाई पनि प्राथमिकतामा राख्दै आए । भन्छन्– ‘मैले एसएलसी उत्तीर्ण गरेपछि कुनै न कुनै जागिर गर्दै आएँ । किनभने, आर्थिक अवस्था निम्नस्तरको भएको हुँदा आफंैले खर्च जुटाउँदै अध्ययन गर्नुपर्ने बाध्यता थियो ।’ हुन पनि उनले सुरुमा नेपाल पुनर्वास कम्पनी नेपालगञ्ज र कृषि विकास बैंक गौरमा गई काम गरे । तर, ०२९ सालमा नेपाल राष्ट्र बैंकमा सहायकमा प्रवेश गरेपछि उनले त्यहीँ दुई दशक बिताए । उनले राष्ट्र बैंकमा काम थाल्दा नेपालमा चार वटा सरकारी बैंक मात्र थिए । ती सरकारी बैंकहरूका तीन सयभन्दा बढी शाखा थिएनन् । उनी भन्छन्– ‘त्यतिबेला ब्रान्च बैंकिङ थियो । तर, उदारीकरणको नीति आएपछि थुप्रै बैंकहरू खुल्न थाले र ब्रान्चबाट विकास, फाइनान्सजस्ता श्रेणीगत बैंकहरू खुले ।’ अहिले करिब २५ सय ब्रान्च रहेको बताउँदै निजी क्षेत्रका बैंकहरूले नसोचेका ठाउँहरूमा पनि आफूलाई पुर्याएको र यसले बैंकिङ पहुँचसम्म जनता पुगेको बज्राचार्यको अनुभव छ । उनी भन्छन्– ‘वित्तीय स्रोतमा पहुँच पुर्याउन निजी बैंकहरूको ठूलो भूमिका छ ।’
राष्ट्र बैंकमा कार्यरत रहँदा उनले एउटा औसर पनि पाए । उनलाई बैंकले चार्टर्ड एकाउन्टेन्टको अध्ययनका लागि भारत पठायो । उनीसँगै अरू दुई जना पनि सहपाठी थिए । नेपालका २३ औं नम्बरको चार्टर्ड एकाउन्टेन्टका रूपमा दर्ज बज्राचार्य भन्छन्– ‘आफूलाई चाहिने जनशक्ति आफैं उत्पादन गर्ने सोचअनुरूप बैंकले हामीलाई पढ्न पठाएको हो । किनभने, त्यतिबेला नेपालमा सीएको ज्यादै अभाव थियो ।’ तर, ०४९ सालमा बैंकको नायब मुख्य एकाउन्टेन्टबाट सेवा त्यागेपछि उनले आर.बज्राचार्य एन्ड कम्पनी स्थापना गरेर काम गर्न थाले । ‘मेरो कम्पनी धेरै सफल कम्पनीको रूपमा स्थापित भयो । कम्पनीले बैंकिङ क्षेत्रको परामर्शदाताको रूपमा काम गर्दथ्यो’– बज्राचार्य भन्छन् ।
नेपाल बैंक लिमिटेडमा समस्या उत्पन्न भएपछि व्यवस्थापन सम्हाल्न पुगेको बैंक अफ आयरल्यान्डसित उनको कम्पनीले सहकार्य गरी काम गर्न थाल्यो । सो बैंक विदेशी व्यवस्थापनले जिम्मा लिएपछि उनी बैंकको मुख्य सञ्चालन/वित्त अधिकृतका रूपमा चार वर्षसम्म कार्यरत रहे । १० वर्षसम्म आफ्नै कम्पनीमा व्यस्त उनले त्यसपछि भने एनसीसी बैंकमा प्रमुख कार्यकारी अधिकृतका रूपमा प्रवेश गरे । उक्त बैंकमा चार वर्षसम्म आफ्नो क्षमता प्रदर्शन गरेपछि सन् ०११ मा ग्लोबलको जिम्मेवारी सम्हाल्न थालेका हुन् ।
आफूले जिम्मेवारी लिएको संस्थालाई उत्कृष्ट बनाउने चाहना प्राय: सबैमा हुन्छ । त्यही धुनमा तल्लीन बज्राचार्य ग्लोबललाई ५ हजारदेखि ५० करोडसम्म ऋण दिने बैंकको रूपमा स्थापित गर्न सफल भएको बताउँछन् । अहिले आफ्ना ८८ वटा शाखाबाट सेवा प्रदान गरिरहेको ग्लोबलले हरेक क्षेत्रमा लगानी गरेको छ । ३ अर्बजति जलविद्युत् क्षेत्रमा र केही ठूला सिमेन्ट उद्योगहरूमा समेत लगानी रहेको ग्लोबलले अहिले कृषि क्षेत्रको व्यावसायिकरणलाई महत्त्व दिएर कृषि कर्जामा समेत हात हालेको छ । उनी भन्छन्– ‘जहाँ–जहाँ हामी पुगेका छौं, स्थानीय जनतालाई साना व्यवसाय र कृषि क्षेत्रमा लगानी गरिरहेका छौं । साना व्यवसायी कर्जा सफल पनि भएको छ ।’
पछिल्लो समयमा राष्ट्र बैंकले मर्जरको नीति ल्याएपछि ग्लोबलसित मर्ज हुने वित्तीय संस्थाहरूको संख्या अहिलेसम्म आधा दर्जनको हाराहारीमा पुगिसकेको छ । अहिलेसम्म आईएमई फाइनान्सियल इन्स्टिच्युसन, लर्डबुद्ध फाइनान्स कम्पनी, सोसियल डेभलपमेन्ट बैंक, गुल्मी विकास बैंक र कमर्ज एन्ड ट्रस्ट बैंक मर्ज भइसकेका छन् । बज्राचार्य भन्छन्–‘हामी पुँजी बढाउनका लागि मात्र मर्जरमा गएका हौं ।’
अहिले ग्लोबलको चुक्ता पुँजी ४ अर्ब १० करोड रुपियाँ छ भने जगेडासमेतको पुँजीकोष ६ अर्ब नाघिसकेको छ । त्यस्तै, निक्षेपतर्फ ४९.५० अर्ब र ऋण लगानीतर्फ ४२ अर्ब रुपियाँ रहेको छ । अहिले देशका १० ठूला बैंकभित्र पर्ने ग्लोबलको अबको योजना भने उत्कृष्ट पाँचभित्र पर्ने हो । बज्राचार्य भन्छन्– ‘अब हामी उत्कृष्ट पाँचौंभित्र पर्ने योजनामा छौं र कसरी उत्कृष्ट पाँचौंमा पर्ने भन्ने नै अबको हाम्रो लक्ष्य हो ।’
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
आर्थिक वृद्धि सुस्त हुने प्रक्षेपण : विश्व बैंक
-
नेपाल स्टक एक्सचेन्ज (नेप्से) अब सोमबारदेखि शुक्रबारसम्म खुला रहने
-
इन्धन मूल्यवृद्धिले हवाई भाडा बढ्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
Leave a Reply