नाटकका भरपर्दा अनुहार

सिर्जनशील कार्यमा सदैव क्रियाशील रहने स्वभाव कमै व्यक्तिहरूमा हुन्छ । तिनै कम व्यक्तिहरूका सूचीमा कृष्ण शाह ‘यात्री’लाई राख्दा सायदै आपत्ति होला । दुई दशकभन्दा लामो अवधिदेखि नाटक लेखन/मञ्चनमा खटिएका यात्री कुनै पनि नौलो, स्पर्शनीय विषयलाई आफ्नो लेखन शिल्पमा तुरुन्तै ढाल्न कन्जुस्याइँ गर्दैनन् ।
अहिले उनको मस्तिष्कमा एउटा विषयवस्तु घुमिरहेको छ । फागुनको दोस्रो साता नाटकसम्बन्धी विचार–विमर्श गर्न अमेरिका गएका उनलाई एउटा विषयले अचानक छोयो । डलर–स्वप्न बोकेर नेपालबाट अमेरिका भासिएका नेपालीहरूले त्यहाँ कस्तो जीवन गुजारिरहेका छन् ? उनीहरूको कसरी सांस्कृतिक विचलनको सिकार हुँदै गइरहेका छन् ? र, पलायन हुनेहरूले भोग्ने आम पीडा के हो ? यस्ता पक्षहरूले उनको दिमागलाई चाट्नु स्वाभाविक थियो । हो, अहिलेसम्म डायस्पोरामाथि साहित्यका अरू विधाहरूमा कलम चले पनि नाटकमा भने नचलेको कुरा राम्ररी बुझेका यात्रीले निकट समयमा नै डायस्पोरा–नाटक लेख्ने तर्खर गर्दैछन् । उनी भन्छन्– ‘आउँदो भदौसम्म नाटक लेखिसक्नेछु ।’
तीन महिनाअघि तीन हप्ताकै लागि अमेरिका पुगेका उनले न्युयोर्क, वासिंगटन डिसी र बोस्टनमा नाटकसम्बन्धी भएका कार्यक्रम र छलफलहरूमा भाग लिए । साथमा थिए, नेपाली रंगमञ्चका अग्ला हस्ती अशेष मल्ल पनि । बोस्टनमा सिर्जना उत्सव परिवार, वासिंगटन डिसीमा नेपाली–अमेरिकी लिट्रेचर सोसाइटी र अन्तर्राष्ट्रिय कलाकार मञ्च र न्युयोर्कमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आयोजना गरेको नाटकसम्बन्धी फरक–फरक कार्यक्रममा उनले नेपाली नाटक र रंगमञ्चको स्थिति, नेपालका महिला नाटककारहरू आदि विषयमा आफूले अध्ययन गरेका कुराहरू पस्किए । तर, डायस्पोरा–साहित्यमा सबै विधाहरूले स्थान पाए पनि नाटकले भने स्थान नपाउँदा उनी केही खिन्न पनि देखिए । भन्छन्– ‘साहित्यका अरू विधा फस्टाए पनि नाटकमा भने शून्य देखियो । मैले विदेशमा बस्नेहरूले एउटै नाटक लेखेको देखिनँ ।’ साथै, अमेरिकामा बस्ने नेपालीहरू नाटक हेर्न नजाने गरेको पनि उनले पाए । नेपालीहरूले अरू कामहरूमा चासो राख्ने भए पनि नाटकप्रति भने चासो नभएकोमा उनलाई चिन्ता लागेको छ । फिल्मभन्दा नाटक हेर्नु महँगो पर्ने भएको र समयको अभावका कारण नेपालीहरूले नाटकप्रति मोह नराखेको हो कि भन्ने यात्रीको आँकलन छ ।
तर, अमेरिकाको छोटो बसाइका क्रममा उनले भने केही थिएटरमा गएर अंग्रेजी नाटक हेरे । उनले न्युयोर्कमा हेरे, केही नाटक । भन्छन्– ‘अमेरिका र नेपालमा नाटक गर्ने शैलीमा खासै भिन्नता रहेनछ । र, उनीहरू नाटक हेर्न जाँदा विचार बनाएरै जाँदा रहेछन् ।’ त्यसो त, अमेरिकामा बसेर साहित्य–सिर्जनामा क्रियाशील स्रष्टाहरूप्रति पनि उनको गुनासो छ । उनी भन्छन्– ‘नेपालीहरूले आ–आफ्नै ढंगले काम गरे पनि नेपाली साहित्यलाई अंग्रेजी भाषामा अनुवाद गर्ने र त्यहाँका साहित्यकारहरूसित अन्तक्र्रिया गर्ने वा घुलमिल गर्ने गरेको चाहिँ मैले पाइनँ ।’ तर, सबै आ–आफ्नै काममा व्यस्त रहेकाले समय–अभावका कारण पनि त्यस्तो कार्य सम्भव नभएको उनको ठहर छ ।
चालीस वर्षअघि उदयपुरको कटारीमा जन्मिएका यात्रीले नेपाली नाटकको अध्ययन, अनुसन्धान, लेखन र मञ्चनमा तेइस वर्ष बिताइसकेका छन् । ०४८ सालमा मोदनाथ प्रश्रितको चर्चित नाटक ‘आमाको काखमा’ निर्देशन गरेर नाट्य क्षेत्रमा खुट्टा उचालेका उनले करिब सयको हाराहारीमा नाटक निर्देशन गर्न भ्याइसकेका छन् । स्कुल तहको अध्ययनको अन्तिम वर्षमा उनले कटारीमा ज्योति बालमञ्च गठन गरे र ‘आमाको काखमा’ देखाए । उनलाई स्थानीयहरूले हिन्दी र नेवारी भाषामा देखाउने गरेको नाटक हेरेपछि नै आफू पनि यो क्षेत्रमा लाग्दा केही होला कि भन्ने भावना पलायो । त्यसपछि उनले नाटक क्षेत्रलाई नै मुख्य रूपमा रोजे, सहायक क्षेत्रहरू त उनका अरू पनि छन् । यही क्रममा, उनले महाकवि लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे, भूपी शेरचन, बैरागी काइँलाजस्ता स्रष्टाहरूका कवितालाई समेत मञ्चन गरिसकेका छन् । त्यसबाहेक, नेपालका प्रायजसो सबै स्थापित नाट्य–स्रष्टाका नाटक पनि निर्देशन गरिसकेका छन् उनले ।
नेपाली नाटकको स्तरोन्नतिमा सन्देह गर्ने ठाउँ नभए पनि सडक नाटकले भित्र्याएको विकृतिप्रति भने उनी सन्तुष्ट छैनन् । उनी भन्छन्– ‘सडक नाटकले कलाकारहरूलाई पैसामुखी बनाएको छ । कलात्मक पक्ष कम हुँदै गएको छ । र, प्रायोजित नाटकका कारण कलात्मक सौन्दर्य हराएको छ ।’ सडक नाटक गर्नेहरूले दुई दिनमा नै नाटक तयार पारेर तेस्रो दिन प्रदर्शन गर्ने गरेका कारण पनि विकृति भित्रिएको उनको ठहर छ । तर, यति हुँदाहुँदै पनि सडक नाटक गर्ने कलाकारहरूले आर्थिक अभाव झेल्नु नपरेको र कलाकारहरूलाई पलायन हुन रोकेकोमा भने उनी खुसी नै छन् ।
नेपाली नाटक दिन/प्रतिदिन प्रगतितिर उन्मुख रहेको उनको ठहर छ । भन्छन्– ‘पचासको दशकदेखि मैले नेपाली नाटक क्षेत्रलाई बुझ्ने मौका पाएको हुँ । पहिलेभन्दा अहिले गहिराइमै पुगेर काम गर्ने परिपाटी विकास भएको छ ।’ पचासको दशकपछि नेपालमा दुई सयजति नाटक–कृति आइसकेको हुँदा त्यसले पनि पछिल्लो समयमा नाटकले विकासको फड्को मार्दै गरेको प्रमाण जुटाउँछ । त्यसअघि, सयभन्दा माथि नाट्य–कृतिहरू थिएनन् । मञ्चनका नयाँ–नयाँ शैली र प्रस्तुतिहरू भित्रिएको हुँदा स्तरीय काम भएको यात्रीको कथन छ । पहिला–पहिला चलचित्रहरूबाट प्रभावित नाटकहरू मञ्चन हुने गरेकोमा अहिले भने स्तरीय नाटकहरू नेपाली रंगमञ्चले पाइरहेको छ । उनी भन्छन्– ‘नाटक क्षेत्रको विकाससँगै अहिले सीमित खर्चमा पनि नाटक गर्न सकिन्छ । र, अन्तर्राष्ट्रिय क्षेत्रहरूमा समेत नेपाली नाटकको पहुँच विस्तार हुँदै गइरहेको छ ।’ नेपाली भाषामै लेखिएका राम्रा नाटकहरू भए पनि मञ्चन भने नभइरहेको उनको कथन छ– ‘पछिल्ला छिमलकाले त झन् राम्रा–राम्रा नाटकहरू लेखिइरहेका छन् ।’
नाटकमा नयाँ प्रयोग भित्र्याउन चाहने यात्रीले सांकेतिक भाषाको नाटक निर्देशन/मञ्चन गरेको पनि अहिले डेढ दशक पुगिसकेको छ । ०५६ सालमा उनले पहिलो पटक सांकेतिक नाटक गरेका थिए । अहिले उनी तिनैलाई अभिलेखीकरण गर्नेतिर व्यस्त छन् । उनले आफूद्वारा निर्देशित सांकेतिक भाषाको नाटकमा बेलायती र नेपाली कलाकारहरूलाई खेलाएका थिए ।
नाटक क्षेत्रमा लाग्नेहरूमा धैर्य पनि उत्तिकै चाहिने उनको बुझाइ छ । अरू क्षेत्रमा रातारात चर्चित हुन सकिन्छ । तर, नाटकमा भने एक दशक त त्यत्तिकै खपाउनुपर्छ । उनको बुझाइ पनि त्यस्तै छ– ‘दस–पन्ध्र वर्षपछि मात्रै नाटक क्षेत्रले फाइदा दिन सक्छ ।’ सायद, धैर्यताकै उपज हुनुपर्छ, करिब दुई दशक नाटक क्षेत्रमै रमाएका यात्रीले बल्ल अहिले नेपाली नाटकका केही भरपर्दा अनुहारभित्रै पाउने हैसियत राख्न थालेका छन् ।
सम्बन्धित समाचार
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
-
साल फुलेर राजमार्ग सुगन्धित
-
यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
-
बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
-
फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
-
विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
-
भड्किलोपनको सिकार
-
नेपालका प्रथम ज्ञात कवि अनुपरम
-
कसले लिने तत्परता ?
-
बिक्री नै हो उत्कृष्टताको मापन ?
-
सीमित वृत्तभन्दा बाहिर
Leave a Reply