ज्यामीदेखि सफल व्यवसायीसम्मको यात्रा
दशकौंअघि बाग्मती नदी सफा र कञ्चन थियो । तर, काठमाडौं उपत्यकामा मानिसहरूको बसोवास चुलिएपछि भने बाग्मती नदी पूरै प्रदूषित बन्न पुग्यो । प्रदूषित बाग्मतीलाई सफा बनाउने उद्देश्य बोकेर अहिले राज्यको उच्च ओहदामा पुगेकादेखि सर्वसाधारणसमेत जुटेका छन् । बाग्मतीलाई सफा बनाउने अभियानमा जुटेकाहरूलाई थप उत्साहित बनाउन नेपाल हेभी इक्विपमेन्ट व्यवसायीहरूले केही समयअघि मेसिनहरू दिएर सहयोग गरे । र, त्यसको अगुवाइ नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघका अध्यक्ष ताराबहादुर कुँवरले गरे ।
जिन्दगीभरि पैसाको पछि मात्रै दौडिनेहरूका लागि कुँवरबाट धेरै कुरा सिक्न सक्छन् । पैसासँगै सामाजिक कार्यहरूमा पनि संलग्नता देखाउनु कुनै पनि व्यवसायीहरूको अनिवार्य कर्तव्य हो भन्ने मान्यता उनले स्थापित गरेका छन् । त्यही कारण, एक घन्टाको स्काभेटर चलाएबापत दुई हजार कमाइ हुने पक्षलाई केही समय थाँती राखेर बाग्मती सफाइका लागि उनले नि:शुल्क मेसिन प्रदान गरे ।
व्यवसायसँगसँगै सामाजिक कार्यहरूमा पनि सक्रिय कुँवर संघर्षको पर्याय नै हुन् । हरेक मानिसहरू संघर्षका कुरा गर्छन् र संघर्षले नै सफलताको सिँढी उकाल्ने अपेक्षा राख्छन् । तर, संघर्ष के हो भन्ने कुरा कुनै विश्वविद्यालयबाट अध्ययन गरेर प्राप्त हुँदैन । संघर्षको वास्तविक अनुहार नियाल्ने हो भने कुँवरको जीवन–यात्रा हेरे पुग्छ । र, संघर्षले नै उनलाई नेपालको एक सफल हेभी इक्विपमेन्ट व्यवसायीको रूपमा स्थापित तुल्याएको हो ।
वि.सं.२०२२ साल फागुन २१ गते काभ्रेपलान्चोक जिल्लाको चौबास गाविस–४, कोड्कामा जन्मिएका कुँवरको पारिवारिक अवस्था त्यति गएगुज्रेको थिएन । मूलत: अल्पसंख्यक पहरीहरूको बाहुल्य रहेको ठाउँमा जन्मिएका उनी खान–लाउन पुग्ने परिवारकै पर्दथे । ६ जना दाजुभाइमध्ये साइँला सन्तानका रूपमा जन्मिएका उनको बुबा भने भारतको आसामस्थित कोइलाखादमा काम गर्दथे । तर, उनका जेठो दाजु भने ०३३ सालतिर काठमाडौंमा बस्थे । दाजु काठमाडौंमा बस्ने भएको हुँदा र गाउँमा नजिकै स्कुल नभएको हुँदा अध्ययन गर्न उनी काठमाडौं छिरे । त्यतिबेलाको काठमाडौंको याद उनलाई अझै पनि ताजा छ– ‘त्यतिबेला दाजुको डेरा डिल्लीबजारमा भएको हुँदा म पनि त्यहीँ बसेँ । तर, दाजुको कोठामा अरू मानिसहरू पनि बस्ने भएको हुँदा मलाई उहाँले पढाउने सर्तमा एक जना इन्जिनियरको घरमा राखिदिनुभयो । मैले उक्त इन्जिनियरको घरको काममा सघाउँदै पढ्न थालेँ ।’
पहिलो पटक गाउँबाट काठमाडौं आएका मान्छे, सडकमा गाडी गुडेको देख्दा पुलकित नहुने प्रश्नै भएन । उनी भन्छन्– ‘गाडी देख्दा मलाई त अचम्मै लाग्यो ।’ नन्दिरात्री माध्यमिक विद्यालयमा ४ कक्षामा अध्ययन गर्दागर्दै उनी बसेको घरको इन्जिनियरको सुर्खेतमा सरुवा भयो । त्यसपछि उनको पढाइ रोकिन पुग्यो । त्यसपछि, अर्कै व्यक्तिको घरमा सघाउपगाउ गर्नेगरी बस्न थाले र विजय मेमोरियल माविमा भर्ना भए । उनी भन्छन्– ‘मैले त्यतिबेला कति दिनसम्म सडकमै बसेर पढँे । निकै संघर्ष गरेर पढेँ ।’ त्यसपछि उनी नेपाली सेनाको एक उच्च अधिकृतको घरमा बसे तर त्यहाँ अध्ययनको वातावरण भने पटक्कै बनेन । उनलाई महाराजगञ्जस्थित शिवपुरी माविमा भर्ना गरिदिएको थियो । डिल्लीबजारबाट त्यहाँसम्म पुग्न निकै कठिन थियो । उनी भन्छन्– ‘जर्नेलकहाँ बस्दा विभेद गरियो । मैले खाना पकाउने काम गर्थेँ । तर, हामीले खाने र उनीहरूले खाने चामल नै फरक–फरक हुन्थ्यो ।’
त्यतिबेला टेकुमा उनका गाउँका मानिसहरू शारीरिक श्रम गरेर बस्थे । उनी पनि तिनै श्रमिकहरूसित मिसिएर काम गर्न थाले । त्यतिबेलाका दिनहरू सम्झिँदै उनी भन्छन्– ‘त्यतिबेला मैले ज्यामी काम गरेँ । डकर्मीको काम गरेँ र लुगा सिलाउने काम पनि गरेँ ।’ केही समय निर्माणसम्बन्धी सानातिना ठेकेदारीको काम गरेका उनले ०४६ सालमा भने ५/६ वटा रिक्सा किनेर रिक्सा व्यवसायमा हात हाले । ‘एउटा रिक्सा म आफैं चलाउँथेँ र अरू चाहिँ भाडामा चलाउन दिएको थिएँ ।’ उनी बताउँछन् । रिक्सापछि उनले टेम्पो व्यवसायमा मन लगाए । काठमाडौंमा ६ महिनासम्म साहुको टेम्पो चलाएपछि उनले ऋण खोजेर आफंैले टेम्पो किने । ०५० सालमा उनको ७ वटा टेम्पो थियो भने २७ वटा चाहिँ खरिद–बिक्री गरे उनले । उनी भन्छन्– ‘त्यतिबेलै मैले चार वटा टेम्पो बेचेर बाफलमा घर बनाएँ । मैले पाँच लाख रुपियाँमा घर बनाएको थिएँ ।’
०५१ सालको भदौमा भने त्यही घरलाई बैंकमा राखेर उनले मिनी ट्रक किने र बालुवा, रोडा, ढुंगाको सप्लाइ गर्न थाले । ०५४ साल आइपुग्दा नपुग्दै उनले ७ वटा मिनी ट्रक जोडिसकेका थिए । र, त्यही वर्ष नै उनले ठूलो ट्रक किनेर सामानहरू सप्लाइ गर्न थाले । ट्रकपछि उनले ०५८ सालमा ट्रिपर किनेर आफ्नो व्यवसायलाई गतिशीलता दिइरहे । उनी भन्छन्– ‘एक दिनमा डेढ सय ट्रक सामान म काठमाडौं सप्लाई गर्थें ।’
०६४ सालपछि भने उनले हेभी इक्विपमेन्टमा हात हाले । जेसीबी कम्पनीको ब्याकहोर्ड लोडर किनेर काम गर्न थालेका उनीसित अहिले चालू स्थितिमा ६/७ वटा र थन्किएर बसेको समेत गरी १३/१४ वटा डोजर छन् । ०६४ पछि उनले ठूला ट्रकहरू घटाएर डोजर थप्न थालेका हुन् । र, अहिले जलविद्युत् आयोजना, उपभोक्ता समितिहरू र अन्य निजी क्षेत्रहरूमा ती डोजरहरू भाडामा लगाइने गरिएको छ । ‘काठमाडौंमा हामीले एक घन्टाको ९ देखि १८ सयसम्म लिएर भाडामा दिने गरेका छौं तर काठमाडौं बाहिर भने अलि महँगो हुन्छ ।’
हेभी इक्विपमेन्ट व्यवसायसँगै उनले हजुरलाई नमस्ते ट्ेरडिङमार्फत टायर, लुब्रिकेन्टस, कोमात्सु र जेसीबी ब्रान्डका स्पेयर पार्टस्हरूसमेत बिक्री गर्दै आएका छन् । त्यससँगै हेभी इक्विपमेन्टका मेसिनहरू मर्मत गर्ने काममा पनि उनको कम्पनी लागिपरेको छ ।
हेभी इक्विपमेन्ट व्यवसायमा लाग्नेहरू सदैव तनावमा रहनुपर्ने अनुभव सँगालेका कुँवर यो व्यवसायको अन्य थुप्रै समस्याहरूमध्ये मेकानिक्सको समस्या रहेको बताउँछन् । ‘हामी करोडौंको सामान ल्याउँछौं तर सधैँभरि अपरेटरको अभाव रहन्छ’– उनी भन्छन् । यो व्यवसायमा उधारोमा काम गर्नुपर्ने बाध्यता त छँदैछ, व्यवसायीहरूबीच एकता नहुँदा समस्याहरू झेल्नु परिरहेको अनुभव छ, उनीसँग । र, बिक्रेताहरूको एकाधिकारवादी प्रवृत्तिले गर्दा पनि समस्या उब्जिएको उनी बताउँछन् । उनी भन्छन्– ‘आयात गर्नेहरूले मेसिन मात्र भित्र्याउँछन्, तर त्यसका पार्टपुर्जाहरू नभित्र्याउँदा हामीलाई समस्या परिरहेको छ ।’
एउटी छोरीले चिकित्साशास्त्रमा अध्ययन पूरा गरिसकेकी र अरू तीन छोरीहरूले समेत उच्च शिक्षा प्राप्त गरिसकेको बताउने कुँवरका दुई भाइ छोरा भने दस कक्षामा अध्ययनरत छन् । बालबच्चाका लागि आफूलाई सौभाग्यशाली ठान्ने उनी उदार, सेवाभावी र आफ्नो कार्यमा समर्पित रहेकै कारण अहिलेको स्थानमा आइपुगेको स्वीकार्छन् । र, संघर्षले नै आफूलाई एक ज्यामीदेखि सफल हेभी इक्विपमेन्ट व्यवसायीको तहसम्म उकालेको बताउन चुक्दैनन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- दसैँका लागि आजदेखि नयाँ नोट सटही
- आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
- बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य
- चार जलविद्युत् आयोजनाका लागि ३६ अर्ब ३७ करोड लगानी स्वीकृत
- नेपालको बिजुली बङ्गलादेश बिक्रीका लागि सहमति, पहिलो चरणमा ४० मेगावाट जाने
- डिजेल र पेट्रोलको मूल्य बढ्यो, ग्यासको घट्यो
- मौद्रिक नीति : बैंकदर यथावत्, नीतिगत दरमा सामान्य लचकता
Leave a Reply