जहिल्यै जनतासँग
काठमाडौँको सात नम्बर क्षेत्रबाट संविधानसभामा निर्वाचित हुनुअघि रामवीर मानन्धरको परिचय पूर्ववडाध्यक्षमा मात्र सीमित थियो । महानगरपालिकाको १६ वडामा दुई कार्यकाल अध्यक्ष भएका उनी पछिल्लो संविधानसभा निर्वाचनमा जनतासामु चिरपरिचित भइसकेका थिए । उनको त्यही लोकप्रियताकै कारण पहिले निर्वाचित माओवादी नेतृ हिसिला यमी तेस्रो स्थानमा पुगिन् भने नेपाली कांग्रेसकी प्रमिलासिंह डंगोललाई सहजै हराउन पुगे । तडकभडकपूर्ण प्रचारवाजी र पैसाको ओइरो लगाउँदा पनि यमीले तेस्रो स्थानमा खुम्चिनुपर्यो । मानन्धरको विकल्प नदेखेका जनताले उनलाई १३ हजार २ सय ७९ मत दिएर विजयी गराए ।
सभासद् हुँदा होस् वा नहुँदा, बालाजु बाइपासस्थित मानन्धरको घरमा नेता–कार्यकर्ताको भीड लागेको हुन्छ । बाइपासबाट गोलढुङ्गा, धर्मस्थलीलगायत गाउँक्षेत्र जोड्ने अष्टनारायण फिल्म हलसँगै रहेको उनको घरमा पुल, ढल, खानेपानी, मोटरबाटोलगायतका विषयका फाइलको चाङ लाग्छन् । वडाध्यक्ष भएदेखि नै ती सबै समस्यासँग परिचित र समाधान गर्ने तरिकासमेत जानेकाले उनी लगातार जनताको समस्या समाधानमा नै लागिरहेका छन् ।
मानन्धरको पुस्तौनी झोंछेस्थित न्हूसा चोकमा तोरी पेल्ने मिल थियो । तर, उनको हजुरबुबाले भने व्यस्त र घना सहरभन्दा वरिपरिको खुला ठाउँमा नजर लगाए । सामान्य व्यवसाय गर्ने सोचले उनका हजुरबुबा बाइपासभन्दा केही परको दगुर्नेपानीमा आएर बस्न थाले । त्यहाँ अलिअलि बजार पनि थियो त्यतिबेला । केही समयपछि भने अहिले फिल्म हल रहेकै स्थानमा बस्न थाल्यो उनको परिवार, जहाँ एउटा सानो चामल कुट्ने मिल पनि राखिएको थियो । जहाँ गए पनि सबैसँग मिलेर बस्न सक्ने र आपसमा सहयोग लेनदेन गर्ने क्षमता भएको मानन्धर परिवार थियो । त्यही परिवारमा ०१९ वैशाख १ गते शुक्रबार रामनवमीका दिन उनको जन्म भयो । रामनवमीका दिन जन्मिएकाले उनको नाम रामवीर राखियो । रामवीर बच्चैदेखि हट्टाकट्टा, खाइलाग्दा, लेखपढमा भन्दा अन्य सामाजिक गतिविधिमा रमाउने, साथीभाइसँग समूहमा घुमफिर गर्ने र त्यसैमा रमाउने स्वभावका थिए । उनले तीन कक्षासम्म घरछेउको नवप्रकाश स्कुलमा पढे, जहाँ टायलभट्टामा विद्यालय खोलेर बल्लबल्ल प्राथमिक शिक्षा दिन थालिएको थियो । उनको बाल्यकाल दगुर्नेपानी छेउमै रहेको खोलामा पौडी खेल्ने, माछा मार्ने, साथीभाइहरूसँग घुम्न जाने गर्दैमा बित्यो । ११–१२ वर्ष भएपछि भने उनीहरू नजिकैको बाइसधारा पार्कमा पालेको आँखा छलेर बार नाघेर छिर्ने र दिनभरि पौडी खेलेर फर्कने गर्दथे । उनी पकनाजोलस्थित नेपाल युवक माविमा हरेक दिन बाइपासबाट हिँडेर पुग्थे र पढेर फर्किन्थे ।
योगी विकासानन्द र उनी ०३६ सालको विद्यार्थी आन्दोलनका क्रममा पढाइ छाडेर महिनौँ आन्दोलनमा हिँडे । उनी कतै संगठित भने भइसकेका थिएनन् । तैपनि, अमृत साइन्स, सरस्वतीलगायतका चर्को विद्यार्थी राजनीति हुने क्याम्पसको प्रभाव पकनाजोलसम्मै आइनपुग्ने कुरै थिएन । भुट्टोको फाँसीविरुद्ध देशव्यापी रूपमा विद्यार्थीहरू ताते । अमृत क्याम्पसको छतबाट विद्यार्थीहरूलाई खसालियो । यस्ता घटनाले उनीजस्ता युवाहरूको रगत हुँडलिन थाल्यो । जनमतसंग्रह घोषणा भएपछि आन्दोलन मत्थर भयो । उनीहरू तत्कालीन व्यवस्थाको विरोधमा थिए । दस कक्षामा ‘हाम्रो पञ्चायत’ भन्ने विषय पढ्नुपथ्र्यो । तर, उनीहरूले पञ्चायतको परीक्षा बहिष्कार गरे । उनीहरू सबैको परीक्षा बिग्रियो । पछिल्लो सालमा कम्पार्ट परीक्षा दिएपछि मात्र उनले एसएलसी पास गरे । एसएलसीपछि पाटन क्याम्पसमा भर्ना भए पनि उनले पढाइलाई निरन्तरता दिन सकेनन् । ०३६ को आन्दोलनमा लागेका उनी ०४६ को जनआन्दोलनमा पनि निकै सक्रियतापूर्वक लागेका थिए ।
अन्तरिम मन्त्रिमण्डलमा सहाना प्रधान मन्त्री बन्नुभयो । दगुर्नेपानीको शेषमति पुल प्रधानले शिलान्यास गर्नुभयो । सो कार्यक्रममा उनले फोटो खिचे । नेकपा (माक्र्सवादी)का डा. केशव खड्काले उनलाई ‘अब चुनाव हुन्छ, चुनावमा खट्नुपर्छ, पार्टीमा लाग्नुपर्छ’ भनेर हौस्याए । ०४८ सालको संसदीय निर्वाचनमा सहानाले उम्मेदवारी दिएर जित्नुभयो । उनी प्रधानलाई जिताउन निकै खटे । उनको सबैले तारिफ गरे । लगत्तै ०४९ सालमा स्थानीय चुनाव भयो । एमालेले मेयरमा राजेन्द्र श्रेष्ठ र उपमेयरमा केशव स्थापितसहित सबै वडामा उम्मेदवार तय गर्दै थियो । १६ वडाबाट उनको नाम गयो । तर, उनले पार्टी सदस्यता लिएका थिएनन् । प्रदीप नेपालले हतारहतार जमलस्थित चेम्बर भवनमा उनीलगायत केही व्यक्तिलाई संगठित सदस्यता प्रदान गरे ।
राजेन्द्र श्रेष्ठ, केशव स्थापितलगायत अन्य थुप्रै वडाध्यक्षले चुनाव हारे पनि उनले भने जिते । वडाध्यक्ष जितेर के गर्नु ? प्रतिबद्धता अनुसार विकास गर्न बजेट चाहिन्थ्यो । कांग्रेसका तर्फबाट निर्वाचित मेयर पीएल सिंह र उपमेयर नवीन्द्रराज जोशीले आलटाल गर्न खोजे पनि झगडा गरेरै मानन्धरले बजेट निकास गरेर पहिलो बजेट तरुण माविको ढल व्यवस्थापनमा खर्च गरे ।
चुनाव प्रचारका लागि गठन गरिएको कमिटीलाई नै निर्वाचनपछि पार्टीको क्षेत्रीय कमिटीका रूपमा रूपान्तरण गरियो । उनी पनि सोही कमिटीमा बसे । लगत्तै ०५१ सालमा मध्यावधि निर्वाचन घोषणा भयो । सुरुमा ५/६ जना संगठित सदस्य रहेको त्यस क्षेत्रमा यस बेलासम्म सय जनाजति सदस्य भइसकेका थिए । राजेन्द्र श्रेष्ठले सांसदको टिकट पाए । ०५४ मा स्थानीय चुनाव भयो । मेयरमा स्थापित विजयी भए । मानन्धर पनि वडाध्यक्षमा निर्वाचित भए ।
०५४ सालमा एमाले विभाजित हुँदा राजेन्द्र श्रेष्ठ, केशव स्थापितहरू मालेतिर लागे भने उनी एमालेमै बसे । मालेमा लागेन भनेर केशव स्थापितले फेरि बजेट रोक्का गरी दु:ख दिन थाले । ०५६ मा फेरि संसदीय निर्वाचन भयो । मंगलसिद्धि मानन्धरलाई अघि सार्यो एमालेले । मालेबाट उठेका राजेन्द्र श्रेष्ठ त्यस बेला मन्त्री थिए । तर, मंगलसिद्धिले भारी मतान्तरले चुनाव जिते । ‘सबैभन्दा चुनौती ठानिएको क्षेत्रबाटै सायद सबैभन्दा धेरै मत ल्याएर जिताइदियौँ,’ मानन्धर सम्झिन्छन् । स्थानीय निकायमा जनताका काम र उनका दु:खसुखसँगै साक्षात्कार गर्दागर्दै उनी निकै लोकप्रिय र स्थापित नेता भइसकेका थिए । ०६२/६३ को आन्दोलनका बेला कफ्र्यु तोड्नेदेखि त्यस क्षेत्रमा जनउभार ल्याउन उनी दिनरात खटे । मनमैजुको जुलुस भोटाहिटी पुर्याउने र गोली खान तयार भएर मैदानमा भिड्ने काम उनले गरे । अन्तत: आन्दोलन सफल भयो । ०६४ सालमा सबैतिर माओवादीको लहर थियो । हिसिलाले चुनाव जितिन् ।
उनी स्थानीय विकास निर्माणमा राम्ररी नै भिड्नेमध्येमा पर्छन् । त्यसैले विकासका लागि केके गर्नुपर्छ, त्यसबारे उनी प्रस्ट छन् । चुनावताका प्रतिबद्धता पत्रमा घोषणा गरिएका बाहेक उनले पासाङ ल्हामु सडक विस्तार र चौडा गर्ने, विष्णुमती नदीमा ट्र्रङ्कलाइन बनाउने, क्षेत्रभरि खानेपानी, सडक विस्तार गर्ने, विष्णुमती करिडोर सुचारु गर्ने, काठमाडौँलाई सम्पदाको सहरका रूपमा विस्तार गर्ने र त्यसका लागि इचंगु, बालाजु बाईसधारा, पुरानो गृह्येश्वरी, भुवनेश्वरीलगायतका मठ–मन्दिरको संरक्षण गर्ने सोच बनाएका छन् उनले । एक छोरा र दुई छोरीका पिता उनका सबै बच्चा हुर्किसके । तीनै जना स्नातक अध्ययनरत छन् । श्रीमतीको ०५९ सालमा बोन क्यान्सरका कारण मृत्यु भएकाले अहिले उनी एक्लो जिन्दगी बिताइरहेका छन् ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपालीमा
- अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
- मोफसलका ‘आँखा बा’
- भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर
- तस्वीरमा उहिलेको पोखरा
- एमालेसँग एक्लै चुनाव लडने तागत कसैसँग छैन : बिष्णु पौडेल
- एमसीसी स्वीकार्न अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ शुरु गरेको छ, प्रतिरोध गर्छौ : चीन
- देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुन्छ : प्रदीप ज्ञवाली
- एमालेले भारतलाई भन्यो-लिपुलेकमा सडक खन्ने बलमिच्याई रोक
- चुनावसम्म संसद अवरोध गरिरहन्छौं : ओली
- नयाँ ढङ्गले राजनीतिक यात्रा शुरु गर्छु : शेखर कोइराला
Leave a Reply