संस्थागत विकासमा अग्रसर
विगत केही वर्षयता साना वित्तीय संस्थाहरूको आवश्यकताबोध माथि प्रश्नचिन्ह उठाइने क्रम चलेको छ । वित्तीय क्षेत्रको सुदृढीकरण र स्थायित्वका लागि ठूला वित्तीय संस्थाहरू मात्रै अपरिहार्य रहेको कुराले पनि उत्तिकै स्थान पाइरहेको छ । तर, लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनी लिमिटेडलाई बितेका दुई दशकदेखि सफलतापूर्वक सञ्चालन गरिरहेका प्रबन्ध सञ्चालक चिन्तामणि भट्टराई भने अहिले पनि साना वित्तीय संस्थाहरूको आवश्यकता उत्तिकै रहेको निचोडबीच उभिएका छन् । उनी भन्छन्– ‘म साना युनिटहरूको पक्षपाती हुँ । अर्थतन्त्रभित्र साना युनिटहरूको पनि उत्तिकै महत्त्वबोध र आवश्यकता छ ।’
०४६ सालको राजनीतिक परिवर्तनपछि निजी क्षेत्र अपेक्षाकृत रूपमा फस्टाउन थाल्यो । र, वित्तीय संस्थाहरू खुल्ने क्रमले पनि व्यापकता पायो । त्यतिबेला उनीलगायत केही मन मिल्ने साथीहरूले हाउजिङ क्षेत्रमा काम गर्ने सोच बनाए । त्यही सिलसिलामा ऋणका लागि फाइल बोकेर उनी एउटा बैंकको ढोका घच्घचाउन पुगे । तर, उनले उक्त बैंकका व्यक्तिहरूको मनोवृत्तिलाई राम्रोसित अध्ययन गर्ने मौका पाए । भट्टराई भन्छन्– ‘हामीले त्यतिबेलै साना फाइनान्सियल इन्स्टिच्युटहरू आवश्यक रहेको देख्यौं ।’ त्यही कारण, एक हप्ताकै अवधिमा एउटा फाइनान्स कम्पनी खोल्ने निर्णयबीच उनी र अरू लगानीकर्ताहरू पुगे । ती दिनहरू सम्झिँदै उनी भन्छन्–‘हामीले एकै बसाइमा फाइनान्स खोल्ने टुंगो गर्यौं । त्यतिबेला हामी दस बाह्र जना लगानीकर्ता थियौं र अहिले पनि उहाँहरू हामीसँगै हुनुहुन्छ ।’
तत्कालीन समयको एउटा नमीठो सत्य केलाउँदै भट्टराई भन्छन्– ‘हामीले फाइनान्स कम्पनी सुरु गर्दा सामान्य मानिसले बैंकबाट पैसा लिएर काम गर्न सक्ने अवस्था थिएन । अत्यन्तै गाह्रो थियो । सामान्य जनताको बैंकसितको पहुँच अत्यन्तै न्यून थियो ।’ लुम्बिनी फाइनान्सले सुरुमा तीन करोडबाट आफ्नो कारोबार सुरु गरेको थियो । ‘तीन करोडको पुँजीमा फाइनान्स सञ्चालन गर्नु अत्यन्तै चुनौतीपूर्ण कार्य थियो’– उनी भन्छन् ।
वि.सं.२०१२ साल चैतमा पाल्पाको तानसेनमा जन्मिएका भट्टराईले स्नातकसम्मको अध्ययन आफ्नै गृहनगरबाटै पूरा गरे । तानसेनको पद्म पब्लिक बहुउद्देश्यीय हाइस्कुलबाट ०३२ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेका उनले आईकम र बीकमको अध्ययन भने त्रिभुवन बहुमुखी क्याम्पस, तानसेनबाटै पूरा गरे । तर, तानसेनमा स्नातक तहभन्दा माथि पढाइ नहुने भएकाले उनले काठमाडौंतिर पाइला चाले । सुरुमा शंकरदेव क्याम्पसमा भर्ना भए पनि पछि कलेज परिवर्तन गरेर नेपाल कमर्स क्याम्पस, मीनभवनमा भर्ना भए र त्यहीँबाट अर्थशास्त्रमा स्नातकोत्तर गरे । ‘मेरो अध्ययन सामान्य खालको रह्यो’– आफ्नो अध्ययनबारे उनी बताउँछन् ।
काठमाडौंमा अध्ययनको क्रम सँगसँगै उनले होटल क्षेत्रमा काम गर्न थाले । त्यतिबेलाको प्रसिद्ध एभरेस्ट सेराटन होटलमा उनले एकाउन्टेन्ट शाखामा काम थाले । पछि, त्यही होटलमा क्रेडिट म्यानेजरसम्म भए । उक्त होटलमा करिब सात वर्ष काम गर्दा उनले अध्ययनलाई पनि सँगै अगाडि बढाएका थिए । एभरेस्ट सेराटनपछि उनले होटल काठमाण्डूमा फाइनान्स प्रमुख भएर काम गरे । उक्त होटलमा छ वर्ष काम गरेपछि वित्तीय क्षेत्रप्रति मोह बढ्न पुग्यो र ०५२ सालमा आफैंले पहल गरेर लुम्बिनी फाइनान्स सुरुआत गरे । करिब दुई दशकदेखि उक्त फाइनान्स हाँकिरहेका भट्टराईले सुरुदेखि अहिलेसम्म प्रबन्ध सञ्चालककै तहमा रहेर काम गरिरहेका छन् ।
जीवनमा केही नौलो र फरक काम गर्नुपर्ने मान्यताबीच उभिएका भट्टराई भन्छन्– ‘मैले सरकारी जागिर खाइनँ । आफ्नै पहलमा केही न केही काम गर्नुपर्छ भन्ने मान्यतामा म सदैव अडिएँ र यो क्षेत्रमा हात हालेको हुँ । र, होटल क्षेत्रमा काम गर्दा म विशुद्ध जागिरे थिएँ भने यो चाहिँ आफंैले लगानी गरेको क्षेत्र पर्यो ।’ हुन त, वित्तीय क्षेत्रमा पदचिन्ह बिछ्याउनुअघि उनले नयाँ होटल स्थापना गरेर सञ्चालन गर्ने सोच पनि उमारेका थिए । ‘तर, मेरो सोच कार्यान्वयन हुन सकेन’– उनी भन्छन् । होटल क्षेत्रमा लाग्दाका धङधङीले नै होला, फाइनान्स कम्पनी सञ्चालन गरेपछि पनि उनले चितवनको सौराहामा एउटा रिसोर्ट केही वर्ष चलाए । तर, कार्यव्यस्तताका कारण रिसोर्टमा समय दिन नसकेपछि केही वर्षपछि नै रिसोर्ट बेचे ।
आफ्नो रुचिको क्षेत्र फाइनान्स र पर्यटन रहेको बताउने भट्टराई भविष्यमा अवसर मिल्यो भने पर्यटन क्षेत्रमा पाइला बिसाउन इच्छुक छन् । आफ्नो त्यो इच्छालाई उनी खुलस्त राख्न चाहन्छन् । उनी भन्छन्– ‘पर्यटन क्षेत्र राम्रो सम्भावना भएको क्षेत्र हो । सबैलाई सबै क्षेत्र राम्रो लाग्छन् भन्ने छैन तर मैले रुचाएको क्षेत्र हो त्यो ।’
देशमा आर्थिक मन्दीको चरण सुरु हुनुअघि फाइनान्सहरूको ‘रिटर्न’ सकारात्मक रहेको बताउँदै भट्टराई भन्छन्– ‘एउटा क्षेत्रमा राम्रो ढंगले विकास हुन थालेपछि त्यही क्षेत्रमा अरूहरू पनि होमिने प्रवृत्ति हामीकहाँ छ । वित्तीय क्षेत्रमा पनि यही हुनपुग्यो र अनियन्त्रित ढंगले वृद्धि भयो ।’ वित्तीय क्षेत्रमा आएको अनियन्त्रित वृद्धिलाई उनी वर्षाद्को भेलसित तुलना गर्न उचित सम्झिन्छन् । भन्छन्– ‘एक किसिमको भेलजस्तै आयो र भेलमा धेरै कुराहरू बगेर आउँछन् । त्यही कारण, राम्रा–नराम्रा सबै चिज भित्रिए र यो क्षेत्रमा खराबी पनि भित्रियो ।’
तीन करोडबाट सुरु भएको लुम्बिनी फाइनान्सको अहिलेको पुँजी करिब आधा अर्बको हाराहारीमा पुगिसकेको छ । र, वार्षिक रूपमा २० प्रतिशतसम्म नाफा कमाउने संस्थाको रूपमा स्थापित भएको छ । अहिले उक्त फाइनान्सले हायरपर्चेज, हाउजिङ, रियल स्टेट, कृषि, उद्योग, व्यापार, पर्यटनलगायत प्राय: सबै क्षेत्रमा लगानी गरेको छ भने विगतमा जलविद्युत् क्षेत्रमा लगानी गरे पनि अहिले भने स्थगित गरेको छ । उक्त फाइनान्सले सानो युनिटमा काम गरिरहे पनि लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी प्रा.लि., डिप्रोक्स लघुवित्त संस्था, नार्डेप लघुवित्तीय संस्थालगायतमा संस्थापक सेयरको रूपमा रहेको छ । भट्टराई भन्छन्– ‘हामी फाइनान्स कम्पनी भए पनि संस्थागत विकासमा लागेका छौं ।’
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
आर्थिक वृद्धि सुस्त हुने प्रक्षेपण : विश्व बैंक
-
नेपाल स्टक एक्सचेन्ज (नेप्से) अब सोमबारदेखि शुक्रबारसम्म खुला रहने
-
इन्धन मूल्यवृद्धिले हवाई भाडा बढ्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
Leave a Reply