विकटका सारथी
धादिङ जिल्लाको क्षेत्र नम्बर १ मा एमालेले निर्वाचन परिणाम आफ्नो पक्षमा पार्नु फलामको चिउरा चपाउनुसरह कठिन थियो । पञ्चायतकाल र बहुदल आएपछि समेत सो क्षेत्रबाट राप्रपाका बुद्धिमान तामाङले एकलौटी रूपमा चुनाव जित्दै आएका थिए । हुन पनि, पञ्चायत कालदेखि नै उनले हरेक चुनावमा २० वटा गाविसमध्ये माथिल्ला क्षेत्रका विकट सेर्तुङ, झालाङ, री, लापा र तिप्लिङजस्ता पाँच गाविसमा बुथ क्याप्चर गरी चुनाव जित्दै आएका थिए ।
पटक–पटक मन्त्री भएका, प्रशस्तै पैसा खर्च गर्नसक्ने, पैसाकै बलमा गुण्डा परिचालन गरेरै भए पनि जहिल्यै जित्दै आएका तामाङले सजिलै हार्लान् भनेर कसैले पनि अनुमान गर्ने कुरा भएन । तर, परिणामले सोचेभन्दा फरक नतिजा देखाइदियो । नेकपा (एमाले)का धनबहादुर घलेले इतिहासमै पहिलोपल्ट सो स्थानमा खाता खोले भने तामाङको वास्तविक हैसियत पनि देखाइदिए । यसपटक तामाङ तेस्रो स्थानमा पुग्न बाध्य भए ।
गोरखा, रसुवा, नुवाकोट र उत्तरतिर गणेश हिमालसँग समेत जोडिन पुगेको छ धादिङ जिल्ला । अझ एक नम्बर क्षेत्र त विकासका दृष्टिले साहै्र नै पछाडि परेको छ । त्यही स्थानका तामाङ पञ्चायतकालमै राष्ट्रिय पञ्चायत सदस्य भए, मन्त्री भए र बहुदल आएपछि सांसद पनि भए । तर, काठमाडौंको गौशालामा आलिसान महल भएका उनले त्यस क्षेत्रका जनताको जीवनस्तर परिवर्तन र विकास निर्माणमा कहिल्यै सोचेनन् । उनी चुनाव आएपछि दलबल लिएर जिल्ला जान्थे, स्थानीयबासीलाई तर्साएर एउटै बाकसमा आफंैले छाप लगाउँथे, विजय घोषणा भएको नक्कली ऐलान जारी गर्थे र फर्कन्थे ।
तामाङले एकपक्षीय ढंगले गर्दै आएको बलबाहुको राजनीतिलाई चुनौती दिनसक्ने व्यक्ति अरू कोही नभएर बसेरी–३, आरुबोटेका घले नै हुन पुगे । ३९ वर्षअघि जन्मिएका उनी बेलायती सेनामा जागिरे बुबा चन्द्रबहादुर र आमा सनमायाका कान्छा छोरा हुन् । उनले बसेरी प्राथमिक विद्यालयबाट प्राथमिक शिक्षा पाएका उनले भने बद्री विशाल मावि बुढाथुमबाट ०५० सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेका हुन् । तीन जना दाजुहरूसमेत भारतीय सेनामा थिए उनका । त्यसैले गर्दा तामाङको परिवारलाई खान लाउन दु:ख थिएन । पैसाको साह्रै खाँचो पर्दैनथ्यो । र, उनी सुखमै हुर्किए । बरु दाजुदेखि बुबासम्मले उनलाई भारतीय सेनामा भर्ती हुन दबाब दिइरहन्थे । तर, उनले भने आफन्तहरूको प्रस्तावलाई टार्दै गए । ०४७ सालमा उनी आठ कक्षामा पढ्दै थिए । जेल परेका राजेन्द्र पाण्डे बहुदल आएपछि जेलबाट छुटेर संगठन निर्माणका क्रममा उनको गाउँमा पुगे । बहुदल आएपछिको खुसियालीमा विद्यालयको प्राङगणमा राखिएको आमसभामा पाण्डेले दमदार भाषण गरे । तामाङलाई पाण्डेको भाषणले यसरी एकोहोर्यायो कि उनी अन्तत: एमालेको बफादार कार्यकर्ता भएर निस्किए । त्यतिबेलासम्म सो क्षेत्रमा एमालेको खासै संगठन थिएन । जताततै पञ्चायतका नामुद हस्ती बुद्धिमान तामाङ र बुढाथुमका योगेन्द्रसिंह थापाको दबदबा थियो ।
०४८ सालको संसदीय निर्वाचनमा भने दामन पाख्रिनले जिते । उनी पनि झन्डै झन्डै तामाङलाई टक्कर दिने गरी दार्खा, सत्यदेवी र सेम्जुङलगायतका गाविसको पूरै भोट क्याप्चर गर्न सक्थे । दामनले जित्दै गएको सो क्षेत्र छोरा दिलमानलाई उठाउँदै गएपछि भने कांग्रेसको काबुबाट सो क्षेत्र फुत्कँदै गयो । ०५६ मा पुन: तामाङकोृ हातमा गएको सो क्षेत्र ०६४ मा माओवादीका पुष्पविक्रम मल्लले हात पारे ।
तामाङले स्कुले जीवनदेखि नै राजनीतिमा पाइला राखेका हुन् । आठ कक्षामा पढ्दा अनेरास्ववियुको विद्यालय प्रारम्भिक कमिटीको उपाध्यक्ष भएका तामाङ १० कक्षामा पढ्दा प्राक अध्यक्ष भए । प्रमाणपत्र तहसम्म मात्र उनले उच्च अध्ययन गर्न भ्याए भने सोही क्रममा ०५२ सालमा आरुबोटको प्राथमिक विद्यालयमा स्थायी शिक्षकका रूपमा नियुक्त भए । माओवादी दबदबा बढ्दै थियो । उनी गाउँमा टिक्न नसक्ने भए । माओवादीले हरेक कर्मचारीलाई तलब भत्तामा प्रतिशत तोकिदिन थाल्यो । उनी सानैदेखि अन्याय पनि नगर्ने र अन्याय पनि नसहने स्वभावका थिए । उनी बरु जागिर छोड्ने तर दु:ख गरेर कमाएको पैसा धम्कीका भरमा माओवादीलाई नदिने मनस्थितिमा पुगे । अन्तत: गाउँबाट विस्थापित हुने नै निश्चित भएपछि उनले राजीनामा त दिएनन् तर आफ्नो तलब विद्यालयले नै लिने र त्यसबापत अन्य दुई जना शिक्षक राख्ने व्यवस्था गराएर आफू काठमाडौं बस्न थाले ।
०५२ सालमा युवा संघका जिल्ला कमिटी अध्यक्ष भएका उनी पार्टीमा भने अलि पछि मात्र जोडिए । ०६४ सालमा बसेरी गाउँ कमिटी अध्यक्ष भएका उनी ०६७ सालमा युवा संघ धादिङ जिल्ला कमिटी उपाध्यक्ष भए । त्यति नै बेला उनलाई फेरि धादिङ क्षेत्र नं. १ को क्षेत्रीय कमिटी अध्यक्ष पनि बनाइयो । क्षेत्रका २० गाविसमध्ये १२ वटामा एमालेको अवस्था राम्रै थियो भने राप्रपाले बुथ क्याप्चर गर्ने माथिल्लो भेगका पाँच र काग्रेसले बुथ क्याप्चर गर्ने ३ गाविसमा एमालेको संगठन शून्य नै थियो । आफू क्षेत्रीय अध्यक्ष भएपछि उनले पार्टी संगठनको नर्सरी हाले, बिरुवा रोपे र गोडमेलसमेत गरे । फलस्वरूप आठ वटै गाविसमा पार्टीका गाउँ, इलाका र जनवर्गीय संगठनहरू निर्माण भए । आठौंं महाधिवेशनमा जम्मा सात सय संगठीत सदस्य भएको सो क्षेत्रबाट संविधानसभा निर्वाचन अघिसम्ममा १६ सय ६४ जना पार्टी सदस्य भइसकेका थिए । फलस्वरूप ०७० सालको संविधानसभा निर्वाचनमा सबै गाविसमा अन्य दलले बुथ क्याप्चर गर्न सकेनन् । ‘संगठनकै बलले चुनाव जित्न सफल भइयो’– उनी सुनाउँछन्–‘त्यसैले त मलाई आफ्नो पार्टी र यस पार्टीका जुझारु कार्यकर्ता साथीहरूप्रति गर्व छ ।’ उनले ८ हजार ६ सय ६३ मत ल्याए भने कांग्रेसका तिलक रुवालीको १ हजार ७ कम तथा राप्रपाका बुद्धिमानले १७ सयको मतान्तर बेहोरे । ०६४ सालमा तेस्रो भएको पार्टीलाई पहिलो पटक टिकट पाएका घलेले सहजै विजयको माला पहिर्याइदिए ।
घलेले आफू निर्वाचित माथिल्लो क्षेत्रका पाँच गाविसमा सडक नपुगेकोमा आफ्नो कार्यकालमा त्यसलाई पूरा गरेरै छाड्ने अठोट लिएका छन् । केही गाविसमा पेल्ट्रिक सेटबाट बत्ती बाले पनि केन्द्रीय विद्युत् लाइन नपुगेकोमा लैजाने प्रयत्न गरिरहेका छन् । उनले ५ वर्षभित्र शिक्षा, स्वास्थ्य, खानेपानी, बाटो र बिजुलीको अभाव पूर्ति गरी गाउँ नै झलमल पार्ने सोच पालेका छन् । विविध समस्याको समाधान एकैचोटी खोज्दा कति सम्भव होला, तापनि उनी आशावादी छन् । अब उनले क्षेत्रबासीको सेवा, विकास निर्माण र जनतासँगको सामिप्यताभन्दा अरू कुनै रहर पालेका छैनन् । भन्छन्– ‘राजनीतिको हावा लाग्यो । अब पार्टीको निर्देशन अनुसार जनताको काममा समर्पण हुनुको अर्को कुनै विकल्प छैन ।’ सानैदेखि कडा स्वभावका उनी लडाकु, छिटो रिसाउने र छिट्टै त्यसलाई नियन्त्रण गर्ने क्षमता राख्छन् । काठमाडौंको गोंगबुमा डेरा गरेर बस्ने उनको अचेल बानेश्वरको संविधानसभा भवन, सिंहदरबार र अन्य विकासे मन्त्रालयमा योजना आयोजनाका लागि बजेट मागका लागि चहार्दैमा दिन बितेको पत्तै हुँदैन । ०४९ सालमै विवाह गरेका घलेका श्रीमती दुई छोरा र एक छोरी छन् ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपालीमा
- अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
- मोफसलका ‘आँखा बा’
- भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर
- तस्वीरमा उहिलेको पोखरा
- एमालेसँग एक्लै चुनाव लडने तागत कसैसँग छैन : बिष्णु पौडेल
- एमसीसी स्वीकार्न अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ शुरु गरेको छ, प्रतिरोध गर्छौ : चीन
- देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुन्छ : प्रदीप ज्ञवाली
- एमालेले भारतलाई भन्यो-लिपुलेकमा सडक खन्ने बलमिच्याई रोक
- चुनावसम्म संसद अवरोध गरिरहन्छौं : ओली
- नयाँ ढङ्गले राजनीतिक यात्रा शुरु गर्छु : शेखर कोइराला
Leave a Reply