जनताका सेवक
सर्लाही उसै त तराईको जिल्ला । त्यसमा पनि क्षेत्र नम्बर ३ मा रहेका ८० प्रतिशत मतदाता मधेसी नै छन् । मधेसमा पहाडी र मधेसीबीचको विभेद चरम छ । तैपनि, पहाडी मूलका हरि उप्रेती गत संविधानसभा निर्वाचनमा प्रतिद्वन्द्वीभन्दा चार हजार मतको अन्तरमा विजयी भए । एमालेका अध्यक्ष झलनाथ खनालसमेत गत संविधानसभा निर्वाचनमा सर्लाहीको क्षेत्र नम्बर १ बाट पराजित हुनुभयो तर उप्रेतीले एमालेको खाता सर्लाहीमा सहजै खोले ।
सर्लाहीका ६ निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ३ मा मात्र एमालेले जितेको छ । जुन स्थान एमालेका लागि विजय प्राप्त गर्नु फलामको च्युरा चपाउनुसरह नै थियो । महन्थ ठाकुर कांग्रेसमा रहुन्जेल कांग्रेसको गढ मानिने सर्लाही पछि मधेस आन्दोलनको हावाले मधेसी दलको गढ भइदियो । तर, हावाको झोक्काझैं आएको मधेसी दलको प्रभाव पानीको फोकाझैं फुटेपछि जनताले एमालेलाई निर्विकल्प देखे । सो क्षेत्रका जनताले एमाललेलाई निर्विकल्प देख्नुको कारण उप्रेतीको लोकप्रियता नै हो । काठमाडौँमा उच्च अध्ययन गर्न आएको व्यक्ति स्नातक सकेर डिग्री अध्ययन नै नगरी आफ्नै गाउँ फर्कियो । पार्टी काममा होमियो र जनताको मन मनमा बस्न थाल्यो । हरि उप्रेती ०५२ सालदेखि लगातार गाँउमै बसेर जनताका सुखदु:खका साथी भएका छन् । त्यसो त उनले ०६४ सालको संविधानसभा निर्वाचनमा पनि अढाई सय मतान्तरले मात्र हारेका हुन् । १०–११ वटा बुथ क्याप्चर गरेर तमलोपाका उम्मेदवारले जिते पनि जनताको मन भने त्यसबेलादेखि आफूले जितेको उप्रेतीको दाबी छ । यसपटक उनले १२ हजार ९ सय ८२ मत ल्याए, जुन एमाओवादी उम्मेदवार भरत थापाको भन्दा चार हजार मत बढी थियो ।
सुन्दरपुर चुहडवा गाविस वडा नम्बर ९ मा ०२४ वैशाख ५ गते उनको जन्म भएको हो । उनले गाउँकै हजेरिया निमाविबाट प्राथमिक र चतुर्भुजेश्वर माविबाट माध्यमिक शिक्षा लिए । १४ वर्षको कलिलो उमेर भए पनि ०३६ सालको विद्यार्थी आन्दोलनको प्रभाव उनमा परेको थियो । समाज र व्यवस्थालाई परिवर्तन गर्ने उद्घोष उनीहरूको कलिलो मानसिकतामा गढिसकेको थियो । उनी अनेरास्ववियुका प्रारम्भिक कमिटीमा स्कुल पढ्दादेखि नै संगठित भइसकेका थिए । ०३७ सालमा उनी आफू पढेको चतुर्भुजेश्वर माविमा स्वतन्त्र विद्यार्थी युनियनको सचिव निर्वाचित भए । राजनीति र पढाइ सँगसँगै अघि बढाउँदै हरिले ०४० सालमा एसएलसी पास गरे । त्यसपछि उच्च अध्ययनका लागि काठमाडौँ आए । सरस्वती क्याम्पसमा आईकममा भर्ना भए । राजनीति र पढाइलाई सँगसँगै लगेका उनी ०४२ सालमा राजेन्द्र लोहनी स्ववियु सभापति हुँदा सदस्यमा निर्वाचित भए । त्यसयता उनी लगातार आन्दोलनमै संलग्न हँुदै गए । ०४२ सालमै विकीरणयुक्त धूलो दूध भित्र्याइएको विरोधमा आन्दोलन गर्दा उनीसहित थुप्रै साथी पक्राउ परे । खाद्य संस्थानको गोदाममा तीन दिन थुनेर उनीहरूलाई रिहा गरियो ।
०४६ सालको आन्दोलनताका पनि उनीहरू जल्दोबल्दो विद्यार्थी थिए । सुरुआतका दिनदेखि नै आन्दोलनमा होमिए । फागुन ७ बाट सुरु सो आन्दोलनमा पहिलो दिनबाटै उनी सक्रिय भएर लागे । पहिलो पंक्तिमा युवा र विद्यार्थी सहभागी सो आन्दोलनको पछिल्लो पंक्तिमा युवा र विद्यार्थीलाई उत्प्रेरणा दिन मनमोहन अधिकारी, तुलसीलाल अमात्य आफैँ सहभागी थिए । त्यही आन्दोलनका क्रममा रत्नपार्कबाट जुलुस सुरु भयो । प्रहरीले घेरा हाली धरपकड गर्न थाल्यो । ‘हामी भाग्न खोज्यौँ तर पछाडि आफ्ना श्रद्धेय नेता देख्यौँ । त्यसले गर्दा हामी भाग्न पनि सकेनौँ र नेतालाई पक्रनबाट जोगाउन पनि सकेनौँ’– उनले आन्दोलनको एक दिनको घटना स्मरण गरे । त्यसो त उनीहरूले ०४६ सालको आन्दोलन गर्दा जनताको सहानुभूति पनि पर्याप्त पाए । न्युरोडबाट आन्दोलन सुरु गरिएको थियो । सुरु हुनासाथ प्रहरीले चारैतिरबाट घेरेर फायरिङ गर्न थाल्यो । भागदौड मच्चियो । आन्दोलनकारीलाई खोजीखोजी खेद्न थाल्यो । उनीहरू पनि कता भाग्ने भन्दै साह्रै आत्तिए । बल्लतल्ल एउटा घरको ढोका खुलै रहेछ । ज्यान जोगाउन त्यहाँ छिरे उनीहरू । अन्डरग्राउन्ड त्यो घरमा लुक्ने ठाउँ खोज्न उनीहरू तलतिर लागे । ‘प्रहरी त्यहाँ आउन खोज्यो । तर, त्यो घरका बा आएर हामीलाई जोगाए’– उनले सम्झे– ‘मेरा छोरा–नातिलाई छोयो कि तिमीहरूलाई राम्रो हुँदैन भनेर बूढा जंगिएर । बाहिर आएपछि हामीलाई पक्राउ हुनबाट जोगाइदिएकामा खुसी भएर धन्यवाद दिँदै घर लाग्यौँ ।’ उनले ती दिनहरू सम्झे ।
यता ०६२/६३ ताका भने उनी गाउँमै थिए । आन्दोलन उत्कर्षतिर पुर्याउन जनकपुर अञ्चलका पाँच सय पार्टी कार्यकर्ता गणतन्त्र नल्याई गाउँ नफर्किेने उद्घोष गर्दै पदयात्रासहित राजधानी आए । रामचन्द्र झाले नेतृत्व गरेको सो पैदल यात्रामा हरि पनि थिए । छैमलेको बाटो हँुदै काठमाडौँ छिरेका उनीहरूलाई सात दलका नेताले स्वागत गरेका थिए ।
उप्रेतीको पुख्र्यौली घर काभ्रेको महादेवटार हो । बुबा गोविन्दप्रसाद उप्रेती हरि ६ महिनाको हुँदा नै काभ्रेबाट सर्लाही बसाइँ सर्नुभएको हो । विसुद्ध किसान परिवार, दु:ख गरे खान पुग्ने तर पर्याप्त जग्गाजमिन पनि थिएन उप्रेती परिवारसँग ।
रिसी देवकोटा आजाद आउजाउ गर्ने, बास बस्ने गर्थे उनीहरूको घरमा । बुबु गोविन्दप्रसादले ०३२ सालमै पार्टी सदस्यता लिइसकेका थिए भने छोरा हरिलाई पनि ०४३ सालमा सदस्यता दिलाइसकेका थिए । कसैको केही नबिगार्ने र कुभलो नचिताउने स्वभावका कारण उप्रेती परिवारको सर्लाही झरेपछि पनि लोकप्रियता चुलिँदै गयो । बुबा अहिले पनि गाउँमा रहेको दुग्ध सहकारीको अध्यक्ष हुनुहुन्छ । ४० वर्ष लगातार सहकारीमा काम गरिसक्नुभएका उहाँलाई गाउँलेले अझै त्यहाँबाट हट्न दिएका छैनन् ।
विजयको विरासत कायम राखिरहन गाह्रो पर्ने हो कि भन्ने चिन्ता छ हरिलाई । १३ वटा गाविसमध्ये १३ वटैमा विद्युतीकरण, पुल, धर्मशालालगायतका विकास निर्माण र कृषि केन्द्रित योजना अघि सार्नुपर्ने खाँचो देखेका छन् उनले । ८० प्रतिशत मधेसी मतदाता भएको स्थानमा घघडान मधेसी नेतालाई पराजित गरेर जनताको मन जित्न सहज नभए पनि उनी यसमा सफल छन् । संगठन खासै राम्रो भएको स्थान होइन । त्यसैले काम अधिक गरेर जनताको मन जितिराख्नुपर्ने गम्भीर चुनौती आफूलाई आइपरेको उनी बताउँछन् । भन्छन्– ‘जनताको अपेक्षा धेरै छ, अरू पार्टीका जनताले पनि सहयोग गर्नुभएको छ । त्यसैले जनतालाई खुसी राख्न सकिएन भने आउने दिन सहज छैनन् ।’ उनले एक वर्षभित्र जनताले खोजेको संविधान दिनुका साथै देशको विकास र जनताको समृद्धि अनि आर्थिक विकासको सपना साँचेका छन् ।
बुबा ६८ वर्षको भए पनि अझै दैनिक १५–१६ घन्टासम्म बुबाआमा काममा केन्द्रित हुने गरेको उनी बताउँछन् । उनी र सुपरस्टार नायक लिखिल उप्रेती जो उनका सहोदर भाइ हुन्, दुवै जना आफ्नै संघर्षले सफल भएका हुन् । हरि भन्छन्– ‘बुबाआमाले हामीलाई लेखपढ गराउन र यो स्थानसम्म ल्याउन ठूलो योगदान गर्नुभएको छ ।’
निखिल पनि ०४५ सम्म गाउँमै रहँदा पार्टीको शुभचिन्तक र साधारण सदस्य भएर काम गरेका थिए तर संगठित हुन पाएका थिएनन् । ‘अब त ऊ आफ्नो क्षेत्रमै स्थापित छ’– उनले सुनाए– ‘अध्ययनका लागि मुम्बईतिर लागेपछि एकैचोटि सुपरस्टार भएर आयो, उसले पनि यो स्थानसम्म पुग्न ठूलो संघर्ष गरेको छ ।’
हरि जनताको काम भनेपछि हुरुक्कै हुन्छन् । त्यसैले त उनी सर्लाहीबासीका मनमनमा छन् र क्रियाशीलताले स्थापित व्यक्तित्व पनि हुन् । राजनीतिबाहेक अन्य केही सामाजिक संघसंस्थामा पनि उनको लगावपूर्ण सहभागिता छ । मुख्यत: उनी जनताको काम भनेपछि हुरुक्कै हुन्छन् । जेजस्तो समस्या आइपरे पनि गाह्रो नमानी सदरमुकाम मलंगवा पुग्छन्, अड्डाअदालत धाउँछन् र अन्यायमा परेकालाई न्याय दिलाइ छाड्छन् । खराब बाटो र २२ किलोमिटर टाढा सदरमुकाम भए पनि उनी साँझ–बिहान केही नभनी हरेक दिनजसो जनताको जे काम पर्छ, त्यही काम लिएर धाउने गर्छन् । उनको लोकप्रियता देखेर धेरैले इष्र्या गर्छन् । ज्यान लिने धम्की दिन्छन् । राजनीति गर्ने रहर भएर आफ्नै पहाडमा जान चेतावनी दिए । जनताको काममा जुटेर आउँदा आपराधिक समूहले बाटो ढुकेर आक्रमण गरी मर्यो भनेर नहरमा फालिदिए । उप्रेती परिवार मधेसीको गढमा स्थापित भएको देखेर जनतान्त्रिक समूहले बुबालाई अपहरण गरेर लग्यो । सँगै लगेका एमाले कार्यकर्ता कृष्ण न्यौपानेको त इहलीला नै खत्तम गरिदिए । अन्तत: सबैतिरबाट व्यापक दबाब आएपछि एक सातापछि उनका बुबालाई भने रिहा गरिदिए । उनको घरका आएर आपराधिक समूहले तीनचोटि त लुटपाट नै गर्यो । उनले भागेर ज्यान जोगाए भने वयोवृद्ध बुबा अपहरणमा पर्नुभयो । माओवादी द्वन्द्वमा बेहोर्नुनपरेको हैरानी हरिले मधेस आन्दोलनताका बेहोर्नुपर्यो । त्यसैले उनी भन्छन्– ‘मैले त आगोको भुंग्रोमा बसेर राजनीति गर्नुपरेको छ ।’
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपालीमा
- अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
- मोफसलका ‘आँखा बा’
- भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर
- तस्वीरमा उहिलेको पोखरा
- एमालेसँग एक्लै चुनाव लडने तागत कसैसँग छैन : बिष्णु पौडेल
- एमसीसी स्वीकार्न अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ शुरु गरेको छ, प्रतिरोध गर्छौ : चीन
- देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुन्छ : प्रदीप ज्ञवाली
- एमालेले भारतलाई भन्यो-लिपुलेकमा सडक खन्ने बलमिच्याई रोक
- चुनावसम्म संसद अवरोध गरिरहन्छौं : ओली
- नयाँ ढङ्गले राजनीतिक यात्रा शुरु गर्छु : शेखर कोइराला
Leave a Reply