मारमा पर्यटन बोर्ड छवि सुधार्ने प्रयास
अचेल नेपाल पर्यटन बोर्ड बर्सात्को अन्त्यतिरको नदीजस्तै प्रतीत हुन्छ, जुन संग्लिनका लागि केही समय पर्खनुपर्ने हुन्छ । १५ वर्षको अविच्छिन्न यात्रामा बोर्डभित्र केही समयपहिले असहज स्थिति उत्पन्न भयो । निरन्तर दुई महिनासम्म केही पर्यटन व्यवसायीहरूले बोर्डका सम्पूर्ण कार्य ठप्प पारे । बोर्ड परिसरभित्रै पाल टाँगेर उनीहरूले शक्ति प्रदर्शन गरे ।
अहिले भने बोर्ड खुलेको छ र काम सुचारु हुन थालेको छ । आन्दोलन छेड्नेहरूले प्रमुख निशाना प्रमुख कार्यकारी–निर्देशक सुवास निरौलालाई बनाए । अनेक माग राखेर आन्दोलनमा उत्रिए पनि उनीहरूका मुख्य ध्येय निरौलालाई हटाउने थियो । पर्यटनमन्त्री भीम आचार्यले पहलकदमी नलिएका भए अहिलेसम्म पनि बोर्ड खुल्ने–नखुल्ने निश्चित थिएन । तर, व्यवसायीहरूलाई डाकेर बोर्डभित्रका समस्या सम्बोधन गर्ने काम भएसँगै अहिले पर्यटन प्रवद्र्धनको दिशामा डेढ दशकदेखि अग्रसर बोर्डले पुन: गति लिन थालेको छ ।
कार्यकारी–अधिकृत निरौलाले असहज वातावरणबाट बिथोलिन पुगेको बोर्डका काम सुचारु तुल्याउन थालेका छन् । भन्छन्– ‘केही समय बोर्ड बन्द भयो, बोर्ड बन्द हुनुलाई मैले मेरो जीवनको दुर्भाग्यपूर्ण समयका रूपमा लिएको छु । बोर्ड किन बन्द भयो, विस्तारै म यसको कारणसमेत खोजिरहेको छु र भविष्यमा पनि यसबारे कुरा आउला नै ।’ दुई–दुई महिनासम्म बोर्ड बन्द हुँदा देशभित्र र बाहिर बस्नेहरूले समेत दु:ख व्यक्त गरेको अनुभव पनि निरौलासित छ । राज्यको एउटा प्रभावकारी संस्था लामो समयसम्म बन्द हुनुमा सबैको चासो र चिन्ता पोखिनु स्वाभाविकै थियो । र, आन्दोलनमा उत्रिएकाहरूले शान्तिपूर्वक नभई बलजफ्ती प्रतिरोध गर्न थालेपछि निरौला पनि केही समय बिदामा बसे । किनकि, अनावश्यक द्वन्द्व निम्त्याएर बोर्डलाई थप विवादित बनाउने पक्षमा उनी रहेनछन् । ‘अब भने बोर्डका कामहरू सहज हुनेमा म विश्वस्त छु’– उनी भन्छन् । हुन पनि, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हस्तक्षेप गरेपछि मात्रै बोर्ड खुल्ने वातावरण बनेको हो ।
निरौला सरकार र सम्मानित अदालतको आदेश नमान्ने प्रवृत्तिप्रति अत्यन्तै दु:खित छन् । झन्, आन्दोलनलाई समर्थन गर्ने नाममा विभिन्न राजनीतिक दलका नेताहरूलाई निम्याइनुलाई त उनी अर्को गलत प्रवृत्तिका रूपमा लिन्छन् । ‘आन्दोलन पर्यटन क्षेत्रको विकासका लागि मात्र गरिएको होइन रहेछ भन्ने कुरा त्यहीबाटै पुष्टि हुन्छ’– उनी थप्छन्– ‘नेपाली पर्यटन क्षेत्र विवादमुक्त छ, राजनीतिमुक्त छ भन्ने मलाई लागेको थियो । तर, मेरो सोचाइ पूरै गलत रहेछ । यो क्षेत्रमा पनि राजनीति घुसेको रहेछ र आफ्नो कुरा लाद्ने प्रवृत्ति हावी भएको मैले पाएँ ।’
व्यवसायीहरूको आन्दोलनलाई संस्था नै ध्वस्त बनाउने कामका रूपमा निरौलाले लिएका छन् । भन्छन्–‘व्यवसायीहरूको बन्दले हामीमा रहेको नकारात्मक छवि बाहिर आएको छ । र, नेपाल नियममा चल्ने देश होइन रहेछ भन्ने दाग लाग्न पुगेको छ । यसले हाम्रो साख गिराउने काम मात्रै गरेको छ ।’ सन् ९० को दशकपछि उदाएको निजीकरणले नेपालीहरूलाई पनि विभिन्न गुट, उपगुटमा विभाजित गरेको मान्ने निरौला बोर्डका सन्दर्भमा भन्छन्– ‘बोर्ड छुट्टै स्वायत्तताप्राप्त निकाय हो र ऐनले पनि धेरै शक्तिशाली बनाएको छ । तर पनि, जुन हिसाबले अगाडि बढ्नुपर्ने हो, त्यसरी बढ्न सकेको छैन । काम गर्ने अनुकूल परिस्थितिको अझै विकास हुन सकेको छैन । यसमा राज्यले नै सोचविचार पुर्याउनुपर्छ ।’
पर्यटन बोर्ड बन्द भए पनि नेपाल आउने पर्यटकहरू भने घटेनन् । बन्दको असर पर्यटकहरूमा नपरेको निरौलाको भनाइ छ । कायममुकायम भएर बोर्डलाई हाँकेको एक वर्षको अवधिमा धेरै नै उल्लेख्य काम गर्न भ्याएको फेहरिस्त उनीसँग छ । १५ वर्षअघि राज्यले दिएको एक करोड रुपियाँ बजेटबाट यात्रा थालेको बोर्डले अहिले निकै ठूलो छलाङ मारिसकेको छ । आफूले बोर्डको जिम्मेवारी लिएपछि स्रोतमा दोब्बर नै वृद्धि भएको निरौलाको भनाइ छ । भन्छन्– ‘सुरुमा बोर्डको बजेट १ करोड थियो । गत आर्थिक वर्षमा ५० करोड थियो । अहिले भने हामीले १ अर्ब ५ करोड पुर्यायौं ।’ बोर्डले नेपालबाट बाहिर प्रस्थान गर्ने विदेशी नागरिकबाट १ हजार रुपियाँ लिने गरेको छ । यही स्रोतबाट नै उसले आफ्नो स्रोत अझ मोटो बनाउन सकेको हो ।
बोर्डको जिम्मेवारी सम्हालेयता निरौलाले संस्थागत सुदृढीकरणमा विशेषत: जोड दिए । ०५५ सालदेखि संशोधन हुन नसकेको विनियमावलीलाई संशोधन गर्ने काम गत वर्ष भयो भने पोखरामा मात्र सीमित बोर्डको क्षेत्रीय स्तरको कार्यालयलाई विराटनगर र नेपालगन्जमा विस्तार गर्ने तयारी भइरहेको छ । साथै, सूचना केन्द्र थप गर्ने र जनशक्ति थप्नेतिर पनि अब बोर्ड केन्द्रित हुनेछ । किनकि, संस्थाको स्रोत बढेपछि जनशक्तिको उत्तिकै आवश्यकता रहन्छ । त्यही भएर नै जनशक्ति थप्नेतिर पनि अब बोर्ड लाग्ने निरौलाले बताए ।
बोर्ड काठमाडौं–केन्द्रित रह्यो भन्ने गुनासो पनि आइरहेको छ । अब यस्तो गुनासो मेटाउनतिर आफू लागेको निरौलाको भनाइ छ । ‘अब हामी आन्तरिक पर्यटनलाई कसरी बढाउने र देशभरि छरिएर रहेका पर्यटन क्षेत्रसित सम्बद्ध संस्था र व्यक्तिहरूलाई कसरी मूलप्रवाहमा ल्याउने भन्नेमा केन्द्रित रहेका छौं’– उनी भन्छन् । तर, अनेक चुनौतीबीच उभिएको बोर्डले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनको जिम्मा पाए पनि अहिलेसम्म प्रवद्र्धन कार्यमा हात हाल्दा के कति प्रतिफल प्राप्त भयो त ? यो प्रश्नको सटिक र चित्तबुझ्दो जवाफ सबै सरोकारवालाहरूलाई दिने तयारीमा निरौला जुटेका छन् । किनकि, अहिलेसम्म बोर्डले जुन–जुन क्षेत्रमा लगानी गरेको छ, त्यसको प्रतिफल के हो त ? अब प्रतिफल दिनुबाहेक अरू विकल्प नभएको निरौला स्वीकार्छन् ।
सन् १९५९ मा विराटनगरमा जन्मिएका निरौला बोर्डमा भने स्थापनाकालदेखि नै कार्यरत छन् । उनी सन् २००० मा निर्देशकमा रूपमा खुला प्रतिस्पर्धाबाट छिरेका हुन् । सन् २००७ मा बोर्डको वरिष्ठ निर्देशकमा बढुवा भएका उनी जुलाई २०१३ देखि बोर्डको प्रमुख कार्यकारी–अधिकृतका रूपमा कार्यरत छन् । उनले सन् २००८ मा अमेरिकाका हवाई विश्वविद्यालयबाट एक्जुकेटिभ डेभलपमेन्ट इन्स्टिच्युट अफ टुरिज्मबाट स्नातकोत्तर उपाधि लिएका थिए भने अमेरिकाकै नेब्रास्कास्थित बेल्लिभ्यु विश्वविद्यालयबाट स्नातकोत्तर पूरा गरेका हुन् ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
Leave a Reply