जातीय विद्वेष मेटाउन सहयोगी

आजपर्यन्त नेपाली दलितहरू आफ्नो स्वाभिमान कायम राख्ने संघर्षमा मौजुद छन् । उनीहरू सामाजिक मान, सम्मान स्थापनार्थको लडाइँमा छन् । र, उनीहरूको एक मात्र संकल्पना के हो भने, मनुष्यहरूबीच मनुष्यता उत्पन्न गर्नु र रुढ वैचारिकतामा परिवर्तन ल्याई नवाचार स्थापना गर्नु नै हो । एक मनुष्यका रूपमा जिउने संकल्पना नै आज नेपाली दलितहरूको उत्कट आकांक्षा हो । र, यो वर्षौंदैखि रहँदै आएको छ ।
निश्चय नै, नेपाली दलितहरूलाई आफ्नो अपमान स्वीकार्य छैन । दलित मात्र होइन, समाजका कुनै पनि जाति र तप्काका व्यक्तिलाई अपमान स्वीकार्य हुने विषय होइन । कुनै पनि जाति, जनजाति वा वर्गहरूले अपमान स्वीकार्नु हुँदैन पनि । हरेक व्यक्ति स्वाभिमानपूर्वक बाँच्न चाहन्छन् । आधुनिक विकासको मार्गमा तीव्र रूपले दौडिरहेको समाज व्यवस्थाभित्रका हरेक व्यक्तिले स्वाभिमानीपूर्वक बाँच्न पाउनु उसको नैसर्गिक हक र अधिकार पनि हो र दलितहरूका सवालमा यो प्रसंग लागू नहुन भन्ने प्रश्नै रहँदैन ।
अहिले दलित स्वाभिमान र अस्मिताको प्रश्न पुन: उठेको छ । एक जना लोकदोहोरी गायकले दलित जातिका जात नै उच्चारण गरेको प्रसंगलाई लिएर ‘लफडाबाजी’ उत्पन्न हुनपुगेको छ । लोकदोहोरी गायक पशुपति शर्माले खासगरी, आफ्ना गीतमा कामी, दमैजस्ता शब्दहरूको भरमार प्रयोग गरेपछि केही दलित आन्दोलनकर्मीहरूले विरोधका स्वर उरालेका छन् । र, कामी, दमैजस्ता शब्दहरूको प्रयोगले आफ्नो जातीय स्वाभिमान र निष्ठामाथि आघात पुगेको कुरा पनि उनीहरूले उठाइरहेका छन् । अहिले त्यही गीतलाई आधार बनाएर दलित चिन्तकहरूबीच मतभिन्नता सिर्जना हुनपुगेको छ । कतिपयले आँखा चिम्लेर विरोध जनाएका छन् भने केहीले ‘यो गीतले जातीय घृणा र विद्वेष नफैलाएको, दलितहरूलाई अवहेलना नगरेको र बरु नेपाली समाजको यथार्थ ओकल्न चाहेको’ बताएका छन् ।
नेपालको ऐन, कानुनले नै दलितहरूलाई केही मात्रामा भए पनि राहत दिएको छ । कुनै कथित उच्च जातका व्यक्तिले दलितप्रति अवहेलना, तिरष्कार वा अपमानजन्य व्यवहार प्रदर्शित गरे भने त्यस्तो व्यवहार प्रकट गर्नेलाई कानुनी सजायको व्यवस्था गरिएको छ । तर, कथित उच्च जातिमाथि जातीय कुरालाई लिएर अपमानित गरिँदा भने त्यसको कुनै कानुनी उपचार हुँदैन । बाहुन, क्षेत्री वा नेवारहरूलाई तिनै दलितहरूले होच्याएर अपाच्य शब्द बोल्दा त्यसप्रति कुनै उजुरबाजुर हुँदैन । तर, एक जना दलितलाई कथित उच्च जातिका व्यक्तिले कामी वा दमैभन्दा उसले कानुनी कठघरामा उभिनुपर्दछ । सम्भवत: यस्तो कानुनी व्यवस्थाको पछाडि समाजमा जातीय विभेद र छुवाछुतको अन्त्य होस् भन्ने अभिप्राय जोडिएको छ ।
सिर्जनाका अरू माध्यमहरूभन्दा गीत–संगीतको प्रभाव छिटो र तत्काल हुन्छ । गीत–संगीत तुरुन्तै जनमानसमा छिर्न सक्छ र त्यसले तत्काल नै आफ्नो प्रभाव र छाप छोड्न सक्छ । तसर्थ, पशुपति शर्माको गीतले पनि तत्काल समाजमा छाप छोडेको हुँदा तत्काल नै विरोधको स्वर उब्जिन पुगेको हुनसक्छ । तर, उनको गीतबाट के महसुस हुन्छ भने, दलित जीवनका बहुविध हिस्साको उब्जिएको आशय र निष्कर्ष उक्त गीतमा दर्ज हुन पुगेको छ । जसरी, हिजो यसकुमारले नेपालमा समाजमा दलितले भोग्नुपरेको यथार्थलाई गीतमार्फत् जुन मिहिन ढंगले व्यक्त गरेका थिए, पशुपति शर्माले पनि तिनै यथार्थलाई पक्डेर गाएका मात्र हुन् । उनले गाएको गीतका शब्दहरू नै हेरौं, एकपटक–
‘के को बाहुन, के को कामी, के को जनजाति
जातका कुरा गर्नेहरू देशका लागि घाती
जातको कुरा गर्नेको दिमाग कहाँ छ ?
मेरो छोराले कमिनी ल्यायो
मेरी छोरी नि दमैसित गई
मैले नै गुर्सेनि ल्या’कै हो
हामी नेपाली हौं, मलाई यत्ति थाहा छ
ए, हुन्न, हुन्न हाम्रो घरमा जातको कुरा हुन्न ।’
अझ पशुपति शर्माले त जातीय उत्पीडन, पीडा र छट्पटाहटभन्दा माथि उठेर, नेपाली समाजमा दलित र गैरदलितबीच भइरहेको पारिवारिक सम्बन्ध र मिलनको राम्रो दृष्टान्त पेस गरेका छन् । अन्तरजातीय विवाहलाई प्रश्रय दिने हेतु पनि यो गीतले लिएको प्रस्टै देखिन्छ । भलै, त्यसले सामाजिक मान्यता नपाएको होला तर विगत केही दशकयता दलित र गैरदलितबीच बिहेवारी हुने क्रमले भने निश्चय नै तीव्रता पाएको छ । यसलाई नेपाली समाजमा आएको परिवर्तनको द्योतक मान्नुपर्ने हुन्छ । आधुनिकताको तीव्र विकाससँगै समाज, व्यक्ति र परिवारभित्र देखा परेका परिवर्तनका लहरले धेरै कुरामा फेरबदल ल्याएको छ । मानिसमा समृद्ध हुँदै गएको चेतना, पुरातन सोच र चिन्तनसित सम्बन्ध विच्छेद, नयाँ मूल्य र मान्यताहरूसित हातेमालो गर्दै जाने उत्कण्ठा, यस्ता पक्षहरूले आजका मानिसलाई जातीय विद्वेष, घृणा र अभिमानबाट धेरै नै माथि उठ्न सिकाएको छ ।
तसर्थ, पशुपति शर्माको गीतप्रति आज जुन प्रहार भएको छ, गीतको सार बुझ्नेहरूले सहज रूपमा के महसुस गर्छन् भने यो गीतले दलितहरूको स्वाभिमानलाई ताछ्ने कुनै कार्य गरेको छैन । बरु दलितहरूप्रति सम्मानभाव प्रकट गर्दै, बदलिँदो परिस्थितिमा उनीहरूप्रति समाजले देखाएको कृतज्ञता र सम्मानभावलाई थप उजागर गर्ने कार्य गरेको छ ।
सम्बन्धित समाचार
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
-
साल फुलेर राजमार्ग सुगन्धित
-
यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
-
बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
-
फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
-
विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
-
भड्किलोपनको सिकार
-
नेपालका प्रथम ज्ञात कवि अनुपरम
-
कसले लिने तत्परता ?
-
बिक्री नै हो उत्कृष्टताको मापन ?
-
सीमित वृत्तभन्दा बाहिर
Leave a Reply