समस्या पन्छाउँदै नयाँ गतिमा
अहिले बुटवल पश्चिमाञ्चलको एक प्रमुख व्यापारिक थलोको रूपमा स्थापित भइसकेको छ । तथापि, डेढ दशकअघि भने चुरेको काछमा अवस्थित त्यही सहर पश्चिमकै एक व्यापारिक करिडोर बन्ने क्रममा थियो । बुटवल क्षेत्रमा बढ्दै गइरहेको व्यापारिक/व्यावसायिक चहलपहलसँगै सम्भावनाका नयाँ–नयाँ ढोका खुल्न थालिरहेकै बेला त्यस क्षेत्रका जनतालाई बैंकिङ सेवा र सुविधा प्रदान गर्ने उद्देश्य बोकेर सिद्धार्थ डेभलपमेन्ट बैंक स्थापना हुन पुग्यो ।
डेढ दशकअघि सिद्धार्थको जन्मभूमिमा स्थापित उक्त विकास बैंकले आफ्नो स्तरोन्नतिसँगै अहिले एउटा राष्ट्रिय स्तरको विकास बैंकको मान्यता ग्रहण गरिसकेको छ । पश्चिमाञ्चलको एक व्यापारिक सहरबाट सुरु भएको सिद्धार्थ डेभलपमेन्ट बैंकको यात्रा आफ्नै गतिमा अघि बढिरहेको छ । हुन पनि, १४ वर्षअघि मात्र २५ लाख रुपियाँमा बैंकले आफ्नो कारोबार सुरु गरेको थियो । तर, यो अवधिसम्म आइपुग्दा बैंकको चुक्ता पुँजी ६४ करोड ५० लाख पुगिसकेको छ ।
एउटा जीवन्त संस्थाले आफ्नो यात्राको क्रममा आरोह–अवरोह झेल्नु सामान्य कुरा हो । यो बैंकको सन्दर्भ कोट्याउँदा पनि अनेक आरोह–अवरोहले ठाउँ पाउन पुग्यो । दुई वर्ष अघिसम्म बैंकको वित्तीय स्थिति करिब–करिब डावाँडोलको तहसम्मै पुग्यो । नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरका अरू विकास बैंकहरूलाई धमाधम समस्याग्रस्त घोषणा गरिरहेकै बेला यो बैंकलाई भने राष्ट्र बैंकले समस्याग्रस्त बैंकहरूको सूचीमा पारेर नियन्त्रणमा त लिएन । तर, बैंकले तीव्र घाटा बेहोरिरहेको थियो र कुनै पनि समय संकटको भुमरीमा पर्न सक्ने सम्भावना प्रसस्तै थियो ।
दुई वर्षअघि घाटामा चलिरहेको उक्त बैंकले नयाँ प्रमुख कार्यकारी–अधिकृतका रूपमा महेश शर्मा ढकाललाई पाएपछि अहिले बैंकको वित्तीय स्थितिमा अपेक्षाकृत सुधार मात्र आएको छैन, यो आर्थिक वर्षमा त मुनाफा कमाउन नै सफल रह्यो । ढकाल भन्छन्– ‘बैंक घाटामा चलिरहेको थियो तर हामीले अहिले नाफामा लैजान सफल भयौं । आउँदो वर्ष हामी अझै मुनाफा कमाउन सफल हुनेछौं ।’
कुनै पनि संस्था माथि उठ्नका लागि त्यसलाई नेतृत्व गर्ने व्यक्तिको क्षमता, दक्षता, कार्यकुशलताको उत्तिकै ठूलो महत्त्व हुन्छ । असल व्यवस्थापकको हातमा पर्यो भने मात्र कुनै पनि संस्थाले गति लिन सक्छ, आम व्यक्तिको विश्वास सँगालेर अघि बढ्न सक्छ । यो पक्षलाई प्रमुख कार्यकारी–अधिकृत ढकालले राम्रैसित बुझेका छन् । उनी भन्छन्– ‘यो बैंकबाट विगतमा कर्जा प्रवाह हुँदा केही प्रक्रियागत त्रुटि देखिए, कमी–कमजोरी भयो र तिनै कारणहरूले गर्दा बैंक घाटामा गयो ।’ उनी विविध कारणहरूले गर्दा बैंक समस्याको बिन्दुतिर उन्मुख भएको स्वीकार्दै भन्छन्– ‘अब बैंक नयाँ ढंगले अघि बढ्छ ।’
हुन पनि, दुई वर्षअघि घाटामा सञ्चालित बैंकले आर्थिक वर्ष ०७०/७१ मा ५ करोड ६० लाख मुनाफा कमाउन सफल रह्यो । ढकाल भन्छन्– ‘एक वर्षको अवधिमा हामीले निक्षेपतर्फ ३० र कर्जातर्फ ३५ प्रतिशत वृद्धि गर्न सफल भयौं । र, हाम्रो बैंकको तरलताको अनुपात पनि २८/२९ प्रतिशत रहेको छ ।’
वि.सं.०३१ सालमा स्याङ्जामा जन्मिएका ढकालले बैंकिङ करिअर भने सन् २००३ मा प्रारम्भ गरेका हुन् । जिल्लाकै त्रिभुवन आदर्श माध्यमिक विद्यालयबाट प्रवेशिका उत्तीर्ण गरेका उनले प्रारम्भिक शिक्षा भने गाउँकै शारदा मन्दिर माविबाट गरेका हुन् । जुन स्कुल उनकै बुबाद्वारा स्थापित थियो । पृथ्वीनारायण बहुमुखी क्याम्पस, पोखराबाट आईकम र बीकम उत्तीर्ण गरेपछि चार्टर्ड एकाउन्टेन्ट अध्ययन गर्न उनी नयाँ दिल्ली गए । सन् २००१ मा चार्टर्ड एकाउन्टेन्टको अध्ययन पूरा गरेर नेपाल फर्किएका उनले दुई वर्षसम्म विभिन्न निजी कम्पनीमा काम गरेपछि सन् २००३ मा नेपाल बैंक लिमिटेडबाट बैंकिङ करिअर प्रारम्भ गरेका हुन् ।
नेपाल बैंक लिमिटेडमा सात वर्षसम्म काम गरेको अनुभव सँगाल्दै उनी कमर्ज एन्ड ट्रस्ट बैंकमा मुख्य प्रबन्धकको जिम्मेवारी सम्हाल्न पुगे । उक्त बैंकमा उनले तीन वर्ष काम गरे र त्यस बैंकमा ३/४ विभागहरू हेर्थे उनी । उक्त बैंकपछि उनले सिद्धार्थमा पाइला टेके र अहिले १४ महिनादेखि उक्त बैंकलाई सफलताको शिखरमा पुर्याउन दृढसंकल्पित भएर लागिपरेका छन् ।
कुनै समय, क्षेत्रीय र जिल्ला तहमा विकास बैंकहरू खुल्ने क्रमले निकै गति लिएको थियो । तर, अब भने विकास बैंकहरू चुनौतीपूर्ण समयरेखामा उभिएको ढकाल स्वीकार्छन् । भन्छन्–‘अहिले विकास बैंकहरूलाई निकै नै चुनौती छ । किनभने, राष्ट्र बैंकले बैंकहरूको श्रेणी विभाजन गरे पनि कमर्सियल बैंकहरूमा पुँजी बढी छ र उसको क्षेत्र पनि व्यापक छ । हामीले कमर्सियल बैंकहरूसित प्रतिस्पर्धा गर्नु परिरहेको छ ।’ कमर्सियल बैंंकहरूको क्षमता बढी हुने भएको हुँदा प्रतिस्पर्धामा विकास बैंकहरू खरो ढंगले उत्रिन नसक्ने उनको अनुभव छ ।
अब विकास बैंकहरू यथास्थितिमा चल्न नसक्ने उनको स्वीकारोक्ति छ । भन्छन्– ‘अब विकास बैंकहरू यथास्थितिमा चल्न सक्दैनन् । समयमै कि त पुँजी वृद्धि गरेर अगाडि बढ्नु पर्यो, कि त मर्जतिर जानुपर्यो ।’ तर, यति हुँदाहुँदै विकास बैंकहरूको आवश्यकता रहेकोमा भने उनको विमति छैन । सबै वर्गका बैंकको निक्षेप लिने र लगानी गर्ने क्षेत्र उस्तै–उस्तै रहेको हुँदा राष्ट्र बैंकले कुन बैंकले कुन क्षेत्रमा लगानी गर्ने भन्ने किटान गरिदिएको भए विकास बैंकहरूले अहिलेको समस्या झेल्नु नपर्ने उनको तर्क छ ।
विकास बैंकहरूले वर्तमान केही समस्या झेल्नु परे पनि सिद्धार्थले भने आफ्नै हिसाबले गति पक्डिरहेको छ । अहिले उक्त बैंकको निक्षेप ६ अर्ब २५ करोड रुपियाँ रहेको छ भने कर्जातर्फ ५ अर्ब प्रवाह गरिसकेको छ । ८० हजार ग्राहकको नेटवर्क रहेको उक्त बैंकका एटीएम प्रयोगकर्ताहरू ३५ हजार छन् । ढकाल भन्छन्– ‘विकास बैंकहरूमध्ये सबभन्दा धेरै एटीएम प्रयोगकर्ताहरू हाम्रै बैंकका रहेका छन् ।’ त्यसो त, अहिले बैंकले १८ वटा शाखा र १९ वटा एटीएम मसिनबाट आफ्ना ग्राहकहरूलाई सेवा र सुविधा प्रदान गरिरहेको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
आर्थिक वृद्धि सुस्त हुने प्रक्षेपण : विश्व बैंक
-
नेपाल स्टक एक्सचेन्ज (नेप्से) अब सोमबारदेखि शुक्रबारसम्म खुला रहने
-
इन्धन मूल्यवृद्धिले हवाई भाडा बढ्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
Leave a Reply