लगातार जनतासँग
स्याङ्जा जिल्लाको क्षेत्र नम्बर ३ मा नेकपा (एमाले)ले १७ वर्षपछि मात्र आफ्नो गुमेको शाख फिर्ता गर्यो । २०५१ को मध्यावधि निर्वाचनमा एमालेले विजय प्राप्त गरेपछि त्यसयताका हरेक निर्वाचनमा पराजय बेहोर्दै आयो । तर, कार्यकर्ताको निरन्तरको मिहिनेत र सुदृढ संगठनका कारण एमाले उम्मेदवारले नेपाली कांग्रेसका उम्मेदवारलाई भने यस पटकको संविधानसभाको निर्वाचनमा पराजित तुल्याए । कांग्रेस उम्मेदवार मोहन पाण्डेको भन्दा ३ हजार ७ सय ९० मत बढी ल्याएर एमालेका मुक्तिप्रसाद पाठकले चुनाव जिते ।
त्यसो त पाठकले पनि तेस्रो प्रयासमा मात्र संविधानसभा सदस्य जितेका हुन् । ५९ वर्षिय पाठक उमेरले वृद्ध भए पनि जोश, जाँगर र उत्साहमा भने कुनै युवाको भन्दा कम छैन । उनले ०६४ सालको निर्वाचनमा पनि १ सय ६५ मतले मात्र चुनाव हारेका थिए भने त्यसअघि ०५६ सालमा तत्कालीन नेकपा (माले)बाट उम्मेदवार हुँदा वामदेव गौतम र सीपी मैनालीपछिको तेस्रो बढी मत ल्याएका थिए ।
संसदीय राजनीतिमा तेस्रो पटक मात्र बाजी मारे पनि गाउँ स्तरमा भने पाठक साह्रै लोकप्रिय छन् । त्यसैले त उनले पञ्चायत व्यवस्थामै २ कार्यकाल र बहुदल पुन:स्थापनापछि २ कार्यकाल गरी चार कार्यकाल गाउँको नेतृत्व सम्हाले । ०४० सालमा तत्कालीन पेलाकोट गाउँ पञ्चायतको जनपक्षीय प्रधानपञ्च निर्वाचित उनी ०४३ सालमा त निर्विरोध नै भएका थिए । पञ्चायतकालमा जनताको पक्षमा काम गर्न कोसिस गरे पनि सीडीओहरूका अनेक खप्की र अवरोध सहनुपथ्र्यो । तसर्थ, प्रधानपञ्च रहँदै उनीलगायतको समूह ०४६ सालमा पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा जमेर लाग्यो । आन्दोलन सफल भएपछि पार्टीले उनलाई ०४९ र ०५४ गरी दुवै पटक गाउँ विकास समितिको अध्यक्षमा उम्मेदवार बनायो । दुवै पटक उनी शानदार मतका साथ जित्न सफल भए ।
०१२ साल कात्तिक १४ गते पेलाकोट–६, चोकठाँटीमा जन्मिएका उनी साह्रै सुखमा त हुर्कन पाएनन् तर मध्यम वर्गीय परिवार भएकाले लेखपढ गर्न भने उतिसारो दु:ख परेन । उनले माध्यमिक शिक्षा पूरा गर्न तीनवटा विद्यालय चहार्नुपर्यो भने उच्च शिक्षाका लागि पनि तीनवटै क्याम्पस धाए । हालको नेपाल राष्ट्र उच्च माविबाट प्राथमिक तहको शिक्षा पाएका उनले पूर्णामृत भवानी फूलबारी उच्च माविबाट ७ र ८ कक्षा तथा जनता मावि तानसेनमा ९ र १० कक्षा पढे ।
उनले हालको शंकरदेव क्याम्पस रहेको स्थानमा अवस्थित नेसनल कलेजबाट पुरानो शिक्षाको आईए तथा त्रिचन्द्र क्याम्पसबाट स्नातक पास गरे । त्यसैगरी, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट अर्थशास्त्रमा एमए उत्तीर्ण गरेपछि मात्र औपचारिक अध्ययनमा विश्राम लगाए । ०३७ सालमा डिग्री सकेपछि भने उनी पूर्णकालीन राजनीतिमा हामफाले । स्वर्गीय हेमप्रसाद पाठक र आमा कुबिजा पाठकको जेठा छोरा उनका ४ भाइ र ८ दिदी–बहिनी थिए । संयुक्त परिवारमै जन्मे–हुर्केका उनका सबै भाइ अहिले आ–आफ्ना क्षेत्रमा स्थापित छन् । उनका भाइमध्ये माइलो गणेश मीनभवन क्याम्पसमा प्राध्यापन गर्छन्, साइँलो सागरमणि हाल बैतडीको सीडीओ छन् भने कान्छो राममणि अमेरिकातिर बस्छन् । उनका पनि श्रीमती योगमायासहित ३ छोरी र २ छोराको परिवार छ । सबैको आ–आफ्नो व्यवस्थापन भइसकेको छ । २ छोरामध्ये जेठोले अमेरिकाबाट डिग्री सकाएर हाल उतै बस्दैछन् भने कान्छो पनि चार्टर एकान्टेन्ट पढ्दैछन् ।
उनी ०२९ सालबाटै अनेरास्ववियुको राजनीतिमा जोडिए हुन् । हाल नेकपा (माक्र्सवादी)मा रहेका पर्वतका तिलक पराजुलीले उनलाई अनेरास्ववियुमा जोडाइदिएका हुन् । सो संगठन पछि फुटेर प्रगतिशील विद्यार्थी युनियन बन्यो । पाठक सो समूहपट्टि लागे । ०३६–०३७ सालको विद्यार्थी आन्दोलन सशक्त पार्नकै लागि उनी केन्द्रीय संघर्ष समितिमा सम्मिलित भएर काममा जुटे ।
शरणविक्रम मल्ल, भुपाल भट्टराई र उनीलगायतको समूह ०३५ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई भेट्न वनारस गयो । पैदल यात्राबाटै नेपालगञ्जको बाटो उनीहरू वनारस पुगे तर दुर्भाग्य त्यहाँ उनीहरूले पुष्पलाललाई भेट्न सकेनन् । पुष्पलाल सिकिस्त बिरामी भएर उपचारका लागि पटना लगिएका थिए । उनीहरू त्यतै लागे तर पटनामा पनि भेट्न सकेनन् । किनकि, पुष्पलालको थप उपचारका लागि दिल्ली लगिएको रहेछ । पटनाबाटै पुष्पलाललाई नभेटी उनीहरू काठमाडौं फर्किए, त्यसकै केही महिनापछि पुष्पलालको निधन भयो । पुष्पलाललाई भेटेर उनीसँग प्रशिक्षण लिने र उनकै निर्देशनमा पार्टी काममा होमिने उत्कट चाहना भए पनि उनीहरूको त्यो चाहना पूरा हुन पाएन । नेपाल फर्केपछि उनीहरू विद्यार्थी आन्दोलनमा सशक्त ढंगले लागे । पुष्पलालको अस्तु नेपालमा ल्याएपछि भव्य शवयात्रा र शोकसभा भयो, उनी शवयात्रामा सहभागी भए ।
सामाजिक परिवर्तनका लागि उनीहरू आन्दोलनमा लागेका थिए । त्यो बेला शोषित पीडित जनताको मुक्ति र पञ्चायती व्यवस्थामा आमूल परिवर्तन हुनुपर्छ भन्ने उनीहरूको चाहना थियो । अहिले गणतन्त्र त आएको छ तर जनताको मुक्ति भइसकेको छैन । आर्थिक समृद्धि र परिवर्तनका साथै संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान जारी गर्ने महत्त्वपूर्ण निकायमा उनी आफैं पुगेका छन् । तर पनि, उनी ढुक्कसँग जनतालाई विश्वस्त पार्न सकिरहेका छैनन् । भन्छन्– ‘संविधान जारी गर्न सकियो भने राजनीतिक स्थायित्व हुन्छ, त्यसपछि मात्र आर्थिक समृद्धिको चरण सुरु हुन्छ’– उनको कथन छ– ‘माघ १४ भित्र संविधान जारी गरेर मुलुकलाई स्थायित्व प्रदान गर्नु नै हाम्रो पहिलो कर्तव्य हो, विगतमा केही दलका नियतले संविधान आएन, अब भए सहमति र नभए प्रक्रियाबाट जसरी पनि संविधान दिनुपर्छ । नत्र मुलुक नै असफल हुन्छ ।’
उनी राजनीतिका अलावा थुप्रै विकास निर्माणका काममा सक्रिय छन् । उनले गल्याङ बहुमुखी क्याम्पस स्थापना गर्न आफ्नो तहबाट निकै ठूलो भूमिका खेले भने सहकारी, स्वास्थ्य चौकी, बाटोघाटो र पुल–पुलेसा निर्माणमा पनि निकै सक्रिय ढंगले पहलकदमी लिए । ‘गाउँलेले पटक–पटक विश्वास गरेर पदमा पुर्याएकाले पनि म उहाँहरूप्रति अनुग्रहित छु’– त्यसैले उनी जति नै माथिल्लो पदमा पुगे पनि गाउँ नछोड्ने सुरमा छन् । ‘घर नै रित्तो रहेछ, अबको बसाइ यतै त होला ?’ प्रश्न खस्न नपाउँदै उनले प्रतिवाद गरे । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको सदस्य र सहकारी विकास बोर्डको सदस्यको जिम्मेवारी पाइसकेका उनी हाल पनि दुईवटा उच्च माविको व्यवस्थापन समितिको अध्यक्ष छन् ।
राजनीतिक इतिहास लामो भए पनि माक्र्सवादीतिरको पार्टी सदस्यताको अभिलेख लथालिंग भएकाले ०४७ सालमा मात्र उनले तत्कालीन नेकपा (माले)को संगठित सदस्यता लिएका हुन् । ०४६ देखि मालेको सम्पर्कमा रहेका उनी ०५५ सालदेखि स्याङ्जा जिल्ला कमिटीको सदस्य छन् । पछि जिल्ला सचिवालय सदस्य रहेका उनी क्षेत्रीय अध्यक्ष भए । एउटा कार्यकाल सकेर पुन: दोस्रो कार्यकाल क्षेत्रीय अध्यक्षको हैसियतले काम गरिरहेका उनी कार्यकर्ता र जनताले जतिबेला र जहाँ खोजे पनि सकभर उपलब्ध हुनमै रमाउँछन् ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपालीमा
- अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
- मोफसलका ‘आँखा बा’
- भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर
- तस्वीरमा उहिलेको पोखरा
- एमालेसँग एक्लै चुनाव लडने तागत कसैसँग छैन : बिष्णु पौडेल
- एमसीसी स्वीकार्न अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ शुरु गरेको छ, प्रतिरोध गर्छौ : चीन
- देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुन्छ : प्रदीप ज्ञवाली
- एमालेले भारतलाई भन्यो-लिपुलेकमा सडक खन्ने बलमिच्याई रोक
- चुनावसम्म संसद अवरोध गरिरहन्छौं : ओली
- नयाँ ढङ्गले राजनीतिक यात्रा शुरु गर्छु : शेखर कोइराला
Leave a Reply