जनतासँगै सदावाहर
ललितपुरको सातदोबाटोबाट चापागाउँ छिर्ने मोड हुँदै केही भित्र पसेपछि खुमलटार आइनपुग्दै झापा–४ बाट निर्वाचित एमाले सभासद् प्रेम गिरीको डेरा आइपुग्छ । भव्य बसाइ, भव्य नै सजावट, सानदार प्रतीक्षा कक्ष, भेटघाट र कुराकानीको बेग्लाबेग्लै व्यवस्था । जिल्ला र क्षेत्रको विकास निर्माण र समृद्धिको एजेन्डामा छलफल गर्न, योजना बनाउन र परामर्श लिन आउनेको उत्तिकै लर्को देखिन्छ । तर, आफ्ना कार्यकर्ता एवम् जनतासित कुनै झर्को नमानी प्रस्तुत भइरहेका उनलाई पहिलो पटक भेट्ने जो कोहीले ती व्यक्ति ०४५ सालतिर रोजगारी खोज्दै पोखराको सेती बगर पुगेर बालुवा चालेको, ज्यामी काम गरेको र ०४८ सालमा गरिबीले गाँजेपछि काठमाडौं आएर गार्मेन्टमा मजदुरी गरेका व्यक्ति हुन् भनेर पत्याउन मुस्किल पर्छ ।
कुनै कालखण्डमा गरिबीले पिल्सिएर मजदुरीका लागि सहरको गल्ली–गल्लीमा भौंतारिएको र कम्युनिस्टहरूद्वारा भनिँदै आएको बुुर्जुवा शिक्षा पढ्न राजनीतिको हावा र आर्थिक अभावले नसकेर त्यहीँबाट ब्रेक लगाएको व्यक्तिले आज सफलताको शिखर चुमेको कुरा सायदै पत्याउन सकिन्छ । तर, २०२२ माघ २८ गते धर्तीमा जन्म लिएदेखि हालसम्मका जीवनचक्रलाई केस्राकेस्रा छुट्याउँदै जाँदा गिरीले जिन्दगीका तमाम अप्ठेराहरूलाई बहादुरीसाथ परास्त गर्दै यो सफलतामा पुगेको छर्लंगै हुन्छ ।
जीवनका कहानीहरू कोट्याउँदै जाँदा निरन्तरको संघर्ष र कामप्रतिको लगावकै कारण उनी अहिले एक सफल व्यक्तिको रूपमा स्थापित बन्नपुगेको ठहर गर्न सकिन्छ । त्यसो त उनी राजनीतिक हिसाबले पाको भइसकेका छैनन् । भर्खर सभासद् भएका छन् र उनले अझै ठूला–ठूला राजनीतिक खुट्किला उक्लिन बाँकी नै छन् ।
गिरी अहिले सभासद्का हैसियतले आफ्नो क्षेत्रको विकास निर्माण तथा मुलुकको नीति निर्माण गर्न र २०७१ माघ ८ भित्र नयाँ संविधान निर्माण गर्नतिर उद्यत भएर लागेका छन् । हुन त उनको परिभाषित जिम्मेवारी पनि अचेलका लागि यही हो । साथै उनको परिचय एक सामाजिक प्रशिक्षकका रूपमा समेत अन्योन्याश्रित भएर गाँसिएको छ । उनी ग्रामीण विकास, सकारात्मक सोच, योजना निर्माण, लैंगिक सशक्तीकरण, रणनीतिक योजना निर्माण, समूह व्यवस्थापन, समावेशीकरण, प्रस्ताव लेखनलगायतका दर्जनौं विषयमा तालिम संयोजन र सञ्चालन गर्न सक्छन् । सो क्षेत्रमा रहेको दशकौंको लगाव र क्रियाशीलताले नै विगतको आफ्नो जिन्दगी र जीवनस्तरमा आकाश–जमिनको परिवर्तन आएको उनी बताउँछन् । विभिन्न तालिमकै सिलसिलामा उनी नेपालका प्राय: सबै जिल्ला, भारतका अधिकांश प्रान्त र थाइल्यान्डलगायतका देश घुमेका छन् । ०५४ सालको स्थानीय निर्वाचनमा खुदुनाबारी गाविसको अध्यक्षमा निर्वाचित भएका उनलाई ५ वर्ष जनप्रतिनिधि बने पनि अवधि सकिएपछि भने बेकामे भइने पिरले निन्द्रा लागेन । अन्तत: एक सहकारी र एक सामाजिक संस्था खोले र दुवै क्षेत्रमा लाग्ने उद्देश्यसहित अभियान नेपाल नामक सहकारी र अभियान नेपाल नामक सामाजिक संस्था दर्ता गरे । उनले सोही संस्थामार्फत खुदुनाबारीको विकासमा उलटपुलट ल्याए । उनी गाविस अध्यक्ष हुँदा सो गाविसमा भर्खरै विद्युत जोडिएको थियो । सहकारी र समुदायको पहलमा सिंगो गाविस झिलिमिली भयो भने सामाजिक संस्थाको माध्यमबाट ग्रामीण समुदायका महिलाहरूलाई संगठित तुल्याउने र समूहमार्फत कृषि र पशुपालन गर्न पनि थालियो । सो गाविसका ३२ सय घरधुरीले सोही संस्थामार्फत आफ्नो आर्थिकस्तर उकासे । संस्थाले घरलौरी तालिम दिने, घाँसको बीउ दिने र बजारीकरण गर्ने गरेको हुँदा संस्थाप्रति विश्वास बढ्दै गयो । सोही कारण झापाभरि अभियान नेपालको सबैले जयजयकार गर्छन् अहिले पनि ।
सम्पन्न परिवारमा जन्मिएका हुन् उनी । इलाम, दानाबारीमा उनको परिवारसँग जग्गा–जमिन र बस्तुभाउको कुनै कमी थिएन । कति भैंसी थिए भन्नुभन्दा पनि कति बगाल भैंसी थियो भनेर प्रश्न गर्नुपर्ने खान्दानको थियो, उनको परिवार । तर, त्यो ऐश आराम भने उनले ५ वर्षको उमेरभन्दा पछिका दिनहरूमा पाएनन् । किनकि, ०२८ सालमा आमा उनलाई च्यापेर झापाको खुदुनाबारी बसाइँ सर्नुभयो । बसाइँ सर्नुअघि आमा र बुबाको तीव्र विवाद भएछ । त्यहाँ रहेको ४ बिघा जमिन बुबाले आमाको सल्लाहबिना बेच्नुभएछ । छोराछोरी पढाउन पछि चाहिने राम्रो जमिन बेच्नु हुँदैन भन्दै आमाले माइतीबाट पैसा खोजेर ल्याएर सो जमिन आफैंले किनी बस्न आउनुभएछ । आमा र बुबाको यही विषयमा विवाद बढेपछि बुबाले अर्को विवाह गर्नुभयो । त्यसपछि उनका दु:खका दिन सुरु भए ।
उनले शिशु कक्षादेखि ७ सम्म गाउँकै जनता निमाविबाट पढे भने त्यसपछि एसएलसीसम्म शनिश्चरे माविबाट पढे । पढाइमा अब्बल भएकाले उनले प्राथमिक तहमा कहिल्यै दोस्रो हुनु परेन । जब अलि बुझ्ने हुँदै गए तब परिवारको आर्थिक अभाव र मानसिक पीडाकै कारण पढाइको स्तर खस्किँदै गयो । ०४० सालको एसएलसी परीक्षा पास गरेपछि कानुन पढ्ने धोको बोकेर जनता कानुन क्याम्पस विराटनगरमा भर्ना भए । क्याम्पसमा ०४० सालदेखि जोडिए पनि विद्यार्थी राजनीतिमा भने उनी ०३६ सालदेखि नै आबद्ध भइसकेका थिए । त्यतिबेला गाउँमा बैरागी काइँला, भूविक्रम नेम्वाङजस्ता पञ्चायतविरोधीको पकड थियो । त्यसैले माहोल नै पञ्चायतविरुद्ध हुने नै भयो । इलाममा भएको तत्कालीन ‘धानकाण्ड’ पछि प्रशासनको तारो भएपछि आश्रयका लागि आफ्नै ठूलीआमाको छोरा उनको घरमा बस्न आए । दाइकै संगतमा उनी पनि जनवादी गीत गाउने भइसकेका थिए । उनलाई ०३९ सालमा अनेरास्ववियु विद्यार्थी विशेष प्रारम्भिक कमिटीको उपाध्यक्ष बनाएपछि भने विधिवत् पार्टी काम गर्न थाले । त्यसपछि उनी इलाका कमिटी अध्यक्ष, भूमिगत पार्टीको सक्रिय दल हुँदै ०४२ मा भएको निर्वाचनका द्रोणप्रसाद आचार्यको प्रचार–प्रसारमा खुबै जुटे । आचार्यको विजयले उनीहरूमा ठूलै उत्साह ल्याइदियो । क्याम्पसमा ब्याक लागेका विषयहरू पनि अब उनले पढ्ने जाँगर देखाएनन् । बलराम गजुरेल, नारायणसिंह राजवंशीलगायतको प्रभावले उनी बुर्जुवा शिक्षा पूर्णतया बहिष्कार गरेर क्रान्तिमा हिँड्न थाले । पेसाले किसान भएकाले उनी अखिल नेपाल किसान संघको इलाका कमिटी सदस्य भएर काम गर्न थाले । पार्टी काममा जुट्ने र घर व्यवहार हेर्ने गर्दै आएका उनी अन्तत: ०४५ सालमा रोजगारी खोज्दै पोखरा पुगे । सेतीको बगरमा बालुवा चाल्नेलगायतका काम गरेर बसेका उनी ०४६ सालको पुसमा गृहजिल्ला झापा नै फर्किए । फागुन ७ बाट पार्टीले आन्दोलन छेड्दै थियो । सोही क्रममा पहिलो दिन बिर्तामोडबाट नै सानदार जुलुस निकाल्ने कार्यक्रम थियो । पहिलो दिन नै पक्राउ परेका उनी ४९ दिन हिरासतमा बसे । आन्दोलन सफल भएपछि मात्र जेलबाट छुटे । जेलबाट छुटेपछि तत्कालीन मालेको संगठन विस्तारमा मात्र उनको ध्यान रह्यो । ०४७ मा गाउँ कमिटी सदस्य भएका उनी ०४८ बाट गाउँ सचिव भए । ०४८ सालमै उनी युवासंघको गाउँ कमिटी अध्यक्ष पनि बन्न भ्याए । ०४९ सालमा आमा खस्नुभएपछि घर गएरै उनले घरव्यवहार सम्हाल्न थाले ।
०४१ सालमै बिहे गरेका उनका ०४३ सालमा छोरा र ०४६ मा छोरी जन्मिएकाले अहिले ती बच्चाको शिक्षादीक्षाको काम भइरहेको छ । बच्चाहरू बेलैमा हुर्किएकाले उनी ढुक्कसँग राजनीतिमा हिँड्न भ्याएका छन् । त्यसैले त उनको संस्था अभियान नेपालले खुदुनाबारीमा १ सय ४० समूह गठन गरेका छन् भने सो संस्थासंग २ करोड पुँजी बचत छ ।
०४९ सालमा गाविस अध्यक्षको प्रस्ताव आए पनि उनले रहर गरेनन् । बरु घरको आर्थिक अवस्था लथालिंग भएकाले काठमाडौ आई कपडाको लेयर मिलाउने तथा फाइनल चेक गर्ने कार्यमा संलग्न भए । ०५४ सालमा पार्टी फुट्दा १२३ जनाको इलाका कमिटीमा १२ जना मालेतिर लागे भने उनकै संयोजकत्वमा सो इलाकामा एमालेले संगठन पुनर्गठन गर्यो । ०५६ मा उनी युवासंघको राष्ट्रिय सम्मेलन आयोजक कमिटीको सदस्य भएर काम गरे । जिल्लाको पाँचौं अधिवेशनदेखि जिल्ला कमिटीमा छानिन थालेका उनी अहिलेसम्म पनि जिल्ला कमिटी सचिवालय सदस्य तथा क्षेत्रीय इन्चार्ज छन् ।
०७० को संविधानसभाको निर्वाचनमा उनले २२ हजार १ सय ५९ मत ल्याएर विजय हासिल गरे । कांग्रेसका जिल्ला सभापनि उद्धव थापालाई गिरीले १९ सय ८१ मतले हराइदिए । आफूले रणनीतिक योजना बनाएर चुनावमा लागेकाले मात्र पार्टीको विजय सम्भव रहेको उनको दाबी छ । संस्थाको कामले समुदायसँग गहिरोसित घुलमिल रहेकाले आफ्नो पार्टीका कार्यकर्ताबाहेक अन्य दलका कार्यकर्तासँगको सहयोगमा आफू विजयी बनेको बताउँछन् उनी ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपालीमा
- अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
- मोफसलका ‘आँखा बा’
- भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर
- तस्वीरमा उहिलेको पोखरा
- एमालेसँग एक्लै चुनाव लडने तागत कसैसँग छैन : बिष्णु पौडेल
- एमसीसी स्वीकार्न अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ शुरु गरेको छ, प्रतिरोध गर्छौ : चीन
- देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुन्छ : प्रदीप ज्ञवाली
- एमालेले भारतलाई भन्यो-लिपुलेकमा सडक खन्ने बलमिच्याई रोक
- चुनावसम्म संसद अवरोध गरिरहन्छौं : ओली
- नयाँ ढङ्गले राजनीतिक यात्रा शुरु गर्छु : शेखर कोइराला
Leave a Reply