पाल्पालीका ढुकढुकी
लामो समय चक–डस्टर घोटेर विद्यार्थीलाई पढाएका राधाकृष्ण कँडेल पाल्पा–१ बाट संविधानसभा सदस्य छन् । पेसालाई निरन्तरता दिएको भए यतिबेला उनी अवकाशको तर्खरमा हुने रहेछन् । विगत कोट्याउँदा उनी भन्छन्– ‘सात वर्षसम्म लगातार दरबन्दीमै माध्यमिक कक्षामा शिक्षा र अर्थशास्त्र विषय पढाएँ । ०५२ सालमा शिक्षक सेवा आयोगमा नाम निकालेको थिएँ । त्यसमा सन्तुष्टि मिलेन र राजीनामा दिएर जनताको काममा लागें ।’
राधाकृष्ण कँडेलको अचेलको दिनचर्या संविधानसभा भवन बानेश्वर जाने, पालो दिएमा क्षेत्रका समस्याबारे बोल्ने, जनताका माग लिएर मन्त्रालय धाउने र कार्यकर्ताका गुनासो सकेसम्म सम्बोधन गर्नेमा बितिरहेको छ । कुनै निश्चित जागिर वा पेसामा रमाउनेहरूका लागि यो काम झन्झटिलो नै हुनसक्छ तर राधाकृष्ण भने जनताको प्रतिनिधि भएर जनताको काम गर्न पाउँदा औधी रमाइरहेका छन् ।
०३६ सालको विद्यार्थी आन्दोलन चरमोत्कर्षमा पुगेका बेला उनी दर्छा–१, रजघरा, पाल्पामै थिए । विद्यार्थी आन्दोलनको राप र तापले तत्कालीन नेकपा (माले) को संगठन सबैतिर विस्तार भइरहेको थियो । बाल्यकालदेखिकै अन्याय–अत्याचार नसहने र भ्रष्टाचार हुन नदिने उनको स्वभाव थियो । त्यसैले सबैभन्दा क्रान्तिकारी, जनताको समस्या बुझ्ने र मुलुकमा परिवर्तन ल्याउन सक्ने पार्टीको खोजीमा लागे उनी ।
युवराज खनाल, भोजबहादुर श्रेष्ठ र यमनाथ पाठकसँग सरसल्लाह गरेर राधाकृष्ण पनि मालेको गाउँ पार्टी सक्रीय दल सदस्य भए । एक वर्षजति सो दलमा बसेर काम गरेका मात्र के थिए, उनले त्यहाँको विद्यार्थी मोर्चा सम्हानुपर्ने अवस्था आइपर्यो । त्यसैले पार्टीले उनलाई अनेरास्ववियुको जिल्ला कमिटी सदस्य बनाएर काममा खटायो । ०३९ सालमा उपाध्यक्ष हुँदै ०४१ मा उनी अखिलको जिल्ला अध्यक्ष भए । ०४२ देखि गाउँ पार्टीको सदस्य भएका उनी २ वर्ष गाउँमै शिक्षण पेसामा समेत अनुबन्धित भए । तानसेनमा पढ्दा उनी युथ लिगको सदस्य पनि बनेका थिए ।
जब उनी उच्च अध्ययनका लागि ०४५ सालमा काठमाडौं आए, फेरि विद्यार्थी संगठनसँग जोडिएर काम गर्न थाले । सरस्वती क्याम्पसमा बीए र महेन्द्र रत्नमा बीएडमा भर्ना भएका उनी त्यतिबेलै अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीको सहसचिव भएर सांगठनिक काममा लागे । ०४८ सालमा पार्टीको २ नम्बर इलाका कमिटी सचिव, सोही अवधिमा युवा संघको जिल्ला उपाध्यक्ष तथा ०५० सालदेखि लगातार पार्टी जिल्ला कमिटीमा छन् । त्यसयता लगातार पार्टीकाममै पूर्णकालीन भएर लागेका उनले ०५५ मा उपसचिव, ०६० देखि ६६ जेठमा सचिव र ०६७ मा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य र ०६९ यता पार्टी अध्यक्ष छन् ।
२०१९ साउन १४ गते जन्मिएका राधाकृष्णको परिवार कृषिमै आश्रित परिवार भए पनि दु:ख गर्दा खान लाउन र पढ्न नपुग्ने अवस्था थिएन । उनले गाउँकै हाल उच्च मावि भइसकेको जनविकास स्कुलबाट प्राथकिम शिक्षा पाए भने रामतुल्सी उच्च माविबाट एसएलसी उत्तीर्ण गरे ।
०५४ सालमा उनी वडा अध्यक्ष भएका थिए । त्यसयता उनले जनप्रतिनिधि भएर काम गर्ने मौका पाएको एकैचोटी ०७० सालमा सभासद भएर हो । ०५१ सालयता लगातार सो क्षेत्र एमालेले आफ्नो पकडबाट गुमाउनुपरेको छैन । ०७० को चुनावमा उनले १७ हजार ८ सय ४ मत ल्याएका थिए, जुन कांग्रेसका उम्मेदवारभन्दा ५ हजार ८ सय ४६ मत बढी हो । त्यहाँ ५५ प्रतिशत मगर जातिको बस्ती छ । त्यसो त सोही स्थानबाट ०१५ सालमा नेकपाका कमलराज रेग्मीले चुनाव जितेका थिए ।
राधाकृष्णका बुबाका तीन पत्नी थिए । सबैबाट गरेर उनका ८ छोरा र ८ छोरी भए । उनी जेठीपट्टिका जेठा छोरा हुन् । १६ वर्षकै उमेरमा छुट्टभिन्न भएर बस्ने परिस्थिति आइपरेपछि उनले घर व्यवहार सम्हाल्नुपर्यो । जतिसुकै कठिन परिस्थिति आइपरे पनि उनले सामाजिक र राजनीतिक कामबाट आफूलाई अलग भने राखेनन् ।
राधाकृष्णले आम राजनीतिकर्मीले झैं राजनीतिमा अप्ठ्यारा मोडहरू पार गरेका छन् । ०४६ सालको आन्दोलनमा उनी आन्दोलन सफल पार्न काठमाडौंबाटै खटिए भने ०६२–६३ को आन्दोलन तानसेनबाटै उठाए । त्यो बेला पाार्टीको जिल्ला प्रमुख समेत भएकाले उनी सर्वदलीय सहकार्य गरेर आन्दोलन व्यवस्थापनमा क्रियाशील भएका थिए । ०३६ सालको आन्दोलनदेखि नै पार्टी काममा होमिए उनी । त्यसैले प्रहरीसँग भागदौड र कुटाइ त प्रशस्त भेटेका छन् । ०३८ सालमा मण्डलेहरूको दादागिरी अचाक्ली थियो । तिनलाई तह लगाउन उनीहरू छापामार बनेर ‘एक्सन’ गर्न गए । उनको टोलीले गएर तिनीहरूलाई थिलथिलो हुनेगरी भकुर्यो । तर, फर्कने बाटो ‘क्लियर’ नभएकाले काम पत्ते गरेर फर्कंदा भने उनीहरूले ढाड खुस्कने गरी गोदाइ भेटे । ‘झन्डै–झन्डै बाँचेको, त्यो घटना सम्झँदा अहिले पनि आङ सिरिंग हुन्छ’– उनी सम्झिन्छन् ।
पञ्चायती शासकहरूले राधाकृष्णलाई पटक–पटक दु:ख दिए । ०४२ सालमा रामराजाप्रसाद सिंहले बमकाण्ड गराएको एक महिनापछि प्रहरीले राधाकृष्णलाई पक्राउ गर्यो । तारिखमा छाडे पनि उनी तारिख थाम्न गएनन् ।
अहिले उनलाई जिल्लाका विकास निर्माण र समस्याहरू समाधान गर्न ज्यादा दबाब छ । ‘पहाडी जिल्ला भएकाले विकास निर्माणको खाँचो उत्तिकै छ भने स्रोत–साधनको भने कमी छ’– उनको गुनासो छ ।
अहिले पनि पार्टी कार्यकर्ताको लेबीकै भरमा पार्टी हाँकिरहेको उनको दाबी छ । ‘हामीले कुनै व्यापारी, ठेकेदार वा अन्य त्यस्तै व्यक्तिसँग पैसा लिएर पार्टी चलाउनुपरेको छैन’– उनले भने– ‘खराब व्यक्तिहरूसँग कमिसन लिएर पार्टी चलाउनु नपरोस् पनि ।’ उनकै कार्यकालमा जिल्ला पार्टीले आफ्नै भवन खरिद गर्यो । त्यति मात्र होइन, कार्यालय खरिदका लागि सहयोग संकलन अभियाान चलाएर ६ लाख रुपियाँ बचत पनि गर्न सफल भए ।
माओवादीको चरम द्वन्द्वले क्षत–विक्षत भएका बेला पनि उनीहरूले पार्टीको शाख कम हुन दिएनन् । उनी अझै आम पाल्पालीका मुटुका ढुकढुकीका रूपमा रहिरहेका छन् । र, उनले सधैं पहिलो हैसियतमा पार्टीको विरासत पाल्पामा कायमै गरिरहेका छन् ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपालीमा
- अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
- मोफसलका ‘आँखा बा’
- भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर
- तस्वीरमा उहिलेको पोखरा
- एमालेसँग एक्लै चुनाव लडने तागत कसैसँग छैन : बिष्णु पौडेल
- एमसीसी स्वीकार्न अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ शुरु गरेको छ, प्रतिरोध गर्छौ : चीन
- देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुन्छ : प्रदीप ज्ञवाली
- एमालेले भारतलाई भन्यो-लिपुलेकमा सडक खन्ने बलमिच्याई रोक
- चुनावसम्म संसद अवरोध गरिरहन्छौं : ओली
- नयाँ ढङ्गले राजनीतिक यात्रा शुरु गर्छु : शेखर कोइराला
Leave a Reply