प्रतिशोधलाई पकाउने कला

हरेक मानिसमा प्रतिशोध/ प्रतिरोधको भावना मौजुद हुन्छ । अन्तर यति मात्रै हो कि, कसैले त्यस्ता भावनालाई सघन रूपमा अभिव्यक्त गर्छन् भने कसै–कसैले सुशुप्त रूपमा, आफूभित्रै दबाएर राख्छन् । अनेक मानवीय स्वभाव र तरंगहरूभित्रकै एउटा तरंग प्रतिशोधलाई कुनै मानिसले सिर्जनाको तह र श्रेणीमा उकालेर बाहिर ल्याउन चाहन्छन् भने कसैले चाहिँ ध्वंसको माध्यम बनाउन खोज्छन् ।
सामाजिक जीवन–परिधिभित्र उत्पन्न जटिलताहरूलाई पन्छाउने क्रम/उपक्रममा कतिपयले प्रतिशोध र प्रतिरोधको माध्यम अँगाल्ने गरेको तथ्य विदितै छ । तर, सिर्जनाका कतिपय माध्यम, अझ त्यसमा पनि चलचित्र क्षेत्रमा भने प्रतिशोधलाई नै मूल विषय र कथ्य बनाएर पस्किने क्रम पछिल्लो समयमा निकै तीव्र रूपमा तन्किएको छ । केही दिनअघि मात्रै प्रदर्शित हिन्दी चलचित्र ‘ब्याङ ब्याङ’को कथावस्तुको केन्द्रीय तत्त्व वा प्राण नै प्रतिशोध रहेको थियो । भारतीय सेनामा कार्यरत एउटै परिवारका दुई भाइमध्ये एउटालाई अन्तर्राष्ट्रिय डन बनेको डेनी डेन्जोम्पाले क्रूरतापूर्वक हत्या गरेपछि, आफ्ना भाइको हत्यारालाई सफाया गर्ने मूल उद्देश्य बोकेर दाजुले अनेक उपाय रच्छ । र, विश्वकै अहिलेसम्मको सर्वाधिक महँगो कोहीनूर हिरा प्राप्त गर्ने लालसामा लिप्त उक्त डनलाई त्यही हिरा दिलाउने लोभमा फसाउँदै जान्छ र अन्तत: आफ्नो भाइलाई जुन तरिका र शैली अपनाएर हत्या गरिएको थियो, त्यही शैलीमा दाजु बनेको नायक हृतिक रोशनले उक्त डनको हत्या गर्छ ।
‘ब्याङ ब्याङ’ को मूल कथातत्त्व नै प्रतिशोध हो भने उक्त चलचित्रले प्रवाह गर्ने सन्देश यति मात्रै हो कि– रगतको बदला रगतबाटै लिनुपर्छ । त्यसबाहेक, एउटा व्यावसायिक फिल्मा चाहिने पर्याप्त मसलाहरू त उक्त फिल्ममा छँदैछ । ‘ब्याङ ब्याङ’को मात्र प्रसंग होइन, अहिले विश्व चलचित्र जगत्मा जे–जति चलचित्र निर्माण भइरहेका छन् र व्यावसायिक हिसाबले त्यस्ता चलचित्रहरू जसरी ‘सुपरहिट’ भइरहेका छन्, अधिकांश चलचित्रले प्रतिशोधको कथालाई केन्द्रमा राखेर निर्माण गरिएका छन् । ‘दुई सय करोड क्लब’मा सामेल हुने दौडमा लागेका चलचित्रहरू हुन् वा सामान्य कारोबार गर्ने चलचित्र नै, सबैले प्राय: एउटै सूत्रमा प्रतिशोधको कथा पस्किरहेका छन् ।
हुन त, हलिउड र बलिउडका अधिकांश चलचित्रको केन्द्रीय तत्त्व प्रतिशोध नै हुने गरेको छ । यो परम्परादेखि नै लागू हुँदै आएको विषय हो । अहिले निर्माण भएको ‘ब्याङ ब्याङ’को केन्द्रीय प्राण प्रतिशोध हुनुलाई नौलो मान्न सकिँदैन । करिब चार दशकअघिदेखि नै हिन्दी चलचित्रहरूले प्रतिशोधलाई आफ्नो मूल कथावस्तु बनाउँदै आइरहेका छन् । हिन्दी चलचित्रमा पहिलो पुस्ता मानिने ‘शोले’को कथाको केन्द्रीय तत्त्व पनि अन्तत: प्रतिशोध नै थियो । बाबुको हत्या गरेर आफूहरूलाई टुहुरा बनाउने र निरीह आमालाई सताउने ठाकुरविरुद्ध दुई जना दाजुभाइले प्रतिशोध साँध्न चाहन्छन् । एक जना ग्रामीण सामन्तको अत्याचारविरुद्ध लडेका ती दुई दाजुभाइले प्रतिशोधको भावनामा बहकिएर ठाकुरको दुवै हात छिनालिदिन्छन्, जसरी पूर्ववत् रूपमा ती ठाकुरले आफ्ना पिताको हात काटेर हत्या गरेका थिए ।
निश्चय नै, ‘शोले’ निर्माणको समय र ‘ब्याङ ब्याङ’ निर्माणको वर्तमान समय–अवधिमा प्रतिशोध लिने शैली र तरिकामा अन्तराल त भेटिन्छन् नै । ‘शोले’मा तत्कालीन समयको प्रविधि र सीपअनुरूप एक जना ग्रामीण सामन्तविरुद्ध प्रतिशोधको लडाइँ देखाइएको थियो भने ‘ब्याङ ब्याङ’ मा वर्तमान अत्याधुनिक प्रविधिको प्रयोगमार्फत् एक जना अन्तर्राष्ट्रिय डनविरुद्धको लडाइँलाई देखाइएको छ । तथापि, प्रतिशोधको लडाइँमा यी दुवै चलचित्रमा प्रविधिगत हिसाबले फरकपना देखिए पनि कथावस्तुका रूपले दुवै फिल्ममा देखाइएको प्रतिशोध अन्तत: प्रतिशोध नै हो । ती दुवैले सिकाउने पाठ प्रतिशोधको पाठ नै हो, कुनै स्नेह र ममताको पाठ कदापि होइन ।
प्रतिशोधलाई मूल कथातत्त्व ठानेर चलचित्र निर्माण गर्ने परिपाटीमा नेपाली चलचित्र जगत् पनि अग्रभागमै रहेको तथ्य कदापि बिर्सिनु हुँदैन । चालीसको अन्तिम दशकतिर निर्माण भएको ‘चिनो’को केन्द्रीय तत्त्व नै प्रतिशोध थियो । आफ्ना बाबुको हत्यारा राते काइँलालाई हत्या गर्नुमा नै उक्त चलचित्रको नायकले ठूलो अभीष्ट ठान्दछ र अन्तत: आम चलचित्रहरूमा अपनाइने क्रूर शैली/माध्यम अपनाउँदै राते काइँलाको हत्या गरिन्छ । उक्त चलचित्रमा पनि प्रतिशोधकै माध्यमलाई पछ्याइएको थियो ।
प्रतिशोध साँध्ने कलामा ‘चिनो’ले जुन ‘फर्मुला’ समातेको थियो, त्यसपछि बनेका अधिकांश नेपाली चलचित्रहरूले पनि त्यही ‘फर्मुला’लाई पछ्याइरहेका छन् भन्दा अत्युक्ति नहोला । त्यस्तो प्रतिशोध, चाहे एउटा परिवार र अर्को परिवारबीचको किन नहोस्, चाहे एउटा पुस्ता र अर्को पुस्ताबीचको किन नहोस् र चाहे एउटी प्रेमिका पाउनका लागि दुई प्रेमीहरूबीचकै लडाइँ किन नहोस्, सबैमा प्रतिशोध लिने तौरतरिका लगभग एउटै शैली र ढाँचामा हुने गरेको छ । यसबाट नेपाली चलचित्र जगत् अझैसम्म मुक्त हुन सकेको छैन ।
तसर्थ, वर्तमानमा प्रतिशोधको कथालाई पकाउने कला अधिकांश चलचित्रमा एउटै/उस्तै छन्, फरक यति मात्र हो कि, मरमसला मात्र नयाँ प्रयोग गरिएका हुन्छन् ।
सम्बन्धित समाचार
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
-
साल फुलेर राजमार्ग सुगन्धित
-
यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
-
बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
-
फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
-
विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
-
भड्किलोपनको सिकार
-
नेपालका प्रथम ज्ञात कवि अनुपरम
-
कसले लिने तत्परता ?
-
बिक्री नै हो उत्कृष्टताको मापन ?
-
सीमित वृत्तभन्दा बाहिर
Leave a Reply