रहेन अब भूपिको भैरहवा

आधा दशकअघिको, एउटा सीमान्त बस्ती भैरहवाको रूप, रङ र चालचलन बुझ्न चाहनेहरूले नेपाली काव्य–जगत्का धरोहर भूपि शेरचनको ‘भैरहवा’ एक पटक पढ्नुपर्ने हुन्छ । बीसको दशकमै भैरहवाप्रति अनुगृहित भएर लेखिएको उक्त कविताले भर्खरै बस्ती विस्तार हुँदै गइरहेको एउटा सीमान्तकृत नगरको तीखो गन्ध निकाल्छ । त्यतिबेला, कुन मनस्थितिमा रहेका भूपिले भैरहवालाई ‘बाँझी तरुनीको आङजस्तो सपाट’ देख्न पुगेका थिए । भैरहवाप्रति विमोह दर्साएको मात्र प्रतीत हुने उक्त कवितामा भूपिले एउटा खुलासा भने गरेका थिए, ‘यो एउटा समावेशी नगर हो । यो एउटा व्यापारिक नाका हो ।’
‘मुस्किलले तीस चालीस
घरजस्ता घर
बाँकी कुभिन्डोका गाँड निस्केका
कुप्रा झुप्राहरू, डन्डिफोरझैं
यताउता जथाभावी बेढंग उठेका
मानिस :
कोही पूर्वका
कोही पश्चिमका
कोही पहाड, काँठका
कोही मधेस फाँटका
कोही भारतका, कोही भोटका
तर सब यहाँ भेला भएका छन्
खोजीमा हरिया नोटका’
अब भैरहवा, भूपिले उतिबेला देखेको, भोगेको र छामेको जस्तो कदापि रहेन । बस्तीबाट नगर र नगरबाट सहर बन्ने क्रमसँगै अब भैरहवा एउटा चालू सहरको रूपमा परिचित भइसकेको छ । परिवर्तनका अनेक रेखाहरू/धर्साहरू दिनानुदिन कोरिदै गइरहेका छन् । कुनै बेलाको ‘फुस्रो’ र ‘नियास्रो’ यो सहर अब भने रसिलो, हराभरा र सौन्दर्यले परिपूर्ण बन्दै गइरहेको छ । सम्भवत: अहिलेसम्म भूपि बाँचिरहेका भए र वर्तमानमा उनले भैरहवालाई नियाल्न पाएका भए उनले आफ्नो कविता निश्चय नै संशोधन गर्थे होलान् । वा, अहिलेको भैरहवालाई देखेर अर्कै कविता लेख्थे होलान् ।
मंसिरको पहिलो हप्ता तीन दिनसम्म भैरहवाको बसाइँले क्रमश: छिप्पिँदै गइरहेको काठमाडौंको चीसोबाट केही दिनका लागि छुट्टी मिल्यो । मित्र सोभियत ढकालसँगको भैरहवा, बुटवल, लुम्बिनी र सुनौलीको यात्रा स्मरणीय रह्यो । सीमा क्षेत्रकै सहर भैरहवा सुनौली नाकाबाट दिनहुँ नेपाल–भारतबीच ओहोरदोहोर गर्नेहरूका कारण अत्यन्तै व्यस्त सहरमा गिन्ती हुन थालेको छ । अझ, भैरहवाबाट सुनौलीसम्म निर्माणाधीन अवस्थामा रहेको खुला र फराकिला सडकले भैरहवाको मुहार नै परिवर्तित तुल्याउन लागेको आभास हुन्छ । यो सहर, व्यापारको प्रमुख केन्द्र त पहिलादेखि नै थियो, अब विस्तार हुँदै गइरहेको सडक, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने सम्भावना र लुम्बिनीमा दर्शन गर्न आउने हजारौं स्वदेशी/विदेशीहरूको बढ्दो आवागमनले एउटा व्यस्त र मानिसहरूको चाप सम्हाल्न हम्मेहम्मे पर्ने नेपालकै एउटा सम्भ्रान्त सहरको रूपमा विकसित हुँदै गइरहेको छ ।
करिब डेढ दशककै अवधिमा भैरहवाको कायापलट हुन पुग्यो । सुविधायुक्त होटल, लज, पसलहरू, फराकिला सडकहरू अब भैरहवाको पहिचान बन्न पुगेका छन् । लुम्बिनीसम्म पुग्ने सडक पहिलाको तुलनामा फराकिला त भएको छ नै, अझै फराकिलो बनाउनुपर्ने आवश्यकता देखिन्छ । तर, बुटवलबाट भैरहवासम्मको सडक विस्तारले पनि भैरहवाको मुहार थप चम्किने उत्तिकै सम्भावना छ ।
लुम्बिनीको तीव्रतर विकास त अझ लोभलाग्दो छ । संसारभरिका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनीले डेढ दशककै अवधिमा कोल्टे फेरेको छ । केही दशकअघिसम्म भौतिक पूर्वाधारबिना नै दर्शनार्थी/आगन्तुकहरू ‘स्वागत’ गर्ने लुम्बिनीले अब निर्मित/निर्माणाधीन बौद्ध विहारहरूसहित ‘स्वागत’ गर्न थालिसकेको छ । अझ, बौद्ध धर्मावलम्बीहरू मात्र होइन, हिन्दू धर्म मान्ने भारतीयहरूको पनि बाक्लो चाप बढ्न थालेको छ । महाराष्ट्रबाट आएका एक व्यक्तिले भने– ‘हामी हिन्दू हौं । तर, गौतम बुद्ध जन्मिएको थलोमा एक पटक आउने इच्छा थियो । र, हामी अढाई सय जना बस रिजर्भ गरेर आएका छौं ।’
बौद्ध धर्मलाई पछ्याउनेहरू लुम्बिनी यात्राप्रति मोहित हुनु नौलो विषय रहेन । हिन्दू धर्म मान्नेहरूले पनि लुम्बिनीको यात्रालाई फलदायी बनाउन चाहिरहेका छन् । र, बौद्ध धर्ममा विश्वास राख्ने थाइल्यान्ड, म्यान्मार, चीन, मलेसिया, कोरिया, जापान, भियतनामलगायतका देशका मानिसहरूको दैनिक आवागमनले लुम्बिनीको सौन्दर्यलाई अझ उँचो तुल्याएको प्रतीत हुन्छ । विभिन्न देशका मानिसहरू आ–आफ्नो भेषभूषामा सजिएर विशाल लुम्बिनी क्षेत्रको परिसरभित्र यताउति टहल्दा एउटै बगैंचाभित्र अनेकथरिका फूलहरू फुलिरहेको मीठो आभास हुन्छ । चीन, कोरिया, म्यान्मार, थाइल्यान्ड, जर्मनी, अष्ट्रियाजस्ता देशहरूले लुम्बिनी क्षेत्रभित्र निर्माण गरेका कलात्मक, आकर्षक विहारहरूले त लुम्बिनीको सौन्दर्यलाई थप रूपमा चम्काउन यथेष्ट मद्दत गरेको छ ।
सार्क शिखर सम्मेलनका क्रममा नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलंकाका राष्ट्रपति महिन्द्रा राजापाक्षेले लुम्बिनी क्षेत्रमा पाइला राख्ने चर्चा भएपछि अहिले लुम्बिनीलाई झनै सिँगारपटार पारिएको छ । लुम्बिनी परिसरभित्रका अग्ला–होचा रूख र वनस्पतिहरू र थरिथरिका फूलहरूले जोसुकैलाई मोहित त पार्छन् नै, अझ विशिष्ट पाहुनाहरूले लुम्बिनीको दृश्यावलोकन गर्ने भएपछि अझ सिँगारिने काम भएको छ ।
लुम्बिनीको घुमाइ, बुटवलको टेकाइसँगै भैरहवामा दुई रात बिताउँदा नजिकैको सीमा सुनौली नपुगी फर्किंदा यात्रा अधुरो हुन्थ्यो नै । तर, सुनौली नाकाबाट चोरी, तस्करीको बढ्दो सम्भावना देखेर नै होला, अहिले नाकामा निकै नै कडाइ गरिएको रहेछ । तस्करी गरेर नाकाबाट कुनै सामान नेपाल भित्र्याउन वा भारततिर छिराउन अहिले धेरै नै कटौती भएको रहेछ । तथापि, सुनौलीबाट भैरहवातिर फर्किंदा बस चढ्ने क्रममा बसचालक र यात्रुहरूबीच भने झोलाको विषयलाई लिएर निकै नै गरम बहस चल्दो रहेछ । बस चढ्नुअघि यात्रुहरूलाई झोलाचाहिँ छतमा राख्न चालकले दह्रो उर्दी गरे पनि यात्रुहरूले झोलै लिएर बसको यात्रा गर्न खोज्दा निकै भनाभन नै पर्दोरहेछ । अटेरी यात्रु र कडाइ गर्न खोज्ने चालकबीचको संवादले निकै नै रोमाञ्चकता पैदा गर्यो ।
तराईका मैदानहरूमा तुवाँलोको उपस्थिति बाक्लिँदै गइरहेको हुँदा बिहानै उड्नुपर्ने जहाज दिन ढल्किएपछि मात्रै उड्यो । दिनभरिजसो नै भैरहवा एयरपोर्टमा भूपिले भनेझैँ ‘नियास्रिएर’ बस्नुबाहेक अर्को विकल्प पनि रहेन । तथापि, जहाज उड्ने बेला भूपिकै यी शब्दहरू स्मरण भने भइरह्यो–‘उफ † यो पट्याइलाग्दो ठाउँ
यो अत्यासलाग्दो ठाउँ,
जता हेर्यो, उतै फुंग उडेको
फुस्रो, न्यास्रो
भैरहवा
हिलोको तलाउबाट निस्केको
भैंसीको– ‘भै’
तावाबाट छुटेर जलेको रोटीको– ‘र’
गालीजस्तो नरमाइलो तातो
हावाको–‘हवा’
सम्बन्धित समाचार
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
-
साल फुलेर राजमार्ग सुगन्धित
-
यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
-
बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
-
फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
-
विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
-
भड्किलोपनको सिकार
-
नेपालका प्रथम ज्ञात कवि अनुपरम
-
कसले लिने तत्परता ?
-
बिक्री नै हो उत्कृष्टताको मापन ?
-
सीमित वृत्तभन्दा बाहिर
Leave a Reply