‘सांस्कृतिक रुपान्तरण’को ऐनामा माओवादी अनुहार

एकीकृत नेकपा (माओवादी) का माथिल्लो तहका नेता टोपबहादुर रायमाझीको राजनीतिक जीवन–यात्रामा सन्देह गर्ने ठाउँ सायदै होला । उनले दस वर्षसम्म देशभित्रै र बाहिर बसेर पार्टीले चलाएको ‘जनयुद्ध’मा समाहित भए । युद्धका क्रममा आफ्नो स्थानबाट निर्वाह गरेको भूमिकाको फलस्वरुप उनले शान्ति प्रक्रियाअघि र पछि राष्ट्रिय राजनीतिमा राम्रो भूमिका पाए । र, ररकार सञ्चालनका क्रममा पटकपटक उत्तिकै अहम् जिम्मेवारी पाए । युद्धकालीन दिनहरुमा उनले राज्य पक्षसित वार्ता गर्ने जिम्मेवारी पनि पाएका थिए । यस हिसावले हेर्दा यिनी पार्टीभित्र गनिएका सीमित नेताहरुमध्ये एक हुन् भन्नेमा कुनै सन्देश छैन ।
तर, तिनै टोपबहादुर रायमाझीको छोराको भव्य विवाहको खबरले अहिले सामाजिक सञ्जालहरुमा निकै चर्चा पाएको छ । केही दिनअघि बिवाह बन्धनमा बाँधिएका उनका छोराले बिहेका दिन लगाएका भारतीय रुपियाँको माला र उनकी बुहारीले लगाएको झन्नै बीस तोलाजतिका सुनको गहनाले अहिले व्यापक चर्चा/परिचर्चा पाएका छन् । यसरी चर्चा गर्नेहरुमा अरुभन्दा बढी एमाओवादीकै कार्यकर्ता छन् । अझ रोचक कुरा त के छ भने त्यस्तो तस्वीर बधाई दिने निहुा पारी एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशले आफ्नो फेसबुकमार्फत सार्वनिक गरेका थिए । चर्चा गर्नेहरुले भन्न बाँकी राखेका छैनन्– सर्वहारा वर्गको मुक्तिका लागि युद्ध छेडेका पार्टीको नेताले आफ्ना छोराको बिहे यति झकिझकाउपूर्ण र भडकिलो गर्न सुहाउँछ ? हुन पनि, उनका छोराले घाँटीमा सजाएका रुपियााका माला र बुहारीको गलाभरि सजिएका बहुमूल्य गहना देख्दा यो विवाह कुनै राजा–महाराजा, सम्भ्रान्त राणा परिवार, ठूलै उद्योगपति वा कुनै धनाढ्य परिवारको हो भन्न कर लाग्छ । कसैले पनि हिजो दस वर्षसम्म जंगलमा बन्दुक उठाएर राज्यसत्ता प्राप्त गर्ने युद्धमा खटिएका कुनै नेताको छोराको बिहे हो भनेर कल्पना गर्न सक्दैन ।
अहिले टोपबहादुर रायमाझी आलोचनाको पात्र बने पनि यो समस्या उनी एक्लैको चाहिं होइन । हिजो जनयुद्धकालमा जनवादी विवाहका लागि कार्यकर्तालाई प्रोत्साहित गर्ने, उनीहरुका विवाहमा रानजीतिक भाषण गर्ने र त्यस्ता जोडीलाई युद्धमा पठाउने रायमाझी जस्ता अधिकांश एमाओवादीका नेताहरुलाई कथनी र करनी बीच विरोधाभाषबाट जकडिएका छन् । यसअघि, माओवादी युद्धका अरु सञ्चालकहरुका परिवारभित्र पनि यस्ता समस्याहरु व्याप्त थिए र समयक्रममा उजागर भएपछि तिनले चर्को आलोचना खेपेका थिए ।
एमाओवादी अध्यक्ष प्रचण्डको परिवार सबभन्दा बढी एमाओवादीले भन्ने गरेको ‘साँस्कृतिक विचलन’को चपेटामा पर्यो । यो एउटा यस्तो ‘विचलन’ थियो– जसलाई चिर्न न अध्यक्ष प्रचण्डले नै चासो दिए न त पार्टीभित्र यसबारे कुनै गम्भीर बहस–विमर्श नै चल्यो । प्रचण्डका एक मात्र छोरा प्रकाश दाहालले एकपछि महिला बदल्दै वैवाहिक सम्बन्ध कायम राख्दा त्यसलाई नियन्त्रण गर्ने, खारेज गर्ने वा राज्यको कानुनअनुरुप कारबाही गर्नेतिर कुनै चासो देखाइएन । कुनै पनि नेपाली नागरिकलाई बहुविवाह गर्न छुट छैन र बहुविवाह गर्दा सजायको भागिदार हुनुपर्छ । कानुनी मात्र होइन, सामाजिक रुपमा पनि त्यस्ता व्यक्ति दण्डित हुने गरेका छन् । तर, प्रकाश दाहालको सवालमा भने यी कुनै पनि कुरा लागू हुन सकेनन् र उनले आफ्नो अभियान जारी राखे । हिजो सांस्कृतिक रुपान्तरण गर्न युद्ध छेडेका बताउनेहरुले परिवर्तित सन्दर्भमा आफूहरुलाई रुपान्तरित त गरे, तर यसलाई रुपान्तरणको विदु्रप अनुहारका रुपमा अथ्र्याउन उचित होला ।
एमाओवादीकै अर्का नेता डा.बाबुराम भट्टराईले केही समयअघि आफूले कौसीमा तरकारी फलाएको कुरा सामाजिक सञ्जालमार्फत् बाहिर ल्याए । अहिले काठमाडौंका बासिन्दाहरु कौंसीमा तरकारी फलाउने अभियानमा छन् । यसले दोहोरो फाइदा पनि भइरहेको छ: एक त खर्च कटौती हुने र अर्को ताजा र स्वस्थ तरकारी पनि खान पाइने । तर, डा..भट्टराईको यो अभियानले काठमाडौंमा घर हुनेहरुका लागि मात्र सुविधा हुने विषय भयो । आम नेपालीका लागि यो सहज रुपमा सुपाच्य हुने पक्ष रहेन । त्यही भएर उनको त्यो ट्वीटको पनि कार्यकर्ताले आलोचना नगरी रहन सकेनन् ।
यस्ता प्रतिनिधिमूलक घटनाहरु हेर्दा एमाओवादीको यात्रा कुन दिशातिर मोडिइरहेको छ भन्ने छर्लंग देखाउँछ । यसले थप प्रश्नहरु पनि जन्माएको छ । युद्धकालीन समयमा उनीहरुले नेपाली जनताका छोराछोरीलाई जे कुरा सिकाए, त्यसैको प्रतिविम्बन अहिले उनीहरु स्वयम्ले भोगिरहेका छन् । हिजो ‘जनवादी विवाह’ को नाममा उनीहरुले कार्यकर्तालाई गरगहना, दाइजोजस्ता चिजहरुबाट टाढै राख्न खोजे । त्यस्ता चिजहरुको मोहमा फस्नु हुँदैन भन्दै परम्परागत विवाह पूर्ण रुपमा बहिस्कार गर्न लगाए । तर, ती चिजहरु केका लागि बहिस्कार गरिएका हुन् ? कुनै वैज्ञानिक आधार र तर्क भने दिएनन् । साथै, त्यसका विकल्पमा उनीहरुले कुनै संस्कृति पनि निर्माण गर्न सकेनन् । एउटा कम्युनिष्टले सम्पत्तिको मोहबाट आफूलाई किन टाढै राख्नुपर्छ भन्ने कुरा उनीहरुले सिकाएनन्, बस त्यसलाई बहिस्कार गर्नुपर्छ भन्ने मात्र पाठ पढाए । उनीहरुले जनताका छोराछोरीलाई त्यस्तो कुरा सिकाए पनि आफू चाहिा त्यही चिजप्रति मोहित रहेछन् भन्ने कुरा जनयुद्धका क्रममा सयौं तोला सुन लुटिएको र ती सुनहरु युद्धका कमान्डरहरुले गुपचुप पारेको घटना–प्रसंगले नै उजागर गर्दछ ।
आज एमाओवादीका नेताहरुमा सम्पत्ति, धन दौलत, सुन चाँदीदेखि भड्किलो जीवनशैलीमा जसरी मन पोखिइरहेको छ, यसको मूल कारण अरु केही छैन । उनीहरुले हिजोका दिनहरुमा जनताका छोराछोरीलाई विलासितायुक्त चिजहरुबाट टाढै रहन निर्देशन त दिए तर समयक्रममा तिनै चिजहरुले नै आफ्नो जीवन सुन्दर, समृद्ध र आरामदायी हुने यथार्थबाट उनीहरु टाढा हुन चाहेनन् ।
अहिले टोपबहादुर रायमाझीको छोराको भड्किलो बिहे होस् वा डा.बाबुराम भट्टराईको कौंसी–खेतीको प्रसंगले के कुरा उजागर गर्छ भने एमाओवादीको नेताहरुले राजनीतिक रुपमा त धेरै नै विशिष्ट सोपानहरु चढे होलान् तर साँस्कृतिक चिन्तनका हिसाबले उनीहरु अझै पनि पुछारमै छन् । र, उनीहरुले जनतालाई भ्रम दिने हिसाबले ठूला–ठूला कुरा गरेर होइन, सामाजिक, सांस्कृतिक, राजनीतिक रुपान्तरणलगायतका विषयमा देशको विशिष्ट परिस्थितिलाई नियाल्दै अघि बढ्ने कार्यमा आफूलाई लगाए त्यही नै उनीहरुका निम्ति भलो हुने देखिन्छ ।
सम्बन्धित समाचार
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
-
साल फुलेर राजमार्ग सुगन्धित
-
यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
-
बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
-
फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
-
विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
-
भड्किलोपनको सिकार
-
नेपालका प्रथम ज्ञात कवि अनुपरम
-
कसले लिने तत्परता ?
-
बिक्री नै हो उत्कृष्टताको मापन ?
-
सीमित वृत्तभन्दा बाहिर
Leave a Reply