सदाबहार गायिका

तीसको दशक, नेपाली गीत/संगीतको फाँटमा गौरवशाली, उर्वर र समृद्ध दशकको रूपमा रह्यो । गीत/संगीत क्षेत्रमा धेरै विशिष्ट साधकहरू जन्मिए, त्यही दशकमा । त्यो दशकमा सिर्जिएका अनगिन्ती गीतहरू सदाबहारको सूचीमा अटाएका छन् । सुगमका साथै लोक ढुकढुकीलाई छाम्ने गीतमा सुमधुर स्वर भर्ने अग्रज गायिका तारा थापा त्यही दशकका उपलब्धि हुन् । जीवनका ४३ वटा हिउँद–वर्षाहरू नेपाली आधुनिक तथा लोक–संगीतमा समर्पण गरिसकेकी गायिका थापा अहिले पनि आफूलाई त्यही दशकमा स्वरबद्ध गरेका गीतहरूले नै नेपाली सांगीतिक आकाशमा चहकिलो नक्ष्ँत्रझैं चम्काइरहेकोमा गर्व गर्छिन् । भन्छिन्– ‘०३५ देखि ०४० सालसम्म मेरो संगीत क्षेत्रको उर्वर समय हो । मैले त्यतिबेला गाएका गीतहरू अहिलेका पुस्ताले उत्तिकै मन लगाएर सुन्छन् ।’
हुन पनि, केही समयपहिले हङकङका आप्रवासी नेपालीहरूले उनलाई आमन्त्रित गरे । त्यतिखेर उनी क्यान्सरको अप्रेसनपछि भर्खरै तंग्रिँदै थिइन् । चिकित्सकसँग परामर्श लिए र चिकित्सकले पनि हङकङ जान अनुमति दिए । त्यसपछि, अप्रेसन गरेको अठारौं दिन उनले हङकङका नेपालीमाझ तीस वर्षअघिदेखि नै नेपाली संगीत–क्षितिजमा चम्किरहेका आफ्ना कालजयी गीतहरू सुनाइन् । उनले ‘सबैले दिने उस्तै हुन्छन् माया…’देखि आफ्नो स्वरमा फक्रिएका अरु सदाबहार गीति–थुँगाहरूको सुगन्धले हङकङबासी नेपालीहरूलाई मुग्ध तुल्याइन् । उनी भन्छिन्–‘मैले हङकङमा छ वटा गीत सुनाएँ र मैले तीस वर्षअघि गाएका पुराना गीतहरू सुनाउँदा सुन्नेहरूले नयाँपन महसुस गरे । म जुन ठाउँमा पुगे पनि तिनै पुराना गीतहरू गाउनुपर्छ ।’
नेपाली गीत/संगीत जगत्का अद्वितीय नायक गोपाल योञ्जनको संगत, प्रशिक्षण र संगीतमा गाउन पाउनु गौरवको विषय ठानिन्थ्यो । उनले योञ्जनकै संगीतमा थुप्रै कालजयी गीतहरू गाइन् । ०२८ साल चैत २८ गते रेडियो नेपालमा सरोजगोपालको शब्द र सिके रसाइइलीको संगीतमा पूर्णसिंह नेपालीसँग संयुक्त रुपमा ‘माझी दाइ डुंगा तारिदेऊ..’ बोलको गीत गाएर नेपाली संगीत क्षेत्रमा श्रीगणेश गरेका उनलाई एकदिन सहपाठी मीरा राणाले डोर्याउँदै पुर्याइन्, गोपाल योञ्जनको डेरातिर । त्यतिबेला, योञ्जन पाटन अस्पतालको छेऊमा बस्थे । थापा र राणा योञ्जनको कोठामा पुग्दा योञ्जन खाना पकाउन व्यस्त थिए । योञ्जनले पकाउँदै गरेका तरकारीलाई इंगित गर्दै भने– ‘आज म तिमेरुलाई नौलो तरकारी चखाउँछु ।’ दुवै बहिनीहरूले तरकारी खाए तर स्वाद थाहा पाएनन् । गायिका थापा भन्छिन्–‘त्यो स्कुसको जह्राको तरकारी रहेछ । मैले त्यसअघि त्यस्तो तरकारी खाएकी थिइनँ ।’ त्यही समयावधिमा थापाले योञ्जनको संगीतमा गाइन्–‘तारी नदेऊ हे माझी दाइ माइतीको पाप लाग्ला है…।’ अहिले पनि यो गीत उत्तिकै लोकप्रिय छ । ०३५ साल उनको जीवनमा नौलो मोड बनेर उदायो । गोपाल योञ्जनको नेतृत्वमा धेरै चर्चित गीतहरू जन्मिए, त्यो वर्ष । कल्याण शेरचन, क्षेत्र गुरुङ, पूर्ण नेपाली, उनी, शशि राई र मिथिला शर्माहरूको एउटा समूह नै बन्यो । र, योञ्जनको संयोजनमा ‘कलिलो तामालाई, सोध रामलाई’, ‘काली पनि देखेँ मैले गोरी पनि देखेँ मैले’, ‘माछापुच्छ्रे भन्नु मात्रै धौलागिरी अग्ला’, ‘पाँच भाइ छोरा, तीन छोरी’जस्ता चर्चितसमेत गरी आठ वटा गीत रेकर्ड भयो । ती गीतहरूले तत्कालीन नेपाली लोकसंगीत क्षेत्रमा अग्र छलाङ नै मारे । त्यही समय उनले योञ्जनकै संगीतमा किनारा भेट्न खोज्दाखोज्दै, रोएर जान्छु आफै म त, हजुरलाई भनी साँचेँ सारा जोवनजस्ता हरेकको मुटुको स्पन्दनमा अटाउने गीतहरू गाइन् । जति गाइन्, चर्चाको शिखरमै पुगे ती गीतहरू । र, अहिलेसम्म पनि ती गीतहरूका वजन घटेका छैनन् ।
आफूलाई संगीत–संसारमा टेको दिने योञ्जनको भौतिक अस्तित्व समाप्त भए पनि उनको सम्झनामा भने सदैव रहिरहेका छन् । स्मरण र मूल्यांकनको भाषामा भन्छिन्– ‘गोपाल दाइ नेपाली संगीत क्षेत्रको एउटा ठूलो स्तम्भ हुनुहुन्थ्यो । उहाँको नाम निकाल्दा नेपाली संगीत क्षेत्र सून्य हुन्छ । संगीत, उहाँको जीवनभरको लगानी थियो । अर्कोतिर, उहाँको व्यवहार र बोलीचाली निकै राम्रो थियो । प्रतिभाहरूलाई अगाडि बढाउन र तिखार्नमा उहाँले सक्दो मद्दत पुर्याउनुहुन्थ्यो । स्वच्छ हृदय भएका उहाँजस्ता प्रतिभा कमै हुन्छन् ।’
गोपाल योञ्जनको ‘स्कुलिङ’मा आफ्नो प्रतिभा तिखारेका भए पनि उनको प्रसिद्धिको चुली भने राम थापासँगको संयुक्त गायनबाट अग्लियो । आफूभन्दा कान्छा थापासँगको उनको भेट यस्तो बेलामा भएको थियो, त्यतिबेला उनी गायन क्षेत्रमा जमिसकेकी थिइन् । भन्छिन्– ‘म त्यतिबेला रेडियो नेपालमा गीत गाउँदै आइरहेकी थिएँ । एक दिन भैरव नृत्य दलमा गायिकाको खोजी भइरहेको खबर पाएँ । म त्यहाँ जाँदा राम थापा र जयनन्द लामाहरू नृत्य गर्दथे । उनीहरू हाँसखेल गर्ने, रमाइलो बोलीचाली गर्ने स्वभावका थिए ।’ त्यही क्रममा एकदिन उनलाई थापाले भने– ‘दिदी, मैले एउटा गीत लेखेको छु, तपाई र मैले गाउनुपर्यो ।’ उनी राजी भइन् र लगत्तै रेडियो नेपालमा रेकर्ड भयो–‘हाई हाई बनकाली माई…।’ यो गीत यति धेरै चर्चित भयो कि, त्यसपछि उनीहरूले गाएका हरेक लोकगीत सार्वजनिक हुने बित्तिकै सबैको ओठ–ओठमा झुन्डिन थालिहाल्थ्यो । बनदेवी माईलाई अक्षेता भेटी, भन फूलमाया के छ विचार, कटर कटरमा, तिम्रो झिल्के ज्वाइँ आयो मोटरमाजस्ता गीतहरूले नेपाली लोकसंगीत क्षेत्रमा नौलो तरंग पैदा गर्न सघाउ पुर्यायो । आफूहरूको जोडी जम्नुको कारण खोतल्दै उनी भन्छिन्– ‘रामको संगीत लोकभाकामा आधारित हुन्थ्यो । त्यस्ता गीतहरू चल्थे पनि । र, हामीले त्यस्तै गीतहरू गाएका हुँदा गीतहरू पनि चले र हाम्रो जोडी पनि जम्न पुग्यो ।’
गोपाल योञ्जन, दिव्य खालिङ, नातिकाजीजस्ता मुर्धन्य संगीत–सर्जकको संगीतमा स्वर भरिसकेका यी गायिकालाई अचेलका संगीत–सर्जकहरूको सिर्जनामा स्वर भर्न त्यति रुचि जाग्दैन । उनले खुलस्तै भनिन्–‘मलाई अहिलेका संगीतकारहरूका संगीतमा गाउन त्यति इच्छा लाग्दैन ।’ तर, दार्जिलिङका युवा संगीतकार मधुकर लोहनीको संगीतले भने उनलाई आकर्षित गर्यो र आफूले सँंगीतिक यात्रा चालेको बयालिसौं वर्षकै दिन ०७० चैत २८ गते उनले तिनै लोहनीको संगीतबद्ध गीतहरू गाइन् र ल्याइन् नयाँ एलबम–‘तारा’ । त्यसअघि ०४३ सालमा ‘तारा थापाका लोकगीतहरू’ र ‘तारा थापाका आधुनिक गीतहरू’ निस्किएका थिए भने सन् २००१ मा निस्किएको थियो– ‘तारा थापाका हिट गीतहरू ।’ तर, वर्तमान समयमा गीत/संगीत क्षेत्रमा पाइला चाल्न खोज्नेहरूलाई थुप्रै सहजता मिलेको बताउने अग्रज गायिका थापा भन्छिन्– ‘अहिले टोल–टोलमा स्टुडियोहरू छन् । तर, हामीले गाउने बेलामा एउटा रेडियो नेपाल मात्र थियो । अहिले कुनै पनि स्वर परीक्षण नगरी गाए हुन्छ तर हाम्रो समयमा भने स्वर परीक्षण उत्तीर्ण नहुनेहरूले गाउनै पाउँदैनथे ।’ जीवनका ५९ वसन्त पार गरिसकेका यी गायिका आफ्ना समकालीन स्वरसाधक, संगीत–सर्जकहरू नहुँदाको पीडालाई भुल्न सक्दिनन् । त्यस्तै उनी भुल्न सक्दिनन्, आफ्नो सुधिँ्रदै गएको स्वास्थ्य–स्थितिलाई पनि । उनी भन्छिन्– ‘मैले राज्यको लागि उल्लेख्य देन दिएकी छु र अब मेरो उपचारमा राज्यले पनि सघाउनुपर्छ ।’
सम्बन्धित समाचार
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
-
साल फुलेर राजमार्ग सुगन्धित
-
यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
-
बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
-
फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
-
विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
-
भड्किलोपनको सिकार
-
नेपालका प्रथम ज्ञात कवि अनुपरम
-
कसले लिने तत्परता ?
-
बिक्री नै हो उत्कृष्टताको मापन ?
-
सीमित वृत्तभन्दा बाहिर
Leave a Reply