वर्षका उत्कृष्ट व्यवस्थापक
‘उत्कृष्ट व्यवस्थापक हुन के गर्नुपर्दोरहेछ ?’
प्रश्न सुनेर विजयबहादुर शाह मुस्कुराए । छेउमै म्यानेजमेन्ट एसोसियनसन अफ नेपाल (म्यान)ले हालै प्रदान ‘म्यानेजर अफ द इअर’ को प्रमाणपत्रतिर हेरे र भने– ‘खुरुखुरु काम गरे हुँदोरहेछ । तपाईंले इमानदारीपूर्वक काम गर्नुभयो भने तपाईंको काम हेर्ने कोही न कोही हुँदारहेछन् ।’
पुरस्कार र सम्मान पाउँदा कसलाई पो खुसी लाग्दैन र ? एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शाह पनि खुसी नहुने कुरै भएन । देशभरिका व्यवस्थापकमध्येबाट छानिएर अवार्ड पाउँदा जिम्मेवारी र दबाब दुवै बढेको महसुस गरेका छन् । ‘धेरैले चिन्दारहेछन्, थाहा पाउँदा रहेछन्’– शालीन स्वभावका शाहले भने– ‘यसबाट आफ्नो जिम्मेवारी बढेको महसुस हुँदोरहेछ, दबाब पनि महसुस हुँदोरहेछ ।’
म्यानले प्रत्येक वर्ष प्रदान गर्ने उक्त पदकका लागि मनोनयनमा पर्ने दुई तरिका छन् । पहिलो, आफैंले आवेदन दिने र दोस्रो, अरू कसैले नै नाम सिफारिस गरिदिने । शाहलाई सुरुमा आफ्नो नाम सिफारिस भएको थाहा थिएन । संस्थामा गरेको सुधार, हासिल गरेको प्रगति, देखिने गरी गरेका काम, आर्थिक अवस्था, नाफा, नेतृत्व क्षमतालाई अलग–अलग आधार बनाएर व्यवस्थापकको मूल्यांकन गरिँदोरहेछ । ‘सायद उहाँहरूले ममा ती मापदण्डहरू देख्नुभयो होला र पुरस्कृत गर्नुभयो होला’– शाहले भने– ‘निजी क्षेत्रका व्यवस्थापकका लागि यो एउटा हौसलाको विषय हो ।’
विजयबहादुर शाहले नेतृत्व गरेको एनएलजी देशको अग्रणी निर्जीवन बिमा कम्पनी हो । ठूल्ठूला कम्पनीहरूले यसैमार्फत बिमा गरेका छन् । धेरैलाई थाहा छैन, कस्ता चिजको बिमा हुन्छ ? उदाहरणका लागि जहाजको बिमा हुनु त स्वाभाविक नै भयो, विमानस्थलको पनि के बिमा हुन्छ होला र भन्ने लाग्छ । तर, हुन्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभरिका सबै विमानस्थलको बिमा एनएलजीमै गरेको छ । विमानले अवतरण र उडान गर्दा वा पार्किङमा बस्दा कुनै क्षति भएमा त्यसको जिम्मा विमानस्थलको हुँदोरहेछ । विमानमा चरा ठोकिएमा, कुनै मानिसलाई चोटपटक लागेमा, विमानस्थलमा आगलागी भएमा त्यसको बिमा हुँदोरहेछ । ‘हाम्रोमा नेपालका सबै विमानस्थलहरूको २० करोड डलरको बिमा गरिएको छ’– शाहले भने । त्यति ठूला बिमाको अन्तर्राष्ट्रिय स्तरमा पुनर्विमान गराएर सुरक्षित बनाइएको हुन्छ ।
तपाईंलाई थाहा छ– रुपियाँको पनि बिमा हुन्छ ? हुँदोरहेछ । जस्तो– बैंकहरूले नगद चोरी हुने, हराउने वा आगलागी हुने खतरालाई ध्यानमा राखेर बिमा गर्दा रहेछन् । भर्खरै नबिल बैंकले गत वर्ष महेन्द्रनगरबाट धनगढी आउँदै गर्दा लुटिएको रकमको बिमा २ करोड ३५ लाख भुक्तानी लिएको छ । धरैजसो वित्तिय संस्था, होटल र ठूला संरचनाले एनएलजीमै बिमा गरेका छन् ।
विजय शाहले ०६५ असोज १ गते नेतृत्व सम्हालेयता एनएलजी देशको सबभन्दा ठूलो बिमा कम्पनी भएको छ । सबभन्दा बढी शाखा, सबभन्दा बढी कर्मचारी, सबभन्दा बढी ग्राहक संख्या, सबभन्दा बढी सेयर पुँजी, सबभन्दा बढी क्लेम भुक्तानीजस्ता सफलताले उनलाई उत्साहित बनाएको छ । त्यसअघि तत्कालीन महेन्द्र प्रकृति संरक्षण कोष, गोर्खा ब्रुअरी, सूर्य टोबाकोलगायतमा काम गर्दाका अनुभवलाई आफ्नो नेतृत्व सीपमा शाहले प्रयोग गरिरहेका छन् ।
बिमा भुक्तानीको प्रक्रिया झन्झटिलो हुने र बिमा कम्पनीहरूले पहिला भने जति बिमा नदिने गरेको गुनासो शाहसम्म पनि पुगेको छ । त्यसमा बुझाइको समस्या रहेको उनको अनुभव छ । ज्याकेटको उदाहरण दिँदै उनी भन्छन्– ‘तपाईंले दुई हजार रुपियाँ हालेर ज्याकेट किन्नुभयो । तीन वर्ष लगाएपछि क्षति भयो र बिमा भुक्तानी माग्नुभयो । तपाईंले त्यही दुई हजार नै दाबी गर्नुहुन्छ । तर, बिमा कम्पनीले तपाईंले तीन वर्ष लगाइसक्नुभयो । वर्षको २० प्रतिशतका दरले ६० प्रतिशत उपभोग गरिसक्नुभयो । त्यसको कट्टी गरेर ४० प्रतिशत मात्र पाउनुहुन्छ भन्छ’– शाह भन्छन्– ‘समस्या यहीँनेर छ । बिमा भनेको नाफा होइन, क्षतिपूर्ति मात्र हो ।’ त्यसमा पनि क्षतिको प्रमाण पुर्यानुपर्ने भएकाले झन्झटिलो लाग्ने गरेको उनले सुनाए ।
नेपालमा बिमासम्बन्धी चेतना त्यति धेरै नभएको अनुभव शाहले गरेका छन् । ‘क्षति भइसक्यो भने सर्वस्व गुम्छ । तर, समयमै ध्यान पुर्यायो भने त्यसको क्षतिपूर्ति पाउन सकिन्छ’– शाह भन्छन्– ‘जनताको जीवनस्तर जति माथि उठ्छ, यो कुरा त्यति थाहा हुँदै जान्छ ।’ नेपालमा अहिले २६ वटा निर्जीवन र ६ वटा जीवन बिमा कम्पनी छन् ।
बिमा कम्पनीमा आउनुअघि शाहको बिमासम्बन्धी व्यक्तिगत अनुभव पनि कामलाग्दो छ । बर्दियाको सदरमुकाम गुलरियास्थित उनको घरमा जिल्ला शिक्षा कार्यालय भाडामा बसेको थियो । द्वन्द्वको चरम अवस्थामा त्यो कार्यालय विद्रोहीको निशाना बन्न सक्छ भनेर शाहले बिमा गराए । पहिलो प्रिमियम तिरेको केही समय बितेको थियो, माओवादीले आक्रमण गरिहाले । शाहले बिमा भुक्तानी दाबी गरे र आफू हुर्के–बढेको त्यो घर पुननिर्माण गरे । ‘अरू त्यस्ता कति घर थिए, बिमा नगरेकाहरूले पुनर्निमाण गर्न पाएनन्’– शाह भन्छन्– ‘मैले चाहिँ बिमा गरेका कारण पाएँ ।’
सल्यानको माल्नेटाबाट विजय शाहको परिवार गुलरिया बसाइँ सर्दा अहिले जस्ता सुविधा थिएनन् । भादामा पुल थिएन । नेपालगन्ज आउन भारत भएर निस्किनुपथ्र्यो । गुलरियास्थित महाकवि देवकोटा माध्यमिक विद्यालयबाट ०३२ सालमा एसएलसी गरेका शाहले आईकम नेपालगन्जबाट गरे भने बीकम मीनभवन र एमबीए कीर्तिपुरबाट गरे । बीचमा काम सिक्दै पढ्दै गरेका उनले २६ वर्षअघि भारतको मद्रासबाट सीए उत्तीर्ण गरेका थिए । त्यसयता उनी व्यवस्थापनकै क्षेत्रमा क्रियाशील छन् ।
एनएलजी नेपालको सबभन्दा पुरानो बिमा कम्पनी हो । केही वर्षपहिला बिमा समितिले जीवन र निर्जीवन बिमालाई अलग्गै छुट्याउनुपर्ने व्यवस्था गरेपछि मूल कम्पनी जीवन बिमातिर गएर एनएलजी फेरि दर्तामार्फत नयाँ भए पनि यसको साख र विश्सनीयता सबभन्दा माथि छ भन्छन् शाह । पूर्वको झापादेखि पश्चिमको कञ्चरपुरसम्म गरी २७ शाखा रहेको एनएलजीका १ लाख ५० हजारभन्दा बढी ग्राहक छन् । कर्णाली अञ्चलका विद्यार्थीलाई छात्रवृत्तिसमेत उपलब्ध गराउँदै आएको एनएलजीले पशुधन बिमालाई पनि अघि बढाएको छ । एनएलजीले निर्जीवन बिमाअन्तर्गत अग्नि, सामुद्रिक, इन्जिनियरिङ, हवाई, चोरी–डकैती, मोटर, औषधि र नगद बिमा गर्दै आएको छ ।
‘सबैको विश्वास नभएको भए यी सबै काम हुने थिएनन्’– शाह भन्छन्– ‘आज हामी जुन अवस्थामा आइपुगेका छौं, त्यसमा जनविश्वास र हाम्रो मिहिनेतले काम गरेको छ ।’
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
Leave a Reply