पर्दापछाडिका स्रष्टा
प्रचारमा नआएकोमा दु:ख छैनपूर्वको दमक होस् वा सुदूरपश्चिमको कञ्चनपुर । वा, कुनै सहरोन्मुख पहाडी इलाका नै किन नहोऊन्, केही वर्षयता काठमाडौं बाहिरका सहर–बजार महोत्सवले रंगिन थालेका छन् । त्यस्ता महोत्सवमा कि त शिव परियारको स्वर सुन्न मानिसहरू आतुर देखिन्छन्, कि त सेक्सी–अन्दाजका इन्दिरा जोशीको स्वरमा लठ्ठिन चाहन्छन् । र, महोत्सव आयोजना गर्नेहरूले पनि भीड जुटाउन चल्तीका गायक/गायिकालाई नै रोज्छन् । अत: यो स्वाभाविक पक्ष
पनि हो ।
युवा गायक परियारले भने केही वर्षदेखि हरेक महोत्सवलाई तताउने एउटै गीत गाउँदै आएका छन्– ‘क्या दामी भो ।’ हिन्दी गजल–गायक पंकज उदासले नशामा डुब्नेहरूलाई लक्षित गरेर गाएझैं परियारले पनि त्यस्तै गीत गाउन थालेका छन् अचेल । र, पत्तै नपाई यो गीत उनको सिंगो सांगीतिक चिनारीसमेत बनिसकेको छ । तर, ‘क्या दामी भो…’ गाएर परियारले पूर्वदेखि सुदूरपश्चिमसम्मका संगीतप्रेमीहरूलाई उचाले पनि यो गीतलाई शिखरमा पुर्याउन भूमिका खेल्ने चण्डिप्रसाद काफ्ले भने अझै पनि ओझेलमै छन् । गाउनेलाई सबैले चिन्ने तर सिर्जना गर्नेहरू छायामा पर्ने आमचलन नै रहेको परिवेशमा काफ्लेलाई नचिन्नु स्वाभाविक पनि हो ।
शास्त्रीय संगीतका ज्ञाता काफ्ले आफू ओझेलमा परे पनि गुनासो पोख्दै हिँड्नेहरूका लहरमा भने पर्दैनन् । उनी आफ्नै सिर्जना–संसारमा निमग्न छन् । एकाध गीतमा स्वर भरेपछि प्रचारको मोहमा लट्पटिनेहरूभन्दा नितान्त पृथक् छ, उनको शैली र व्यवहार । हरेक दिन आफ्ना चेलाहरूलाई शास्त्रीय संगीतमा पारंगत तुल्याएर संगीतको समुच्च विकासमा समर्पित तुल्याइरहेका छन् उनले । त्यही भएर, गजलमा आधारित दिल चोरेर फरार भो, ऊ जितेर गई हारेर गई, थाहा छैन कसले यहाँ, पराई ठान शत्रु ठान र आँखैमा राखेँजस्ता कालजयी गीतहरूलाई संगीतबद्ध गरे पनि उनी प्रचारमोहबाट भने टाढै छन् ।
पर्वतको त्रिवेणीमा ४४ वर्षअघि जन्मिएका काफ्लेको सपरिवार ०३८ सालमा नवलपरासीको कावासोतीमा बसाइ सरेपछि आफूलाई तराईकै माहोलमा अभ्यस्त तुल्याउँदै लगे । त्यही नै घरमा हुने भजन–कीर्तनहरूमा उनी सामेल हुँदै गए र घरमै रहेको एउटा पुरानो हारमोनियम बजाउन थाले । जब एकदिन उनले हारमोनियममा औंलाहरू चाल्दै थिए, नारायणगोपालको ‘दुइटा फूल देउरालीमा…’को धुन बजेजस्तो महसुस गरे । पुन: बजाए । हो, त्यही धुन उनले हारमोनियमका लहरमा टिपे । भन्छन्– ‘मैले जानेर त्यो गीत बजाएको थिइनँ । तर, त्यही गीत नै बज्न पुग्यो र त्यसपछि मेरो संगीत एकाएक रस बस्दै जान थाल्यो ।’ त्यसपछि भने उनले हारमोनियममा नारायणगोपालका चर्चित गीतहरूका धुन खोज्न थाले । र, आफूले सुनिरहेका अरू गीतहरूलाई पनि हारमोनियममा ढाल्न थाले । साथै, गाउँघरमा हुने अरू सांगीतिक कार्यक्रमहरूसँगै देउसी–भैलोहरूमा गाउँदै र बजाउँदै जाँदा उनले संगीतको संसारमा थाहै नपाई खुट्टा राखिसकेका थिए ।
संगीतको नशा पनि अचम्मैको हुँदोरहेछ । संगीतको सागरमा हेलिने परिकल्पना साँच्दै उनी हेटौंडातिर हान्निए । हेटौंडास्थित मुच्र्छना संगीत समूहमा आबद्ध भएर उनले संगीत सिक्न थाले । उनले त्यहाँ भोला जोशीसँग दुई वर्षजति संगीत सिके । हेटौंडाको सांगीतिक माहोलमा भिज्दाभिज्दै उनी भारतको वृन्दावनतिर लागे । त्यहाँ उनले डेढ वर्षजति स्वामी गोपालाचार्यसँग संगीत सिके । उनी भन्छन्– ‘म भारतमा संगीत सिक्नकै लागि गएको थिएँ । मेरा पिताजी मलाई संस्कृत सिकाउन चाहनुहुन्थ्यो तर मेरो रुचि संगीतमा नै बसेको हुँदा म संगीतमा नै आकर्षित भएँ ।’ दुई वर्षको वृन्दावनको बसाइपछि भने उनी काठमाडौं आए र ललितकला क्याम्पसमा संगीत विषय लिई अध्ययन गर्न थाले । काठमाडौं आएर गान्धर्व संगीत प्रशिक्षण केन्द्रका प्राचार्य चन्दनकुमार श्रेष्ठलाई गुरुको रूपमा पाएपछि भने उनको सांगीतिक जीवनले सार्थक मोड पहिल्यायो । भन्छन्– ‘मैले बल्ल असल गुरु पाएँ ।’ हुन पनि, श्रेष्ठसँग उनले ०५२ सालदेखि लगातार १४ वर्षसम्म संगीत सिक्दा उनलाई कहिल्यै पूर्ण महसुस भएन र सिक्ने क्रम रोकिएन ।
लामो समयसम्म शास्त्रीय संगीतको ज्ञान लिन डुबेका उनले संगीत सिर्जना ०६५ सालबाट मात्रै सुरु गरेका हुन् । भन्छन्– ‘संगीत सिर्जना त म पहिला–पहिला पनि गर्थेँ । तर, औपचारिक रूपमा भने त्यही वर्षदेखि थालेको हुँ ।’ उनले संगीतबद्ध गरेको पहिलो गीत नै ‘क्या दामी भो’ थियो र त्यही गीतले नै पहिला उनका गुरु श्रेष्ठ र त्यसपछि उनीसँग शास्त्रीय संगीतको ज्ञान आर्जन गरेका परियारले एकैचोटि शिखर नै चुम्न पुगे । त्यही एउटै गीतले उचाइ हासिल गरेका परियारको उडान अझै पनि नेपाली संगीत क्षेत्रमा जारी छ । शिव मात्र होइन, राज सिग्देल, जुनु रिजाल, सहिमा श्रेष्ठजस्ता अहिलेका चर्चित गायक/गायिकाहरू उनकै प्रशिक्षणमा हुर्केका प्रतिभाहरू हुन् ।
०६६ सालमा नै आफूले प्रारम्भ गरेको श्रीसंगीत पाठशालामा उनी अहिले दिनहुँ १ सय २० जनालाई गायनको प्रशिक्षण दिइरहेका छन् । आफ्नो पाठशालामा उनले शास्त्रीय संगीतको अध्ययन सिकाउँछन् । भन्छन्– ‘संगीतको मूल आधार नै शास्त्रीय संगीत हो । यो नसिकीकन संगीत सिक्न सकिँदैन । सिकाउने र सिक्ने चिज नै यही हो ।’ त्यसबाहेक, उनले अहिले एकाध गीतहरूमा पनि संगीत–सिर्जना गरिरहेका छन् । तर, उनले चलचित्रमा भने अहिलेसम्म संगीत भरेका छैनन् । भन्छन्– ‘चलचित्रको संगीत भनेको मानिसलाई मनोरञ्जन दिने माध्यम मात्र हो । संगीतबाट समाजलाई परिवर्तन गर्ने कार्य फिल्मी संगीतबाट हुन सक्दैन । सिंगो संगीतलाई उठाउने काम फिल्मी संगीतले गर्न सक्दैन ।’ चलचित्रको संगीत त पहिलादेखि नै हल्काफुल्का छँदै थियो तर, अचेल अरू संगीतहरूसमेत हल्काफुल्का हुन थालेकोमा उनमा चिन्ता भित्रिएको छ । भन्छन्– ‘फिल्मको मात्र होइन, अरू गीतहरू पनि कसरी छिटो चलाउने र चल्छ भन्ने हिसाबले सिर्जना गर्न थालियो । तर, त्यस्ता गीर्तनहरू दुई/चार महिना चले पनि त्यसपछि भने मानिसहरूले बिर्सन थाल्छन् ।’
त्यसो त पछिल्लो समयमा महोत्सव–केन्द्रित गीतहरूको बाढी आउन थालेकोमा पनि उनमा चिन्ता जागेको छ । भन्छन्– ‘मानिसहरूलाई कसरी नचाउन सकिन्छ, कसरी उफार्न सकिन्छ भनेर अहिले संगीत सिर्जना भइरहेको छ । अहिलेको समय र बजारको माग नै यस्तो हो वा के भएर हो, त्यस्ता गीतहरूको लहर चलेको छ ।’ त्यस्ता गीतहरू बाध्यतावश जन्मिएको पनि उनको बुझाइ छ– ‘अहिले कलाकारहरू गीत गाएर बाँच्न सक्दैनन् । एल्बम चल्दैन । सीआरबीटीहरूले पनि कलाकारलाई राम्रो आम्दानी दिन सक्दैनन् । अहिले कलाकार बाँच्ने आधार भनेकै महोत्सवहरूमा गएर गीत गाउनु हो । त्यही भएर पनि महोत्सवमुखी गीतहरूको बाहुल्य बढ्न पुगेको हो ।’
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply