शब्द र रङका संयोजनकर्ता
शब्द, एउटा संसार हो । र, रङ अर्कै संसार । एउटामा भाषा, विम्ब र आवाजहरुको बाहुल्य हुन्छ भने अर्कोमा अमूर्त रङ्गीन थोपाहरु चल्मलाउँछन् । यी फरक–फरक संसारलाई एउटै रेशामा उन्न सक्षम छन्–प्राज्ञ रमेश श्रेष्ठ ।
पोखराका स्थायी बासिन्दा श्रेष्ठले आफ्नो लेखन प्रेम कवितालाई बनाएका छन् । कविताबाहेक उनको अर्को संसार सायदै होला । कविता संसारमा हराउने उनले चित्रकारितालाई पनि कवितालाई जस्तै प्रेम गरेका छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको परिषद् सदस्यमा नियुक्त भएका केही महिनाभित्रै उनले आफ्नो प्राज्ञिक क्षमता देखाइसकेका छन् । यसपटक, प्राज्ञ श्रेष्ठसँगको सम्वाद, बुधबारका पाठकका लागि पस्किएका छौं ।
० तपाईं नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको परिषद् सदस्यमा नियुक्त भएपछि चित्रकला विभागको जिम्मेवारी पनि पाउनुभएको छ । विभागको जिम्मेवारी पाएपछि के–के कामहरू गर्नुभयो ?
– हामी परिषद्मा आएपछि पुराना धेरै कुराहरू माथि अवलोकन गर्यौं र अहिले पनि गरिरहेका छौं । संस्थाको लागि ग्राह्य र अग्राह्य कार्यहरू केलाउने कार्य टिमले गरिरहेको छ, म पनि यसैमा समाहित छु । चित्रकला विभागको जिम्मेवारीमार्फत नयाँ पुराना कलाकारहरूसँग परिचय र संवाद भइरहेको छ । पर्वत, बागलुङ, म्याग्दी जस्ता टाढाका जिल्लाहरूमा कलाकारहरूको संगठन बनाउने कार्य भएको छ । हालै मात्र केन्द्रबाहिरका ७ जिल्लाका जिल्लामै कार्यरत कलाकारहरू र भारतका कलाकारहरू सम्मिलित कला कार्यशाला पनि अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने सुन्दर पर्यटकीय गाउँ धम्पुसमा सम्पन्न गरिएको छ । त्यसैगरी, कला हिजो, आज र भोलिमा सांस्कृतिक बिम्व शीर्षकको नाफा टक कार्यक्रम पनि पोखरामा सम्पन्न गरिएको छ । चाँडै नै पूर्वका जिल्लाहरूमा कार्यक्रमका लागि जाने तर्जुमा भइरहेको छ ।
० वर्तमान परिप्रेक्ष्यमा ललितकला प्रज्ञा–प्रतिष्ठानलाई अग्रगति दिन के कस्ता कदमहरू चालिनु आवश्यक देख्नुहुन्छ ?
– राजधानी बाहिर पनि कलाकारहरूको ठूलै लर्काे छ । जो कलाका धेरै अवसर र कलासम्बन्धी धैरै कुराहरूबाट वञ्चित छ । त्यो लर्काेलाई कला गतिविधिमा संलग्न गराउनु केन्द्रमा प्राप्त चेतना प्रवाह गरी विभिन्न क्रियाकलापबाट ऊर्जा प्रदान गर्दा राम्रो हुन्छ भन्ने मलाई लाग्दछ । अग्रजहरूसँग सल्लाह लिँदैछु । राजधानी त आफंैमा चेतनशील, सिर्जनशील र सक्षम छ ।
० राजनीतिक भागबन्डाको आधारमा परिषद् सदस्यहरू र प्रज्ञा सभाका सदस्यहरू नियुक्त भएको हुँदा राजनीतिभन्दा माथि उठेर स्वतन्त्र चिन्तन र वातावरणमा काम गर्ने औसर प्रज्ञा–प्रतिष्ठानभित्र रहेको छ त ?
– प्राज्ञहरू सबै आ–आफ्ना विचारका लागि स्वतन्त्र छन् यो मैले भन्नै पर्दैन । तर, जुनसुकै ढोकाबाट प्रवेश गरिएको भए पनि प्रज्ञा–प्रतिष्ठान मर्यादित ठाउँ भएको हुँदा यसको महिमा र मर्यादालाई जोगाउने काम गर्नुपर्छ, यसका लागि सबै मिलेर वातावरण तयार गर्नुपर्छ । उसो त पानी धमिल्याएर माछा मार्ने दुस्वप्नहरू जहाँ तहीँ हुन्छन्, ओहोर–दोहोर गरिरहन्छन् नि ।
० परिषद् सदस्यहरूबीच कस्तो सम्बन्ध रहेको छ ?
– राम्रो छ, सबैले आपसमा सहयोग गर्ने प्रयत्न गरिरहेको नै देख्दछु, अनुभव पनि गरिरहेको छु । उसो त हाम्रो समाजजस्तै धेरै चामलका बीच केही बियाँ त हुन्छ नै ।
० तपाईंले सम्हाल्नुभएको चित्रकला विभागअन्तर्गत आगामी दिनमा के–कस्ता कार्यहरू गर्ने सोच बनाउनुभएको छ ?
– म अवसर प्राप्त केन्द्रलाई भन्दा मोफसललाई बढी प्राथमिकता दिन चाहन्छु । म मोफसलबाट केन्द्रमा आएर प्राप्तिउन्मुख भएकाको भन्दा मोफसलमै संघर्ष गरिरहेकाहरूको गीत गाउन रुचाउँछु, सघाउन रुचाउँछु ।
० व्यक्तिगत प्रसंग, तपाईं राम्रो चित्रकार साथै राम्रो कवि पनि हुनुहुन्छ । यो दुवै फरक विधा हुन् र कसरी संयोजन गरेर अगाडि बढ्नुभएको छ ?
– कविता र चित्रकला मेरो अनुहारमा अवस्थित दुई आँखाहरू हुन्, यी आँखाहरूले मलाई जीवनका गहिराइ र यसको प्रियता देख्न सिकाएको छ । संघर्ष र प्रेमले जीवनको गीत धक फुकाएर गाउन सिकाएको छ । चित्र बनाउँदै गर्दा कवितामा नवीन बिम्व ओथार्ने ऊर्जा र कविता लेख्दै गर्दा चित्रमा संवेदना भर्ने ऊर्जा दिएको छ । यसरी नै समयसँग हिँडिरहेको छु ।
० तपाईं चित्रकार कि कवि ?
– दुवै हुँ । प्रकृतिले मलाई यी दुवै सिर्जशीलताको उपासना गर्ने प्रिय अवसर प्रदान गरेको छ । एकै जुनीमा मलाई कवि र कलाकार बनाउने प्रकृतिको म मुक्तकण्ठले प्रशंसा र बन्दना गर्दछु ।
० आफ्नो सिर्जना चित्रमा उतार्न आनन्द लाग्छ कि कवितामा उतार्न रमाइलो लाग्छ ?
– यी दुवै विधामा अनुभूतिको उत्कर्ष अब्बल दर्जाको हुने गरेको म पाउँछु । अब त कवितामा निहित चित्र र चित्रमा निहित कविताको लती (एडिक्ट) भइसकेको छु ।
० यी दुई फरक विधालाई कसरी अँगाल्नुभयो ?
– मैले धेरै ठाउँमा भनेको छु पेटका कारण चित्रलाई र प्रेमका कारण मैले कवितालाई अँगालेको हुँ । अन्तिमसम्म पनि मेरो धारणा बदलिएको म स्वयम्लाई निको मान्दिनँ । अब त यी दुवै जीवनको अभिन्न पक्ष भइसकेका छन् । यीबिना म आफ्नो जीवन सारहीन ठान्दछु ।
० तपाईंलाई नेपाली कविता साहित्यले बिम्वकवि भनेर सम्बोधन गरेको छ । यसका बारेमा केही भन्नुहुन्छ कि ?
– नवीन बिम्वको अर्चन गर्नु मेरो जीवनको अभिप्सा हो, इच्छाको पराकाष्ठा हो । यसले अवश्य नै नेपाली कविता विधालाई सघाउँछ नै होला । जुठा बिम्वहरूका साथमा मेरा कविताहरू रमाउन मान्दै मान्दैनन् त म के गरूँ ? म त मात्र पुजारी हुँ । समयले माया गरेर सम्बोधन गरिदिएको छ । म यसमै खुसी छु ।
० तपाईंले नेपाली कविताको इतिहासमा पहिलो पटक टिकटमा एकल कविता वाचन कार्यक्रम गर्नुभएको थियो । किन गर्नुभयो, त्यस्तो कार्यक्रम ?
–मैले २०६२ जेठ २२ गते पोखरामा गरेको एकल कविता वाचन गरेको हुँ । यसको टिकट पाँच सय रुपियाँको थियो । सुरुमा नयाँ कार्यको थालनी गर्दा के कस्तो हुने हो भन्ने डर लाग्नु स्वाभाविकै थियो । कार्यक्रम राम्रो भयो, खुसी लाग्यो । अचेल हप्तैपिच्छे एकल कविता वाचन हुने गरेको सुन्दा अझै खुसी लाग्छ ।
० पोखराको साहित्यिक माहोलमा तपार्इं र अरू स्रष्टाबीच पानी बाराबारको अवस्था छ भनिन्छ । किन त्यस्तो भएको हो ?
– म जन्मिएको पोखरा प्राकृतिक हिसाबले जति सुन्दर र स्निग्ध छ, त्यति नै साहित्यिक वातावरणले पनि स्निग्ध हुनुपर्छ भन्ने मेरो मान्यता हो । आजसम्म मैले यस्तो नराम्रो वातावरण भेटेको छैन । सानातिना कुराहरू त जीवनमा देखिने धेरै सुस्वप्न माझका केही दु:स्वप्नहरू मात्र हुन् । ती फोहोरमै जन्मिन्छन्, फोहोर मै मर्छन् ।
० अहिलेसम्म कति कविता सिर्जना गरिसक्नुभयो ? र, आफूलाई मन परेका कृतिहरू कुन–कुन हुन् ?
– एघार वटा प्रकाशित छन् । ती हुन्, नपोतिएका रङहरू, चराहरूको पहाड, आमानदीहरू, बुद्ध बिम्व अक्षर बिम्व, इन द नेम अफ बुद्ध, घाँस उखेलिरहेकी केटी, रोदी रोएको देशमा, कविता र साँझ, अक्षरको खेत, चोक र तमसुक र कविताको उज्यालो मेरा प्रकाशित कविता कृति हुन् ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply