जब सरकार कौशलालाई देख्दैन
अहिले कौशला लामिछाने सर्वत्र छाइरहेकी छन् । जीवनका प्रारम्भिक वसन्तहरूमा हिँड्दै गरेकी उनी एउटा दु:साध्य बिमारीबाट गुज्रिरहेकी छन् यतिबेला । प्रखर गजल लेखिका उनीप्रति देशभित्र र बाहिर अवस्थित स्रष्टाहरूले एकै स्वरमा बोलिरहेका छन्–‘कौशलालाई बचाऊ ।’आखिर, कौशलाप्रति यति धेरै सद्भाव, चासो र उनको बिग्रिएको स्वास्थ्य स्थितिलाई लिएर सहयोगी मन–मस्तिष्कहरू चल्मलाउनुमा के अर्थ र कारण जोडिएका छन् ? यसमा अरू केही कारण जोडिएका छैनन् । मात्र, एउटा प्रतिभावान् स्रष्टाले नयाँ जीवन पाउन र उनले अझ सिर्जनाको धरातलमा आफूलाई सशक्त रूपले उभ्याउन सकून् भन्ने मनोकांक्षा मात्र उद्भव भएका हुन् भन्न सकिन्छ । कौशला अहिले मृत्युसँग जुधिरहेकी छन् । तथापि, पर्याप्त अर्थ सम्भावना रहने हो भने उनले नयाँ जीवन पाउनेछन् । र, अहिले सहृदयी र सहयोगी हातहरू उनको जीवन रक्षार्थ क्रियाशील छन् र सम्भवत: अर्थाभावका कारण उनको बिमारीले फैलिने औसर पाउने छैन । हुन पनि, कसैले सदुपयोग र कसैले चाहिँ दुरुपयोगको रूपमा अँगालिरहेको फेसबुकजस्ता सामाजिक सञ्जाल कौशिलाका निम्ति भने एउटा ‘रामबुटी’ नै सावित भएको छ । फेसबुकमै उनका शुभचिन्तकहरूले सम्प्रेषण गरेको एउटा सन्देशले उनीप्रति सबैजसो सर्जक र गैरसर्जकहरूको ध्यान तानिएका छन्, यतिबेला ।
कौशलाले बाँच्न पाउनुपर्छ । उनी एउटी स्रष्टा भएको आधारले मात्र होइन, एउटा निम्न मध्यवर्गीय परिवारमा जन्मिएका नेपाली नागरिकको हैसियतले पनि उनमा बाँच्न पाउने अधिकार छ । र, चाहे राज्यले होस् वा अरू निकायहरूले नै किन नहोस्, उनको बाँच्न पाउने कुरामा ग्यारेन्टी गर्नुपर्छ । एउटा नागरिकले राज्यप्रति यस्तो अपेक्षा राख्नु गैरकानुनी वा अनुचित विषय कदापि हुन सक्दैन ।
नुवाकोटको एउटा सामान्य गाउँको सामान्य चेली नेपाली साहित्यमा प्रारम्भिक कदमहरू राख्दै गरेकी कौशलाप्रति अहिले निजी क्षेत्र र तप्काबाट जसरी सहयोगका लहरहरू उठिरहेका छन् । कौशलाले अझै धेरै वर्ष बाँच्न पाउनुपर्छ र उनले नेपाली साहित्यलाई अझै समृद्ध बनाउन भूमिका खेल्नुपर्छ भन्ने भावनाको जुन रूपमा बिजारोपण भइरहेको छ, यसलाई अत्यन्तै सह्राहनीय पाटोका रूपमा स्विकार्नुपर्छ । तर, यहीँनेर एउटा प्रश्न भने निश्चित रूपमा उठ्छ– निजी क्षेत्र र तप्काका व्यक्तिहरू एउटा स्रष्टाको जीवन रक्षाका लागि स्वतस्फूर्त रूपमा जुर्मुराए पनि राज्य/सरकार भने किन मौन नै रहेको छ अहिलेसम्म ? कि, कौशला राज्यको नजरमा अनागरिक हुन् ? अस्रष्टा हुन् ? सरकारको मौनता अत्यन्तै सन्देहास्पद देखिएको छ यतिबेला ।
केही समयपूर्व, वरिष्ठ संगीतकर्मी अम्बर गुरुङ बिरामी परे । गुरुङको बिसन्चोपन नेपाली संगीतप्रेमीहरूका निम्ति नमीठो खबर थियो, त्यस्तो खबर बन्नु स्वाभाविक पनि रहन्थ्यो । नेपाली संगीतको समृद्धिमा लामो समयदेखि क्रियाशील, राष्ट्रले पटक–पटक पत्याएर नेपाल नाटक तथा संगीत प्रज्ञा–प्रतिष्ठानको पहिलो कुलपतिको जिम्मेवारीसमेत दिएका र राष्ट्रिय गानका संगीत सर्जकसमेत रहेका गुरुङको माथमा बिसन्चो हुँदा सरकारको ध्यान तानिनु स्वाभाविक पक्ष हो । गुरुङ बिमारी भएर अस्पतालमा उपचाररत रहँदा सरकारले एउटा निर्णय गर्यो– ‘गुरुङको सबै उपचार खर्च राज्यले बेहोर्नेछ ।’ एउटा स्रष्टाप्रति राज्यले उठाएको यस्तो कदम, राज्यको एउटा महान् दायित्वबोध रहेको रूपमा स्वीकार्दै सबैले प्रशंसा गरे । जीवनभरि राज्यको श्रीवृद्धिमा समर्पित एउटा स्रष्टाको दु:खमा राज्यले आफ्नो दु:ख साट्नु अनिवार्य नै ठहरिन्थ्यो । र, संगीतज्ञ गुरुङको बिमारीप्रति राज्यले चासो राख्नु राज्यको अहम् दायित्वभित्र नै पर्दथ्यो ।
अम्बर गुरुङभन्दा अघि सत्यमोहन जोशी पनि स्वास्थ्य समस्याबाट गुज्रिएका थिए । र, जोशीको उपचारमा पनि राज्यले यथेष्ट तत्परता देखाएको थियो । गुरुङ र जोशी मात्र होइन, अरू स्रष्टाहरूको उपचारमा पनि राज्यले अग्रसरता देखाउँदै आइरहेको छ । सरकारले देखाएको तत्परताकै कारण कतिपय स्रष्टाहरूले नयाँ जीवन पाएका छन्, मृत्युको मुखबाट बाँचेर फर्किएका छन् । चाहे त्यो सरकारी तवरबाट गरिएको निर्णय होस् वा तीन वटा प्रज्ञा–प्रतिष्ठानका कोषमा थन्किएको उपचार कोषको रकमकै आधारमा किन नहोस्, सर्जकहरूले उपचार खर्च पाउँदै आएका छन् । केही दिनपहिले मात्र, लोकप्रिय गायिका तारा थापाको उपचार खर्च पनि त्यही कोषकै रकमबाट बेहोरिएको थियो ।
कौशला नवोदित सर्जक हुन् । उनको आवाज अथवा पहुँच राज्यसँग अम्बर गुरुङ, सत्यमोहन जोशी, तारा थापाको जति उच्च र शक्तिशाली नहोला । त्यही भएर नै, अहिले मृत्युसँग लडिरहेकी उनीप्रति राज्य सर्वथा मौन छ । एउटा ‘ठूला’ सर्जकलाई छातीमा इन्फेक्सन हुँदा वा रुघाखोकी लागेर अस्पतालमा भर्ना हुँदा ‘हामी उपचार खर्च बेहोर्छौं’ भन्ने सरकारले मृत्युलाई नजिकैबाट नियालिरहेकी कौशलाप्रति भने किन मुन्टो बटारिरहेको छ ? सायद यो देश ‘ठूला’ र पहुँच पुग्नेहरूकै निम्ति मात्र हो कि ? कौशलाको मन–मस्तिष्कले अहिले यस्तै सोचिरहेको होला ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply