बीस लाख पर्यटक भित्र्याउने लक्ष्य
पछिल्लो समयमा, नेपाली होटल व्यवसाय क्षेत्रमा विदेशी र देशभित्रैबाट लगानी भित्रिने क्रम बढ्दो छ । होटल व्यवसाय एउटा जोखिम र सम्भावना, दुवैले भरिएको क्षेत्र भएको हुँदा विगतमा दस वर्षसम्म चर्किएको द्वन्द्व र लामो समयदेखि कायम संक्रमणकालीन स्थितिले गर्दा लगानीकर्ताहरू हच्किनु स्वाभाविकै थियो । तर, अब भने देशमा नयाँ संविधान निर्माण हुने र राजनीतिक स्थायित्व कायम हुने अपेक्षाअनुरूप अरु क्षेत्रहरूमा लगानी बढ्ने क्रम जारी रहेसँगै होटल व्यवसायमा पनि लगानीको वातावरण सिर्जना हुन पुगेको हो ।
होटल एसोसियसन नेपाल (हान)का महासचिव विनायक शाह नेपालको होटल व्यवसायमा लगानी थपिने क्रमले व्यवसायीहरूमा उत्साह थपिएको बताउनु हुन्छ । उहाँ भन्नु हुन्छ–‘बितेको केही समययता अन्तर्राष्ट्रिय चेन होटलहरू र नेपालका ठूला व्यापारिक घरानाहरू समेतबाट होटल क्षेत्रमा नयाँ लगानी गर्ने प्रतिबद्धता र योजनाहरू अगाडि आएका छन् । यसले आगामी दिनमा नेपालको आर्थिक उन्नति र गतिविधिहरू अझै बढ्ने सम्भावना देखिन्छ । विगत केही वर्षदेखि देशमा संक्रमणकाल कायमै रहेकोले आर्थिक एजेन्डाहरूले भन्दा पनि राजनीतिक एजेन्डाहरूले बढी प्राथमिकता पाउँदै आयो । यस्तो स्थितिमा पनि, अन्तर्राष्ट्रिय जगत्बाट नेपालमा लगानी बढाउने प्रतिबद्धता जसरी आएको छ, यसलाई शुभसंकेतको रूपमा हामीले लिनुपर्छ ।’
निश्चय नै, होटल क्षेत्रले ठूलो लगानीको अपेक्षा र आवश्यकता महसुस गर्छ । अन्तर्राष्ट्रिय स्तरका होटलकै सेवा र सुविधाको उपलब्धताको अपेक्षा राखेका हुन्छन्, विदेशी पर्यटकहरूले । त्यही भएर, पछिल्लो समयमा विदेशी पर्यटकलाई लक्षित गरेर नेपालमा अन्तर्राष्ट्रिय चेन होटल खुल्ने क्रम बढेको छ । गैरआवासिय नेपाली संघ –एनआरएन)का अध्यक्ष शेष घलेलगायत समूहले करिब ८ अर्ब लगानी होटल क्षेत्रमा नै गरिरहेका छन् । उनीहरूले अन्तर्राष्ट्रिय चेन होटल ‘सेराटन’को निर्माण कार्यमा अहिले समय खर्चिरहेका छन् । त्यस्तै, अमेरिकन चेन होटल मेरियटले पनि नेपालमा होटल खोल्ने कार्य अगाडि बढाइसकेको छ । त्यस बाहेक, एसिया प्यासिफिक क्षेत्रका होटलहरूले पनि नेपालमा सहकार्य गरेर होटल खोल्ने कार्य सुरु गरिसकेका छन् । शाह भन्नु हुन्छ–‘अहिले नेपालको होटल क्षेत्रमा लगानी गर्ने जुन क्रम बढेको छ, यसले अबको तीनदेखि पाँच वर्षभित्र ठूला स्तरका होटलहरूमा करिब दुई हजार कोठा थपिने देखिएको छ । यो त ठूला होटलहरूका मात्र कुरा भयो, यसमा साना होटलहरूको गणना नै छैन । समग्रमा, होटल क्षेत्रमा लगानीकर्ताहरू आकर्षित भएका छन्, यसलाई हामीले समग्र पर्यटन क्षेत्रको विकासको द्योतकको रूपमा बुझ्नुपर्छ ।’होटल क्षेत्रको विकास हुनु भनेको सिंगो आर्थिक क्षेत्रको विकास र गतिविधि बढ्नु रहेको बताउँदै शाह भन्नु हुन्छ–‘एउटा होटल खुल्ने बित्तिकै त्यसले कृषि, निर्माण, यातायातलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याउँछ । एकजना विदेशी पर्यटक आउँदा त्यसले नौदेखि एघारजना मानिसलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी दिन्छ । तसर्थ, समग्र अर्थतन्त्रलाई नै गतिशील बनाउने कार्य होटल क्षेत्रबाट हुन सक्छ ।’
नेपालको होटल क्षेत्रमा अन्तर्राष्ट्रिय चेन होटलहरू भित्रिँदा र विदेशी लगानीकर्ताहरू पनि लगानी गर्न इच्छुक देखिँदा त्यसले नेपाल विश्व गन्तव्यको सूचिमा झनै स्थापित हुने शाह बताउनु हुन्छ । उहाँ भन्नु हुन्छ–‘कुनै पनि लगानीकर्ताले लगानी गर्नुअघि त्यसको फाइदा हेरेर मात्रै लगानी गर्छन् र ठूला चेन होटलहरूले नेपालमा लगानी गर्दा फाइदा हुन्छ भन्ने ठानेर नै लगानी गरेका हुन् । उनीहरूले अध्ययन गरेर नै लगानी गरेका हुन् । यसले लगानीको क्षेत्रमा नेपालप्रति विश्वको आकर्षण बढेको देखिन्छ ।’देशमा नयाँ संविधान बनेपछि आर्थिक एजेन्डाहरूले प्रश्रय पाउनेमा कुनै द्विविधा छैन । अहिले संक्रमणकालीन अवस्था रहेको हुँदा राजनीतिक एजेन्डाहरूले प्रश्रय पाउनु स्वाभाविक देखिन्छ । आशावादी दृष्टि ओछ्याउँदै शाह भन्नु हुन्छ–‘देशमा संविधान आएपछि विकासका गतिविधिहरू स्वत: बढ्छन् । विकासका गतिविधिहरू बढ्ने बित्तिकै होटल, पर्यटनजस्ता क्षेत्रहरूले प्रत्यक्ष फाइदा पाउँछन् । उदाहरणकै रूपमा लिँदा पनि, भारतसँग जलविद्युत् क्षेत्रको विकासमा सम्झौता हुने बित्तिकै त्यसमा लगानी गर्नेहरू नेपाल आउने क्रम निश्चय नै बढेका छन् । ती लगानीकर्ताहरू नेपाल आउँदा बस्ने ठाउँ त होटल नै हो । उनीहरूले नेपालकै जहाज र यातायातहरू नै प्रयोग गर्ने हुन् । यसले समग्रमा देशकै आर्थिक क्षेत्रमा प्रभाव पार्छ ।’ तर, यति हुँदाहुँदै पनि पूर्वाधारको विकास बिना देशले आर्थिक उन्नतिमा फड्को मार्न नसक्ने पनि उहाँको तर्क छ । भन्नु हुन्छ–‘अहिले नेपालमा बर्सेनि आठ लाखको हाराहारीमा पर्यटकहरू आइरहेका छन् । अहिलेको अवस्थामा नेपालमा विद्यमान होटलहरू नै पर्याप्त छन् । तर, पर्यटकहरू बढ्ने क्रमसँगै अहिले भएका होटलहरूले थाम्न सक्दैन ।’
काठमाडौंको दरबारमार्गमा २०१० सालमा जन्मिएका शाह होटल व्यवसायमा आबद्ध हुनुभएको एक दशकमात्रै नाघेको छ । ०६२ सालमा एयरपोर्ट होटल सञ्चालनसँगै यो व्यवसायमा आधिकारिक रूपमा पाइला टेक्नुभएको शाहले पचासको दशकतिर भने विदेशमा आयोजना हुने ठूला–ठूला एक्स्पोहरूसँग सम्बन्धित काम गर्नु हुन्थ्यो । उहाँ भन्नु हुन्छ–‘मैले ०४९ सालदेखि नै वल्र्ड एक्स्पोहरूसँग सम्बन्धित काम गरेको हुँ । र, अहिले पनि होटल व्यवसायबाहेक त्यही काम नै गरिरहेको छु ।’ तर, विगत एक वर्षदेखि भने उहाँले हानको महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । त्यसो त, सरकार र निजी व्यवसायीहरूले सन् २०२० सम्ममा देशमा २० लाख नै पर्यटक भित्र्याउने लक्ष्य लिएका छन् । यो त्यति असम्भव कुरा पनि होइन । शाह भन्नु हुन्छ–‘हामीले बीस लाख पर्यटक भित्र्याउन सक्यौं भने सबै होटल व्यवसायीहरूलाई राम्रो हुन्छ । तर, लगानी भएर त्यसको प्रतिफल नआउने स्थिति बन्यो भने त्यसको नकारात्मक प्रतिफल सिंगो अर्थतन्त्रमा पर्ने देखिन्छ । तसर्थ, हामीले पूर्वाधारको विकास र बजार विस्तारिकरण गर्नुपर्ने कुरा पनि त्यत्तिकै आवश्यक देखिन्छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- दसैँका लागि आजदेखि नयाँ नोट सटही
- आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
- बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य
- चार जलविद्युत् आयोजनाका लागि ३६ अर्ब ३७ करोड लगानी स्वीकृत
- नेपालको बिजुली बङ्गलादेश बिक्रीका लागि सहमति, पहिलो चरणमा ४० मेगावाट जाने
- डिजेल र पेट्रोलको मूल्य बढ्यो, ग्यासको घट्यो
- मौद्रिक नीति : बैंकदर यथावत्, नीतिगत दरमा सामान्य लचकता
Leave a Reply