नेपाली चलचित्र वनारसको पेडा !
‘वनारसको पेडा’ यो धेरै नै चलनचल्तीको शब्द हो । प्राय: सबैले सुनेको हुनुपर्छ । तथापि, वनारसको पेडाको लाक्षणिक अर्थ भने सदैव नकारात्मक नै रहँदै आएको छ । भन्नेहरूले भन्छन् पनि– ‘वनारसको पेडा, खानेले पनि पछुताउँछ, नखानेले पनि पछुताउँछ ।’ अर्थात्, वनारसको पेडाको स्वाद लिन चाहनेले जब त्यसको स्वाद लिन्छन्, आफूले अनुमान गरेभन्दा कमसल, निम्न स्तरको स्वाद पाएपछि स्वाद लिनेहरू पछुताउँछन् । र, त्यो पेडाको स्वाद नलिनेहरू भने यस्तो परिकल्पना उमार्दै पछुताउँछन्, त्यसको स्वाद कति विशिष्ट र उच्चस्तरीय थियो होला । कति पृथक् थियो होला ?
एकाध चलचित्रलाई छाड्ने हो भने अहिले नेपालमा निर्माण भइरहेका चलचित्रहरू त्यही ‘वनारसको पेडा’ भन्दा फरक अनुभूति हुँदैन । निर्माण गर्नेहरूले साँघुरो बजारलाई हेरेर सीमित बजेटमा निर्माण गर्नुपरेको लाचारी व्यक्त गर्छन् र सुरुमै स्तरीयताको प्रश्न उठाउनेहरूलाई मुखमा बुजो लगाउन चाहन्छन् । तर, अहिले निर्माण भइरहेका अधिकांश फिल्मको अवस्था त्यस्तै छ, जसले दर्शकहरूलाई त्यही वनारसको पेडाको स्वाद दिलाउनेभन्दा अर्को भूमिका खेलिरहेको पाइँदैन । नहेर्नेहरूले पछुताउनु त स्वाभाविक पक्ष हो, हेर्नेहरू झनै पछुताइरहेका छन् ।
निश्चित रूपमा, कुनै पनि चलचित्रले ‘मार्केट’ लिने भनेको त्यसको विषयवस्तु नै हो । स्तरीय कथावस्तुको धरातलमा उभिएका चलचित्रहरूले बजार पिट्ने कुरामा सन्देह मान्न सकिँदैन । किनकि, चलचित्रको प्राणतत्व भनेकै त्यसको कथावस्तु हो र नयाँ एवम् पृथक् कथावस्तु बोकेको चलचित्रलाई उत्कृष्ट प्रस्तुतीकरण दिलाउने हो भने त्यस्ता चलचित्रले दर्शकको स्याबासी पाउनेमा दुईमत हुन सक्दैन । तर, पछिल्ला चरणहरूमा निर्माण भइरहेका अधिकांश चलचित्रले नौलो कथावस्तु र उत्कृष्ट प्रस्तुतीकरणलाई भन्दा पनि उही फर्मुला, उही घिसेपिटे कथावस्तु र पुरानै प्रस्तुतीकरणको सहारा लिएर फिल्म निर्माण गर्ने प्रवृत्ति नै कायम छ । यस्तो प्रवृत्ति हावी रहुन्जेलसम्म नेपाली चलचित्रले ‘पानी फेर्ने’ कार्यमा पूर्णविराम लाग्नु सम्भव देखिँदैन ।
एकाध वर्षअघि, चलचित्र ‘नाइँ नभन्नु ल’ ले राम्रै बजार लियो । त्यतिबेला निर्माण भएका अरु चलचित्रहरूले अपेक्षित सफलता बटुल्न नसकिरहेको बेला उक्त चलचित्रले भने मुनाफा कमाउन सक्यो । खासगरी, उक्त चलचित्रको विषयवस्तु बाल मनोविज्ञान रहेको थियो । तर, चलचित्र नौलो, फरक वा उत्कृष्ट विषयवस्तु रहेको कारण चलेको भने होइन । मूलत: उक्त चलचित्र संगीतमा रहेको नौलोपनले चलेको थियो । नेपाली चलचित्रमा पहिलो पटक स्वर भरेका बाल–गायक प्रेम परियारको स्वर, वसन्त सापकोटाको उत्कृष्ट संगीत–निर्देशनका साथै कृष्णहरि बरालको शक्तिशाली शब्दमा निर्मित गीतकै कारण ‘नाइँ नभन्नु ल’ले सफलताको गोरेटो पहिल्याएको थियो ।
नवीन कथावस्तु र छरितो प्रस्तुतीकरण नरहे पनि अरू सहायक शाखाहरूको उत्कृष्टपनाले पनि चलचित्रले ‘मार्केट’ मा दह्रो खुट्टा टेक्न सक्छ भन्ने उदाहरण ‘नाइँ नभन्नु ल’ बनेको मान्न सकिन्छ । संगीतकै कारण चलेको थियो, उक्त चलचित्र । सिंगो चलचित्रमा केही पक्ष सबल हुनेबित्तिकै चलचित्रले दर्शकलाई आकर्षित गर्ने यथार्थ आफ्नो थलोमा छँदैछ । तर, जसरी भए पनि आफूले निर्माण गरेको चलचित्र ‘चलाउने’ होडबाजीले गर्दा नेपाली चलचित्र जगत् विस्तारै अविश्वासको पुलिन्दा बन्दै गइरहेको छ ।
नेपाली चलचित्र बजारमा पछिल्ला दिनहरूमा ‘बिक्न छाडेकी नायिका’ रेखा थापाले ‘हिम्मतवाली’ निर्माण गरेकी थिइन् । पुरानै ढर्रा र कथावस्तुमा बनाइएको उक्त चलचित्रलाई कसरी हिट तुल्याउने भन्ने उपाय सोच्दासोच्दै उनले शारीरिक अपांगता भएका सुदर्शन गौतमसँग आफू ‘गहिरो प्रेम चक्करमा परेको’ रहस्य खोलिन् । एकातिर, स्वयम् गौतमले ‘हिम्मतवाली’मा अभिनय गरेको र अर्कोतिर रेखा–सुदर्शनबीच प्रेम अंकुराइरहेको पक्षले नेपाली मिडियामा स्थान पाउनु स्वाभाविकै देखियो । किनकि, रेखा पनि आफ्ना पतिबाट अलग भएको सन्दर्भमा अर्को पुरुषसँग प्रेम–प्रसंग प्रारम्भ भएको कुरा उठ्नुले एकाध वर्षअघि नेपाली चलचित्र जगत्मा राम्रै छवि बनाएकी रेखालाई मिडियाले उछाल्नु अनिवार्य नै थियो । तर, ‘हिम्मतवाली’ प्रदर्शन हुनुअघि अंकुराएको रेखा–सुदर्शनको प्रेम प्रसंग फिल्म हलबाट उत्रिएलगत्तै सेलाउन पुग्यो । निर्माताहरूलाई ‘मुर्गा’ ठान्ने नेपाली चलचित्रकर्मीहरूले दर्शकहरूलाई समेत ‘मुर्गा’ बनाउने यो क्रम नेपाली चलचित्र क्षेत्रमा केही वर्षदेखि राम्ररी नै चल्न थालेको छ र रेखा थापाले पनि अरू केही नभएर दर्शकहरूलाई ‘मूर्ख’ बनाउन चाहेकी कुरा अन्तत: उनले प्रदर्शन गरेको नौटंकीबाटै प्रस्ट हुन पुग्यो ।
भुवन केसी पनि दर्शकहरूलाई ‘मूर्ख’ बनाउन माहिर कलाकर्मीमा गनिन्छन् । केही महिनापूर्व, आफू निर्माता रहेर छोरा अनमोल केसीलाई अभिनय गर्न लगाइएको उनको चलचित्र ‘जेरी’को प्रदर्शनको पहिलो दिन नै एउटा खबर फैलियो–‘फिल्म हेर्न गएका स्कुले विद्यार्थीहरू गिरफ्तार ।’ पछि, रहस्य खुल्यो । ती विद्यार्थीहरूलाई स्वयम् केसीले नै पक्राउ गर्न लगाएका रहेछन् । विद्यार्थीहरूलाई पक्राउ गराउनुको रहस्य के थियो भने, उक्त फिल्मप्रति बढीभन्दा बढी कौतूहल जगाउनु र हलमा भीड जम्मा गर्ने वातावरण निर्माण गर्नु । यसरी दर्शकहरूलाई ‘मूर्ख’ बनाएर चलचित्र चलाउने प्रवृत्ति कहिलेसम्म फस्टाउन सक्ला ? नेपाली चलचित्र क्षेत्रले यो अनुत्तरित प्रश्न भिरिरहेको छ ।
नेपालमा मात्र होइन, अरू देशहरूमा पनि फिल्मको ‘प्रमोसन’का लागि सम्बन्धित फिल्मका फिल्मकर्मीहरूलाई प्रयोग गरिन्छन् । फिल्मको प्रमोसन गर्ने कार्य केही वर्षयता हलिउड, बलिउडजस्ता संसारकै धेरै चलचित्र निर्माण हुने क्षेत्रमा हुने गरेको छ । किनकि, फिल्म एउटा ठूलो बिजनेस भएको हुँदा प्रमोसनको सहारा लिनुलाई अन्यथा मान्ने आधार छैन । प्रमोसनकै क्रममा नायक, नायिकालगायत अरू कलाकारहरू चलचित्र–भवनमा जाने र दर्शकहरूलाई अभिवादन गर्ने वा हात मिलाउनेजस्ता कुरा अहिले सामान्य पक्ष भइसकेको छ । तर, दर्शकलाई मूर्खै बनाएर चलचित्र चलाउने नियतबीच उभिइरहेका नेपाली चलचित्रकर्मीहरूलाई यत्ति सुझाव दिनु अन्यथा नहोला– प्रमोसन गर्ने छुट छ तर मूर्ख बनाउने छुट भने निश्चय नै छैन ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply