सम्मान आ–आफ्नै तरिका
हृषिकेष सुलभ हिन्दी–साहित्यका राम्रा सर्जकमा गनिन्छन् । मूलत: उनले कथा–लेखनमा गहिरो हस्तक्षेप एवम् हस्ताक्षर कायमै राखेका छन् । राम्रा कथाकारको लहरमा पर्ने सीमित कथा–सर्जकहरूमध्ये एक मानिने सुलभ ग्रामीण परिवेश र त्यस परिवेशमा सिर्जित खुराकहरू पस्किँदै आइरहेका छन् । हिन्दी कथा लेखनमा प्रेमचन्दपछि ग्रामीण परिवेश र सन्दर्भमा आधारित कथा लेख्नेहरूको कमी रहेको प्रसंगले बाक्लो स्थान लिइरहेकै बेला सुलभ भने ग्रामीण परिवेशका कथा–लेखकका रूपमा दरिएका हुन् । तिनै सुलभले एउटा सन्दर्भमा भनेका छन्– ‘हालसालै मैले चौध शताब्दीका नाटककार उमापति उपाध्यायका गाउँबाट उनको खेतको माटो छोएर फर्किएँ । हामी सबै कृतघ्न छौं । आफ्ना पूर्वजहरूका स्मृतिलाई स्मरण गर्न सक्दैनौं ।’ ‘खेतको माटो छुनु’ लाई धेरै नै गाम्भीर्य रूप वा अर्थमा लिए पनि हुन्छ वा नलिए पनि हुन्छ । अहिलेको समयमा खेतको माटो छुनुले वा खेतको आलीमा पाइला नाप्नुले के नै अर्थ आर्जन गर्न सक्ला र ? तर, फरक भूगोल र पृष्ठभूमि भएका एउटा स्रष्टाले अर्का पूर्वज स्रष्टाप्रति दर्साउने यो शैलीलाई भने अनुपम मान्नुपर्ने हुन्छ, अद्वितीय मान्नुपर्ने हुन्छ । कुनै पनि पूर्वज स्रष्टाका ‘खेतको माटो छुनु’ वा ‘घरको दलानमा टेक्नु’ निश्चय नै भावुक बनाउने विषय हुन सक्ला । यसको साँचो अनुभूति भने पक्कै पनि लेख्नेहरूले नै सँगाल्न सक्छन् । तर योभन्दा पनि बढी, योभन्दा पनि महत्त्वपूर्ण कुरा के हो भने, यो विषय स्रष्टाहरूप्रति पोखिएको सम्मानको एउटा बेजोड अंश हो, स्रष्टाहरूप्रतिको आदर भाव हो भन्नु निश्चय नै मनासिव ठहरिएला ।
एउटा निश्चित कुरा के हो भने, पूर्वज स्रष्टाहरूका घरदैलो टेक्दा पछिल्लो पुस्ताका सर्जक वा गैरसर्जकहरूलाई रोमान्चक अनुभूति हुन्छ नै । अझ त्यसमा, ती स्रष्टाहरूको सम्पत्तिका रूपमा रहेको कुनै भूभागबाट माटो वा ढुंगा उठाएर ल्याउँदाको बेग्लै सुखानुभूति हुन्छ । नेपाली यात्रा–निबन्धका उत्कृष्ट हस्ताक्षर/स्रष्टा निर्मोही व्यासको लेखनमा कति जना डुबेका होलान् ? उनको मौलिक, सारगर्भित र अनेक सौन्दर्य र बान्कीहरूले भरिएका लेखन संसारलाई पछ्याउनेहरूले उनको रचना संसार सहज रूपमै महसुस गर्न सक्छन् ।
एउटा प्रसंग उप्काउन सान्दर्भिक नै होला । विक्रमाब्द ०५० को जेठको तेस्रो हप्ता उनै निर्मोही व्यास, सिन्धुलीका पुराना कवि नीलहरि ढकालको बारेमा बुझ्न सिन्धुली सदरमुकाम आउनुभएको थियो । त्यस समय स्रष्टा व्यास, नीलहरिका भतिज पर्ने चेतप्रसाद ढकाल र पंक्तिकारसहित तीन सदस्यीय टोली नीलहरिको पुरानो घरतिर उक्लिएका थियौं । मरिन खोला छेऊकै डाँडी गाउँमा एक रात सुखद् विश्राम गरेपछि भोलिपल्ट शिवालिक चुरे शृंखलाका न अग्ला, न होचा शिखरभित्र आबद्ध पटेर घारीहरू छिचोल्दै, जंगली काँढाहरूको घोचाइप्रति कुनै आक्रोश नब्युँताउँदै, मान्छेहरू हिँड्न छाडिसकेका प्राचीन बाटोहरूमा पाइला नाप्दै हामी गुराँसेको डाँडामा उक्लिएका थियौं । थाहा छैन, हिजोआज गुराँसे डाँडामा गुराँस फुल्छ वा फुल्दैन । तर, त्यो एउटा यस्तो आकर्षक डाँडा हो, जहाँबाट वरिपरिका रमणीय दृश्यहरू सहजै टिप्न सकिन्छन् । देखिन्छन्, त्यहाँबाट उत्तर खण्डतिर महाभारत पर्वत शृंखला, दक्षिणमा भावर प्रदेश । र, तलतल बगिरहेको मरिन खोला र त्यसका सुक्खा बगरहरू पनि । एउटा खण्डहर ठाउँमा पुगेपछि चेतप्रसादले भने– ‘लौ, यही हो, नीलहरि जन्मिएका घर †’ अझै पनि ढुंगाका केही गारोहरू लेऊ र झारहरूमा अनुदित भएर उभिइरहेका थिए । वनमारा, अल्लो र लेकाली वनस्पतिहरूको आधिक्यबीच उभिइरहेका स–साना गारोहरू पहिल्याउँदै ती स्रष्टाका जन्मघरमा केही बेर सुस्तायौं हामी । र, हिँड्ने बेला निर्मोही सरले एउटा ढुंगा उठाउनुभयो र जतनपूर्वक रुमालमा आबद्ध तुल्याउनुभयो । मैले तत्क्षण प्रश्न सोझ्याइहालेँ– ‘यो ढुंगालाई किन यसरी पोका पार्नुभएको हो ?’
उहाँले भावुक हुँदै भन्नुभयो– ‘म जुनसुकै पूर्वज स्रष्टाका घरमा पुग्छु, त्यहाँको ढुंगा वा माटो ल्याएर आफ्नो घरमा सजाउने गरेको छु । र, त्यही भएर अहिले यहाँको ढुंगा उठाएको हुँ ।’ केही बेर रोकिएपछि उहाँले थप भन्नुभयो– ‘अहिलेसम्म म जुन–जुन पूर्वज स्रष्टाहरूका घरमा पुगेको छु, त्यहाँका ढुंगा वा माटो उठाएर ल्याएको छु । मैले चुँदी पुग्दा भानुभक्तको घरको ढुंगा पनि ल्याएको छु ।’ मैले पनि तत्काल उहाँको अनुकरण गरेँ र एउटा ढुंगा टिपेर बोकेँ । मैले उठाएको ढुंगा अलि भद्दा र अनाकर्षक थियो । त्यतिबेला उत्साहपूर्वक त्यो ढुंगा टिपेर ग्रहण गरे पनि अहिले त्यो प्रिय ढुंगा कहाँ छ, कुन रूपमा सजिइरहेको छ, म आफैंलाई यकिन छैन । एउटा उत्तेजना वा भावुकताबीच मैले उठाएको त्यो ढुंगाले अहिले कुन हविगत भोगिरहेको छ, म केही बताउनसक्ने अवस्थाबीच छैन अहिले ।
ढुंगाप्रतिको मोह व्यक्त भइरहँदा एउटा कुराको स्मरण हुनु स्वाभाविक देखिन्छ । मैले बुझेअनुसार, यो संसारमा जम्मा चारथरिका चिजहरू छन् । एउटा चिज छ, जोसित आकृति छ, तर आवाज छैन, त्यो हो– पत्थर । अर्को चिज छ, जोसित आवाज छ, तर चलायमान छैन । त्यो हो– वनस्पति । तेस्रो चिज हो, पशुपन्छी । जोसित आकृति पनि छ, आवाज पनि छ । तर, छैन उनीहरूसँग भाषा । मान्छे मात्रै एउटा त्यस्तो पृथ्वीपति हो, जोसित यी चारै चिज छन् । अर्थात् मान्छे आकृतियुक्त पनि छ, आवाजयुक्त पनि छ, भाषायुक्त पनि छ । तर पनि, मानिस जहिल्यै किन पहिलो गुणजस्तै किन जडयुक्त पनि छ ? यी सबै कुरा हुँदाहुँदै पनि किन मान्छे जडवत् अवस्थामा नै आफ्ना हर्कतहरू गरिरहेका छन् ? यो निकै नै ताज्जुवपूर्ण विषय हो ।
अग्रज स्रष्टाहरूलाई सम्मान दर्साउने र स्मृतिचिन्हमा सदैव टाँगिराख्ने अनेक तरिकाहरू छन् । कसैलाई प्रस्तरमा उतारेर सम्मान व्यक्त गरिन्छन् भने कसैको नाममा पुस्तकालय स्थापना गरेर वा अरू कुनै सामाजिक कार्य गरेर पनि सम्मान व्यक्त गरिँदै आएको छ । तर, यस्ता सम्मानहरूका बीच सुलभ र व्यासहरूले दर्साउने गरेका सम्मान कुनै पनि अर्थ र हिसाबले कम भने मान्न सकिँदैन । किनकि, सम्मानको आ–आफ्नै तरिका र शैली हुन्छन् ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply