चार दशकदेखि अनवरत क्रियाशील
तीसको दशक राजनीतिक रूपले मात्र होइन, सांस्कृतिक रूपले पनि उथलपुथलमय रह्यो । तत्कालीन दलविहीन राजनीतिक प्रणालीलाई समाप्त पार्ने ध्येयअनुरूप सल्बलाउन थालेको विद्रोही चेत र त्यसका स्वरहरूले क्रमश: उचाइँ लिँदै गइरहेको बेला सांस्कृतिक चहलपहलले सघन रूप लिने नै भए । त्यही चेतनासम्पन्न समय र राजनीतिक परिवेशले पूर्वी नेपालका माधव प्रधानलाई एक जिम्मेवार सांस्कृतिक योद्धा बन्ने वातावरण तय गरिदियो । अहिले उनी जुन भूमिका र भूमिमा उभिएका छन्, त्यसको श्रेय तत्कालीन समयमा पूर्वी नेपालको भूभागमा छाएको राजनीतिक जागरण र चेतनालाई दिनुपर्ने हुन्छ ।
हुन त उनले सांस्कृतिक क्षेत्रमा कदम राख्नुअघि नै संगठित रूपमा राल्फाली समूहले पूर्वका धेरैजसो गाउँ–बस्तीमा सांस्कृतिक चेतनाको बिगुल फुकिसकेको थियो । उनलाई पनि राल्फालीहरूसँगै कुममा कुम मिलाएर सांस्कृतिक गोरेटो खन्ने रहर नपलाएको होइन । तर, अहिले उनी दुखित हुँदै भन्छन्– ‘मैले जब रामेश र मञ्जुललाई भेटेँ, त्यतिबेला राल्फा छिन्नभिन्न भइसकेको थियो ।’ उनले जनवादी संगीत क्षेत्रमा पाइला टेक्नुअगावै राल्फाले विघटनको मार्ग अँगालिसकेको भए पनि आफूभन्दा केही वर्षपूर्व जनवादी सांस्कृतिक अभियानमा जुटेका रामेश, मञ्जुल, रायन, नोरेम (हरि श्रेष्ठ) जस्ता अग्रजहरूको सानिध्यता पाउनबाट भने उनी वञ्चित भएनन् ।
नोरेमले त माधव प्रधानको सांस्कृतिक जीवन–यात्रामा अतुलनीय गुन लगाएका छन् । जनसांस्कृतिक क्षेत्रमा भर्खर–भर्खर रस बस्न लागेका बेला उनमा अन्योल थियो– जनताका बीच जाँदा कस्ता गीतहरू गाउनुपर्छ ? त्यही बेला उनी पोखरा घुम्न गए । त्यहाँ उनले भेटे, नोरेमलाई । रामेश र मञ्जुलहरूको अभियानमा हैंसे गर्नेमध्येका एक नोरेमले उनलाई तीन दिनमा ३० वटाभन्दा बढी प्रगतिशील गीतहरू सिकाए । उनी भन्छन्– ‘मैले आफ्नो सांगीतिक यात्रामा सम्झिनैपर्ने एक पात्र नोरेम हुन् । उनले मेरो सांस्कृतिक धारलाई अझ तिखार्न मद्दत पुर्याए ।’ नोरेमसँग तीसको दशकमै सिकेका गीत/संगीतले नै अहिलेसम्म आफूलाई यो क्षेत्रमा शक्तिशाली बनाइरहेको उनको अनुभूति छ । त्यसपछि मात्रै उनले ताप्लेजुङ, धनकुटा, तेह्रथुम र इलामका ग्रामीण बस्तीहरू चहारेर जनताका बीचमा जनतालाई नै जागरुक तुल्याउने गीतहरू गाउन थाले ।
सांस्कृतिक अभियन्ता रामेश, मञ्जुल, रायन, नोरेम, पारिजात, रामकृष्ण दुवालहरूको संगत र सान्निध्यता पाउनुअघि नै उनले नेपालको राजनीतिमा ‘पूर्वका नक्षत्र’ उपमाबाट चर्चित रत्नकुमार वान्तवाको संगत बटुलिसकेका थिए । अझ, त्यसअघि त उनी एक हिसाबले ‘बुर्जुवा कलाकार’ नै भइसकेका थिए । विद्यालयमा अध्ययनरत छँदा रुचिपूर्वक नै गायन र नृत्यतिर ढल्किएका उनलाई गुरुहरूले थप हौसला दिन्थे । भन्छन्– ‘सरहरूले मलाई राम्रो नाच्ने र गाउने भनेर फुक्र्याइदिनु हुन्थ्यो । त्यही फुर्काइले नै म यो क्षेत्रमा तानिएँ ।’
त्यही क्रममा ०३० सालमा राष्ट्रव्यापी अञ्चलस्तरीय लोकनृत्यमा भाग लिन मेची अञ्चलबाट काठमाडौं आएका उनले त्यही बेला रेडियो नेपालमा पाँच थान गीत गाउने औसर पनि पाए । त्यतिबेलाको अनुभव सुनाउँदै प्रधान भन्छन्– ‘पहिलो पटक रेडियो नेपालमा छिर्दा म अचम्मित भएँ । तर, रेडियोमा पसेर गीत गाएपछि भने म कलाकार हुनसक्ने रहेछु भन्ने आत्मविश्वास पलायो ।’ अझ, रेडियो नेपालमा रेकर्ड भएका सलल नाङखोल्याङ पहिरो, पानी पर्यो नि रेशमजस्ता आफूले स्वर भरेका गीत आफैले सुन्दा थप आनन्दाभूति भयो उनलाई । त्यसलगत्तै, ताप्लेजुङकै भानु माविमा शिक्षण पेशा अँगालेका उनले विद्यालयमा पनि संगीत नै सिकाउन थाले । भन्छन्– ‘विद्यार्थीहरूलाई नृत्य र संगीत सिकाउन थाल्दाथाल्दै मैले पनि धेरै नै सिकिसकेछु ।’
त्यसपछि भने उनको लगाव विस्तारै प्रगतिशील गीत/संगीत क्षेत्रतिर बढ्यो । वान्तवा र हरि नेपालको सम्पर्कमा पुगेपछि उनलाई ती दुई राजनीतिक द्रष्टाले सांस्कृतिक रुपान्तरण गर्न सघाए । पञ्चायती शासकको सिकार बनेका वान्तवालाई उनी अहिले पनि बारम्बार सम्झिन्छन्– ‘वान्तवा आफैं पनि गीत गाउनु हुन्थ्यो ।’
त्यही समय इलाम क्याम्पसमा अध्ययनरत रहँदा उनले झलनाथ खनाललाई इलाम जेलमा भेटे । त्यसपछि त झनै ऊर्जा थपियो, उनको सांस्कृतिक यात्रामा । ती दिनहरू सम्झिँदै प्रधान भन्छन्– ‘उहाँले तपाईको स्वर र संगीत नेपाली जनताका निम्ति हुनुपर्छ भन्नुभयो र त्यसपछि हामीले आफ्नो जीवनलाई झनै प्रगतिशील सांस्कृतिक क्षेत्रमा मोड्यौं ।’ त्यतिबेला प्रधानसँगै वसन्त पराजुली, डम्बर पहाडी, चित्र सिकारुजस्ता कलाकर्मीहरू ताप्लेजुङ र इलाम भेकतिर सक्रिय थिए । पछि काठमाडौंमा अध्ययनका निम्ति आउँदा भेटिएका रामेश, मञ्जुल, पारिजात, श्याम तमोट, रायनसँगको उठबस र विचार–विमर्शले उनलाई प्रगतिशील सांस्कृतिक फाँटमा डुबेरै लाग्ने स्थिति बनिदियो ।
०३५/३६ सालको विद्यार्थी आन्दोलन र त्यस आन्दोलनको उपलब्धिस्वरुप आएको जनमत संग्रहपछि भने देशमा तत्कालीन व्यवस्थाको दमन–चक्र केही मात्रामा सुस्तायो । आन्दोलनपछि टंक कार्कीको नेतृत्वमा गठित अखिल (पाँचौं)को सांस्कृतिक फाँट हेर्ने जिम्मा उनले नै पाए । उक्त समूहमा उदय श्रेष्ठ, प्रमोद हमाल, प्रतिमा तुलाधर, निलिमा राई, कुमार कार्कीजस्ता संस्कृतिकर्मी सामेल थिए । मोदनाथ प्रश्रित जेलबाट छुटेपछि काठमाडौंमा भएका जनसांस्कृतिक परिवारहरूलाई क्रियाशील तुल्याउने क्रम सुरु भयो र त्यही क्रममा प्रश्रित, रघु पन्त र प्रदीप नेपालहरूको सक्रियतामा राष्ट्रिय जनसांस्कृतिक मञ्च गठन भयो । मञ्चको गठनसँगै त्यसमा आबद्ध प्रधानले महासचिव, उपाध्यक्ष, सल्लाहकारजस्ता जिम्मेवारी सम्हालिसकेका छन् ।
नेपालको प्रगतिशील सांस्कृतिक फाँटमा तीसको दशकदेखि नै क्रियाशील प्रधानको योगदानको कदर स्वरुप नै होला, नौ महिनाअघि उनलाई नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको परिषद्–सदस्य बनाइएको छ । कुनै बेलाका चर्चित जनताको गीत लेख्ने हामी गीतकार, धेरै टाढा छ हामी पुग्ने ठाउँ, सिउँदो सिन्दूर निधारको टीका, श्रद्धाञ्जली ती वीर सहिदहरूलाई जस्ता सशक्त गीत/संगीतका सर्जक प्रधानले संगीत–नाट्य प्रतिष्ठानमा नियुक्त भए पनि आफ्नो धारलाई भने उत्तिकै प्रभावशाली तुल्याइरहेका छन् । केही दिनअघि मात्रै भुटानमा सार्कस्तरीय लोकनृत्य महोत्सवमा नेपालको प्रतिनिधित्व गरेर पुगेका उनले अबका दिनमा भने प्रगतिशील लोकदोहोरी र राष्ट्रिय गीतहरूको एलबम निकाल्ने सोच बनाएका छन् । भन्छन्–‘अहिले त्यसकै तयारीमा जुटिरहेको छु ।’
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply