लुम्लेदेखि नेपाली कलाकर्मीहरूको सक्रियता

अरु समयमा भएको भए देशका प्रतिष्ठित कलाकर्मीहरूको दौडधुप आफ्ना फिल्मको प्रमोशन, सुटिङ वा अन्य कार्यहरूमा नै बित्दथे । तर, नेपालीजनका सामु महाविपत्तिको रूपमा उदाएको भूकम्पपछि भने देशका सबैजसो कलाकर्मी, स्रष्टाहरू अहिले महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेझै ‘आर्तहरूमा चहर्याइरहेको घाउमा’ मल्हम–पट्टि लगाउन आफूलाई अनुकूल पर्ने भूकम्पग्रस्त इलाकाहरूमा पुगिरहेका छन् र दु:ख र पीडामा जीवन गुजारिरहेका नेपालीजनहरूसामु पीडा साटासाट गरिरहेका छन् । आखिर, एउटा सर्जकले योभन्दा बढी के नै पो गर्न सक्छन् र ?
सम्वेदनाको कुनै भूगोल हुँदैन । यही यथार्थ बेलायती अभिनेत्री जोअना लुम्लेले यस पटक नेपालमा महाभूकम्प जाँदा प्रमाणित गरेर देखाइदिएकी छिन् । अरु बेला पनि नेपालीहरूप्रति सद्भाव र सहयोगी भावना राख्दै आएकी कलाकर्मी लुम्लेले नेपालीहरू महाभूकम्पको कहरमा बाँचिरहेको खबर विश्वव्यापी रूपमा फैलिएलगत्तै राहतका लागि उनी एक्लैले पहल गरिन् र सम्भवत: अहिलेसम्म अन्तर्राष्ट्रिय रूपबाट ठूलो सहयोग राशी जुटाउने श्रेय उनलाई नै जान्छ । किनकि, उनले तीन अर्ब सहयोग जुटाउने प्रतिबद्धता जाहेर गरेकी छिन् र त्यही अभियानमा उनी जुटेकी अन्तर्राष्ट्रिय मिडियाहरूले जनाइरहेको छ अहिले ।
उत्तरी गोलाद्र्धमा बसेकी लुम्लेलाई दक्षिणी गोलाद्र्धको भूभाग कम्पित भएको र त्यही कम्पनबाट हजारौं व्यक्तिहरूले जीवन गुमाउनुका साथै लाखौं बेघरबार भएकोमा सायद ‘भावनात्मक पीडा’ मात्रै रह्यो र उनले त्यही पीडा साटासाट गर्न अर्बौं सहयोगको घोषणा गरिन् । तर, यतिखेर नेपाली कलाकर्मीहरू भूकम्प–पीडितहरू बसेका ठाउँमा राहत सामग्री लिएर जाने, उद्दार कार्यमा सहभागिता जनाउने र दुखितहरूका दु:खमा सामेल हुने कार्यमा जसरी सद्भाव बाँडिरहेका छन्, यसलाई अत्यन्तै सह्राहनीय कदमको रूपमा स्वीकारिनुपर्छ र आफ्नै भूगोलका व्यक्तिहरूले प्राकृतिक प्रकोप झेलिरहेको यथार्थलाई उनीहरूले आत्मसात गरेको अर्थमा बुझ्नुपर्छ । र, नेपाली कलाकर्मीहरूप्रति एउटा गर्व गर्न लायक पक्ष के रह्यो भने, महाभूकम्पले देश तहसनहस भइरहेको बेला, सबैले सहयोगको याचना गरिरहेको बेला उनीहरू भने खास–खास मिडियालाई पूर्वजानकारी दिएर प्लेकार्ड बोकी कुनै बालुवाटारतिर दगुरेनन् र दुनियाँका सामु निच र घृणित पात्रका रूपमा आफूहरूलाई उभ्याएनन् । कलाकर्मीहरूको यो सुझबुझपूर्ण व्यवहारबाट आफूलाई अब्बल दर्जाको सर्जक भन्ठान्नेहरूले पाठ सिक्नु जरुरी छ । र, बालुवाटार घेरेर होइन, सहरमा थुप्रिएका फोहोरहरू उठाउँदा नेपालीजनको मन जित्न सकिन्छ ।
नेपाली सिने जगत्का अग्रज कलाकर्मी यादव खरेलदेखि नेपाली रजतपटमा जम्दै गरेकी प्रियंका कार्कीसम्मको पहललाई प्रशंसाको श्रेणीमा राखेर अहिले राष्ट्रले मूल्यांकन गर्नुपर्छ । देश दुखेको बेला यी कलाकर्मीहरूले आफ्नो हैसियत र सीमाअनुरूप ‘मल्हम’ लगाउने काम गरिरहेका छन् । आखिर, घाउ जसको भए पनि आर्तहरूमा त चहर्याउँछ नै । र, अहिले यो घाउ समग्र नेपाली जनताको घाउ बन्न पुगेको छ र यसमा जसले मल्हम लगाउने प्रयत्न गर्छन्, उनीहरूले नै दु:ख र पीडा झेल्न लाखौं नेपालीहरूको हृदयभित्र सदियौंसम्म बास पाउनेछन् ।
अहिले कतिपय कलाकर्मीहरू राहत सामग्री बोकेर गाँउ–बस्तीहरूमा दगुरिरहेका छन् । देशले भोगेको विषम परिस्थिति बुझेर र यस्तो बेला मौन बस्नुको कुनै अर्थ नहुने बुझेर नै कलाकर्मीहरूले भूकम्पग्रस्त विकट पहाडी इलाकाहरूमा सहयोगी मन, भावना र सामग्रीहरू बाँडिरहेका छन् । त्यस्तै, विकट इलाकाहरूमा पुग्न नसक्ने कलाकर्मीहरूले पनि राजधानीका सडक, बसोवासस्थलहरूमा थुप्रिएका फोहोरहरू संकलन गर्ने कार्यमा आफूलाई क्रियाशील तुल्याइरहेका छन् । आखिर, आफूलाई जुन थलो पायक पर्छ, त्यही थलोमा विपद्मा परेकाहरूलाई सहयोगी हातहरू फैलाउनु देशका कलाकर्मीहरूको दायित्व हो र अहिले उनीहरूले त्यही गरिरहेका छन् । कलाकर्मीहरूको यो सक्रियतालाई सबैले नमन गर्नु पर्दछ यतिबेला । आखिर, सात समुन्द्र पारीकी बेलायती अभिनेत्री जोअना लुम्लेले मानवताको उच्च प्रदर्शन देखाउन कन्जुस्याइँ गर्दिनन् भने हाम्रा नेपाली कलाकर्मीहरूले मानवताको दह्रो चिनारी देखाउन किन कन्जुस्याइँ गर्नु ?
सम्बन्धित समाचार
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
-
साल फुलेर राजमार्ग सुगन्धित
-
यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
-
बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
-
फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
-
विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
-
भड्किलोपनको सिकार
-
नेपालका प्रथम ज्ञात कवि अनुपरम
-
कसले लिने तत्परता ?
-
बिक्री नै हो उत्कृष्टताको मापन ?
-
सीमित वृत्तभन्दा बाहिर
Leave a Reply