आवेगको आड
बलिउडका स्थापित कलाकारद्वय सलमान खान र अक्षयकुमारद्वारा अभिनित फिल्महरू अबउप्रान्त नेपाली सिनेमा–घरहरूमा प्रदर्शन हुन नदिइने अफवाहले केही दिनयता नेपाली समाजलाई रिंग्याइरहेको छ । सामाजिक सञ्जालका भित्ताहरू पनि तिनै अफवाहले भरिएका छन् । यस्तो लाग्छ, अब बलिउडका ती दुई कलाकार नेपालीहरूका निम्ति सदाका लागि बहिस्कृत हुन पुगेका छन् र उनीहरूद्वारा अभिनित फिल्महरूले नेपाली बजारमा स्थान पाउनु दुर्लभ पक्ष हो ।
किन सलमान खान र अक्षय कुमार नेपालीहरूका तारो बन्न पुगे ? महाभूकम्पको पीडाले थङ्थिलो भएका नेपालीजनलाई देश/विदेशका सेलिब्रिटीहरूले सान्त्वना र सहयोगका हातहरू फैलाइरहेकै बेला एकाएक यस्तो खबर प्रवाह भयो–सलमान खानले दस करोड रुपियाँ र दुई वटा हेलिकोप्टर दिने भए र अक्षय कुमारले पनि आफूअभिनित पछिल्लो फिल्म ‘गब्बर इन ब्याक’को पहिलो दिनको कमाइ नेपालका भूकम्पपीडितहरूका नाममा खर्च गर्ने भए । तर, यी दुवै आधिकारिक समाचार नभएर कसैले फैलाइएको अफवाह मात्र रहेछ भन्ने कुराको पुष्टि त्यतिबेला भयो, जतिबेला कलाकारद्वयले त्यसको खण्डन गरे । खानले आफ्नो फन्डले भारतमा मात्र सहयोग गर्न मिल्ने तर्क गरे भने अक्षय कुमारले ‘गब्बर इन ब्याक’ को आफू लगानीकर्ता नभएको हुँदा आफूले सहयोग गर्न नसक्ने स्पष्टिकरण दिए । अफवाहको पछाडि दौडने नेपाली समाजले पनि त्यसको तत्काल प्रतिक्रिया दिए कि, नेपालीहरूको पीडामा मल्हम लगाउन नचाहने ती बलिउडका कलाकारहरूका फिल्म अबउप्रान्त नेपालभित्र प्रदर्शन हुन दिइने छैन । त्यसको ताजा असर ‘गब्बर इन ब्याक’ ले भोग्नु पनि पर्यो । महाभूकम्पपछि काठमाडौं उपत्यकाभित्रका सिनेमा–घरहरू बन्द रहेका हुँदा ‘गब्बर इन ब्याक’ चितवनका केही हलहरूमा चल्न थालेको थियो । तर, अक्षय कुमारले नेपालका भूकम्पपीडितहरूलाई सहयोग नगरेको भन्दै चितवनमा पनि उक्त फिल्म प्रदर्शन रोकियो । सलमान खान चाहिँ नेपालका भूकम्पपीडितहरूलाई कुनै सहयोग नगरेको विषयमा धेरै नै आलोचित भएपछि ‘आफूले के–कस्तो सहयोग गर्न सकिन्छ भन्नेबारे सोचिरहेको’ बताएका केही दिनपछि नै पाँच वर्षको कैदको फैसला सुन्न बाध्य भए ।
निश्चय नै, सलमान खान र अक्षय कुमार अमुक व्यक्तिहरूद्वारा चलाइएको अफवाहको सिकार भएकोमा दुई मत छैन । यसअघि पनि बलिउडका कलाकार ऋत्विक रोशन त्यस्तै अफवाहको सिकार हुन पुगेका थिए । नेपाल र नेपालीजनको हृदय र भावनामा ठेस पुर्याउने अभिव्यक्ति दिने बलिउडका कलाकारहरूप्रति तत्काल प्रतिक्रिया जनाउनुलाई राम्रै रूपमा लिनुपर्ने हुन्छ । यसले नेपालीहरू राष्ट्रियताप्रति कति सजग छन् र उनीहरूमा आफ्नो अस्तित्वमाथि कसैले औंला ठड्याउँदा कति सचेत भाव पलाउँछ भन्ने कुराको स्पष्ट झलक दिन्छ । यति हुँदाहुँदै पनि हाम्रै कवि भूपि शेरचनले लेखेका ‘यो हल्लैहल्लाको देश हो’ को मूल भावना र अर्थलाई आत्मसात गर्ने कार्यमा पनि नेपालीहरू अग्रसर नरहने होइनन् । विगततिर फर्किदा, ऋत्विक रोशन प्रकरणमा देशले धेरै ठूलो क्षति बेहोर्नुपर्यो । तर, पछि के पुष्टि भयो भने, ऋत्विकले नेपालबारे जे अनर्गल कुरा बोले भनेर प्रचारित भयो पछि त्यसको पुष्टि हुन सकेन । अन्तत: नेपालीहरू हल्लाको पछि दगुरेको मात्रै प्रमाणित भयो । अहिले सलमान खान र अक्षय कुमारको सवालमा पनि यही लागू हुन पुगेको छ । बलिउडका ती कलाकारद्वयले घोषणै नगरेको विषयले पहिलो दिन व्यापक चर्चा पाउनुका साथै उनीहरूप्रति गहिरो सद्भाव व्यक्त गरिनु र भोलिपल्टै उनीहरूले खण्डन गरेपछि उनीहरूलाई शत्रुको पंक्तिमा राखेर फिल्म चल्न नदिने घोषणा अमुक व्यक्तिहरूद्वारा चलाइनुको पछाडि केवल अफवाहको हात मात्र रहेको स्वत: पुष्टि हुन्छ ।
विदितै छ, अहिले देशका मध्य भूभागका नेपालीहरू महाभूकम्पको पीडाले आहत भएका छन् । महाभूकम्पले उब्जाएको शोक, घरबारविहीनताको स्थिति र त्रासदीपूर्ण वातावरणले अझै पनि नेपालीहरूको मन तंग्रिन सकेको छैन । सहजताका गोरेटाहरू अझै खुल्न सकेका छैनन् । महाभूकम्पले अत्याएको मध्यान्हसँगै सघन आवादी रहेको काठमाडौंलाई ‘बाइबाइ’ गरेर हिँड्नेहरू अझै फर्किसकेका छैनन् । यस्तो भयावह स्थितिमा देश/विदेशबाट सहयोगी हातहरू अगाडि बढिरहेकै बेला सलमान खान र अक्षय कुमारले आफ्नो लाचारी देखाउँदा नेपालीहरूको मन कुँडिनु स्वाभाविकै थियो र त्यसको ताजा प्रतिक्रिया आउनु अनिवार्य जस्तै थियो । तर, यी सबै अफवाहले उब्जाएको समस्या भएको हुँदा सलमान र अक्षयले सहयोग गरेनन् भनेर उनीहरूलाई गाली गर्नु र उनीहरूद्वारा अभिनित फिल्मलाई नेपालमा प्रदर्शन हुन नदिइने हल्ला चलाइनु भने त्यति बुद्धिमानी कार्य भने होइन । यदि, पहिला सहयोगको घोषणा गरेर पछि भने पन्छिएका भए उनीहरू पक्कै पनि नेपालीहरूको आलोचनाको पात्र बन्न योग्य हुने थिए तर खाँदै नखाएको विष लागेका उनीहरूलाई बहिस्कार गर्नुको कुनै तुक देखिँदैन । र, सहयोग भन्ने कुरा कसैको व्यक्तिगत भावना, चाहना र इच्छासँग जोडिएको पक्ष भएको हुँदा गर्न चाहनेहरूले हृदयको ढोका उघारेरै गर्छन् भने नगर्नेहरूलाई सरापेर पनि केही
अर्थ देखिँदैन ।
दशकअघि, ऋत्विक रोशन प्रकरणपछि उनका फिल्महरू नेपालमा प्रदर्शन हुन नदिइने कुरामा दृढसंकल्पित देखिएकाहरूले समयान्तरमा आफैले गरेका संकल्प बिर्सिन पुगेका थिए । त्यतिबेला आवेगको सहारामा ऋत्विकका फिल्महरू चल्न नदिइने कुरा उठाएर राष्ट्रवादी भावना उमडिएका थिए । तर, ऋत्विकका फिल्महरू उनका विरोधमा काठमाडौंका सडकहरूमा आगो बलेको छ महिनापछि नै प्रदर्शन हुन थाले । अहिले पनि सलमान र अक्षयका फिल्महरूमाथि जसरी अघोषित प्रतिबन्ध लगाइएको अफवाह फैलिएको छ, यसले दीर्घकालीकता पाउनेमा शंकै छ । किनकि, नेपालीहरू यथार्थलाई भन्दा अफवाह र विवेकलाई भन्दा आवेगलाई पछ्याउन माहिर भइसकेका छन् ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply