मेच्छेमा छरिएका दु:खहरू
मुक्पा गाउँ, ब्युँझिसकेको थियो झिसमिसेमै । दिनहुँ यसरी नै ब्युँझिन्छ, मुक्पा । गाउँका गोरेटाहरू मानव चहलपहलमा सामेल भइसकेका थिए । केही तल प्रवाहमय रूपमा बगिरहेको सुनकोसीको सुसाइलाई युगौंदेखि आत्मसात् गर्दै आइरहेको मुक्पा, एउटा सीमान्तकृत तामाङ बस्ती । पूर्वी भेगमा सिन्धुलीको मनोरम दुम्जा, नेपालथोक फाँटमात्र होइन, मधुरो–मधुरो रूपमा फिक्कल पनि देखिन्छ भने पूर्व–उत्तरतिर रामेछापको बेथान, भीरकोटजस्ता बस्तीहरू आँखैमा टाँसिन आइपुग्छ, यो गाउँबाट । पूर्वमा रोसी खोला र पश्चिममा सुनकोसी नदीले अँगालोमा बेरेको यो गाउँ तिमाल भेगको एउटा अन्तिम गाउँ हो, जुन काभ्रेपलाञ्चोकमा परे पनि तीन जिल्लाको साक्षी गाउँसमेत हो । गाउँ जति मनोरम छ, अब त्यही मनोरमभित्र बाँचिरहेका मानिसहरूमा सन्त्राससँगै र आगामी दिनहरू कसरी छिचोल्ने भन्ने अन्योल पनि मिसिएको छ ।
प्रवाहमय रूपले बगिरहने सुनकोसीभन्दा माथि भीर र टारहरूमा पसारिएको तामाङहरूको बाहुल्ययुक्त मुक्पालाई भुइँचालोले पूरै थिल्थिलो तुल्यायो । गाउँका धेरै घर भत्किए भने अरू घरहरू पनि चर्किएको हुँदा मानिसहरू जस्तापाताले बेहोरेका अस्थायी टहरा र पालहरूमुनि रात कटाउन बाध्य छन् । गाउँलेहरूमा त्रासको स्केल यति बढेको छ कि, भूइँचालोले चिरा परेका जमिनहरू वर्षात्का दिनहरूमा भास्सिएर पहिरोको रूप लिने हो कि र युगौंदेखिका गाउँबस्तीहरू सुनकोसीमा मिसिने हुन् कि ? भन्ने सन्त्रास गाउँका हरेक अनुहारमा व्याप्त छ । यति हुँदाहुँदै पनि, गाउँलेहरूले आफ्नो दैनिक क्रियाशीलतालाई स्थगित गरेका छैनन् । चलायमान छन्, जिन्दगी गुजार्ने आफ्नै शैलीहरूमा निर्लिप्त छन् ।
भूकम्पले अधकल्चो तुल्याएको मेच्छे गाउँबासीबीच शुक्रबार अपराह्न केही समय साक्षात्कार हुँदा के महसुस भयो भने, गाउँमा सरकारको उपस्थिति अहिलेसम्म भएको रहेनछ । वल्र्ड विथआउट सफरिङ अर्गनाइजेसनले पहिलो चरणमा राहत वितरण र त्यसपछि भत्किएका स्कुल र अतिविपन्न परिवारका घर निर्माण गर्ने उद्देश्यसहित मेच्छेमा पाइला टेकेको थियो । संस्थाका फाउन्डर सान्ड्रिना ली, प्रमुख संरक्षक सोभियत ढकाल, संस्थाका नेपाल संयोजक सत्यमान लामा, पत्रकार मित्र सुमन ढुंगाना, भुवन सापकोटासहित ताइवानबाट आएका टेलिभिजन–पत्रकारसहितको टोलीसँगै मेच्छेमा पुग्दा गाउँकै सत्तरी वर्षीय पञ्चमान तामाङले आफ्नो दु:खको पोका यसरी फुकाए– ‘मेरो घर पूरै भत्किएको छ । घर भत्किएपछि अन्नपात पनि पुरिए । तर, पुरिएका केही अन्नपात झिक्न सके पनि त्यसलाई राख्ने ठाउँ छैन । र, छिडीमा नै अन्नपात राखेका छौं । तर, पानी पर्यो भने सबै कुहिन्छन् ।’ उनले अहिलेसम्म दुइटा पाल मात्र पाएका रहेछन्, त्यसमा एघार जनाको परिवार मुस्किलले अटाएका रहेछन् ।
मुक्पाको एउटा बस्ती त पूरै तहसनहस थियो । खरले छाएका घरहरू जमिनमा मिलेका थिए । कतिपयले भने भत्किएका घरलाई नै टालेर त्यहीमाथि जस्तापाता हाली अस्थायी रूपमा बसोवास गरिरहेका थिए । वर्षाद्मा त्यस्ता घरहरूमा बस्न झनै जोखिमपूर्ण हुने भए पनि उनीहरूलाई बाध्यताको पहिरोले थिचेको थियो । पालमुनि जिन्दगी गुजार्न अभ्यस्त नभएका मानिसहरू थोत्रा जस्ताहरू बटुलेर अस्थायी घर बनाउन व्यस्त देखिन्थे । ती मानिसहरूका अनुहारमा यस्तो भाव उदाइरहेको महसुस हुन्थ्यो– अबका दिनहरू कसरी व्यतीत गर्ने हो ?
मेच्छे, काभ्ेरपलाञ्चोक जिल्लाको आखिरी गाउँ । अहिले मेच्छेको डाँडैसम्म यातायातको पहुँच पुगेको छ । बनेपाबाट दुई वटा बस चल्छ, दिनहुँ । भकुन्डेबेसीबाट बीपी राजमार्ग छाडेर उत्तरतिर लागेपछि मेथिनकोट, कानपुर, पोखरी नारायणस्थान र चापाखोरीजस्ता चार वटा गाविस छिचोलेपछि मेच्छेको टुप्पैमा पुगिने रहेछ । तिमाल भेगमा यी गाउँबस्तीहरूमा केही शताब्दी पहिले भने तामाङहरूकै राज्य थियो । अन्तिम तामाङ राजालाई पृथ्वीनारायण शाहका भारदारहरूले सम्झौता गर्न बोलाएर षड्यन्त्रपूर्ण तरिकाले सुनकोसी नदीको किनारमा काटेपछि तिमाल क्षेत्र पनि पृथ्वीनारायण शाहको कब्जामा आएको कथा अहिले पनि तिमाल भेगका मानिसहरू बताउँछन् । तामाङहरूको बाहुल्य भए पनि तिमाल भेगमा सबै जाति, जनजातिहरू छरिएर बसेका छन् । र, उनीहरूमा आपसी सहयोग, सद्भाव र जातीय सहिष्णुता कायम छ ।
सुख्खा बस्तीको रूपमा परिचित तिमाल क्षेत्रमा टेक्दा भर्खर हुर्किदै गरेका मकैका बोटहरू घामले डढ्न लागिरहेका थिए । ओइलाएका मकैका बोटहरू बौरिन मनसुन नै आउनुपर्ने हो कि जस्तो लाग्थ्यो । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा खेप्न बाध्य तिमाल भेगका जनतामा आफूले धेरै मिहिनेत गरेर रोपेका मकै सुख्खाले खाएर भोकै बस्नुपर्ने हो कि भन्ने त्रास पलाइरहेको थियो । तर, सुखद् कुरा, शुक्रबार राति लगातार बर्सिएको पानीले भोलिपल्ट मकैका बोटहरू पूरै बौरिएका थिए । एकजना ग्रामीण मानिसले हामीतिर संकेत गर्दै भने– ‘यो पानी पनि तपाईहरूले लिएर आउनुभएको रहेछ कि क्या हो ? तपाईहरू आएपछि पानी पनि आयो ।’
भूकम्पपछि भूकम्प–साहित्य लेखिने क्रम निकै नै बढेको छ । कसैले अनुभूति, कसैले आख्यान र कसैले साहित्यका अरु विधाहरूमा समेत भूकम्पलाई उतारेका छन् । धेरैजसोले त आफूले भोगेका पक्षहरूलाई मात्रै उतार्न रुचि देखाएका छन् । तर, मेच्छे गाउँका बासिन्दाहरूले भूकम्पपछि भोग्नुपरेका दु:ख, कष्ट र आगामी दिनहरू कसरी व्यतित गर्ने भन्ने त्रास जसरी मौलाइरहेको छ, सिर्जनाको संसारमा रमाउनेहरूले पनि ग्रामीण भेगका भूकम्पले अति नै मनमस्तिष्क खल्बल्याएका, अन्योल र सन्त्रासमा बाँचिरहेका र कष्ट उठाउन बाध्य जनताका पीडालाई नजिकैबाट नियालेर लेखे त्यस्ता सिर्जनाहरूले नेपालका भूकम्पपीडित जनताको वास्तविक पीडा र यथार्थ उजागर हुनेमा दुई मत रहँदैन ।
सम्बन्धित समाचार
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
-
साल फुलेर राजमार्ग सुगन्धित
-
यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
-
बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
-
फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
-
विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
-
भड्किलोपनको सिकार
-
नेपालका प्रथम ज्ञात कवि अनुपरम
-
कसले लिने तत्परता ?
-
बिक्री नै हो उत्कृष्टताको मापन ?
-
सीमित वृत्तभन्दा बाहिर
Leave a Reply