प्रज्ञा–प्रतिष्ठान परम्परागत रूपमै चल्ने हो….
० तपाईं नेपाल प्रज्ञा–प्रतिष्ठानको परिषद् सदस्यमा नियुक्त भएपछि महत्त्वपूर्ण मानिने काव्य–विभाग हेर्दै आउनुभएको छ । के–के महत्त्वपूर्ण काम गर्नुभयो ?
निसन्देह, काव्य विभाग प्रज्ञा–प्रतिष्ठानको एक महत्त्वपूर्ण विभाग हो । म काव्य–विभाग प्रमुख भएपछि केही महत्त्वपूर्ण कार्यहरू भएका छन् । यस अवधिमा कवितासम्बन्धी केही महत्त्वपूर्ण विमर्शहरू सम्पन्न गरिएका छन् । यस्ता विमर्शहरू मूलत: समकालीन नेपाली कविताका विविध पक्षहरूसँग सम्बन्धित छन् । ‘समकालीन नेपाली कविताका स्वरहरू’, ‘समकालीन नेपाली कवितामा सांस्कृतिक चेतना’, ‘गणतन्त्र स्थापनापछिको नेपाली कविता’, ‘नेपाली कवितामा राष्ट्रिय स्वाधीनता चेत’, ‘समसामयिक सन्दर्भमा महाकवि लक्ष्मीप्रसाद देवकोटा’ जस्ता विषयहरूमा गम्भीर एवम् सार्थक बहसहरू सम्पन्न भएका छन् । यस्तो बहस काठमाडौंमा मात्र नभएर बाहिर पनि चलाइएको छ । ‘गणतन्त्र स्थापनापछिको नेपाली कविता’का विषयमा भैरहवामा कार्यक्रम राखिएको थियो । काव्य–विमर्शमा प्रस्तुत सामग्रीलाई प्रज्ञा–प्रतिष्ठानले ‘काव्य विमर्श’ का नाममा प्रकाशनमा ल्यँउँदै छ । यसका अतिरिक्त विभिन्न कविगोष्ठीहरू पनि भएका छन् ।
० तपाई प्रगतिशील कवि हुनुहुन्छ । प्रज्ञा–प्रतिष्ठानको इतिहासमा सम्भवत: पहिलो पटक एक प्रगतिशील कविलाई काव्य–विभाग सम्हाल्ने अवसर प्राप्त भएको छ । प्रगतिशील कविताको विकास र उत्थानमा उक्त विभागलाई कसरी चलायमान बनाउने सोच छ ?
प्रज्ञा–प्रतिष्ठानको इतिहासमा काव्य–विभाग सम्हाल्ने म नै पहिलो प्रगतिशील व्यक्ति हुँ । काव्य–विभागबाट मात्र होइन सिंगो प्रज्ञा–प्रतिष्ठानबाटै विगतदेखि के हुँदै आएको छ, मैले भनिराख्नु पर्दैन । प्रज्ञा–प्रतिष्ठानमा प्रगतिशीलहरूको प्रतिनिधित्व हुन थालेको धेरै भएको छैन । ०६२–६३ को आन्दोलनपछि गठन भएको प्रज्ञा–प्रतिष्ठानभन्दा अघिल्लो प्रज्ञा–प्रतिष्ठानदेखि प्रगतिशील साहित्यकारहरूको प्रतिनिधित्व हुन सुरु गरेको हो । काव्यविभागको प्रमुखका रूपमा प्रगतिशील कविताको विकासका निम्ति मेरो भूमिका अवश्य रहनेछ । त्यसको आरम्भ पनि भइसकेको छ । प्रज्ञा–प्रतिष्ठानका आफ्ना सीमाहरू पनि छन् । हामीले यस सीमालाई ख्याल गरेर कार्य गर्नु पर्दछ । हामीले चाहे जसरी वर्तमान प्रज्ञा–प्रतिष्ठानबाट प्रगतिशील साहित्यका क्षेत्रमा कार्य गर्न सकिने सम्भावना म देख्दिनँ ।
० हरेक वर्ष राष्ट्रिय कविता महोत्सव हुँदै आएको छ । तर, प्रगतिशील मूल्य, मान्यता र तत्त्वले भरिएका कविताहरू अझै पनि प्रतिष्ठानको नजरमा पच्दैन भनिन्छ । के त्यस्तो भएकै/हुँदै आएको हो ?
यसभन्दा अघि के हुन्थ्यो, के भयो, त्यो मेरो जानकारीमा त्यति छैन । म आइसकेपछि प्रगतिशील मूल्य, मान्यता र तत्त्वहरूले भरिएका कविताहरूलाई पनि राष्ट्रिय कविता महोत्सवमा समावेश गरिएको छ । यस्ता रचनाहरू प्रज्ञा–प्रतिष्ठानलाई पच्दैन भन्ने कुरा सत्य होइन । प्रज्ञा–प्रतिष्ठानसँग जोडिने, यसबाट प्रकाशित हुने साहित्यिक एवम् अनुसन्धात्मक पत्रिकाहरूमा रचना उपलब्ध गराउने, प्रतिष्ठानबाट प्रस्तावित परियोजनाहरूमा कार्य गर्न सक्रियता देखाउने कुरामा स्वंयम् प्रगतिशील स्रष्टाहरू पनि सचेत हुन जरुरी छ । अर्थात् प्रतिष्ठान प्रगतिशील साहित्यको उन्नयन गर्ने कुरामा अधिकतम् रूपमा लागिपर्नु पर्दछ । स्वयम् प्रगतिशील स्रष्टाहरू यसप्रति जागरुक हुनुपर्छ ।
० तपाईले काव्य–विभाग सम्हाल्नु भएपछि पनि कविता महोत्सव उही पुरानै ढर्रामा नै भयो । यसमा कुनै नवीनता ल्याउने सोच राख्नुभएको छैन ?
पुरानै ढर्राको काव्य महोत्सवलाई बदल्ने प्रयास भएको छ । यसै प्रयासका कारण राष्ट्रिय कविता महोत्सवको अघिल्लो दिन महत्त्वपूर्ण विषयमा काव्य विमर्शको थालनी गरिएको छ । शब्द संख्या तोकेर राष्ट्रिय कविता महोत्सवका निम्ति कविता आह्वान गर्ने परिपाटीको पनि अन्त्य गरिएको छ । महोत्सवमा अप्रतियोगी कविहरूको रचना वाचनका निम्ति राजधानी बाहिरबाट पनि कविहरूलाई आमन्त्रित गर्ने सोच बनाएका छौं । कविता महोत्सवलाई पुरानो ढर्राबाट मुक्त गर्न अरु केके गर्न सकिन्छ, प्रतिष्ठान स्रष्टाहरूबाट सुझावको अपेक्षा गर्दछ । हामीले रचनात्मक सुझावहरूलाई गम्भीरतापूर्वक लिनेछौं ।
० तपाईको नयाँ कविताकृति ‘शब्दहरूको बीचमा’मा हालै बजारमा आएको छ । अर्को कुनै नयाँ कृतिको तयारीमा लाग्नुभएको छ ?
मेरा अरू दुइटा कृतिहरू केही महिनाभित्र प्रकाशित हुँदैछन् । दुवै समालोचनाका कृतिहरू हुन् । ‘भूमण्डलीकरण र साहित्य’ सैद्धान्तिक विषयहरूसँग सम्बन्धित कृति हो । भृकुटी एकेडेमिक पब्लिकेसनले यसलाई प्रकाशित गर्दैछ । ‘समकालीन नेपाली कविताको वैचारिक परिप्रेक्ष्य’ अर्को कृति हो । यसलाई साझा प्रकाशनले प्रकाशित गर्दैछ । यसका अतिरिक्त निबन्ध र कवितासँग सम्बन्धित अरू दुईवटा कृतिहरूमा काम गरिरहेको छु ।
० तपाईले कविता लेखनका साथै कवितामाथि नै समालोचना गर्दै आउनुभएको छ । अन्तर्राष्ट्रिय पटलमा नेपाली कविताको स्थिति कस्तो पाउनु हुन्छ ?
नेपाली कवितालाई अन्तर्राष्ट्रिय सन्दर्भमा हेर्दा मैले असन्तोष गर्नुपर्ने त्यस्तो केही देख्दिन । अन्तर्राष्ट्रिय स्तरका नेपाली कविता प्रशस्त लेखिएका छन् । कैयौं समकालीन कविका रचनाहरूमा हामी यो स्तर पाउछौं । म अन्तर्राष्ट्रिय क्षेत्रमा कस्ता कविताहरू लेखिँदै छन् भन्ने कुरासँग राम्रोसँग परिचित छु । यो मेरो आफ्नो अध्ययनको निष्कर्ष हो । यस विषयमा सविस्तार तुलनात्मक अध्ययन नै गर्न सकिन्छ । हाम्रो समस्या मूलत: अनुवादको हो । नेपाली कविताको अंग्रेजीलगायत संसारका अन्य भाषाहरूमा अनुवाद नै भएको छैन भन्दा हुन्छ । निकै कम अनुवाद भएका कारण मैले यसो भनेको हँु । हामी बाहिरको साहित्यबारे जति जानकार छांै, मलाई लाग्छ बाहिरका मानिसहरूलाई नेपाली साहित्यबारे त्यसको एक प्रतिशत जानकारी पनि छैन ।
० तपाई प्रगतिशील लेखक संघको अध्यक्ष पनि हुनुहुन्छ । प्राज्ञ भएपछि लेखक संघको काम ओझेलमा परेको ठान्नुहुन्न ?
लेखक सङ्घको काम सङ्घको अध्यक्ष प्राज्ञ भएपछि केही ओझेलमा परेको हो कि जस्तो लाग्न सक्छ । तर, अहिले त्यस्तो भएको छ जस्तो लाग्दैन । अरु नै कारणले गर्दा केही महिना यता गतिविधि अलि सुस्त भएका हुन् । यसका गतिविधिहरू पुन: सुरू हुँदै छन् । तर एउटा कुरा सत्य हो दुवै ठाउँमा कार्यकारी भूमिकामा बस्दा त्यसले कुनै न कुनै रूपमा दुवैतिरको कामलाई प्रभावित गर्दछ । दुवै संस्थाका प्रकृति पनि फरक छन् , यसले पनि बेलाबखत अप्ठयारो सृजना गर्न सक्दछ । प्रलेसको अध्यक्षका रूपमा मेरो पदावधि केही महिना मात्र बाँकी रहेकाले मैले पद छोड्न आवश्यक नदेखेको हँु । अन्यथा अध्यक्ष पद छोड्न नै उचित हुन्थ्यो । सरकारी निकायमा गइसकेपछि आलोचनात्मक एवम् वैचारिक भूमिका निर्वाह गर्नुपर्ने संस्थाको मुख्य पदमा बस्न उपयुक्त हुन्छ जस्तो पनि लाग्दैन ।
० अहिले प्रतिष्ठानको नेतृत्व गर्ने अवसर प्रगतिशील स्रष्टाहरूले पाएका छन् । यस्तो स्थितिमा अधिकांश प्रगतिशील स्रष्टाहरूले धेरै नै अपेक्षा राखेका छन् । स्रष्टाहरूको अपेक्षाअनुरूप अहिले कामहरू गरिरहेको ठान्नु हुन्छ ?
प्रतिष्ठानको नेतृत्व प्रगतिशील स्रष्टाहरूले गर्दै छन् । यस्तो अवस्थामा प्रगतिशील स्रष्टाहरूले बढी अपेक्षा राख्नु स्वाभाविक छ । प्रगतिशील स्रष्टाहरूको नेतृत्व भएको यस घडीमा यस विषयप्रति अधिकतम कार्य कसरी गर्ने भन्ने विषयमा हामीसँग सुस्पष्ट दृष्टिकोण र कार्ययोजना हुनुपर्दछ । परम्परागत रूपमै चल्ने हो भने त्यसले हामी र हाम्रो आन्दोलनलाई फाइदा पुर्याउने छैन । व्यक्तिका आकांक्षा त पूरा होलान् तर त्यसबाट आन्दोलनका आकांक्षालाई ठोस सहयोग पुग्ने छैन । अहिले पनि प्रतिष्ठान परम्परित नै छ भन्नेहरूको सङ्ख्या धेरै छ र यसलाई आलोचना मात्र भनेर पन्छाउन पनि सकिन्न । हामी प्रतिष्ठानमा ऐतिहासिक परिवर्तनका कारण पुगेका छौं भन्ने यथार्थलाई हामीले बिर्सन हुन्न । हाम्रो व्यक्तित्वको निर्माणमा प्रगतिशील साहित्यिक आन्दोलनको निकै ठूलो योगदान छ भन्ने कुरालाई पनि हामीले बिर्सन मिल्दैन ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply