बजरंगी भाइजान मात्र मसालेदार
भारत र पाकिस्तानबीच विभाजनको रेखा कोरिएको लामो समय गुज्रिसकेको छ । लामो समय शासन गरेको अंग्रेजले भारतमा आफ्नो शासकीय वर्चस्व अन्त्य भएसँगै हिन्दू र मुस्लिमबीचको तिक्ततालाई भजाएर पाकिस्तान निर्माणमा मलजल पुर्याएका थिए । भारतबाट छुट्टिएर पाकिस्तान निर्माण भएपछि ती दुई देशबीच पलाएको कटुता, तिक्तता र असमझदारीको बिउ अझै मासिएको छैन, त्यसले विशाल आकारसहित आफ्नो भूमिमा टाढा–टाढासम्म जह्राहरू फैलाइरहेका छन् ।
भारत र पाकिस्तानबीचको कटुतापूर्ण सम्बन्धलाई लिएर ती दुवै देशका चलचित्रकर्मीहरूले धेरै चलचित्र निर्माण गरेका छन् । पहिला–पहिला निर्माण हुने चलचित्रहरूले विभाजनले निम्त्याएको त्रासदलाई मुख्य विषय बनाउँथे । खासगरी, १०५० को दशकको पृष्ठभूमिमा निर्मित चलचित्रहरू र महात्मा गान्धी र मोहम्मद अलि जिन्नाको जीवन–कथामा उभिएका चलचित्रहरूमा विभाजनको त्रासदीलाई ती दुवै देशका चलचित्रकर्मीहरूले आ–आफ्नो राजनीतिक दृष्टिकोण र स्वार्थ अनुरूप पस्किँदै आइरहेका छन् । तर, पछिल्ला समयावधिमा निर्माण भएका चलचित्रहरूमा भने ती दुई देशबीच उत्पन्न तनावमा सामान्य जनहरूले भोग्नुपरेका पीडा, झेल्नुपरेका हैरानी र त्रासदपूर्ण वातावरणलाई मुख्य विषयका रुपमा चयन गर्ने गरेका छन् । तथापि, त्यस्ता चलचित्रहरूले जीवनको यथार्थलाई समाते पनि आ–आफ्नो राजनीतिक दृष्टिकोण भने अनावश्यक र जबरजस्ती रूपमा लाद्न छाड्दैनन् र अधिकांश चलचित्रहरूले विरोधी देशको कमजोरी केलाउने ध्येय नै सँगालेका हुन्छन् । त्यही दिशा र विषयवस्तुमा केन्द्रित चलचित्र बन्न पुगेको छ–‘बजरंगी भाइजान’ ।
बलिउडमा निर्माण भएका, खासगरी भारत र पाकिस्तानबीचको समस्यालाई लिएर निर्माण गरिएका धेरैजसो चलचित्रहरूले व्यावसायिक रूपमा सफलता बटुल्ने गरेका छन् । चाहे समृद्ध कथावस्तुमा उभिएका चलचित्र होस् वा कमजोर कथा–शिल्पमा आधारित चलचित्र नै किन नहोस्, तर भारत र पाकिस्तानबीच देखिएका अनगिन्ती समस्यामध्ये कुनै एउटा समस्यालाई लिएर चलचित्र निर्माण गरे पनि त्यसले व्यावसायिक रूपमा छलाङ मार्छ नै । यही यथार्थलाई राम्रोसँगले आत्मसात गरेका सलमान खानले ‘बजरंगी भाइजान’ मार्फत पाकिस्तानको शासक र प्रहरी प्रशासनमा व्याप्त अमानवीय चरित्र र क्रियाकलापलाई उदांगो पार्ने प्रयत्न गरिएको छ ।
मूलत: ‘बजरंगी भाइजान’ ले हिन्दू र मुस्लिम धर्मावलम्बीबीच व्याप्त विभेद र उत्पन्न तनावलाई केन्द्रमा राखेर भारत र पाकिस्तानबीच देखिएको सीमा विवादलगायत समस्यालाई उठाउन चाहेको छ । तर, त्यसको लागि हतियार बनाइएको छ, मानवीय संवेदनालाई । पाकिस्तान नियन्त्रित कस्मिरको ग्रामीण इलाकामा बस्ने एउटा मुस्लिम परिवारका बालिका मुन्नी भिरालो ठाउँबाट लडेपछि बोल्न सक्दिनन् । अरूले बोलेका कुरा बुझे पनि ती बालिका संकेतको भरमा मात्रै आफ्ना हाउभाउ प्रदर्शन गर्छिन् । ती बालिकाका आमाले पारिवारिक असहमतिबीच पनि छोरीको उपचारार्थ दिल्ली जाने टुंगो गर्छिन् । दिल्ली जाने क्रममा रेलमा छुट्न पुगेकी ती बालिकालाई बजरंगी नृत्य गर्ने पवनकुमार चक्रवर्ती (सलमान खान)ले भेट्छ र केही समय उनले नै आश्रय दिन्छन् । तर, ती बालिका मुस्लिम र अझ त्यसमा पाकिस्तानी भएको थाहा हुन्छ, त्यसपछि एउटा कट्टर हिन्दू परिवारलाई अरू के मसला चाहियो र ? तिनै बालिकाका कारण उक्त हिन्दू परिवारभित्र तनावको स्थिति उत्पन्न भएपछि बजरंगी अर्थात् सलमान खानले बिना राहदानी नै ती बालिकालाई पाकिस्तान लगेर उनका आफन्तलाई जिम्मा लगाइदिने संकल्पबोध गर्छ । पाकिस्तानका सेना, प्रहरी, प्रशासनले अनेक अवरोध सिर्जना गरे पनि, कठोर यातना दिए पनि एउटा व्यावसायिक चलचित्रले अपनाउने ढाँचाअनुरूप बजरंगी भाइजानले ती बालिकालाई अनेक नाटकीय चरणहरू पार गर्दै आफन्तको जिम्मा लगाएरै छाड्छ ।
‘बजरंगी भाइजान’ हिन्दू–मुस्लिमबीचको तिक्ततापूर्ण सम्बन्ध, भारत–पाकिस्तानबीचको तनाव र क्रिकेटका नाममा ती दुई देशबीच हुने मनोवैज्ञानिक प्रतिस्पर्धा आदि विषय वरिपरि नै घुमेको छ । तर, यति हुँदाहुँदै पनि उक्त चलचित्रले हिन्दू धर्म र त्यसका अनुयायीहरुलाई सर्वोच्च देखाउन भने चुकेको छैन । एउटा दृश्यमा, हिन्दू धर्मावलम्बीहरूमा व्याप्त धार्मिक संकीर्णता देखाउन चाहेको छ । यो सन्तुलन मिलाउनका लागि मात्रै राखिएको दृश्य हो भन्ने कुरा सहजै बुझ्न सकिन्छ । अझ क्रिकेटमा पाकिस्तानले जित्दा भारतीय परिवार निराश भइरहेको बेला ती बालिकाले खुसियाली मनाउने र टेलिभिजनको पर्दामा फहराइरहेको पाकिस्तानको झन्डालाई चुम्दा उनी आफूलाई आश्रय दिइरहेको हिन्दू परिवारको आँखामा बिझेको कसिंगर बन्न पुग्छिन् । यो दृश्यले भारत–पाकबीचको कटुताको रेखांकन कति मोटो रहेछ भन्ने पुुष्टि गर्दछ ।
जब, बजरंगी भाइजानले सुरुङ मार्ग प्रयोग गरेर पाकिस्तानको भूमिमा टेक्छ, उनलाई पाकिस्तानी सेनाले केरकार गर्छ । त्यतिबेला उनले आफ्नो वास्तविक परिचय लुकाउन चाहँदैनन् । उनी भन्छन्–‘बजरंगीले कहिल्यै झूटो बोल्दैन ।’ उनले बजरंगीले झूटो नबोल्ने कुरा उप्काउनुको अर्थ मुस्लिमहरू झूटो बोल्नमा माहिर हुन्छन् भन्ने सन्देशलाई अप्रत्यक्ष रूपमा प्रवाहित गर्न खोजेको सहजै बुझ्ने कुरा हो । त्यस्तै, हिन्दूले आँटे भने जस्तोसुकै कठिनाइ झेलेर पनि आफ्नो कार्य सम्पन्न गरिछाड्छ भन्ने सन्देश पनि दिइएको छ । आफूले संकल्प गरेबमोजिम हराएकी बालिकालाई आफन्तको जिम्मा लगाउनुले त्यही पक्षको बोध गराउँछ ।
मानवीय संवेदना, चलचित्रको बिक्ने विषय हो । यो फिल्म पनि मानवीय संवेदनालाई केन्द्रमा राखेर निर्माण गरिएको छ । मानवीयताका हिसाबले भारत र पाकिस्तान दुवै देशका आम नागरिक एउटै ड्याङमा उभिए पनि शासकहरूको रबैयाले मानवीयताको घाँटी थिचिन पुगेको संकेत दिनेतिर फिल्म केन्द्रित छ । मानवीयताका हिसाबले दुवै देशका नागरिक एकै छन् भनेर फिल्मलाई सन्तुलित बनाउन खोजिए पनि बढी मात्रामा भारतीयहरू मानवीय हुन्छन् भन्ने देखाउन चाहेको नै प्रतीत हुन्छ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply