एउटा फरक आवाज
सडक रित्तो छ । त्यही रित्तो सडकमा पाइला चाल्दाचाल्दै एउटा पुल आउँछ । लामो कपाल पालेका एकजना अधबैंसे भने विरक्तलाग्दो मुन्द्रामा सडकमा रन्थनिँदै, भौंतारिँदै र अनियन्त्रित तरिकाले हिँडिरहेका छन् । यस्तो अनुभूत हुन्छ, ती अधबैंसे गन्तव्यविहीन छन् । उनलाई आफ्नो अनियन्त्रित हिँडाइ, शारीरिक रूप र चालढालप्रति रत्तिभर बेवास्ता छैन । त्यही पुलमाथि एकोहोरो हिँडिरहेका बेला उनको मन उमडिएर आउँछ । आँखाबाट चस्मा फुकाल्छन् र छुट्नै लागेको भक्कानोलाई अनायासै रोकेर आँखाबाट तप्किरहेका आँशु पुछ्न थाल्छन्…।
यो दृश्यांश, नेपाली समाजभित्र कुनै पारिवारिक संकट बेहोरेर बाँचिरहेका निम्न वर्गीय धरातलमा उभिएका कुनै मानिसको होइन । न त ती मानिसले घर–परिवार उजाडिएर नै आफ्ना दु:खका तरेलीहरू फिँजाएका हुन् † उनभित्र मौजुद पीडा, व्यथा र आक्रोश देशलाई कंगाल तुल्याउनेहरूप्रति पोखिएका हुन् । र, देशलाई कंगाल बनाउनेहरूप्रति लक्षित गर्दै आफूले स्वर अर्पेका एउटा गीतको दृश्यांकनको विवरण हो । र, उनी हुन्– जे. पापी । अर्थात् झन्डाशेखर दाहाल । सीमित गीत/संगीतमा विद्रोही चेतले भरिपूर्ण स्वर भरेका पापीले प्राय: राजनीतिक विसंगतिबोधलाई नै आफ्नो सिर्जनाको प्रथम आधार बनाउँदै आएका छन् । तसर्थ, उनलाई दीककालविहीन स्रष्टाका रूपमा नहेरेर आफू बाँचिरहेको समय र परिवेशमा व्याप्त शोक, रोग र भोकलाई सम्बोधन गर्ने स्रष्टाको रूपमा हेरिनु न्यायोचित हुनेछ ।
देशप्रति घात गर्नेहरू सदैव उनका ‘तारो’ बन्दै आएका छन् । त्यो ‘तारो’ यति लक्ष्यभेदी छ कि, त्यसले नाभीस्थलमै सिधै प्रहार गर्छ । कतिपयलाई उनका शब्दहरू सुपाच्य नलाग्न सक्छ । किनकि, कुनै विम्ब वा प्रतीकको सहारा लिएर उनले देशप्रति गद्दार गर्नेहरूलाई लल्कारेका छैनन् । उनी जे भन्छन्, सिधै र प्रहारात्मक तरिकाले भन्छन् । कसैलाई पनि घुमाएर हान्दैनन्, सिधै प्रहार गर्छन् । उनको पछिल्लो गीतले त्यही दिशा देखाउँछ–
‘सेता–सेता कपडामा काला–काला मान्छे
जनताद्वारा जनताले जनतालाई भन्थे
कंगाल भए जनता नाङ्गो पारेर
यो देशको काट्टो खानेहरूले…
शरणार्थीजस्तो जीवन आफ्नै देशभित्र
डर लाग्छ देख्दा संगी, साथी, मित्र
डर लाग्छ आफ्नो दैलोभित्र छिर्न
भीडको भारी बोक्नेहरू यी गर्भका भ्रुण…’
अहिले संविधान निर्माण हुने क्रममा छ । यद्यपि, सीमांकनपछि देशका केही भू–भागमा आगो सल्किन भने रोकिएको छैन । र, संविधान नेपाली जनताको संघारमै आइपुगेको छ । तर, पहिलो संविधानसभा विघटन भएपश्चात् जनतामा नेताहरूप्रति जुन वितृष्णाबोध उत्पन्न भएको थियो, संविधान बनाउने संकल्प गर्नेहरूले आफूप्रति गद्दार गरेको अनुभूत जनताले अन्तरआत्माबाटै गरेका थिए, त्यही बेला जनतामा पलाएको क्षुब्धता, वितृष्णा र गहिरो आक्रोशलाई उनले समाते र संविधान नबनाउनेहरूलाई सरापे–‘यो देशको काट्टो खानेहरूले…।’
‘देशको काट्टो खानेहरूलाई’ लल्कार्नुअघि उनले राष्ट्रिय भाव, सामाजिक चेतना र नेपालीहरूको गौरव–गाथालाई शिरमा राखेर थुप्रै गीतमा स्वर अर्पिसकेका थिए । पचासको दशकको सुरुआततिरै नेपालीहरूमा राष्ट्रप्रेमको भावना निकै बाक्लो रुपमा सल्बलाएको थियो । खासगरी, वामपन्थी राजनीतिमा सक्रिय हुनेहरूमा देशको सीमाना छिमेकीहरूले मिचेकामा आक्रोशको तह चुलिँदै गइरहेको थियो र त्यसको प्रतिक्रियात्मक व्यवहार ठाउँ–ठाउँमा देखिनसमेत थालेको थियो । देशको सीमानामा छिमेकीहरूले रजाइँ गरिरहेको बेला, त्यसको राजनीतिक तहमा त विरोध भएको थियो नै, तर त्यही यथार्थलाई शब्द, संगीत र स्वरको त्रिवेणीमा भने घोलिएको थिएन । त्यही बेला आँट गरे, जे.पापीले । उनलाई दुई सारथीले सघाए–विधान श्रेष्ठ र रीता उपाध्यायले । तीन जनाले निकै जमेर गाए–
‘माछी मार्न जाउँ न दाजै कालापानीमा
छेकी बाढी दुवाली नालापानीमा…।’
धेरै चर्चित भयो, यो गीत । चर्चा–परिचर्चासँगै छिमेकीबाट प्रतिबन्ध लगाउनुपर्ने आवाज पनि मुखरित भएको थियो, भनिन्छ । आफ्नो देश र मिचिएको सीमाप्रति सजग नेपालीहरूलाई उच्च तहमा जागृत गर्ने यो गीतले कालापानीमा अखडा जमाएर बसेका छिमेकीलाई सिधै गतिलो जवाफ दिएको थियो । पापी भन्छन्– ‘यो गीतमा राष्ट्रियता र जागृतिपन सबैको सम्मिश्रण रहेको छ ।’ उनी किन यस्तै–यस्तै गीतहरू गाउँछन् त ? भने–‘म देश र समाजको परिस्थितिलाई मध्यनजर गरेर गीतहरू गाउने गर्छु । गाउन त मैले अरू साधारण गीतहरू पनि गाएको छु । तर, मेरो रुचि भने यस्तै जागृतिमूलक गीतहरूमा नै रहँदै आयो ।’ देशको काट्टो खानेहरूलाई लक्षित गीत गाउनुको सन्दर्भ उप्काउँदै उनले थपे– ‘मैले उक्त गीतलाई पनि देशभक्ति र जागृतिले भरिएको गीत मानेको छु । खासमा, जनताको आक्रोश समेटिएको गीत हो यो । मैले हाम्रो बिग्रँदो राजनीतिक, सामाजिक प्रणालीप्रति इंगित गर्न खोजेको हुँ ।’
प्रदेश निर्माणपछि अहिले मधेसका केही नेताहरूले आँखा लगाएको भित्री मधेस सिन्धुली र त्यसमा पनि प्राकृतिक स्रोतले भरिपूर्ण मरिन खोलाको डाँडीगुराँसेमा ५२ वर्षअघि जन्मिएका पापीलाई अझै पनि जनचेतनामूलक गीत गाउने रहर उत्तिकै रहेको छ । सिन्धुलीबाट हरिवन बसाइँ सरे पनि अहिले भने काठमाडौंमा बसिरहेका पापीले गीत/संगीतसँग नाता जोडेका चाहिँ पचासको दशकदेखि नै हो । ०५१ सालमा रेकर्ड भएको ‘सुत सुत निदा, काठमाण्डू सहर…’ नै पहिलो रेकर्डेड गीत हो । तर, गाउँघर छँदा पनि उनमा गीत/संगीतप्रतिको लगाव र मोह भने थियो नै । गायन–यात्राको दुई दशक छिचोलिसक्दा उनले ५० भन्दा बढी गीत गाएका छैनन् । किन यति थोरै त ? भन्छन्– ‘मलाई आफूलाई चित्त बुझेको गीत मात्रै गाउने बानी परेको हुँदा थोरै भएका हुन् । कतिपय गीत चाहिँ संगीत मन नपरेर पनि गाइनँ मैले ।’
त्यसो त, पृथक् गायकको परिचय नै बन्यो उनको । प्राय: चेतनामूलक, विद्रोहले भरिपूर्ण र आंशिक आक्रोश जनाउने शब्दहरूमा नै उनले स्वर पोख्न चाहे । किन पृथक् गीत त ? पापीको स्पष्ट जवाफ छ– ‘धूलो माटोसँग बढी आत्मीयता साट्ने भएको हुँदा मेरा गीतहरू अरूका भन्दा फरक छन् ।’
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply