साझा प्रकाशन पुरानै ढर्राबाट चल्दैन अब
साझा प्रकाशनको सुदिन फर्किने भएको छ । नेपाली प्रकाशन जगत्का एक अग्रणी संस्था, धरोहरका रूपमा स्थापित साझा प्रकाशन विस्मृतिको गर्तमा पुरिने हो कि भन्ने आशंका केही समयपूर्वसम्म व्याप्त थियो । आन्तरिक झमेला चुलिँदै गएपछि थला पर्न थालेको साझाले वर्षौदेखि पाउँदै आएको व्यापार खोसिएपछि त स्थिति झनै नाजुक बनेको थियो । तर, साझा अब भने पूर्ववत् स्थितिमा नै फर्किने आधारहरू देखिएका छन् र लामो र गौरवमय इतिहास बोकेको साझा प्रकाशनले आफ्नो व्यापारका साथै नेपाली वाङ्मय क्षेत्रमा पुर्याउँदै आइरहेको योगदानले निरन्तरता पाउने अपेक्षा बढेको छ ।
कुनै पनि संस्थालाई दीर्घायू होस् भनेर कामना गरेर मात्र पुग्दैन । त्यसलाई दीर्घायू बनाउने हो भने त्यहीअनुरूप व्यवस्थित र कुशतलापूर्वक सञ्चालन गर्नुपर्ने आवश्यकताबोध पनि त्यत्तिकै रहन्छ । तर, सरकारले दिएको व्यापारमा टिक्दै आएको साझा प्रकाशनको दिनगन्ती ०६३ सालदेखि नै हुन थालेको थियो । जनक शिक्षा सामग्री केन्द्रले उत्पादन गर्ने पाठ्यपुस्तकहरूको देशव्यापी रूपमा वितरण गरेर त्यसबाट प्राप्त कमिसनको आधारमा आफ्नो आर्थिक धरातल बलियो बनाउँदै आएको साझाले सरकारी टुंगोसँगै ओरालो लाग्ने स्थिति बन्यो । पाठ्यपुस्तक वितरणमा निजी क्षेत्रको प्रवेशसँगै साझाले वर्षौैदेखि पाउँदै आइरहेको काम आंशिक रूपमा खोसिन पुगेको थियो नै, ०७० र ७१ मा त साझाको सबै व्यापार खोसियो र पाठ्यपुस्तक वितरणको जिम्मा जनक शिक्षाले नै लियो । साझाका सयौं कर्मचारीलाई धान्दै आएको मुख्य व्यापारमै अंकुश लागेपछि वर्षौदेखि अँध्यारो गोदाममा थन्किएका साहित्यिक पुस्तकहरू मात्र बेचेर साझाले आफूलाई धान्ने कुरा त कल्पनाभन्दा बाहिरको विषय थियो । र, विस्तारै ओरालोतिर उन्मुख रहेको साझाले अन्तत: फेदिमै पुगेर विसर्जन हुनुपर्ने स्थिति जन्मियो ।
अब भने साझालाई जोगाएर नेपाली वाङ्मयको श्रीवृद्धि र उत्थानमा पुन: क्रियाशील तुल्याउने हेतुले साझाका नयाँ सारथीहरूले कदम चालेका छन् र सरकारले पनि साझालाई ब्युँताउने आधारहरू दिलाएका छन् । पाठ्यपुस्तक वितरणमा विगतमा निजी क्षेत्रको प्रवेश भएपछि र पछिल्लो दुई वर्ष त व्यापार–शून्यको स्थितिबाट गुज्रिएपछि साझाले घुँडा टेक्नुबाहेक अर्को विकल्प पनि थिएन । विघटनको संघारमै पुगिसकेको थियो, साझा । तर, पछिल्ला समय भने राजनीतिक तहको विमर्श र गरिएको पहलपछि भने साझाले पुरानै दिनहरू देख्न पाउने अवस्था सिर्जना हुन पुगेको छ ।
त्यसो त, साझाले दुर्दिन भोग्नुमा धेरै कारणहरू जोडिएका छन् । विगतमा कर्मचारी र व्यवस्थापन पक्षबीच निरन्तर तन्किएको द्वन्द्वले पनि साझालाई धराशायी बनाउने बाटाहरू देखाइदियो । साझालाई आर्थिक रूपमा टिकाउने मुख्य माध्यमको रूपमा रहेको पाठ्यपुस्तक छपाइ र वितरण गर्ने बेला साझा ठूलो विवादको भुमरीमा फस्यो । व्यवस्थापनको हठ र कर्मचारीहरूको चर्किंदो आन्दोलनले कामहरू ठप्प हुन थालेपछि जनक शिक्षाले पनि के महसुस गर्यो भने, एउटा किचलोयुक्त संस्थालाई व्यापार सुम्पिँदा त्यसले अपेक्षित प्रतिफल दिन सक्दैन, घाटा र आलोचनाको पात्र मात्र बन्न पुगिन्छ । सम्भवत: त्यही कारण देशव्यापी रूपमा आफ्नो सञ्जाल नहुँदानहुँदै पनि पछिल्ला दुई वर्षको वितरणको जिम्मा समेत जनक शिक्षा आफैले लियो ।
यद्यपि, अहिले साझा प्रकाशन पुन: ब्युँतिने सम्भावना बढेको छ । तर, अब पनि साझाले आफ्ना पुराना विकृति, विसंगतिहरूलाई नै दोहोर्याउने हो, पुरानै ढर्रा र ढाँचाअनुरूप चलाउने हो र पुराना मानसिकताबाट नहट्ने हो भने अहिले कृपाले बाँचेको साझाले पुन: दुर्दिनहरू नभोग्नु पर्ला भन्न सकिँदैन । त्यसका लागि, प्रथमत: अब साझालाई हाँक्नेहरू व्यवस्थापकीय कौशलताले निपूर्ण भएको त हुनुपर्छ नै, राजनीतिक हस्तक्षेपबाट पृथक् राख्न पनि उत्तिकै आवश्यक छ । तत्काललाई राजनीतिक हस्तक्षेपबाट साझाले मुक्ति पाउने कुरा त्यति सम्भव देखिँदैन । तर, विस्तारै साझालाई एउटा आत्मनिर्भर प्रकाशनगृहको रूपमा विकास गर्ने हो भने राजनीतिक हस्तक्षेपलाई निरुत्साहित तुल्याउनु अत्यन्तै आवश्यक देखिन्छ । व्यवस्थापन क्षमता नभएका व्यक्तिलाई मन्त्रीले नियुक्त गर्ने र त्यही कारण अग्रगति लिन नसक्ने स्थिति विगतदेखि नै रहँदै आएको हुँदा, यस्तो परिपाटीको अन्त्य नै साझाको भलोको निम्ति उपयुक्त हुन्छ ।
अर्कोतिर, साझाले हजारौं किताबहरू प्रकाशनमा ल्याएको छ । त्यसले नेपाली वाङ्मयको विकासमा अमूल्य सहयोग गरेको पनि छ । अग्रजदेखि नयाँ पुस्तासम्मका लेखकलाई उठाउन साझाले अहम् भूमिका खेलेको छ । तर, साझाबाट जति पुस्तकहरु निस्किन्छन्, त्यसलाई साझाले आफ्नो आउटलेटहरूमा पठाउने पनि गरेको छ । पुस्तक छाप्ने, त्यसलाई आफ्ना बिक्री–कक्षहरूमा पठाउने र बिक्री कक्षहरूमा भएको बिक्रीबाटै सन्तुष्ट मान्ने साझाको यो शैली अबको समयमा काम लाग्दैन । अहिले निजी क्षेत्रमा नयाँ–नयाँ प्रकाशनगृहहरू खुलिसकेका छन् । निजी प्रकाशनगृहहरूले कुनै पनि पुस्तकको ‘पब्लिसिटी’ यति भव्य र सानदार ढंगले गर्दछ कि, गुदी नै नभएका पुस्तकहरूलाई पनि बोक्रा देखाएकै भरमा रातारात बिकाउने कला निजी क्षेत्रका प्रकाशकहरूमा पारंगत भइसकेका छन् । तर, साझाबाट निस्किएका पुस्तकहरू भने उसको बिक्री–कक्षमा पुगेपछि मात्रै प्रकाशन भएको जानकारी हुन्छ । अर्थात्, साझासँग आफ्ना पुस्तकहरूको प्रचार–प्रसार गर्ने, त्यसलाई आम पाठकको बीचमा पुर्याउने शैली उही तीसको दशकमा जे–जस्तो थियो, अहिले पनि त्यही छ । प्रतिस्पर्धात्मक बजारमा आफ्नो भूमिका पनि बदलिनुपर्छ भन्ने मान्यताबाट साझा अझै उत्प्रेरित भएको पाइँदैन । अब पुरानो शैली र ढर्रा बदल्नुपर्छ, साझाले ।
अहिले राजनीतिक तहबाटै, बेहोसजस्तै अवस्थामा पुगेको साझालाई पानी छम्केर बौराउने प्रयत्न भएको छ । के अपेक्षा राख्न सकिन्छ भने, बौरिएको साझाले अब गति पनि समात्ने छ । तर, त्यसका निम्ति पुराना मान्यताहरू त्यागेर बदलिँदो परिस्थिति र समयअनुरूप पनि साझाले पाइला चाल्नु उत्तिकै आवश्यक छ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply