एउटा पुस्तकालयको कथा
कुनै सन्देह छैन, नेपाल आयल निगम एउटा व्यापार गर्ने संस्था हो । वर्षौंदेखि पेट्रोलियम पदार्थ र ग्यासको व्यापार गरेर अर्बौंको कारोबार गर्दै आइरहेको छ, निगमले । प्राय: व्यापार गर्ने कुनै पनि संस्थाको विषयमा कस्तो दृष्टिकोण निर्माण हुन्छ भने त्यस्तो संस्थाहरूले व्यापारभन्दा अरू विषयमा ध्यान र रुचि पोख्दैन । त्यस्ता संस्थाहरूको सम्पूर्ण ध्याउन्न नै कसरी हुन्छ, व्यापार विस्तार र प्रवद्र्धन गर्नुमा नै केन्द्रित रहन्छ । नेपाल आयल निगमप्रति पनि यस्तो धारणा निर्माण हुनु स्वाभाविकै हो ।
तर, निगमको केन्द्रीय कार्यालयभित्र अवस्थित भव्य र व्यवस्थित पुस्तकालयमा एकाध घन्टा बिताउने हो भने जो कोहीलाई पनि यस्तो महसुस हुन्छ, कुनै तेल वा ग्यास बेचेर नाफा कमाउने संस्थाभित्र आफू बसिरहेको छैन, कुनै शैक्षिक वा बौद्धिक क्रियाकलाप गर्ने थलोभित्र बसिरहेको छु । अठार वर्षअघि स्थापित निगमको केन्द्रीय पुस्तकालयलाई सफलतापूर्वक सञ्चालन र व्यवस्थापन गर्दै आइरहेका पुस्तकालय–प्रमुख देवी न्यौपाने भन्छन्– ‘निश्चय नै, निगम एउटा ट्रेड गर्ने संस्था हो । यो संस्थामा काम गर्नेहरूले कसरी हुन्छ दुई चार पैसा कमाउन सकिन्छ भन्ने सोचाइ राखेका हुन्छन् । त्यसमा एउटा पंक्ति राम्रै काम गरेर पैसा कमाउन चाहन्छन् र अर्को पंक्ति जसरी भए पनि पैसा कमाउन चाहन्छन् ।’ नेपालको कर्मचारी वृत्तमा व्याप्त प्रवृत्तिजन्य पक्षहरूतिर इंगित गर्दै न्यौपानेले थपे– ‘कुनै पनि कार्यालयभित्र राम्रो संस्कृतिको विकास गरौं भन्ने सोच राख्ने व्यक्तिहरू हुन्छन्, तर हामीकहाँ त्यस्ता व्यक्तिहरू प्राय: अल्पमतमा पर्ने गर्दछन् । तसर्थ, यो पुस्तकालय भने देश–विदेशबारे बुझौं, आफ्नो विद्धता बढाऊ र सिर्जना गरौं भन्ने सोच राख्ने कर्मचारीहरूको उपजस्वरूप जन्मिएको हो ।’
सुरुमा त निगमको व्यापार प्रवद्र्धनमा सघाउ पुग्ने आवश्यक पुस्तकहरूलाई मात्र पुस्तकालयमा स्थान दिने सोच उमारिएको थियो । तर, एउटा पुस्तकालय निर्माणका निम्ति सीमित विधाका पुस्तकहरू मात्र पर्याप्त ठहरिँदैनन् । यही पक्षलाई महसुस गरेर पछिल्लो समयमा भने प्राय: सबै विधाका पुस्तकहरू राख्न थालिएको छ । न्यौपाने भन्छन्– ‘हामीले विविध विधाका पुस्तकहरू राखेका छौं । धर्म, कला, साहित्य, संस्कृति, इतिहास, राजनीति, दर्शन, भूगोल, कानुन सबै विधाका पुस्तकहरू छन् ।’
कार्ल माक्र्सको पुँजी होस् वा माओका रेडबुकहरू, वा खप्तड बाबाको धर्म र दर्शनसम्बन्धी पुस्तकहरु वा ग्रीष्मबहादुर देवकोटाको नेपालको राजनीतिक दर्पण, प्राय: पुस्तक प्रेमीहरूले खोजिरहेका सबैजसो पुस्तक उक्त पुस्तकालयमा राखिएका छन् । वल्र्ड बुकका सबै खण्ड, हु इज हु, सीतायन महाकाव्य, विभिन्न व्यक्तिका स्मृतिग्रन्थहरू, इन्साइक्लोपेडियाका सबै ग्रन्थहरू, ब्रिटिस गोर्खा, नेपाली लेखक कोष, प्राचीन नेपालको इतिहास, पञ्चायत रजत जयन्तीसम्बन्धी पुस्तकहरू, मदन भण्डारी, बीपी कोइराला र निर्मल लामालगायत राजनेताहरूद्वारा लेखिएका र उनीहरूबारे लेखिएका पुस्तकहरू सबै नै छन्, उक्त पुस्तकालयमा । दरबारदेखि झुपडीसम्मका राजनीतिक चिन्तन र परिवेशमा लेखिएका प्राय: सबै पुस्तक एउटै थलोमा खोज्नुपरे निगमको पुस्तकालय जाँदा फरक पर्दैन । त्यसो त, निगमको प्रथम महाप्रबन्धक सुवर्णविक्रम थापाको स्मृतिग्रन्थ पनि उक्त पुस्तकालयको शोभा बढाउन राखिएको छ । न्यौपाने भन्छन्– ‘उक्त ग्रन्थ तयारी गर्दा म ३१ दिनसम्म खटेको थिएँ ।’
दशकभन्दा बढी अवधिका राष्ट्रिय स्तरका दैनिक, साप्ताहिक, पाक्षिक, मासिक पत्रपत्रिकाहरू सुरक्षित रूपमा राखिएको उक्त पुस्तकालयमा अहिले विभिन्न विधाका १ हजारजति पुस्तक रहेका छन् । तर, ०५४ सालमा स्थापना हुँदा भने सीमित पुस्तकहरू मात्र थिए । र, एउटा सानो कोठाबाट यात्रा थालनी गरिएको थियो । अहिले भने एउटा ठूलै हलमा पुस्तकालयलाई व्यवस्थित रूपले सञ्चालन गरिएको छ । न्यौपाने भन्छन्–‘त्यतिबेला निगमको स्टोरमा भनसुन र सोर्सफोर्स लगाएर किनाइएका केही पुस्तकहरू थिए । हामीले स्टोरमा थन्किएका तिनै पुस्तकहरूलाई संकलन गरी पुस्तकालय सुरु गर्यौं ।’ पहिला, भनसुनमा पुस्तक किनाइने प्रवृत्ति रहे पनि अहिले भने कुनै पनि प्रकाशन संस्था वा लेखकको २ प्रति पुस्तक सहजतापूर्वक नै किनिदिने प्रावधान बसालिएको छ । न्यौपाने भन्छन्– ‘बजारमा निस्किएका स्तरीय पुस्तकहरू हामीले खरिद गर्ने गरेका छौं । राम्रा, नाम चलेका र पुरस्कृत पुस्तकहरू हामी आफैंले किनेर राख्ने गरेका छौं, त्यस्ता पुस्तकहरू छुटाइएको छैन ।’
सबैजसो पुस्तकालयले भोग्ने साझा समस्याबाट उक्त पुस्तकालय पनि पीडित छ । पुस्तक लगेर फिर्ता नगर्ने प्रवृत्ति उक्त पुस्तकालयमा पनि व्याप्त छ । केही दिनपूर्व त, एक जना सभासद्ले अर्को व्यक्तिमार्फत् पुस्तकालय–प्रमुख न्यौपानेलाई खबर नै पठाएका थिए– ‘मैले एउटा किताब ल्याएको थिएँ, अहिलेसम्म फिर्ता गरेको छैन । बिना किताब अब त त्यो पुस्तकालयमा छिर्न नै अप्ठेरो लाग्छ ।’ न्यौपाने भन्छन् पनि– ‘सुरुका दिनहरूमा त हामीले पुस्तक पढ्छु भन्ने जोकोहीलाई पुस्तक दिने गरेका थियौं । तर, हाम्रो यो विशाल भावनालाई पुस्तक लैजानेहरूले आत्मसात् गर्न सकेनन् । तसर्थ अहिले भने सबैका निम्ति सहज छैन । निगमका कर्मचारीहरूलाई मात्र पुस्तक दिने गरेका छौं । बाहिरका मानिसलाई पुस्तक दिँदा भने उसको कुनै परिचय पत्र राखेर मात्र दिने गरेका छौं ।’ त्यसो त, निरन्तर ताकेता गरे पनि अझै सय थान महत्त्वपूर्ण पुस्तकहरू भने फिर्ता हुन बाँकी नै छ । न्यौपाने भन्छन्– ‘हामीले अहिलेसम्म धेरै नै फिर्ता गरिसक्यौं । बाँकी रहेका किताबहरू पनि फिर्ता गराउन ताकेता गरिरहेका छौं ।’
पुस्तकालय सञ्चालन र व्यवस्थापनका निम्ति निगमले वार्षिक रूपमा ३ देखि ५ लाख रुपियाँसम्म बजेट छुट्याउँदै आएको छ । त्यो बजेट पुस्तक, पत्रपत्रिकाहरू खरिद गर्न र व्यवस्थापन गर्नमा खर्च हुँदै आइरहेको छ । त्यसो त, उक्त पुस्तकालयमा धेरैजसो नेता, पत्रकार, बौद्धिक तप्काका व्यक्तिहरूले समेत पाइला टेकिसकेका छन् । न्यौपाने भन्छन्– ‘निगममा आउने व्यक्तिहरू एक पटक पुस्तकालयमा छिर्न चाहन्छन् ।’
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply