रचनात्मक आक्रोश
यतिबेला नेपाली जनता खुसी र पीडाको दोसाँधमा उभिएका छन् । लामो समयको प्रतीक्षा र संघर्षपछि जनताले नयाँ संविधान पाएका छन् । प्रगतिशील, उन्नत र बदलिँदो विश्व परिस्थितिलाई आत्मसात् गर्ने एक थान संविधान पाएको खुसियालीमा नेपाली जनतामा उमंग छचल्किनु र उत्साहजन्य अनुभूति कोरलिनु स्वाभाविकै हो । किनकि, सात दशकदेखि ओथारो बसेको नेपाली जनताको सपना बल्ल अहिले आएर कोरलिएका छन् ।
तर, जनताको घर दैलोमा भित्रिएको खुसियालीसँगै छेउकै आँगनीमा भने नाकाबन्दीरूपी पीडा ठिंग उभिन पुगेको छ । संविधान आएपछि छिमेकीको भावनामा ठेस पुगेको अनुभूत नेपाली जनताले नगरे पनि छिमेकीले भने तीव्र असन्तोष जनाउने कार्य मात्र गरेनन्, नेपाली जनताको दैनिक क्रियाकलापलाई अपाहिज तुल्याउने गरी नाकाबन्दीको कहर झेल्न बाध्य तुल्याउने कार्यसमेत भयो । अहिले पूर्व, पश्चिम, हिमाल, तराई र पहाड जताततै नाकाबन्दीको असर स्पष्ट रूपमा देखिएका छन् । र, तराईमा सल्किएको आगोतिर इंगित गर्दै छिमेकी देशले नाकाबन्दी गरेर एउटा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुकलाई झुकाउने प्रयत्न यथावत राखेको छ ।
यस्तो बेला, दु:ख, पीडा झेल्न बाध्य नेपाली जनतामा भारतविरोधी भावना उत्पन्न हुनु कुनै अनौठो पक्ष होइन । जनतामा स्वभावत: आक्रोश पैदा भएको छ र दिनदिनै भारतविरोधी भावनाले प्रवलता प्राप्त गर्दै गइरहेको छ । भारतले नेपाली जनतालाई जति दु:ख, पीडा र कहरमा राख्न चाहन्छ, त्यति नै भारतीय शासक वर्गप्रतिको क्षोभ र आक्रोशको ग्राफ बढ्दै जाने निश्चितप्राय: नै देखिन्छ ।
नयाँ संविधानप्रति बेखुसी प्रकट गर्दै आएको भारतले अन्तत: आफूलाई नाकाबन्दी गर्ने तहसम्मै ओरालेपछि यतिबेला अन्य तप्का र समुदायसँगै स्रष्टाहरूमा पनि तीव्र आक्रोश र घृणा उमडिएको छ, भारतीय रबैयाप्रति । खासगरी, प्रगतिशील चेत र चिन्तनको संघारमा उभिएका स्रष्टाहरूले त सडकमा ओर्लिएर भारतीय रबैयालाई सिर्जनाको माध्यमद्वारा दुत्कार्ने काम प्रारम्भ गरिसकेका छन् । अरू स्रष्टाहरू पनि सल्बलाउँदैछन् विस्तारै । एउटा देशको सार्वभौमसत्तामाथि नै दख्खल पुर्याउने भारतीय चाहना र योजनालाई दुत्कार्दै पछिल्लो समय नाकाबन्दी लगाएर काठमाडौंको नेतृत्व वर्गलाई झुकाएर आफ्नो अभीष्ट पूरा गर्ने भारतीय लक्ष्यप्रति स्रष्टाहरूले धावा बोल्न थालिरहेका छन् । अहिले मूलत: विगतदेखि नै भारतीय हस्तक्षेप र रबैयाविरुद्ध कलम चलाउँदै आएका स्रष्टाहरूले सडकमा ओर्लिएर भारतलाई आफ्नो घृणित नाटकको पटाक्षेप गर्न दबाब दिइरहेका छन् ।
स्रष्टाहरूले सडकमा ओर्लिन तारतम्य मिलाइरहेकै बेला हिन्दी चलचित्र र टेलिभिजन च्यानलहरूको प्रदर्शन–प्रसारणमा तगारो हाल्ने जुन तत्परता देखियो, त्यो अति नै सराहनीय विषय हो । नेपालीलाई तेल, ग्यास, खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरू रोक्नेका तमासारूपी चलचित्र र टेलिभिजन च्यानलहरू हेर्नुको कुनै तुक देखिँदैनथ्यो । चलचित्र र टेलिशृंखलाहरूका माध्यमद्वारा वर्षौंदेखि नेपालको सांस्कृतिक धरातलमा आफ्नो पैर दह्रो ढंगले टेक्दै आएको भारतले आफ्नो सांस्कृतिक हस्तक्षेपलाई विस्तार गर्नुबाहेक अरू केही काम
गरेको देखिँदैन ।
अहिले हिन्दी चलचित्र र टेलिभिजन च्यानलहरूमाथि लगाइएको प्रतिबन्ध दीर्घकालसम्म तन्किएला वा नतन्किएला, यो शंकाकै वृत्तमा उभिएको छ । यतिबेला भारतले नेपालमाथि लगाएको नाकाबन्दीको विरोधमा भावावेशमा आएर चलचित्र र च्यानलहरूमाथि प्रतिबन्ध लगाइएको स्वत: बुझिन्छ । तर, भोलिका दिनमा भारतसँगको सम्बन्ध सौहार्द हुनेबित्तिकै प्रतिबन्धित चलचित्र र टेलिभिजन च्यानलहरूको प्रसारण कार्य सुचारु हुने सम्भावनालाई नकार्न सकिँदैन । तर, यति हुँदाहुँदै पनि अहिले हिन्दी चलचित्र र च्यानलहरूमाथि लगाइएको प्रतिबन्ध आगामी दिनमा खुलाउने क्रममा धेरै नै सोचविचार गरेर मात्र खुलाउनु उपयुक्त हुने देखिन्छ ।
नेपालमा राम्रै संख्यामा फिल्महरू निर्माण भइरहेका छन् । तर, अधिकांश फिल्म लगानी उठाउन नसकेर डुब्ने तहसम्मै पुग्ने गरेका छन् । एकाध फिल्मले बजार त पिटेका छन् नै, तर ९५ प्रतिशत फिल्मको स्थिति अत्यन्तै नाजुक छ । तर, नेपाली फिल्महरूले घाटाको तस्बिरमात्रै हेर्नु परे पनि नेपाली हलहरूमै प्रदर्शन हुने भारतीय फिल्मले भने राम्रै व्यापार गरेर पैसा ओसारिरहेको स्थिति छ । नेपालमा हिन्दी फिल्मले बाजी मार्ने र नेपाली फिल्म दर्शक नपाएर प्याकप्याक्ती पर्नुको एउटै कारण हो– ठूला र साना माछाबीचको प्रतिस्पर्धा । निश्चय नै, कुनै पनि पोखरीमा ठूला र साना माछाबीच प्रतिस्पर्धा गर्न लगाइयो भने साना माछाको स्थिति नाजुक नै हुने हो । अहिले नेपाली हलहरूमा यस्तै स्थिति छ र करोडौं लगानीमा बनेका हिन्दी फिल्महरू केही लाखमा निर्मित नेपाली चलचित्रहरूले अशोभनीय प्रतिस्पर्धा गर्नु परिरहेको छ । तर, अब हिन्दी चलचित्रहरूलाई नेपाली हलमा प्रदर्शनको अनुमति दिनुपूर्व यति कडाइ गरिनुपर्छ, यस्तो नियम ल्याइनुपर्छ, जसले नेपाली फिल्महरूको विकास र प्रवद्र्धनमा कतैबाट पनि
ठेस नलागोस् ।
अझ, हिन्दी च्यानलहरूले त घरको कोठा र चोटासम्मै प्रवेश गरेर आफ्नो सांस्कृतिक हैकम र दादागिरी देखाइरहेको छ । यस्तो सांस्कृतिक हैकम लाद्ने काम बालबालिकाहरूबाटै सुरु हुन्छ । प्राय: बालबालिकाहरूले हेर्ने कार्टुन नै हो । ती कार्टुनहरूले बालबालिकालाई मनोरञ्जन दिलाउने क्रमसँगै आफ्नै सामाजिक, सांस्कृतिक रूप र रंगहरूलाई पस्किरहेका छन् र त्यसले बालबालिकामा नेपाली संस्कृतिभन्दा पनि हिन्दुस्तानी संस्कृतिका पक्षहरूलाई ग्रहण गर्न बाध्य पारिरहेको छ ।
भारतीय टेलिभिजन च्यानलहरूबाट प्रसारण हुने टेलिशृंखलाहरू त झनै सांस्कृतिक हस्तक्षेप फैलाउन उद्यत छ । नेपाल र भारतका केही सांस्कृतिक पक्षहरूमा समानता रहेजस्तो देखिए पनि सूक्ष्म रूपमा अध्ययन गर्ने हो भने धेरै नै अन्तर देखा पर्दछ । तर, ती टेलिशृंखलाहरूमा उठान गरिने विषयवस्तुमा आफ्नै पीडा, भावना र उमंगहरू मिसिएको भ्रममा नेपाली नारीहरूले त्यसलाई प्राथमिकताको पहिलो पंक्तिमा राख्दै आएका छन् । के हुन्थ्यो त्यस्तो ? भारतीय समाज र परिवारतन्त्रभित्र देखिएको विग्रह, हतासा, षड्यन्त्र, छलकपट र रमाइलो पक्षलाई आफ्नै पारिवारिक जीवन र परिवेशसँग दाँज्ने प्रवृत्ति नेपाली नारीहरूलाई हिन्दी टेलिशृंखलाहरूले दिएको गतिलो उपहार बन्न पुगेको छ ।
तसर्थ, अहिले भारतप्रति नेपाली स्रष्टा, कलाकर्मी र सांस्कृतिक अभियन्ताहरूमा तीव्र रोष, क्षोभ र सिर्जनात्मक आक्रोश व्याप्त छ नै । तर, अहिले उत्पन्न आक्रोशलाई नेपालीहरूले रचनात्मक रूपमा प्रदर्शन गर्नु पनि उत्तिकै जरुरत देखिन्छ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply