पदयात्राको उत्थानमा सदैव क्रियाशील
विगतमा एक दशकसम्म जनयुद्ध चम्किएको बेला राज्यका हरेक अवयवहरू प्रभावित हुँदा पर्यटन क्षेत्रले पनि नराम्रो असर बेहोर्नुपर्यो । युद्धको अन्त्यसँगै जारी शान्ति प्रक्रियाका अवधिमा पर्यटन क्षेत्रले क्रमश: फड्को मार्ने स्थितिको विकास हुँदै थियो र नेपाल भित्रिने पर्यटकहरूको संख्यामा उल्लेख्य रूपमा वृद्धिसमेत हुँदै गइरहेको थियो । तर, २०७२ सालको प्रारम्भमै आएको शक्तिशाली भूकम्पले पर्यटन क्षेत्रलाई पूरै धराशायी तुल्यायो । भूकम्पको खत बस्न बस्न लागेकै थियो, भारतले लगाएको अघोषित नाकाबन्दीले पुन: पर्यटन क्षेत्रलाई प्रभावित तुल्यायो । त्यसमा, नेपाली पर्यटन व्यवसायको एउटा दह्रो हाँगाका रूपमा रहेको पदयात्रा व्यवसायलाई पनि यिनै घटनाक्रमहरूले प्रभावित नतुल्याउने प्रश्नै रहेन ।
ट्ेरकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) को अध्यक्षमा केही दिनपूर्व मात्र निर्वाचित चन्द्रप्रसाद रिजाल राजनीतिक अस्थिरता, भूकम्पजस्ता प्राकृतिक विपत्ति र नाकाबन्दीलगायत पक्षले नेपाली पर्यटन क्षेत्रलाई दीर्घकालसम्मै असर पुर्याउनेमा अहिले चिन्तित छन् । पछिल्लो समय भारतले नेपालमाथि लगाएको नाकाबन्दीले पर्यटन क्षेत्रलाई पुर्याएको असर कस्तो छ त ? अध्यक्ष रिजाल भन्छन्, ‘अहिलेको समयमा विद्युत्, इन्धनजस्ता वस्तुहरू भएनन् भने एक ठाउँबाट अर्को ठाउँमा सहज रूपमा आवातजावत गर्न र विभिन्न किसिमका सुविधाहरू लिन असम्भव देखिन्छ । हाम्रा आफ्नै उत्पादनहरू पनि खासै केही छैनन् । यस्तो स्थितिमा पर्यटकहरू हामीकहाँ घुम्न आउँदा एउटा समयतालिका बनाएर आउँछन् । तर, इन्धनको अभाव हुँदा पर्यटकहरू गन्तव्यमा पुगेर निर्धारित समयमा आफ्नो देशमा फर्किने अवस्था रहँदैन । साथै, ऊर्जा र इन्धनको अभाव भयो भने खानपिनमा पनि असर पुग्छ । तसर्थ, अहिले नेपाल र भारतबीच उत्पन्न कटुतापूर्ण सम्बन्ध र भारतीय पक्षबाट लगाइएको नाकाबन्दीले ट्ेरकिङ, ट्राभल्स, होटल व्यवसाय लगायत सिंगो पर्यटन क्षेत्रलाई प्रभावित तुल्याएको छ ।’
हुन पनि नाकाबन्दीले यति धेरै असर पुर्याएको छ कि त्यसको लेखाजोखा गर्नै मुस्किल छ । रिजाल भन्छन्, ‘अहिले कुनै होटलमा जाँदा आफूले चाहेजस्तो मेनु पाइन छाडेको छ । विद्युत् आपूर्ति पनि कटौती हुने र डिजेल पनि नपाइने भएको हुँदा होटल व्यवसाय पूरै सुक्न थालेको छ । त्यस्तै, पर्यटकहरू छोटो समयमा धेरै ठाउँ घुम्न चाहन्छन् । तर, इन्धनको अभाव भएपछि पर्याप्त रूपमा यातायात सञ्चालन हुने र निर्धारित समयमै आफूले चाहेको ठाउँमा पुग्न सकिने स्थिति छैन । ट्राभल व्यवसायमा पनि नाकाबन्दीले ठूलो क्षति पुर्याएको छ । नेपालको ट्ेरकिङ व्यवसाय प्राय: पहाडी इलाकाहरूमा नै छन् । तर, रातिको समयमा ती इलाकाहरूमा स्टोभमा खाना पकाउनुपर्ने हुन्छ, तर मट्टीतेल नभएको हुँदा ट्ेरकिङ व्यवसायमा पनि समस्या उत्पन्न भएको छ ।’ अहिले उत्पन्न समस्यालाई न्यूनीकरण गर्न नेपालले एउटा मुलुकसित मात्र पराश्रित नभएर अन्य मुलुकहरूसँग सम्बन्ध विस्तार गरेर आफ्ना आवश्यकताहरू परिपूर्ति गर्नुबाहेक अरू विकल्प नरहेको पनि रिजालको कथन छ ।
राजनीतिक खिचातानी र प्रकृतिजन्य कारणले यतिबेला नेपालको पर्यटन व्यवसाय सुस्ताएको छ । पर्यटन क्षेत्रमा चारैतिर चुनौतीका पर्वतहरू ठडिइरहेकै बेला टानको अध्यक्षमा निर्वाचित रिजालसामु थुप्रै कार्यभार रहेका छन् । कुनैबेला सीमित व्यक्तिहरूको पहलमा जन्मिएको टानमा अहिले १८ सय व्यवसायी आबद्ध छन् र यो संस्थाले नेपालको पर्यटन व्यवसायमा अग्रपंक्तिमै रहेर योगदान पुर्याइरहेको छ । तर, व्यवसायीहरूले उठाएका मुद्दालाई समयमै सम्बोधन गर्न नसकेका कारण टानले जुन गति लिनुपर्ने थियो र जुन उचाइ कायम गर्नुपर्ने थियो, त्यस्तो हुन नसकेको रिजाल स्विकार्छन् र भन्छन्–‘घर बलियो भएन भने घरमा बस्नेहरूले केही काम गर्न सक्दैनन् । तसर्थ, पहिला हामी घरलाई नै बलियो बनाउनेतिर लाग्नेछौं ।’
टानको निर्वाचनमा दुई समूह मैदानमा थिए र त्यसमा रिजालको समूहले बाजी मार्यो । तर, दुई समूहमा विभक्त भए पनि दुवै समूहका मुद्दाहरू सबै पदयात्रा व्यवसायीको साझा मुद्दा भएको हुँदा त्यसलाई स्थापित गराउनेतिर आफू लाग्ने उनी बताउँछन् । भन्छन्, ‘भूकम्पका कारण पर्यटन क्षेत्रलाई असर पुर्याएको त छ नै । केही समयपूर्व सगरमाथा क्षेत्रमा गएको हिउँपहिरो, हुदहुदजस्ता आँधीले गर्दा पदयात्रा व्यवसाय कमजोर भएको छ । र, अहिले नेपाल–भारत बिचको सम्बन्धका कारणले पनि पदयात्रा व्यवसायबारे अन्तर्राष्ट्रिय रूपमा नराम्रो सन्देश गएको छ । त्यसैले, हाम्रो पहिलो काम नै अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवद्र्धन गर्नु रहेको छ । नेपालको पर्यटन क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन के गर्न सकिन्छ भन्नेमा नै अहिले हामी चिन्तनशील भएर लागिपरेका छौं ।’
त्यसो त विगतमा टानभित्र आर्थिक पारदर्शिता भएन भन्ने प्रश्नले व्यापकता पाएको थियो । आर्थिक अपारदर्शिताकै कारण टानले ठूलै बदनामी कमाउनसमेत पुगेको थियो । नवनिर्वाचित अध्यक्ष रिजाल भन्छन्, ‘कुनै पनि संस्थाभित्र आर्थिक पारदर्शिता नहुँदा विभिन्न व्यक्तिले कुरा उठाउनु स्वाभाविक हो । हाम्रो संस्थाभित्र विगतमा साथीहरूले केही कमीकमजोरी गरेका छन् भने त्यसलाई हेर्ने र अब भने पारदर्शी ढंगले काम गर्ने कुरामा वचनबद्ध छौं । आर्थिक पारदर्शिता, क्रियाशीलता लगायत सबै कार्यमा पर्यटन क्षेत्रकै नमुना संस्थाका रूपमा विकास गर्ने संकल्प मैले लिएको छु । मेरो टिम यसलाई नमुना संस्थाका रूपमा स्थापित गर्न कटिबद्ध रहेको छ ।’
धादिङ जिल्लाको खाल्टे गाविसमा २०२८ सालमा जन्मिएका रिजाल पर्यटन व्यवसायमा सन् १९९८ देखि नै क्रियाशील छन् । त्यतिबेला आफूसहित चार जना मिलेर होटल डिप्लोम्याट सुरु गरेपछि उनले होटल व्यवसायका साथै पर्यटन क्षेत्रमा पनि पाइला चाले । होटल व्यवसायलगत्तै उनले सी नेपाल ट्राभल्स एन्ड एडभेन्चर नामक संस्था स्थापना गरेर ट्ेरकिङ व्यवसायमा हात हाले । लामो समयदेखि ट्ेरकिङ व्यवसायमा आबद्ध रिजाल पर्यटक व्यवसायीहरूका निम्ति मात्र लगानी गर्ने गरी स्थापित दिगो पर्यटन सहकारी संस्थाका अध्यक्षका साथै नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका पनि अध्यक्ष हुन् । उनी होटल एसोसियसन अफ नेपाल (हान) का पूर्व केन्द्रीय सदस्य पनि हुन् ।
त्यसो त भूकम्पपछि अन्तर्राष्ट्रिय क्षेत्रमा आवश्यकताभन्दा धेरै नै चर्चा भएको हुँदा पनि त्यसले पर्यटन क्षेत्रलाई असर पुर्याएको रिजालको कथन छ । भन्छन्, ‘कमिलाले टोक्दा हामी थोरै चिल्लाउनुपथ्र्यो तर हामी धेरै नै करायौं र चिल्लायौं । भूकम्पको धेरै हल्लाखल्ला गर्यौं । हामीले हामी समाप्त भयौं, हामीलाई उद्धार गर भनेर धेरै नै करायौं । त्यसको ठूलो असर पर्यटन क्षेत्रमा पर्यो । किनकि, कुनै पनि देश असुरक्षित छ भन्ने ठान्दाठान्दै पर्यटकहरू आउने कुरै भएन । अहिलेको समयमा मानिसहरू शान्त ठाउँमा, प्राकृतिक सुन्दरता हेर्न र तनावबाट पर रहन घुम्न आउँछन् । कुनै पनि अशान्त र असुरक्षित ठाउँमा पर्यटकहरू आउँदैनन् ।’
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
आर्थिक वृद्धि सुस्त हुने प्रक्षेपण : विश्व बैंक
-
नेपाल स्टक एक्सचेन्ज (नेप्से) अब सोमबारदेखि शुक्रबारसम्म खुला रहने
-
इन्धन मूल्यवृद्धिले हवाई भाडा बढ्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
Leave a Reply