दुई दशकदेखि पर्यटनमै क्रियाशील
बितेको तीन महिनायता नेपालीहरूको दैनिक जीवनचर्या कष्टकर रूपमा बितिरहेको छ । देशमा नयाँ संविधान जारी भएपछि मधेसमा उत्पन्न असन्तोष र आन्दोलनलाई बहाना बनाएर भारतले नेपालमाथि अघोषित रूपमा नाकाबन्दी थोपरेपछि जनजीवन असामान्य दिशातिर धकेलिन पुग्यो । नौ महिनाअघि भूकम्पले बिथोलेको नेपालीहरूको मन र मस्तिष्कलाई नाकाबन्दीले झन् थङथिलो तुल्याइरहेको छ । लामो र कष्टप्रद नाकाबन्दीले हरेक क्षेत्रलाई प्रभावित तुल्याइरहेकै बेला पर्यटन क्षेत्र अछुतो रहने सवालै रहेन ।
नेपाल पर्यटन बोर्डको सञ्चालक समितिका सदस्य तथा होटल एवम् पर्यटन व्यवसायी राजेन्द्रप्रसाद सापकोटा नाकाबन्दीले पर्यटन व्यवसायलाई नराम्रो असर पुर्याएको बताउँछन् । उनी भन्छन्–‘हामीलाई भूकम्पले नराम्रो असर पुर्याएको थियो नै । अझ, भूकम्पपछि विदेशी सञ्चारमाध्यमहरूले नेपाल नै पूरै ध्वस्त भएको समाचार प्रवाह गरेपछि पर्यटक आउने क्रम स्वाभाविक रूपमा घट्न पुग्यो । तर, विभिन्न देशले ट्राभल एड्भाइजरीमा नेपाल नजान गरिएको सूचना हामीले हटाउन लगाएपछि पर्यटक आउने क्रम बढेको थियो । र, हामी तंग्रिने स्थितिमा पुग्दै थियौं । अक्टोबर र नोभेम्बरमा हामी तंग्रिन सक्छौं भन्ने लागेको थियो । तर, नाकाबन्दीले हामीलाई फेरि थला पार्यो ।’
यो समय पर्यटकहरू बाक्लिने समय हो । तर, नाकाबन्दीले यस्तो असर पुर्यायो कि, सत्तरी प्रतिशत पर्यटक स्वात्तै घट्न पुग्यो । सापकोटा भन्छन्– ‘अघिल्लो वर्ष नेपाल घुम्न आउने पर्यटकको संख्या ८ लाख पुगेको थियो । भूकम्प गएपछि पनि ६ लाख पुर्याउने लक्ष्य लिएका थियौं । तर, नाकाबन्दीले गर्दा अहिलेको मौसममा ३ लाखभन्दा बढी आएनन् ।’ त्यसो त, पछिल्ला वर्षहरूमा नेपालमा चीन र भारतबाट आउने पर्यटकको संख्या माथिल्लो स्तरमा रहेको थियो । सापकोटा भन्छन्–‘हामीकहाँ आउने भारतीय पर्यटकहरू नाकाबन्दीका कारण घट्न पुगे भने चिनियाँ पर्यटकहरू चाहिँ तातोपानी नाकाको बाटो अवरुद्ध भएको हुँदा थोरै संख्यामा मात्र आए ।’
तर, भूकम्प र नाकाबन्दीले पर्यटन क्षेत्रलाई व्यापक रूपमा असर पारे पनि पर्यटन व्यवसायीहरूले चाहिँ पर्यटन प्रवद्र्धनका लागि के–कस्ता प्रयत्न गरे त ? सापकोटा भन्छन्– ‘भूकम्पपछि हामीले विभिन्न देशलाई आफ्नो ट्राभल एड्भाइजरीबाट नेपालमा गएको भूकम्पबारे नकारात्मक कुरा हटाइदिनुस् भन्यौं । ती देशहरूलाई हामीले सगरमाथा, लुम्बिनी, चितवन र पोखराजस्ता पर्यटकीय क्षेत्र सुरक्षित रहेको बतायौं । हाम्रै प्रयत्नमा ट्राभल एड्भाइजरीबाट नेपाल असुरक्षित रहेको कुरा हटाउन सफल भयौं । हामीले विदेशी पत्रकारहरूलाई समेत निम्त्याएर पर्यटकीय हिसाबले नेपाल सुरक्षित रहेको समाचार प्रवाह गर्न लगायौं ।’ तर, नाकाबन्दीपछि भने आफूहरूको प्रयत्नले मात्र केही नहुनेमा सापकोटा प्रस्ट छन् । भन्छन्– ‘भूकम्प गएपछि पनि होटलहरू चलिरहेका थिए, रेस्टुरेन्टहरूमा पर्यटकहरूले आफूले रोजेको खानेकुरा पाउँथे र यातायातका साधनहरू प्नि सहज रूपमा चलिरहेका थिए । तर, नाकाबन्दीले त यति धेरै असर पुर्याएको छ कि, इन्धनको अभावले यातायातको सहजता छैन, होटलहरूले खाना खुवाउन सकिरहेका छैनन्, न त समयमै प्लेनहरू चल्छन् ।’
नाकाबन्दी नखुलेसम्म विदेशी पर्यटकहरूको नेपाल आगमन खस्किने निश्चित भएको हुँदा पर्यटकहरूलाई आकर्षित गर्न सरकारले नै पहल गर्नुपर्ने सापकोटाको भनाइ छ । भन्छन्– ‘विदेशी पर्यटकहरू हचुवाको भरमा कुनै पनि देश घुम्न निस्किँदैनन् । उनीहरू जुन देशको यात्रामा निस्किन्छन्, त्यस देशबारे सबै अध्ययन गरेर मात्रै निस्किन्छन् ।’ त्यसो त, नाकाबन्दी नखुल्ने हो भने पर्यटकहरूको आगमन पूरै खस्किने भएको हुँदा त्यसले व्यवसायीहरूलाई पलायनको दिशातिर धकेल्ने खतरा पनि उत्तिकै रहेको छ । सापकोटा भन्छन्– ‘धेरै व्यवसायीहरू पलायन हुने स्थिति उत्पन्न हुनसक्छ । त्यसैले राज्यले व्यवसायीहरूलाई संरक्षण गर्ने, व्यवसाय बच्नसक्ने र पर्यटकहरूलाई सहजीकरण हुने खालका कामहरू गर्नु आवश्यक छ ।’
देशको आर्थिक स्तम्भको रूपमा चिनिएको सिंगो पर्यटन क्षेत्रलाई उठाउने हो भने राज्यले पनि दायित्व लिनुपर्ने सापकोटाको कथन छ– ‘पर्यटकहरूलाई आकर्षित गर्ने खालको प्याकेज सरकारले ल्याउनुपर्छ । हामीले भिसा नि:शुल्क गर्नसक्छौं । युरोपियन पर्यटकहरूलाई थाइल्यान्डले फ्रि भिसा दिइरहेको छ । हामीले पनि पर्यटकहरूलाई लामो समयका लागि भिसा दिनु उचित देखिन्छ । किन ५ महिनाभन्दा बढी भिसा नदिने ? अब यस विषयमा राज्यले पनि सोच्नुपर्छ ।’ त्यस्तै, पर्यटकहरूलाई आकर्षित गर्न हिमालको आरोहण दस्तुर कम गर्नसकिने र साना हिमाल आरोहण गर्न झन्झन्टिलो भएको हुँदा त्यसलाई सहज गर्न सकिने पनि सापकोटाले बताए ।
वि.सं.२०३७ सालमा धादिङको धुवाँकोटमा जन्मिएका सापकोटा ०५३ सालदेखि नै पर्यटन क्षेत्रमा आबद्ध छन् । अहिले होटल फ्रेन्स होम र आउटडोर हिमालयन ट्ेरकिङ सञ्चालन गरिरहेका सापकोटा भन्छन्– ‘मैले पर्यटन मजदुरबाट यो क्षेत्रमा प्रवेश गरेको हुँ ।’ उनले पर्यटन क्षेत्रमा पाइला राख्दा सीमित व्यवसायीहरू मात्र थिए । तर, अहिले भने यही क्षेत्रमा ६ लाखले रोजगारी पाएका छन् । सापकोटा भन्छन्– ‘तर, अहिलेकै स्थिति रहिरह्यो भने पर्यटन व्यवसायबाट डेढ लाखजति प्रत्यक्ष रोजगारी घट्ने सम्भावना छ । त्यस्तै, कुल गार्हस्थ आयमा पर्यटन क्षेत्रले २ प्रतिशतभन्दा बढी योगदान गर्न नसक्ने देखिएको छ ।’
नाकाबन्दीको गहन असरले गर्दा अहिले व्यवसायीहरूले ब्याजसमेत तिर्न नसक्ने अवस्था सिर्जना भएको हुँदा सरकारले तत्काल उपयुक्त कदम चाल्नुपर्ने पनि सापकोटाको कथन छ–‘व्यवसायीहरूलाई पर्यटन क्षेत्रमै टिकाउने हो भने व्याजदर सस्तो गरिनुपर्छ र ६ महिनाका लागि ऋण पुनर्ताजगी गरिनुपर्छ ।’ तर, पर्यटन व्यवसाय दिनप्रतिदिन धरासायी हुँदै गएको हुँदा राज्यले बेलैमा नसोच्ने हो भने पुरानै अवस्थामा फर्किन पाँच वर्ष लाग्ने सापकोटाको अनुमान छ । भन्छन्– ‘बितेको वर्ष आठ लाख पर्यटक भित्रिएका थिए । अहिलेकै विकराल स्थिति रहे पुरानै अवस्थामा पुर्याउन पाँच वर्ष लाग्ने देखिन्छ । त्यसैले राज्यले नै विशेष पहल लिएर पर्यटन क्षेत्रको विकासमा कदम चाल्नुपर्ने देखिन्छ ।’
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- दसैँका लागि आजदेखि नयाँ नोट सटही
- आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
- बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य
- चार जलविद्युत् आयोजनाका लागि ३६ अर्ब ३७ करोड लगानी स्वीकृत
- नेपालको बिजुली बङ्गलादेश बिक्रीका लागि सहमति, पहिलो चरणमा ४० मेगावाट जाने
- डिजेल र पेट्रोलको मूल्य बढ्यो, ग्यासको घट्यो
- मौद्रिक नीति : बैंकदर यथावत्, नीतिगत दरमा सामान्य लचकता
Leave a Reply