नारी देहमा उभिएको विज्ञापन–संसार
कुनै पनि स्वदेशी वा विदेशी कम्पनीले आफ्नो उत्पादन जब बजारमा ल्याउँछ, त्यस्तो उत्पादनको सानदार, आकर्षक र तडकभडकपूर्ण तरिकाले विज्ञापन गरेर उपभोक्ताबीच लोकप्रिय हुने आकांक्षा पनि त्यत्तिकै पालेको हुन्छ । अझ, बहुराष्ट्रिय कम्पनीहरूले त आफ्नो उत्पादनको विज्ञापन खर्च पर्याप्त मात्रामा छुट्याएको हुन्छ र विज्ञापनकै जोडबलमा उत्पादनको तीव्र रूपमा बजारीकरण गर्ने र धेरै मुनाफा कमाउने ध्येय सँगालेको हुन्छ । मुनाफालाई नै सर्वोपरी ठानेर चल्ने उत्पादक कम्पनीहरूले विज्ञापनमा करोडौं पैसा बगाउनु सामान्य पक्ष हो । खासगरी, चुरोट, मदिरा, सौन्दर्यका प्रसाधनजस्ता वस्तुहरूको विज्ञापनमा लाखौं, करोडौं खर्च गर्ने र त्यस्ता चिजहरूको विज्ञापन पनि अत्यन्तै आकर्षक र प्रभावकारी बनाउने गरिएको स्पष्टै हुन्छ ।
अहिले नेपाली बजारमा एउटा मदिरा भित्रिएको छ । नयाँ मदिरा भित्रिने र पुराना मदिराहरूको चाहिँ बाहिरी आवरण र बोतलको आकार परिवर्तन गरेर नयाँपन दिने प्रचलनलाई नौलो मान्न मिल्दैन । किनकि, आफ्नो उत्पादनलाई अरु कम्पनीका उत्पादनभन्दा अब्बल तुल्याउने होडले गर्दा त्यस्ता मदिरा उत्पादक कम्पनीहरूले नयाँपन दिने प्रयत्न गर्दछन् । प्रतिस्पर्धाको क्रममा नयाँपनको झलक दिने प्रयत्न गर्नुलाई स्वाभाविक मान्न सकिए पनि त्यस्ता उत्पादनहरूको विज्ञापन गर्दा बेप्रसंग र बेढंगी पाराले सुन्दर मोडेलहरूलाई प्रयोग गर्नु चाहिँ कुनै पनि कोणबाट बुझ्न नसकिने पहेंली बन्न पुगेको छ । नेपाली बजारमा आएको एउटा नयाँ भोड्काको विज्ञापन गर्दा एउटी मोडेललाई अत्यन्तै उत्तेजक मुद्रामा पेश गरिएको छ । अथवा भनौं, ती मोडेललाई जवरजस्ती रूपमा विज्ञापनको चेहरा बनाइएको छ । कुनै पनि कोणबाट त्यो नयाँ नयाँ मदिरा र ती मोडेलबीच तादाम्यता देखिँदैन । तर उभ्याइएको छ विज्ञापनमा ती मोडेललाई र उनको सुन्दरतालाई हरेक किसिमले, जबरजस्ती रूपमा भँजाउने कार्य गरिएको छ ।
हरेक उत्पादनको लक्षित समुदाय र वर्ग हुन्छ । त्यस्ता उत्पादक कम्पनीहरूले आफ्नो उत्पादनप्रति आर्थिक पहुँच राख्नेहरूलाई नै लक्षित गरेर त्यही अनुरूपको विज्ञापनको ढाँचा तयार पारिएको हुन्छ । कुनै पनि वियरको विज्ञापनमा बीस–पच्चीस वर्षका युवा–युवतीलाई उभ्याउनुको निहितार्थ के हो भने, उक्त वियर कम्पनीले आफ्नो असली र भरपर्दा ग्राहक त्यही उमेर समूहका युवा, युवतीलाई ठानेको हुन्छ । लक्षित समुदाय र वर्गलाई आधार बनाएर आफ्नो उत्पादनको विज्ञापन गर्नुलाई कुनै पनि कम्पनीको रणनीति हुनुलाई अन्यथा मान्न मिल्दैन । तर, पछिल्लो समय अल्कोहलको मात्रा बढी हुने भोड्का, रम, ह्विस्कीजस्ता मदिराजन्य पदार्थहरूको विज्ञापन गरिँदा तिघ्रा प्रदर्शन गरिएका मोडेलहरूको व्यापक प्रयोग गरिनुलाई भने गम्भीरतापूर्वक लिनुपर्ने हुन्छ । त्यसरी मोडेलहरूलाई प्रयोग गरिँदा एउटा प्रश्न स्वाभाविक रूपमा उठ्न पुग्दछ, के मदिराजन्य पदार्थहरूको विज्ञापन गर्दा मोडेलहरूको उपस्थिति अनिवार्य ठान्न थालिएको हो ?
सुन्दर मोडेलहरूलाई मदिराजन्य पदार्थको विज्ञापनमा जबरजस्ती, अनावश्यक रूपमा र अशोभनीय रूपले प्रयोग गर्नुको एउटै मात्र कारण के हो भने पुँजीवादी उत्पादनले नारीहरूलाई एउटा उपभोग्य वस्तु बाहेक केही ठानेको छैन । तिनीहरूका सुन्दरता, शरीर र चालढाल सबै नै बिकाउयोग्य छन् र तिनीहरूलाई विज्ञापनमा प्रयोग गरिँदा आम उपभोक्तालाई सहजै आकर्षण गर्न सकिन्छ र उत्पादनको तीव्र बजारीकरणमा मोडेलहरूको प्रदर्शन र हाउभाउ कामयावी ठहरिन्छ । यही मान्यताद्वारा निर्देशित रहेर नै बढी मुनाफा कमाउने हेतुले स्थापित कम्पनीहरूले आकर्षक मोडेलहरूको सहायता लिँदै आएका छन् । नभए, भारतको प्रसिद्ध वियर ‘किङफिसर’ले बर्सेनि निकाल्ने क्यालेन्डरमा करोडौं खर्च गरेर संसारकै नामुद मोडेलहरूको फोटो सेसन सायदै गराउँथे होलान् †
नि:सन्देह, पुँजीवादी उत्पादन पद्धति र सामाजिक ढाँचा जन्मकालदेखि नै नारी विरोधी रहँदै आयो । संसारमा नारी मुक्तिको आन्दोलन भए पनि, नारीमाथि हुने तमाम विभेदको अन्त्यको आवाज उठे पनि पुँजीवादी अर्थप्रणाली, सामाजिक पद्धति कामय रहुन्जेलसम्म त्यस्ता आवाजहरूले सार्थक रूप प्राप्त गर्ने देखिँदैन । किनकि, पुँजीवादको उत्पत्ति र विकास क्रमले के देखाएको छ भने, नारीहरू केवल एउटा वस्तु मात्र हुन्, सौन्दर्यको उपाशक मात्र हुन् । पुँजीवादले नारीहरूलाई त्यसभन्दा धेरै र माथि कुनै भूमिका दिएको छैन र दिन पनि चाहँदैन । किनकि, जुन विचार जुन वैचारिक मान्यतामा उभिएको हुन्छ, त्यसैलाई स्थापित गर्न र त्यही अनुरूप अग्रसर हुन नै हरेक विचारधारा र पद्धतिको दायित्व हो ।
कुनै पनि उत्पादन, अझ त्यसमा पनि मदिराजन्य उत्पादनहरूको विज्ञापनमा सुन्दर युवतीलाई अर्धनग्न रूपमा पेश गर्नुको पछाडि पुँजीवादी सांस्कृतिक चेत र चिन्तनको उपजको रूपमा लिइनुलाई सान्दर्भिक देखिन्छ । किनकि, मुनाफाको होडबाजीमा निर्लिप्त राष्ट्रिय/बहुराष्ट्रिय कम्पनीहरूले आफ्नो उत्पादनलाई बढीभन्दा बढी बिकाउनका लागि नारी देहको प्रदर्शनयुक्त विज्ञापनको भर पर्नु बाहेक अरू के विकल्प हुन सक्ला र ?
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply