अब अनुत्पादक रहेन साहित्य
केही दिनयता पोखरा नगरी साहित्यिक महोत्सवले गर्माएको छ । कुनै बेला पोखराका साहित्य/सांस्कृतिककर्मी र प्रबुद्ध वर्गले पोखरालाई ‘साहित्य र सांस्कृतिक राजधानी’ घोषणा गर्नुपर्ने आवाज उठाएको सन्दर्भमा यतिबेला पोखरामा साहित्यिक महोत्सव हुनु सुनमा सुगन्ध थपिएको मान्नुपर्छ । तथापि, पोखरालाई सांस्कृतिक राजधानी बनाउनुपर्ने आवाजका अभियन्ता सरुभक्त अहिले संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा विराजमान छन् भने अर्का अभियन्ता तीर्थ श्रेष्ठले सोही प्रतिष्ठानमा सदस्य सचिवको जिम्मेवारी सम्हालिसकेका छन् । तर पनि अधिकांश साहित्यिक जमघट, मन्थन र चिन्तनको केन्द्र काठमाडौं रहँदै आएको छ र काठमाडौं बाहिरका सहरबजारमा साहित्यिक माहोल न्यून हुने परिपाटी झाँगिँदै गइरहेका बेला पोखरामा साहित्यिक महोत्सव हुनु सकारात्मक पक्षका रूपमा लिनुपर्ने हुन्छ । साहित्यमा व्याप्त ‘काठमाडौंवाद’लाई कम गर्न मोफसलका सहरमा हुने यस्ता महोत्सवहरूले पक्कै पनि भरथेग गर्ने विश्वास साँच्न सकिन्छ ।
यस्ता साहित्यिक महोत्सवहरूमा प्रबुद्ध वर्गबीच साहित्यिक क्षेत्रमा व्याप्त नयाँ विषय, सन्दर्भ र मुद्दाहरूमाथि गम्भीर विमर्श हुने गरेको हुँदा यसलाई सकारात्मक मान्नुपर्छ । यसले एउटा निश्चित तप्काका व्यक्तिहरूलाई बौद्धिक चिन्तन, मनन गर्न मञ्चको भूमिका प्रदान गर्दछ । साथै, साहित्यइतर अर्थात् अरू नै क्षेत्र र वृत्तिमा आबद्ध व्यक्तिहरूलाई समेत मञ्च दिएर त्यस्ता क्षेत्रका व्यक्तिलाई साहित्यतिर आकर्षित तुल्याउने कार्य पनि केही वर्षयता हुँदै आएको यो साहित्यिक महोत्सव आफैंमा गहकिलोसमेत बन्न पुगेको छ । अझ राजनीतिक, सामाजिक, आर्थिक क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई निम्त्याएर उनीहरूलाई साहित्यलगायत अरू विमर्शहरूमा संलग्न गराउने कार्य भएको हुँदा यो महोत्सवको गरिमा र उचाइमा स्वाभाविक तवरले वृद्धि हुन पुगेको छ । साहित्यिक महोत्सव आयोजना गरेर साहित्यको बजार विस्तार र साहित्यप्रति आम रुचि जागृत गराउन उल्लेख्य भूमिका खेलेको पक्षलाई राम्रो मान्नुपर्छ । किनकि, कुनै निजी संस्थाको पहलमा भइरहेको यस्ता महोत्सवले के संकेत गरेको छ भने अब साहित्यको प्रचार, उत्थान र समृद्धिमा सरकारी प्रयास र जागरुकताको मुख ताकेर मात्र बस्नुपर्दैन, न त सरकारी बजेटमा टिकेको नेपाल प्रज्ञा प्रतिष्ठानतिर मात्र आँखा नै सोझ्याउनुपर्छ । अब निजी क्षेत्रले त्यस दिशातिर सार्थक प्रयत्न थाल्नुका साथै त्यसलाई निरन्तरतासमेत दिएका छन् । निजी क्षेत्रको यस्तो प्रयास धेरै नै प्रभावशालीसमेत साबित हुँदै आएको छ । कम्तीमा, नेपाल प्रज्ञा प्रतिष्ठानले वर्षमा एकाध गोष्ठी र कविता महोत्सव गरेर कर्मकान्ड पूरा गरेभन्दा बुकवर्मजस्ता निजी क्षेत्रमा सञ्चालित फाउन्डेसनले भव्य रूपमा साहित्यिक महोत्सव गरेर सबैको ध्यान खिचेको छ ।
यस पटकको महोत्सव कसको प्रायोजनमा सञ्चालित हो ? थाहा भएन । तर, विगत वर्षहरूमा भने एनसेलजस्ता मोबाइल सेवा प्रदायक कम्पनीले साहित्यिक महोत्सवको प्रायोजन गर्ने गरेको थियो । त्यतिबेलै एउटा प्रश्न उब्जिएको थियो, के ठूला व्यापारिक कम्पनीहरूलाई हारगुहार नगरीकनै साहित्यिक महोत्सवहरू आयोजना गर्न सकिँदैन ? हुन त निकै तामझाम र व्यवस्थित रूपले हुने यस्ता महोत्सवहरूमा आर्थिक पाटोले राम्रै भूमिका खेल्ने पक्षलाई आँखा चिम्लिन मिल्दैन । ठुलै धनराशि नभई यस्ता महोत्सवहरू समापन गर्न धेरै गाह्रो पनि छ । खर्चिलो हुने भएको हुँदा सामान्य खालका कम्पनीहरूलाई प्रायोजनका निम्ति अनुरोध गर्ने प्रश्नै रहँदैन । त्यसैले, ठुला व्यापारिक/व्यावसायिक प्रतिष्ठानहरूलाई प्रायोजनका निम्ति गुहार्ने बाध्यता पक्कै पनि आयोजकलाई हुन सक्छ । तर, विगत वर्षहरूमा आयोजकप्रति यस्ता प्रश्नहरू पनि उठाइएको थियो, व्यावसायिक प्रतिष्ठानहरूको प्रायोजनमा चम्किएको साहित्यिक महोत्सवले कस्तो साहित्य र साहित्य संसारको निर्माण गर्दछ ? कुनै नाफामूलक ठुला कम्पनीहरूको प्रायोजनमा हुने यस्ता महोत्सवहरूले साहित्यको मूल्यलाई कत्तिको बढावा दिन्छ ? यस्ता महोत्सवहरूले साहित्यको प्रचार, उत्थान र विकासमा टेवा पुर्याउँछ कि कर्पोरेट जगत्लाई माथि उठाउन भूमिका खेल्छ ?
हुन त कर्पोरेट जगत्ले साहित्यलाई केवल विशुद्ध साहित्यको संसारमा सीमित गर्न चाहने तथ्यप्रति सायदै कोही टाढा होलान् । यो संसारभरि नै चलेको प्रवृत्ति हो । सर्वज्ञात नै छ, कर्पोरेट जगत्को विकास र दबदबासँगै तिनीहरूले साहित्यको बढ्दो सामाजिक भूमिकालाई कम गर्न चाहन्छ । साहित्यले सामाजिक भूमिका निभाउने होइन, विशुद्ध मनोरञ्जन र ज्ञानको संसारमा मात्र सीमित होस् भन्ने चाहनामा कर्पोरेट जगत् अडिएको छ । साथै, उनीहरूले साहित्य समाजको परिवर्तनको संवाहक नभएर, वैचारिक आन्दोलनको कडी नभएर एउटा विकाउयोग्य वस्तुका रूपमा सीमित होस् र टिपटपको समोसाजस्तै तात्तातै बिक्री हुने खाजाका रूपमा रहोस् भन्ने रणनीति पूरा गर्न कर्पोरेट संसार लागिपरेको छ । बढ्दो उपभोक्तावादले गर्दा बजारवादको भूमिका मात्र बढेको छैन, त्यसले कुनै पनि पुस्तकको विषयवस्तुलाई भन्दा त्यसको संरचना र प्रस्तुतिलाई बढी महत्त्व दिँदै आएको छ । र, अहिले नेपाली बजारमा निजी क्षेत्रका प्रकाशन गृहहरूले ल्याएका अधिकांश साहित्यिक र गैरसाहित्यिक पुस्तकहरू विषयवस्तुका दृष्टिकोणले उत्कृष्ट नभई संरचना र प्रस्तुतिगत रूपले मात्र उत्कृष्ट हुन पुगेकोमा कुनै सन्देह देखिँदैन । घनत्वविहीन पुस्तकहरूको बजारमा दह्रो उपस्थिति बढ्दै जानुको मुख्य परिणाम र कारण त्यसलाई नै मान्न सकिन्छ ।
त्यसो त अब साहित्य अनुत्पादक वस्तका रूपमा रहेन । एउटा साहित्यिक महोत्सवका लागि बर्सेनि अर्बौंको कारोबार गर्ने ठुलाठुला नाफादायक कम्पनीले प्रायोजन गर्ने लहर चल्छ भने साहित्यलाई अनुत्पादक ठान्ने आधार भेटिँदैन । यसलाई साहित्य पनि अब उत्पादनमुखी, विकाउयोग्य वस्तुका रूपमा रूपान्तरित भएको मान्नुपर्छ । अब लेखक/कविहरूले पनि भन्न छाड्नुपर्छ, राज्यले साहित्यलाई अनुत्पादक ठानेको छ, साहित्यमा लगानी गर्न चाहेको छैन । राज्यले साहित्यलाई हेर्ने दृष्टिकोण र लगानी विमुखताप्रति विगतदेखि नै स्रष्टाहरूले उठाउँदै आएको औंला अब स्वत: उठ्न छाड्ने दिन आउने देखिएको छ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply