प्रयोग नयाँ–नयाँ
आज नेपाली गीतसंगीत क्षेत्रमा त्यस्ता गायक/संगीतकर्मीहरू मात्र चम्किएका छन्, जसले आफ्नो बेग्लै र विशिष्ट शैली विकास गरेका छन् । गीतसंगीत क्षेत्रमा धेरै प्रतिभा उदाए र उदाउने क्रम पनि चालू नै छ । तर, जसले आफ्नै शैली विकास गरे, तिनीहरू सदाबहार र कालजयी सर्जकका रूपमा स्थापित छन् । तिनीहरूका गीतसंगीतलाई वर्तमान पुस्ताले सहज रूपमा ग्रहण गर्न अल्छी मान्लान् तर त्यस्ता गीतसंगीतमा मौजुद आफ्नै शैलीगत पक्षलाई भने नकार्ने ठाउँ देखिँदैन ।
संगीत होस् वा सिर्जनाका अरू कुनै माध्यम नै किन नहोस्, त्यसले अँगालेका नयाँ शैली, प्रयोग र पनलाई प्रारम्भिक समयमा स्विकार्नेहरूको लहर अत्यन्तै सीमित हुन्छ । यो मानवीय स्वभावमा निहित विशिष्टता नै हो । तर, कालान्तरमा त्यही शैलीले नै मान्यता पाउँदै जान्छ । केही त्यस्ता गीतहरूको स्मरण हुन्छ, जसले आफ्नै शैलीगत पक्ष र नयाँपनका कारण अद्यापि धेरै व्यक्तिको पंक्तिमा श्रवण–मान्यता पाइरहेका छन् ।
पोखरावरिपरिका क्षेत्र, त्यहाँका सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यलाई आधार मानेर तिसको दशकमा केही गीत लेखिए र गाइए पनि । तर, त्यसमा बुद्धि परियारले लेखेको गीत ‘हेर्दा राम्रो माछापुच्छ्रे….’ लाई तत्कालीन समयमा हिट लोकगायक कुमार बस्नेतले स्वर भरेका थिए । त्यो गीतले तत्कालीन नेपाली समाजको रोमान्टिक पक्ष र बेथितीलाई उजागर गर्न पनि उत्तिकै भूमिका निभाएको थियो । गीतमा प्रयुक्त शब्दहरूले तत्कालीन समाज, परिवेश र पात्रहरूको समेत पक्षगत प्रवृत्तिलाई राम्ररी नै अथ्र्याउन चाहेको स्पष्टत: देखिन्छ । अरू त अरू, स्पष्ट रूपमा भन्न नसकिने समाजका यथार्थ पक्षलाई पनि उक्त गीतले उजागर गर्न चाहेको देखिन्छ । पुरुष–प्राधान्य मानसिकतामा अल्झिएको नेपाली समाजमा महिलाहरूमाथि उत्पीडन थोपर्दा ‘नाठो’ खेलाएको आरोप लगाइन्छ( । वास्तविकता बेग्लै पाटो हो तर परपुरुषसँगको सम्बन्धलाई लिएर महिलामाथि हुने उत्पीडन नेपाली समाजको यथार्थ हो । त्यही पक्षलाई स्पष्ट रूपमै यो गीतमा उल्लेख गरिएको छ, ‘आफ्नो पोइलाई बासी मकै, नाठो पोइलाई रोटी ।’
यो गीतमा ग्रामीण बोलीचालीका ठेट शब्दहरूले प्राधान्य पाएको त छ नै, गायकले गाउने क्रममा बाडुली शैली प्रयोग गरेका छन् । गायकले गीतको हरेक पंक्ति गाउँदा बाडुली लाग्दा उच्चारण हुने हिक्कामयी स्वर पनि गीतमा मिसाएका छन् । यो गीतलाई बाडुली गीत भन्न किन पनि सान्दर्भिक लाग्छ भने एक पटक ग्रामीण भेगकी एउटी वृद्ध महिलाले यो गीत सुन्दा प्रतिक्रियास्वरूप भनेकी थिइन्–‘बाडुल्की लाग्दालाग्दै के गीत गाउनुपर्या होला ? बाडुल्की नलागेको बेला गाएको भए हुँदैनथ्यो र ?’
तत्कालीन समयमा बाडुली गीतले आफ्नै शैली विकास गरेको थियो । आजपर्यन्त पनि उक्त गीतको स्वाद मरिसकेको छैन । अझ, बुद्धि परियारका पुत्र धर्मेन्द्र सेवानले त यो गीतलाई नयाँ शैली प्रदान गर्दै आफ्नो स्वरमा आबद्ध तुल्याएका छन् । बाडुली गीतसँगै झगडा–गीतको पनि उत्तिकै स्मरण हुन्छ ।
पुराना गायक हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठहरूले एउटा युगल गीत गाएका छन् । नेपाली लोकसंगीतमा त्यति चर्चित नभए पनि त्यो गीतलाई झगडा–गीतका रूपमा परिभाषित गर्नु उपयुक्त होला । खासमा, एउटा वैवाहिक समारोहमा बेहुला र बेहुली पक्षबीच जन्ती ल्याउने सन्दर्भमा गरिएको विमर्शलाई गीति–शैलीमा ढाल्दा द्विपक्षीय झैझगडाका रूपमा लिन पुगेको देखिन्छ । यो गीतले ग्रामीण परिवेशमा, तत्कालीन समयमा समृद्ध वर्गबीचको खिचातानीलाई समेत उजागर गर्दछ ।
‘तेरो मुखै बाङ्गो, तेरो थोते बाङ्गो
तैंले बोल्दा चिल्छ चिलाउनेको हाँगो
हाई बुलाकी हाई…।’
गीत–संगीतमा नयाँ–नयाँ प्रयोग र शैलीलाई भित्र्याउन पुराना पुस्ताका संगीत सर्जकहरूले जति तत्परता देखाए, नयाँ पुस्ता पनि उत्तिकै सक्रिय देखिए । विश्वव्यापी रूपमा चलेको संगीतको नवीन र अत्याधुनिक प्रविधिलाई पछ्याउँदै संगीतमा निखार ल्याउने र आमश्रोताको तहसम्म गाढा रूपमा छाउने क्रम पछिल्लो पुस्तामा पनि उत्तिकै देखिएको छ । पुराना पुस्ताका गायकले समाजका विकृत पक्षलाई उधिन्ने हिसाबले रोमान्टिक तर प्रयोगशील गीतमा जोड दिएजस्तै केही वर्षपूर्वसम्म एउटा रुन्चे गीतको नेपाली संगीत जगत्मा धेरै नै चर्चा थियो । प्रकाश पौडेलले गाएको ‘आमा मलाई त्यही केटी चाहिन्छ…’ बोलको त्यो गीतले युवा पुस्ताको मनोविज्ञानलाई समात्न चाहेको देखिन्छ । आफूलाई मन परेको केटी प्राप्त गर्ने अभिलाषासँगै रुँदै गाइएको उक्त गीत पनि आफ्नै प्रयोगशीलताका कारण चर्चित रह्यो ।
अहिले गीतसंगीतमा नयाँनयाँ प्रयोग र शैली पछ्याएकै कारण पशुपति शर्मा नेपाली लोकसंगीत फाँटमा चम्किएका छन् । खासगरी, युवा पुस्तालाई अपिल गर्ने शब्द र लययुक्त गीत गाउन माहिर उनले संगीतलाई पीडा, दु:ख, वेदना र विलापको वस्तु होइन, रोमान्टिक चिज हो भन्ने मान्यता स्थापित गर्न खोजेको आभास मिल्छ । हुन त उनले गाएको ‘मलाई अमेरिका यही, मलाई जापान पनि यही…’ बोलको गीतले देशमा रोजगारीको पीडाबाट छटपटिएर दैनिक रूपमा विदेशतिर उडिरहेका पन्ध्र सयजति युवाहरूका निम्ति खासै अपिल गर्न नसक्ला र त्यसरी खाडी मुलुक, मलेसिया, जापान, अमेरिकातिर उड्ने बेरोजगार पुस्ताका लागि यो गीत आदर्श नठहरिएला पनि । तर, आफ्नै माटोमा पसिना बगाउन सके, नङ्ग्रा घोट्न सके रोजगारीको सम्भावना रहेको सन्देश प्रवाह गर्न र देशभित्रै उत्पादनमुखी कार्यमा लाग्न आवश्यक छ भन्ने बोध गराउन भने उक्त गीत सफल र सार्थक ठहरिएको छ । मौलिक र ठेट नेपाली भाषा र शब्दमा बुनिएको उनका प्राय: गीत विदेशमा श्रम बेच्न जाने युवा पुस्ताप्रति बढी लक्षित देखिएका छन् । उनको यही नयाँ शैलीले नै उनलाई पछिल्लो पुस्ताका चर्चित गायकका रूपमा उभ्याएको छ ।
तथापि, यस्ता प्रयोगशील गीतहरूमा कुनैकुनै एउटा निश्चित समयसम्म श्रोताहरूको माया पाउन सफल हुन्छन् भने कुनैले भने सदाबहार बन्ने हैसियत पनि राखेका हुन्छन् । तर पनि नयाँ प्रयोग र शैली अँगालेका गीत श्रोताको रोजाइमा भने पर्दछ नै र त्यस्ता गीतहरूले आम मानिसलाई झङ्कृत पार्दछ नै अवश्य ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply