राममणिलाई एउटा पत्र
काठमाडौंको एउटा बिहानी, चिसाका अंशहरू अझै व्याप्त थिए । घामका कलिला किरणहरू फिजिँदै थिए । प्रदर्शनीमार्गस्थित रक्तसञ्चार केन्द्रको फलामे ढोकैनिर एक परिचित अनुहार उभिइरहेको थियो । उनी थिए, राममणि सिटौला । साहित्य लेखनका साथै समसामयिक विषयमा कलम चलाउने उनी एकाध वर्षयता भने लेखन क्षेत्रबाट पुरै हराएका थिए । तर, त्यस बिहानी, लेखन क्षेत्रबाट टाढिएका उनलाई ‘सेक्युरिटी गार्ड’का रूपमा भेटिएपछि केही क्षण संवाद चल्नु स्वाभाविकै बन्यो ।
आफू ‘सेक्युरिटी गार्ड’का रूपमा उभिनुको हीनताबोध उनमा कताकता झिनो रूपमा सल्बलाइरहेको अनुभूत गर्न सकिन्थ्यो । भने पनि तत्क्षण– ‘विदेश जाने चक्करमा थिएँ, तत्काल मिलेन । केही समयदेखि गार्डका रूपमा काम गरिरहेको छु । चोर्नु भएन, लुट्नु भएन तर काम गरेर खान त पाइयो नि !’मेरो सवाल थियो– ‘यो कामबाट घर खर्च त धानिएको छ नि ?’ उनले भने– ‘राम्ररी नै धानिएको छ । म आफ्नो काम र कमाइप्रति सन्तुष्ट छु । अनि मैले लेख्ने काम पनि सुचारु नै राखेको छु । मधुपर्कको नयाँ अंकमा लघुकथा छापिएको छ । लोकसंस्कृतिबारे पनि केही सामग्री तयार पारेको छु । कामसँगै लेखनतिर पनि सक्रियतापूर्वक लाग्ने विचार छ ।’ उनको संकल्पशक्ति प्रशंसायोग्य थियो ।
आखिर लेखन कार्य पनि एउटा श्रम नै हो । तर, लेखनलाई बौद्धिक श्रमको श्रेणीमा राखिने भएको हुँदा शारीरिक श्रममा भिडेकाहरूका निम्ति लेखन कार्य उनीहरूका क्षेत्राधिकारभित्र नपर्ने भ्रम व्याप्त छ । लेख्ने, पढ्ने र गोष्ठीहरूमा कार्यपत्र पेस गर्ने कार्य त बौद्धिक क्रियाकलाप र श्रममा लाग्ने व्यक्तिहरूका मात्रै सम्पत्ति हुन् भन्ने बुझाइ पनि छ । यसमा सत्यता नरहेको मान्न सकिँदैन । हुन पनि बौद्धिक श्रममा भिडेकाहरूबाट नै उत्कृष्ट साहित्य, वैचारिकलगायत सिर्जनाहरू हुँदै आएका छन् । प्राय: विश्वविद्यालयका प्राध्यापकहरूका वैचारिक उच्छवास र प्राज्ञिक मन्थन गर्ने क्षेत्रका रूपमा साहित्य साँघुरिँदै गएको हुँदा पनि सिटौलाजस्ता शारीरिक श्रम गर्नेहरूका निम्ति साहित्य लेखन वा अरू सिर्जनात्मक कार्य टाढाको र बिरानो विषय बन्दै जाने खतरा पनि पछिल्लो समयावधिमा बढ्दै गएको छ ।
साहित्य, अनुभूति र अनुभवजन्य पक्षहरूको समष्टिगत रूप हो । त्यसैले, साहित्य लेखनमा शारीरिक र बौद्धिक श्रमबीचको रेखा कोरिदैनन् । विश्वविद्यालयमा अध्यापन गर्ने होस् वा बगरमा गिटी कुट्ने नै किन नहोस्, दुवैका आ–आफ्ना क्षेत्र र पेसागत अनुभूति अवश्य नै हुन्छन् । दुवै तह र श्रममा जुटेकाहरूले साहित्य लेखनमा दखल राख्न सक्छन् । तसर्थ, कुनै व्यक्तिले ‘सेक्युरिटी गार्ड’का रूपमा आफूलाई उभ्याउँदा उसको साहित्यसितको नाता/सम्बन्ध जोखिममा परेको भ्रम साँच्न किमार्थ उचित होइन ।
पछिल्ला समयमा, नेपाली साहित्यले समृद्धिको दिशा मापन गर्नुमा वैदेशिक रोजगारीमा गएका सर्जकहरूबाट प्राप्त उत्कृष्ट, गुणस्तरीय साहित्य सिर्जनाले उल्लेख्य भूमिका खेलेको पक्षलाई कदापि भुल्न मिल्दैन । देशभित्र रोजगारीका अवसरहरू न्यून रहेको हुँदा अहिले दिनहुँ सयौंका संख्यामा नेपालीहरू बाह्य मुलुकमा श्रम गर्न गइरहेका छन् । रोजगारीका निम्ति देशभन्दा बाहिर गएकाहरूले पठाएको आम्दानीबाटै अहिले राष्ट्रिय अर्थतन्त्रले टेको पाइरहेको छ । त्यसरी, बाह्य मुलुकहरूमा श्रम गर्न गएका लाखौंले देशभित्र भित्र्याएको रेमिट्यान्सले अर्थतन्त्रलाई समृद्ध त बनाएको छ नै, श्रमका निम्ति देश बाहिर रहेका सीमित संख्याका श्रमजीवीहरूले साहित्य सिर्जनाको माध्यमद्वारा रेमिट्यान्ससँगै देशभित्र सिर्जना पनि भित्र्याइरहेका छन् । यो अत्यन्तै सकारात्मक पाटोका रूपमा रहँदै आएको छ ।
पहिलापहिला बेलायत, हङकङ, बु्रनाईजस्ता मुलुकको सेनामा भर्ती भएका नेपालीहरूले ती देशका सैनिक सेवालाई विशुद्ध सेवाका रूपमा लिए, उनीहरूलाई साहित्य लेखन र त्यो क्षेत्रसँगको सम्बन्धप्रति त्यति चासो नरहनु स्वाभाविकै हो । तर, पछिल्लो चरणमा ती देशहरूका सैन्य सेवाका साथै अरू निजी सुरक्षा सेवामा गएका केही व्यक्तिले भने साहित्य लेखनलाई निकै चम्काएका छन् । केही स्रष्टाहरू त नेपाली साहित्य जगत्मा अहिले स्थापित र गुणवत्तायुक्त लेखकका रूपमा समेत दरिएका छन् । साहित्यका हरेक विधामा ती स्रष्टाहरूले दख्खल राख्ने गरेका भए पनि धेरैजसोले भने गीत/गजलजस्ता आफ्ना अनुभूतिलाई तत्काल व्यक्त गर्न सकिने माध्यम रोज्ने गरेका छन् । विदेशी भूमिमा गएर पसिना बगाउने, शारीरिक श्रममा निर्लिप्त रहने त्यस्ता स्रष्टाहरूका रचनालाई नेपाली साहित्य वृत्तले सहज रूपमा ग्रहण गरेको पक्षलाई सुखद विषय मानिनुपर्छ ।
उच्च तापमान भएका खाडी मुलुकहरूमा पसिना बगाउन जाने लाखौं नेपालीहरूले राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउन भरथेग गरिरहेका छन् । तर, खाडी मुलुकहरूमा पसिना बगाउने लाखौंमध्ये केही सिर्जनशील मस्तिष्कहरूले राम्रा र स्तरीय साहित्य पनि लेखिरहेका छन् । अनुभूति सबैसँग हुन्छन् तर त्यसलाई पस्किन चाहनेहरूले आ–आफ्नो सामाजिक, सांस्कृतिक र अध्ययनको धरातलअनुरुप पस्किन्छन् ।
तसर्थ, विदेशमा श्रम र सीप पोखिरहेकाहरूले नेपाली साहित्यलाई राम्रा र स्तरीय सिर्जनाहरू दिइरहेका बेला र ती सर्जकहरूका लेखनीलाई आत्मसात् गरिरहेका बेला नेपालमै ‘सेक्युरिटी गार्ड’मा कार्यरत सिटौलाजस्ता प्रतिभाले खुम्चिन आवश्यक छैन । पेसा र व्यवसाय एउटा पाटो हो र लेखन अर्कै पक्ष हो भन्ने मान्यता उनले सायदै नबुझेका होलान् ।
सम्बन्धित समाचार
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
-
साल फुलेर राजमार्ग सुगन्धित
-
यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
-
बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
-
फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
-
विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
-
भड्किलोपनको सिकार
-
नेपालका प्रथम ज्ञात कवि अनुपरम
-
कसले लिने तत्परता ?
-
बिक्री नै हो उत्कृष्टताको मापन ?
-
सीमित वृत्तभन्दा बाहिर
Leave a Reply