सार्थक फिल्मको लस्कर
नेपाली समाज र संस्कृति आफ्ना बहुआयामिक पक्षहरूले गर्दा समृद्ध छन् । समाज र संस्कृतिभित्रका बहुविषय र चरित्रहरूलाई उधिनेर कुनै पनि कला वा सिर्जनाको माध्यमद्वारा पस्किनेहरूले जहिल्यै सफलता र प्रसिद्धिको उकालो चढेका छन् । नेपाली चलचित्र वृत्तमा त यो झनै लागू हुने पक्ष हो । नेपाली समाज र संस्कृतिभित्र दबिएर रहेका भिन्न र मौलिक विषय र घटना सन्दर्भहरूलाई चलचित्रको माध्यमद्वारा पस्किँदा त्यसले आममानिसको रुचिलाई समात्ने गरेको यथार्थ पछिल्लो समय बनेको चलचित्र ‘कालो पोथी’ले पछ्याएको छ ।
विगतको दसवर्षे माओवादी युद्धले नेपाली समाजलाई धेरै नै तरंगित तुल्यायो । पीडाका अनेक शृंखलाहरूको अभ्युदय भयो । युद्धको तिखो प्रभावले देशका हरेक क्षेत्रलाई नराम्ररी बिथोल्यो । अझ, दुर्गम भेगहरूमा त युद्धका अभ्यासहरू धेरै नै भए र त्यस भेगका हरेक उमेर समूहका बासिन्दाहरूले युद्धलाई नजिकैबाट नियाले र त्यसको प्रभाव ग्रहण गर्न बाध्य भए । कालो पोथीले मुगुको युद्धकालीन समय र त्यसले दुई भिन्न जातीय ट्याग लगाइएका बालकहरूबीचको कथालाई केन्द्रबिन्दुमा राखेको छ । अहिले नेपाली चलचित्र वृत्तमा यो चलचित्रले सर्वाधिक लोकप्रियता कमाउनुका अनेक पक्षहरूमध्ये समृद्ध, भिन्न र मानवीय आधारको प्रतिनिधित्व गर्ने पक्षलाई नै प्रबल मान्नुपर्ने हुन्छ ।
कालो पोथीको बढ्दो लोकप्रियताले नेपाली चलचित्र वृत्तमा आशा र उमंगको नौलो किरण प्रवाह गरेको छ । नेपाली समाज, संस्कृति र जनजीवनभित्रका विशिष्ट चरित्रहरू समातेर पर्दाको विषय बनाउने हो भने त्यो आममानिसको रोजाइभित्र पर्दछ भन्ने यथार्थ कालो पोथीले पस्किएको छ । कुनै विदेशी चलचित्रको गहिरो प्रभावमा नपरी र फोटोकपीको सहारा नलिई नेपाली समाजभित्रकै मौलिक विषयलाई पछ्याएर चलचित्र बनाउँदा लोकप्रिय मात्र बन्ने होइन, व्यावसायिक रूपमा बाजी मार्न सकिने कुरा पछिल्ला केही वर्षयता चलचित्र वृत्तमा स्थापित हुँदै गएको छ ।
केही वर्षयता नेपाली चलचित्र क्षेत्रमा मौलिक सोच, चिन्तन र निर्देशकीय क्षमता र दृष्टिकोण राख्ने निर्देशकहरूको आगमन बाक्लिँदै गएको हुँदा स्तरीय, सार्थक र अर्थपूर्ण चलचित्र निर्माण हुने क्रम बढेको छ । र, अर्थपूर्ण चलचित्रहरूको निर्माणसँगै त्यस्ता चलचित्रहरूले आमदर्शकको मन र मस्तिष्कको देउरालीमा स्थान पाउने स्थिति पनि उत्पन्न हुन पुगेको छ । एकाध महिनाअघि अर्को चलचित्र ‘पशुपतिप्रसाद’ले पनि चर्चा र सफलता दुवै बटुलेको थियो । भिन्न कथावस्तु र प्रस्तुतीकरणकै कारण चलचित्रले आम मानिसको स्नेह बटुल्ने यथार्थबीच पशुपतिप्रसादजस्तो चलचित्र उभिन पुगेको थियो । आमदर्शकको रुचिको भट्टामा खारिएर आएका चलचित्रहरूले अब नेपाली सिने जगत्मा सार्थक हस्तक्षेप गर्ने स्थिति जन्मिएको हो ? विगत केही वर्षयता नेपाली चलचित्र जगत्मा जे–जस्ता चलचित्रहरू जम्ने ट्रेन्ड स्थापित भएको छ, यसले त्यही कुराको पुष्टि गर्दछ ।
हिमाली जिल्ला मुस्ताङको समाज र संस्कृतिका केही पाटालाई समेटेर बनाइएको ‘कबड्डी’ र त्यसको निरन्तर रूप ‘कबड्डी कबड्डी’ले राम्रै चर्चा र व्यावसायिक सफलता प्राप्त गर्नुको आधार पनि उत्कृष्ट र भिन्न कथावस्तु एवं प्रस्तुतीकरण नै रहेकोमा दुईमत देखिँदैन । त्यस्तै, ‘लुट’ र ‘टलकजंग भर्सेज टुल्के’जस्ता चलचित्रले आमदर्शकको रुचिको क्षेत्रभित्र घुस्ने अवसर पाउनुको पछाडि पनि मौलिक कथावस्तु र प्रस्तुति शैलीलाई नै मुख्य कारण मान्नुपर्छ । ‘वडा नम्बर ६’को सफलताको रहस्य भने बेग्लै छ । उक्त चलचित्रको सफलता उच्च हास्यप्रधान फिल्म बन्न सक्नु नै हो । खासगरी, हास्य टेलिशृंखलाहरूमा जमेका कलाकारहरूद्वारा अभिनित उक्त चलचित्र पछिल्लो समय बनेका हास्यचलचित्रहरूमा उत्कृष्ट समेत ठहरिन पुग्यो ।
विगतमा चलचित्र निर्माण गम्भीर र सिर्जनशील कार्यभन्दा पनि विशुद्ध मनोरञ्जन दिलाउने माध्यम मात्र हो भन्ने सोच राख्ने केही निर्माता, निर्देशकहरूका कारण र तिनीहरूकै बाहुल्यताले चलचित्र क्षेत्र ढाकिएको हुँदा अपेक्षाकृत रूपमा राम्रा चलचित्रहरू निर्माण हुन सकेनन् । जसरी भए पनि बिक्ने खालका कथावस्तु, अझ त्यसमा बासी कथावस्तुमा टेकेर चलचित्र निर्माण गर्ने होडबाजीले गर्दा नेपाली चलचित्र क्षेत्रले उँभोको बाटो देख्न पाएन । देशमा १० वर्षसम्म तन्किएको जनयुद्ध, पटकपटकको आन्दोलन, राजनीतिक अस्थिरता, मधेस आन्दोलनजस्ता कारणहरूले चलचित्रको बजार उकालो लाग्न नसकेको पक्षलाई स्विकार्न सकिएला । तर, त्योभन्दा पनि धेरै त नेपाली दर्शकहरूले आत्मीय ठान्ने चलचित्रहरूको निर्माण हुन नसक्नुलाई नै विगतमा चलचित्र क्षेत्रले धराशायी हुने स्थिति जन्मिन पुगेको मान्न सकिन्छ । तत्कालीन समयमा नेपाली चलचित्र क्षेत्रमा कब्जा जमाएर बसेका निर्देशकहरूमा नेपालीपनको स्वाद र सुगन्ध हर्हराउने मौलिक विषयवस्तुमा आधारित चलचित्र निर्माण गर्नेभन्दा पनि सस्तो मनोरञ्जन मात्र दिलाउने हिन्दी चलचित्रहरूको कपी गर्ने प्रवृत्ति हावी रह्यो । त्यतिबेला त्यस्तै चलचित्रहरू हावी भएको हँुदा राम्रा र स्तरीय चलचित्र बनाउनेहरू त्यसै ओझेलमा परे ।
सिक्काको एउटा पाटो कालो रहे पनि अर्को पाटो भने उज्यालो देखिएको छ अहिले । हुन त अहिले पनि बासी कथावस्तुमा उभिएका निरर्थक चलचित्रहरू बनिरहेका छन् । तर, त्यस्ता चलचित्रहरू न त कसैको चासो र चर्चाको परिधिभित्र अटाएका छन्, न त व्यावसायिक फड्को मार्न नै सकेका छन् । प्रसिद्धि र व्यावसायिकता सफलता भने नेपालको मौलिक संस्कृति र समाजभित्रका चोखो विषयलाई टिपेर निर्माण गरेका चलचित्रहरूले नै बटुलिरहेका छन् । यस्तो महसुस हुँदै छ, अब नेपाली चलचित्र बजारलाई यस्तै सार्थक र अर्थपूर्ण चलचित्रहरूले ढाक्नेछ र यस्तै चलचित्रहरूकै भविष्य उज्यालो छ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply