नेता–स्रष्टा
नेपाली समाज र राजनीतिक वृत्तमा माओवादीका नेता/कार्यकर्ताहरूले छाडेको छाप फरक किसिमको छ । १० वर्षसम्म हिंसात्मक युद्ध सञ्चालन गरेका कारण हुनुपर्छ, सामाजिक वृत्तमा उनीहरूका परिचय कठोर, रुखो र असामाजिक रहँदै आएको छ । युद्ध त्यागेर शान्ति प्रक्रियामा प्रवेश गरेको एक दशकभन्दा लामो अवधि बितिसके पनि उनीहरूले युद्धकालीन दिनमा गरेका क्रियाकलापहरूलाई सम्झिएर अहिले पनि त्यही पुरानै रूपमा हेर्ने आँखाहरू बदलिएका छैनन् ।
तर, १० वर्षसम्म अनवरत युद्धका मैदानमा भिडेका र अहिले पनि क्रान्तिको विकल्प नदेखेका माओवादी नेता नेत्रविक्रम चन्द ‘विप्लव’ कठोर स्वभावका नेता मात्र होइनन्, उनमा कोमलता र भावना पनि उत्तिकै रहेछन् भन्ने पुष्टि उनले रचेका एउटा गीतबाट हुन पुगेको छ । अहिले सामाजिक सञ्जालहरूमा विप्लवद्वारा रचित र संगीतकर्मी माइला लामाले संगीतबद्ध गरेका गीतले हजारौं ‘भ्युअर्स’ हरू पाएका छन् । गीत हो– ‘कसले बनायो दाजै उडी जाने बस’ । सन्देशमूलक छ गीत । अहिले दिनहुँ हजारौं नेपाली रोजगारका लागि विदेशतिर उडिरहेछन् । जुँगाका रेखी नबस्दै ग्रामीण भेगका युवाहरू वैदेशिक रोजगारका निम्ति पसिना बगाउन विदेशतिर लस्करका लस्कर हिँड्ने गरेका छन् । गाउँघरमा शून्यता व्याप्त छ । आफ्नै खेतबारीमा पसिना बगाउनेहरूको अभावले जमिनहरू बाझो पल्टिने क्रम जारी छ । केही दशकयता नेपाली समाजमा देखिएको यस्तो तस्बिरलाई नजिकैबाट ठम्याएका माओवादी नेता विप्लवले वैदेशिक रोजगारमा जानेहरूलाई स्वदेशमै पसिना बगाउन उत्प्रेरित गर्ने हेतुले गीत सिर्जना गरेको सहजै बुझ्न सकिन्छ । गीतको मूल सन्देश नै स्वदेशमै श्रम गरौं भन्ने छ । थाहा छैन, माओवादी नेताको यस्तो गीति–आह्वानलाई खाडी मुलुकहरू, मलेसिया र द्वन्द्वग्रस्त अफगानिस्तान, इराकजस्ता मुलुकहरूमा जीवनलाई बाजी थापेर श्रम गर्नेहरूले कत्तिको आत्मसात् गरिरहेका होलान् ?
माओवादी नेता विप्लव मात्र होइनन्, नेपाली राजनीतिक मैदानमा राम्रै खेलाडीको उपाधि पाएका अरू पार्टीका नेताहरूले पनि गीत/संगीतप्रति गहिरो अभिरुचि पोख्दै आएका छन् । केही नेताहरूका त आफूले रचना गरेका गीतहरूको एल्बम नै निस्केका छन् । त्यसो त युद्धकालमा जनतालाई आकर्षित तुल्याउन थुप्रै सांस्कृतिक टोली बनाएर परिचालित भएका माओवादीका उच्च तहमा नेताहरूबाट भने कोम र हृदयस्पर्शी गीतहरूको अपेक्षा राख्नु सम्भव नहोला । तल्लो तहका कार्यकर्ताहरूले गीत/संगीतबाटै जनयुद्धका बखान गरे पनि शीर्ष तहका नेताहरूले भने युद्धकालीन आफ्ना भावनाहरूलाई पोख्न गीत लेखेका पाइँदैनन् । मणि थापा, खुसीराम पाख्रिन, माइला लामाजस्ता नेता/कार्यकर्ताहरूले त्यही क्षेत्रप्रतिको दखलका कारण गीत लेखे पनि अरू नेताहरूमा भने कार्यकर्ताहरूले लेखेका अपेरा र अभिनय हेरेरै आँसु खसाल्ने कामबाहेक केही भएनन् । हुन त युद्धकालीन कठोर दिनहरूमा कोमल भावनाका गीतहरू लेख्ने कुरै भएन र शान्ति प्रक्रियामा आएपछि सत्ताको खेलमा लाग्दा गीत फुर्ने विषय नै भएन । अझ माओवादी केन्द्रका नेताहरूद्वारा युद्धकालीन समयमा रचित गीतहरू र युद्धका बेला रोल्पा, रुकुमका ग्रामीण बस्तीहरूमा, सत्ता पक्षको कठोर दमन सहँदै मीठो गायन गर्ने कलाकारहरूसँग कम्मर मर्काउनुभन्दा रेखा थापाहरूसँग ‘लालुपाते नुह्यो भुइँतिर…’मा नाच्ने कुरालाई पहिलो प्राथमिकता बनाएपछि सांस्कृतिक चिन्तनको स्तरको मापन त्यहीबाटै स्वत: भएको बुझ्न सकिन्छ ।
बरु तुलनात्मक रूपमा एमालेका नेता–कार्यकर्ताहरूले भने गीत–संगीतमा आफूलाई समर्पित तुल्याएका देखिन्छन् । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई गीति–लेखनमा अहिलेसम्म एमालेका कुनै पनि नेता/कार्यकर्ताले उछिन्न सकेका छैनन् । खासगरी, देश र जनताका पक्षमा गीत लेख्न रुचाउने नेता खनालका केही गीति–एल्बम नै निस्किसकेका छन् । अरू त अरू केही महिनापूर्व आफ्नै निर्वाचन क्षेत्र इलाममा आफूद्वारा रचित गीतहरूको एकल साँझ हुँदा खनालले केही दिन त्यही कार्यक्रममै बिताएका थिए । यसरी समय निकालेर आफ्ना सिर्जनाहरूमाथिको मन्थनमा सहभागिता जनाउने एमाले नेताहरू सायदै होलान् । एमालेका अरू नेताहरूले पनि ‘गीतकार’को छवि बनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालले गीति सिर्जना गरेका त देखिँदैनन् । तर, मुकुन्द न्यौपाने, प्रदीप नेपाल, रघु पन्त, घनेन्द्र बस्नेत, विजय सुब्बाजस्ता एमालेको केन्द्रीय राजनीतिमा जमेका नेताहरूले अहिले गीत लेख्न छाडे पनि पञ्चायतकालीन दिनहरूका साथै बहुदलीय व्यवस्था स्थापना भएको केही वर्षसम्म गीति लेखनमा ती नेताहरूको सक्रियता थियो । बढ्दो राजनीतिक जिम्मेवारीका कारण हो वा अरू नै बेफुर्सदीले हो, अहिले एमालेका नेता गणको कलमबाट सुन्दर र हृदयस्पर्शी गीतहरू जन्मिएका छैनन् । यद्यपि, खुला राजनीतिमा उत्रिनुअघि एमालेले जनताको बीचमा आफ्नो पार्टीलाई स्थापित गर्ने आधार भने गीत/संगीतलाई नै रोजेको थियो, जुन कुराको सिको पछिल्लो समय युद्ध थालेका माओवादीहरूले पनि गरे । गीत/संगीतमार्फत जनतालाई आफ्नो राजनीतिक लाइनमा उभ्याउन जति सजिलो हुन्छ, भाषणले त्यस्तो भूमिका खेल्दैन भन्ने यथार्थ नेता–कार्यकर्ताले राम्ररी बुझेकै हुँदा गीत–संगीतको सहारा लिएको प्रस्टै देखिन्छ ।
रामेश र मञ्जुलजस्ता प्रतिभाहरूले कम्युनिस्ट आन्दोलनको लहर फैलाउन उल्लेख्य योगदान गरेका त छन् नै, पछिल्लो समय माओवादी केन्द्रतिर सरेका जेबी टुहुरे, शम्भु राई र अहिले एमालेमै रहेका विजय सुब्बा, चेतनारायण राई, मधु गुरुङहरूले भने तत्कालीन मालेको झन्डामुनि रहेर जनताबीच एमालेको राजनीतिलाई फैलाउन गरेको प्रयत्नलाई पनि स्तुत्य मान्नुपर्छ । एमालेका बिरासतहरू रत्नकुमार बान्तवा, मदन भण्डारी, जीवराज आश्रितहरूले गीति लेखनमा देखाएका रुचिले पनि अरू नेता–कार्यकर्तालाई गीत–संगीतप्रति आकर्षित तुल्याउन उत्प्रेरित गरेकोमा शंका उब्जाउनुपर्ने ठाउँ देखिँदैन ।
तथापि, बुर्जुवा राजनीति गर्नेहरूले भने कम्युनिस्टहरू रुखा हुन्छन्, कठोर स्वभावका हुन्छन् भनेर आरोप लगाउने गर्दछन् । तर, नेपालको सन्दर्भमा भने त्यस्तो आरोप स्वीकार्य देखिँदैन । किनकि, नेपाली कांग्रेसजस्तो आफूलाई प्रजातान्त्रिक भनाउँदो पार्टीका नेताहरूले गीत लेख्ने र संगीतप्रति मोह दर्साउने कुरा आकाशको फलजस्तै देखिन्छ । तर, अरूका नजरमा रुखा र हृदयहीन लाग्ने गरे पनि कम्युनिष्ट पार्टीका नेता र कार्यकर्ताहरूमा नै गीत–संगीतप्रति अभिरुचि, मोह र लगाव रहेकोमा दुईमत देखिँदैन ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply