मणिपुरकी मृदु मुस्कान
‘जो लुकीछिपी
दिनमा, रातमा उनीमाथि दबिस बोल्दछ
र, फोर्दछ बम
र, माथि
बलिको बोका बन्दछ निश्छल, निर्बल र साधारण मानिस…
उनको नै हित संकल्पित
मणिपुरकी मृदु मुस्कान
जीवन र मृत्युबाट अविचल
अडिग
लक्ष्यप्रति ध्यान ।’
केही वर्षपूर्व, सुरेश सलिलले इरोम शर्मिलाप्रति यस्तै शब्द खर्चिएका थिए । सलिलको शब्दजस्तै ‘मणिपुरको मृदु मुस्कान’ अब भने फरक अभियानका अभियन्ता बन्ने दृढता बोकेर उभिएकी छन् । लामो अनशन त्याग्दै इरोमले बाँकी जीवनलाई दुईवटा सार्थक दिशामा बदल्ने निश्चय गरेकी छन् । एउटा, अब उनी मणिपुरमा निर्वाचन लड्नेछिन् र अर्को बिहे गर्नेछिन् । सत्ता–दमनलाई झुकाउने उनको बाटो पूरै बदलिएको छ । कवि सलिलले भनेजस्तै जीवन र मृत्युबाट अविचल मणिपुरका जनताको उच्च आवाजमा अब मृदु मुस्कान रहनेछ वा छैनन् ? त्यो भने समयान्तरले नै बनाउने देखिन्छ ।
तर, एउटा प्रतिक्षा/प्रतिज्ञा भने सेलाएको छ । न्याय, स्वतन्त्रता, उत्पीडनको अन्त्य– यस्तै/यस्तै चाहना राख्नेहरूले एउटै प्रश्न गर्थे– आखिर, इरोम शर्मिलाको लामो भोक हडताल कहिले टुंगिन्छ ? १६ वर्षदेखि भारतीय सत्ता–ज्यादतीलाई झुकाउन अन्त्यहीनजस्तो देखिने अनशनमा बसेकी पूर्वोत्तर भारतीय प्रान्त मणिपुरकी ४४ वर्षीया शर्मिलाले अनशन त्यागेकी छन् र उनको यो कदमप्रति अनेक कोण र वृत्तहरूमा परिचर्चाले घेरा हालेको छ । केही वर्षपूर्व मात्रै उनले भनेकी थिइन्– ‘मेरो भोक हडताल मणिपुरका जनताका तर्फबाट हो । यो कुनै व्यक्तिगत लडाइँ होइन, यो प्रतीकात्मक छ । यो यथार्थ प्रेम र अमनको प्रतीक हो ।’
सन् २००० नोभेम्बर २ तारिख । मणिपुरको राजधानी इम्फालबाट त्यस्तै १५/१६ किलोमिटरको दूरीमा अवस्थित मालोममा सुरक्षाकर्मीहरूले जथाभावी रूपमा गोली चलाउँदा १० जनाले मृत्युवरण गरे । ती सबै निर्दोष थिए । वृद्धदेखि बालकसम्मले जीवन गुमाए । मालोमको बसपार्कसँगैको सडकमा निर्दोषहरूको रगत बगेपछि शर्मिलाको कवि–मन धेरै नै बिथोलियो । लामो भोक हडतालमा बस्नुअघि मणिपुरका केही पत्रिकाहरूमा लेख्ने र कविता–लेखनमा समेत गहिरो रूपमा समर्पित शर्मिलाले मालोम–नरसंहारपछि घोषणा गरिन्– ‘जबसम्म मणिपुरमा लामो समयदेखि लागू हुँदै आएको आम्र्ड फोर्सेज स्पेसल पावर्स एक्ट हटाइँदैन, तबसम्म म भोक हडतालमा बस्नेछु ।’
कतिपयले उनको त्यस्तो प्रतिज्ञालाई सनकको संज्ञा दिए र एकाध दिन अनशनमा बसेपछि थाक्नेछिन् भन्ने अड्कल लगाए । तर, भएन त्यस्तो । शर्मिलाको भोक हडताल लम्बिँदै जाँदा उनलाई गिरफ्तार गरियो । भारतीय कानुनअनुरूप आत्महत्या गर्नुलाई अपराध मानिन्छ र उनलाई भोकै बसेर आत्महत्या गर्न लागेको आरोपमा गिरफ्तार गरियो । र, नसाद्वारा तरल पदार्थ दिएर १६ वर्षसम्म उनलाई जीवितै राखियो । सुरक्षाकर्मीको नित्य नियन्त्रणमा अस्पतालमा रहे पनि उनले राज्यमा लागू सशस्त्र बल विशेष अधिकार अधिनियम खारेज गरिनुपर्ने एक सूत्रीय रटान लगाइरहे । तर, भारतीय सत्ताले भने पूर्वोत्तर भारतको सात प्रान्तमा लगाउााँदै आएको त्यस्तो कानुनलाई खारेज गर्नेतिर होइन, पछिल्लो समय त जम्मु–कस्मिरमा पनि लागू गर्यो ।
उनी कुनै उग्रवादी थिइनन् । जातीय हिंसा भड्काउने समूहको कोटीमा पनि पर्दैनथिन् । न त उनी हतियारधारी कम्युनिस्ट लडाकु नै थिइन् । केवल गान्धीवादी थिइन् र उनको प्रतिरोधको स्वरमा गान्धीवादी दर्शन र क्रियाकलाप सामेल थियो । सम्भवत: गान्धीवादी भएकै कारण उनलाई सत्ताले त्यति कठोर निसाना नबनाएको हुनुपर्छ, उनको आवाजको सुनुवाइ नभए पनि जीवनरक्षाका निम्ति भएका यावत् प्रयत्नले त्यही पक्षको पुष्टि गर्छ । तर, यदि उनी आदिवासी क्षेत्रमा आन्दोलनरत कुनै उग्रवादी संगठनका सदस्य वा कम्युनिस्ट नै भएकी भए यतिन्जेलसम्म जीवित भेटिन मुस्किलै पथ्र्यो ।
शान्तिपूर्ण आन्दोलनमा नै उच्च दम हुन्छ र त्यसैबाट शासकहरूलाई झुकाउन सकिन्छ भन्ने मान्यताद्वारा निर्देशित इरोमले मणिपुरमा रहेर भोक हडताल गर्दा दिल्लीको ध्यान नखिचिएको महसुस मात्रै गरिनन्, दिल्लीमै पुगेर आफ्नो आवाजलाई झंकृतसमेत तुल्याइन् । हो, त्यही बेलादेखि इरोमको आवाजले सिंगो भारत र अझ अरू देशहरूमा समेत गुन्जिने अवसर पायो । र, उनको प्रतिरोधलाई सबैले सलाम गर्ने परिस्थितिको विकास पनि भयो ।
भारतीय समाजमा उनलाई हेर्ने दृष्टिकोण केही फरक थियो । आदिवासी, सीमान्तकृत जनताको पक्षमा निरन्तर आन्दोलनरत मेघा पाटकर, तिस्ता सितलवाड, समिम मोदीजस्ता समाजका नायिकाहरूकै लहरमा उनलाई उभ्याइने गरिन्थ्यो । यो स्वाभाविक पनि थियो, किनकि मणिपुरका जनतामाथि सुरक्षा बलको ज्यादती रोक्न उनले एकल प्रयत्न गरेकी थिइन् र उनकै आवाजका कारण सत्ता दमन र निर्दोषहरूमाथिको हत्या–शृंखलामा कमी आएको थियो । तर, परिदृश्य फेरिएको छ अब । र, इरोमलाई हेर्ने दृष्टिकोण पनि सायद फेरिएला । किनकि, उनले लामो भोक हडतालबाट बनाएकी प्रतीक अब बदलिएको छ र आफैं सत्तामा पुग्ने लालसा देखेकी छन् । आफंैले सत्ता नलिएसम्म केही नहुने रहेछ भन्ने तत्त्वज्ञान उनमा भरिएको छ ।
तर, एउटा आदिवासी एवं सीमान्तकृत समाज र समुदायको आवाज अर्थात् इरोम एउटी प्रतिभासम्पन्न कवयित्री थिइन् भन्ने तथ्य भने बिर्सन मिल्दैन । ‘जन्म’ शीर्षकको उनको कविताको एक अंश :
‘जब म जन्म र मृत्युको सवालमाथि कल्पनाको घोडा दौडाउँछु
भयले भरिन्छु
जब म बिहानदेखि रातसम्म आफ्नो जिन्दगीको ढाँचामाथि मनन गर्छु
स्रष्टाका सम्मुख लज्जित हुनुभन्दा
कोइ भोजन बच्दैन मेरा सम्मुख,
अत: जब मेरो चिन्तना सजग छ
म आरामले बस्न सक्दिनँ ।’
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply